बयनसिंह राईको अध्यक्षतामा एकचालिस सदस्यीय जसपा वडा समिति चयन
धरान, ५ असोज :जनता समाजवादी पार्टी धरान उपमहानगर वडा नं ११ समिति पुनर्गठन भएको छ । हिजो वडाकै सगरमाथा टोलमा गरिएको पुनर्गठन भेलाले बयनसिंह राईको अध्यक्षतामा एकचालिस सदस्यीय वडा समिति चयन गरेको हो ।
पुनर्गठित वडा समितिको उपाध्यक्षमा माया थापा, बखत राई, नरेन्द्र राई, दिलन राई चयन भएका छन् । सचिवमा परम कुलुङ्ग राई, सहसचिवमा रेविका लिम्बु, अजय राई (उदय), विश्वहाङ चाम्लिङ राई त्यसैगरी समितिका कोषाध्यक्षमा रिना लिम्बु चयन भएका छन् ।
वडा समिति सदस्य पदहरूका लागि विशाल राई, रहरीमाया विश्वकर्मा, प्रदीप लिम्बु, भगवती तामाङ, रुपेश श्रेष्ठ, भलमान तामाङ, नेत्र थापा मगर,गेल बहादुर राई,राज गिरी, आशिष राई,कुमार राई,विमला अछामी,खेमराज पराजुली, युवराज राई, रिना राई, कुमार राई, तेजेन्द्र राई, मनोज कालीकोटे, गणेश बराइली, प्रविना लिम्बु, प्रजल मगर, संगम मगर, सन्देश मगर, निसान राई, उरिम राई, रुपजल राई, मिलन राई र कमल बराईली रहेका छन् ।
सम्पन्न भएको सो पुनर्गठन भेलाले ११ नं. वडा सल्लाहकार समिति पनि चयन गरेको छ । समितिका संयोजकमा राम कुमार तुम्बा सदस्यमा कालुराम राई र रामराज राईलाई चयन गरेको जसपा धरान नगर समितिका उपाध्यक्ष तथा संठन विभाग प्रमुख प्रेम राईले बताएका छन् ।
पुनर्गठन कार्यक्रमको अध्यक्षता मदन तामा«ङले गरेका थिए । तामाङ केही महिना अगाडी पुनर्गठन भएको जसपा सुनसरी जिल्ला समिति सदस्यमा चयन भएका छन् । यो भन्दा पहिले जसपा धरान नगर कार्यकारिणी समिति सदस्य र ११ नं वडा समितिका अध्यक्ष थिए । कार्यक्रम संचालन बरदान राईले गरेका थिए । राई समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव हुन साथ पार्टीको नगर समितिमा पनि रहेका छन् ।
सो कार्यक्रममा जसपा केन्द्रीय सदस्य विना राई,किरात राष्ट्रिय समिति सदस्य सिता राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु पृथक् राई,कोषध्यक्ष केदार राई, नगर सदस्य कौशिला चेम्जोङ, राकेश लिम्बु (रिक्की), दिल कुुमार राई, समाजवादी महिला संघ धरान नगर अध्यक्ष पुन्य कुमारी दाहाल लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
जसपा धरान नगर समिति उपाध्यक्ष तथा संगठन विभाग प्रमुख प्रेम राईले जनाए अनुसार “पुनर्गठन वा रूपान्तरण कार्यक्रम भाद्र मसान्त सम्ममा सक्ने भन्ने माथिल्लो समितिको परिपत्र थियो सो समय अवधि सम्ममा नगरको २० वडा मध्ये ११, १३, १४, १५, १७ र २० वडाहरूमा रूपान्तरण कार्यक्रम सम्पन्न गरेको छ र फेरी सोही कार्यक्रमको अवधि कात्तिक मसान्त सम्ममा थपिएकोले अब सो समय सम्ममा पुनर्गठन वा रूपान्तरण हुन बाकी वडाहरूमा सक्ने कार्यक्रम रहेको छ ।”
अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षा
ढोरपाटन (बागलुङ), ५ असोज : शिक्षा क्षेत्रमा नयाँ काम गर्दै आएको बागलुङको जैमिनी नगरपालिकाले यस वर्षदेखि अनाथ, असहाय र विपन्न परिवारका बालबालिकालाई निःशुल्क आवासीय शिक्षा दिने भएको छ ।
नगरपालिकाले १० वटै वडामा शिक्षाको पहुँचभन्दा बाहिर रहेका बालबालिकालाई आवासीय सुविधासहित पढाउने जिम्मा लिन थालेको हो । ‘असाय बालबालिकालाई शिक्षा’ कार्यक्रमअन्तर्गत बेसहारा बालबालिकालाई आवासीय शिक्षा दिइने भएको छ । दुई वर्ष अगाडिदेखि ‘लिड स्कूल’ को अवधारणा लिएर काम गरेको नगरपालिकाले वडा नम्बर ५ स्थित सर्वोदय जनक माध्यमिक विद्यालयमा बालबालिकालाई आवासीय सुविधासहित पढाउने भएको छ ।
बसाइसराइ कारणले विद्यार्थी घट्ने क्रम बढेपछि विद्यालय घटाउने र गुणस्तर बढाउनका लागि नगरपालिकाले ‘लिड स्कुल’ अवधारण ल्याएको थियो । गाउँमा धेरै बालबालिका अभिभावकविहीन भएको हुँदा उनीहरुको अभिभावकत्व नगरपालिकाले लिएर शिक्षा दिने भएको हो । सर्वोदय जनक माध्यमिक विद्यालयमा आवास तयार भएको भन्दै अन्य व्यवस्थापकीय पक्ष सुधार गरेर विद्यार्थी राखिने छ ।
आर्थिक अवस्था कमजोर हुँदा पढाइबाट विमुख भएका बालबालिकालाई नगरपालिकाले पढाउने जिम्मा लिएको उपप्रमुख हरिहर शर्माले बताउनुभयो । कक्षा १ देखि १२ सम्म ‘लिड स्कुल’ मा पढाउने र त्यसभन्दा माथि पढ्नेका लागि छात्रवृत्तिको सुविधा दिइने उहाँको भनाइ छ ।
नगरपालिकाले यस वर्ष २० बालबालिकालाई सुविधा दिने र आगामी वर्ष बढाउँदै जाने उपप्रमुख शर्मा बताउनुहुन्छ । चालु आवमा प्रति विद्यार्थी रु ४० हजारका दरले बजेट विनियोजन गरेको र आगामी वर्ष नयाँ थपिए सोअनुसार व्यवस्थापन गर्ने उहाँको भनाइ छ । कोही पनि बालबालिका आफन्त नभएर र आर्थिक अवस्था कमजोर भएर पढाइबाट टाढा हुनु नपर्ने शर्माले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सबै नागरिकलाई शिक्षित बनाउने, स्वास्थ राख्ने प्रयास गरिरहेका छौँ, यस वर्ष हामीहरुले ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्दैछौँ, यसबाट आफन्त नभएका बालबालिका, असहाय र विपन्न परिवारका बालबालिकालाई नगरपालिका अभिभावक बनेर पढाउने गरी जिम्मा लिँदैछ, नागरिकलाई शिक्षा दिने हाम्रो दायित्व हो, जैमिनीमा कोही बालबालिका पारिवारिक, आर्थिक र सामाजिक समस्याले शिक्षाबाट विमुख बन्नुपर्ने छैन ।”
‘लिड स्कुल’ मा विद्यार्थी र अभिभावकलाई आम्दानीसँग जोड्ने गरी काम भइरहेको छ । विसं २०७८ मा ‘लिड स्कुल’ घोषणा भएको विद्यालयमा नगरपालिकाले लगानी गरेको छ । उक्त विद्यालयमा यस वर्षदेख पढ्दै कमाउँदै अभियानअन्तर्गत चार रोपनी जग्गा भाडामा लिएर छ वटा प्लास्टिक टनेल स्थापना गरी तरकारी खेती थालिएको छ । प्रत्येक वडाबाट दुई÷दुई विद्यार्थी लिएर उनीहरुलाई यही विद्यालयमा राखिने नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार जैमिनीमा ८० सामुदायिक र एउटा संस्थागत गरि ८१ विद्यालय रहेका छन् । उक्त विद्यालयमा करिब छ हजार पाँच सय विद्यार्थी अध्ययनरत रहेको आचार्य बताउनुहुन्छ । विद्यालयभन्दा बाहिर रहेका बाललिकालाई शिक्षाको पहुँच ल्याउनका लागि ‘असहाय बालबालिकालाई शिक्षा’ कार्यक्रम सञ्चालन गर्न थालिएको उहाँको भनाइ छ ।
भालुबाट किसानलाई मौरीघार जोगाउनै मुस्किल
जुम्ला, ५ असोज : जुम्लाका मौरीपालक किसानका मौरीघारमा भालुले क्षति पु¥याउँदा यहाँका किसान चिन्तित बनेका छन् । भालुबाट मौरीलाई बचाउन समस्या भएको चन्दननाथ नगरपालिका–४ का किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “दुई वर्षका अन्तरमा १३ मौरीका घार भालुले खाइदियो । अहिले एक मात्र घार रहेको छ । घार भालुबाट जोगाउन समस्या भयो । भालु धपाउन अनेकन उपायहरु गरे पनि सकिएको छैन । रातभर मान्छेहरू जाग्राम बस्ने, थाले केही गरेर भालुदेखि घार बचाउन सकिएन । न भालु धपाउन सकियो नत घारको सुरक्षा दिन सकिएको छ । ”
जङ्गलको छेउमा मौरीपालन भएकाले चरन क्षेत्रको अभाव थिएन । गाउँ नजिकै मौरीपालन गर्दा चरन क्षेत्र अभावले रोग लाग्ने गरेको मौरीपालक किसान बुढ्थापाले बताउनुभयो । भदौ, असोज र कात्तिक महिना मौरीपालनमा भालु आतङ्क नै हुने गरेको मौरीपालन सहकारी संस्थाका सचिव नारायण चौलागाईंले जानकारी दिनुभयो ।
भालुले मौरीको लार्भा र मह खाइरहेको छ । दुधिलो र मीठो हुने भएकाले मौरी घार खोजीखोजी खाने गरेको यहाँका किसान बताउँछन् । भालुले चन्दननाथ नगरपालिकाको चौरखोला, रडिखल्ला र तलिउम क्षेत्रमा मौरीघार सखाप पारिरहेको छ । कनकासुन्दरीको लेकाली क्षेत्र, पातारासीको पेरे, गुठिचौरको कोल्ते क्षेत्रमा मौरीघारमा भालुले धैरै क्षति गरेको मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईंले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भालु र रोगले मौरी मासिन थालेपछि किसानले मौरीको दररेट तोक्न दिन माग गर्दै कृषि विकास कार्यालयमा निवेदन दिएका छौँ । कार्यालयबाट सुनुवाइ भएको छैन । सरकारले ७५ प्रतिशत अनुदानमा मौरीको बीमा गर्ने व्यवस्था गरेको छ । अन्य जिल्लामा मौरी बीमाको सेवा किसानहरूले लिइरहेका छन् । ” उहाँले जुम्लामा बीमा हुन नसकेको जनाउँदै मौरीको बीमा गर्न भन्दै शिखर इन्सुरेन्समा आए पनि कम्पनीले मौरीको दररेट मागेपछि किसानसँग दररेट नभएकाले बीमा गर्न नसकेको बताउनुभयो । हरेक वर्ष कूल घार सङ्ख्याको १५ प्रतिशत घार भालुले खाइदिने गरेको मौरीपालन सहकारी संस्थाले जनाएको छ ।
महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री डा राणा
काठमाडौँ, ५ असोजः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले महिलालाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताउनुभएको छ ।
क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उहाँले भन्नुभयो “महिला समानता तथा समावेशी सहभागिताबारे कैयौँ कानुनी प्रावधान छन् र यससम्बन्धी मान्यताहरु पनि विकास भएका छन्, तर पनि महिलालाई नेतृत्वमा पुग्न भने अझै धेरै चुनौती छन् ।”
लैङ्गिक समानता एवं महिला अधिकारका विषयमा नेपाल र नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुले झन् धेरै समस्या झेल्नुपरिरहेको मन्त्री डा राणाको तर्क थियो ।
“संसारमा महिला वर्गको राजनीतिक, सामाजिक, आर्थिक र कानुनी अवस्थाको विश्लेषण गर्दा हाल संसारमा ११ प्रतिशतभन्दा कम राष्ट्रप्रमुख र १० प्रतिशतभन्दा कम सरकारप्रमुखहरू महिला छन् । महिलाहरु रोजगारीको ६० प्रतिशत अनौपचारिक अर्थतन्त्रमा केन्द्रित छन् र औसतमा पुरुषभन्दा तीन गुणाभन्दा बढी समय अवैतनिक सेवा र घरेलु काममा महिला रहेका छन्”, परराष्ट्रमन्त्री डा राणाले भन्नुभयो ।
कानुनी अधिकारको उपभोग एवं न्यायमा पहुँचका आधारमा पनि महिला संसारमै पछि परिरहेको उहाँले बताउनुभयो । उहाँले महिलाहरूले विश्वव्यापी रुपमा पुरुषले पाएका कानुनी अधिकारहरुको ६४ प्रतिशत मात्र अधिकार उपभोग गर्न सकेको अवस्था रहेको जानकारी दिनुभयो ।
“मानव अधिकारसम्बन्धी विश्व घोषणापत्रले समान अधिकारकोे घोषणा गरेको ७६ वर्ष बितिसकेको छ । त्यसयता चारवटा संयुक्त राष्ट्रसङ्घीय सम्मेलन र महिलाका लागि कार्य योजना, सहस्राब्दी विकास लक्ष्यहरूको परिचय र दिगो विकास लक्ष्यजस्ता कार्यक्रम तथा छ वटा लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम लागू भइसकेका छन्”, मन्त्री डा राणाले भन्नुभयो, “यति हुँदा पनि लैङ्गिक समानता एक प्रकारको भ्रमजस्तै बनेको छ । मलाई लाग्छ संसारकै महिला अझै पनि समान सहभागिता र अवसरबाट वञ्चित नै छन् ।”
उहाँले नेपालमा पनि आफूहरुले निरन्तर रुपमा लैङ्गिक समानताका लागि लडिरहेको उदाहरण सो बैठकमा पेस गर्नुभयो । जसका कारण नेपालका लक्षित नीति र कार्यमा केही सुधार भएको भएको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “हामीले महिला समानताका लागि लडेको धेरै भयो । संविधानले नै सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय सरकारमा ४० प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । संविधान जारी भएको एक दशकमा नेपालले राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधीशमा महिला पाएका छौँ । यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्दछ ।”
यस्तै कानुनी प्रावधानकै कारण नेपालको निजामती सेवामा २८ प्रतिशत महिला पुगेका छन् भने राज्यका सुरक्षा निकायमा पनि महिला सहभागिता बढ्दो छ । त्यस्तै निजी क्षेत्रमा भने २९ प्रतिशतभन्दा बढी महिला व्यवस्थापक रहेका उहाँले बताउनुभयो ।
नेपालमा पूर्ण लैङ्गिक समानता अहिलेसम्म हासिल हुन नसकेको भए पनि महिला सहभागिता बढ्दै जानु सकारात्मक रहेको उहाँको भनाइ थियो ।
मन्त्री डा राणाले भन्नुभयो, “दुर्भाग्यको कुरा त के छ भने हामीमाथि हुने हिंसा र भेदभाव गर्भबाटै सुरु हुन्छ र यसले जीवनभर नै निरन्तरता पाउँछ । यो असमानताको निराकरणका लागि व्यापक र सशक्त प्रयास जरुरी छ । यी प्रयास विश्वस्तरदेखि स्थानीय तहसम्म नै पु¥याइनु जरुरी छ । यसका लागि सार्वजनिक र निजी क्षेत्रका सबै सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्छ । यस क्षेत्रमा अघि बढ्ने हरेक व्यक्तिका प्रयास परिवर्तनका लागि उत्प्रेरक बन्न सक्नेछन् ।”
त्यसैले समग्र संसारले नै लैङ्गिक समानता शान्तिपूर्ण र समृद्ध संसारको आधार हो भनेर मनन् गर्नुपर्ने उहाँको तर्क थियो । संसारमा महिला समानता र महिला अधिकारका क्षेत्रमा कानुनी प्रावधानहरुको खाँचो नरहेको तर्क गर्दै मन्त्री डा राणाले ती व्यवस्थाहरुलाई वास्तविक कार्यान्वयनमा उतार्न मानिसका व्यवहारमै परिवर्तन जरुरी रहेकामा जोड दिनुभयो ।
सो बैठकमा विश्वका १६ देशका महिला विदेशमन्त्री सहभागी छन् । बैठकमा महिला समानता र सहभाागिता, महिला नेतृत्वको विकास, नेतृत्वमा पुग्न महिलाका चुनौती, गलत सूचना र यसले महिलालाई पारिरहेको प्रभाव आदि विषयमा छलफल भएको थियो ।
चिया निर्यात ५२ प्रतिशतले बढ्यो
भद्रपुर (झापा), ५ असोजः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चालु आवका साउन र भदौमा चार हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो । गत आवको पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो ।
प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ । चालु आव २०८१/८२ को दुई महिनामा रु एक अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो । गत आवमा सो अवधिमा रु ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो ।
दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने उहाँको दाबी छ । गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् रु तीन अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा सात दशमलव ६८ प्रतिशले घटेको थियो ।
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा
सोल, ४ असोज : दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय राष्ट्रिय परिकार किम्चीका लागि प्रयोग हुने तरकारी हो । यसको मूल्य बर्सेनि करिब ७० प्रतिशतले बढेको छ ।
बिहीबार एउटा गोभीको मूल्य नौ हजार तीन सय ३७ वन (सात दशमलव शून्य दुई अमेरिकी डलर) पुगेको छ । यो एक वर्ष अगाडिको तुलनामा ६९ दशमलव एक प्रतिशतले बढेको सरकारी स्वामित्वको कोरिया एग्रो–फिशरीज एन्ड फुड ट्रेड कर्पोरेशनले जनाएको छ ।
बन्दागोभी किम्चीको मुख्य सामग्री हो । किम्ची देशको प्रसिद्ध परिकार हो र यसलाई धेरै कोरियालीले प्रत्येक दिन खान्छन् ।
विशेषज्ञहरूका अनुसार गर्मीमा तापक्रम बढेकाले विशेषगरी चिसो जलवायुमा राम्रोसँग उत्पादन हुने उच्च पहाडी क्षेत्रको बन्दागोभीको आपूर्तिमा अस्थिरता आएको छ ।
“यसबाहेक जलवायु परिवर्तनले माटोका रोगहरूको प्रकोपको ढाँचामा परिवर्तन गरेको छ”, नेसनल इन्स्टिच्युट अफ क्रप साइन्सका भाइरसविज्ञ ली यङ–ग्युले भन्नुभयो, “उदाहरणका लागि माटोमा फैलिएको फङ्गल रोगले जरा सड्दछ र बन्दागोभीमा मुर्झाउँछ, यो रोग फैलिरहेको छ ।”
लीका अनुसार अत्यधिक गर्मीका कारण बिरुवाहरू पनि मर्न थालेका वा चर्को घामले ओइलाएका छन् ।
यसै महिना दक्षिण कोरियाको ग्रामीण विकास प्रशासनले उच्च पहाडी बन्दागोभीको आपूर्ति अस्थिरतालाई समाधान गर्न समर्पित अनुसन्धान संस्था स्थापना गरेको छ ।
संस्थाले जलवायु परिवर्तनको समाधानका लागि कुनै उपाय नलिइए सन् २०९० सम्म गृष्मकालीन बन्दागोभी खेतीका लागि उपयुक्त क्षेत्रहरू हराउने सक्ने चेतावनी दिएको छ ।
मौसम सेवा एजेन्सीले यसै महिनाको सुरुमा यस वर्ष दक्षिण कोरियाले आधा शताब्दीको इतिहासमा सबैभन्दा उच्च औसत गर्मीको तापक्रम अनुभव गरेको बताएको थियो । यो ऐतिहासिक औसतभन्दा लगभग दुई डिग्री सेल्सियसले उच्च छ ।
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि
धरान (सुनसरी), ४ असोज : यहाँको बराहक्षेत्र नगरपालिका– ६ चक्रघट्टीस्थित महेन्द्र माध्यमिक सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरेपछि विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।
अभिभावकको मागसँगै विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यार्थी सङ्ख्या वृद्धि भएको विद्यालयका प्रधानाध्यापक चण्डीराज पोख्रेलले बताउनुभयो । उहाँले गत वर्षदेखि नगरपालिकामै पहिलो पटक आधारभूत तह शिशु कक्षादेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अभिभावकको सहयोग र सल्लाहमा विद्यालयमा अङ्गे्रजी माध्यमको पढाइ सुरु गरिएको हो । अङ्ग्रेजी पढाइ सुरु भएसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या वृद्धि भएको छ ।” विद्यार्थीको सङ्ख्या धेरै भएपछि कक्षाकोठा व्यवस्थापनका लागि पुरानो भवन मर्मत थालिएको उहाँले बताउनुभया ।
पानी परेको बेला चुहिएर पढाईमा समस्या हुने भएकाले आवश्यक सहयोगका लागि उहाँले सरोकारवालासँग आग्रह गर्नुभएको छ । प्रधानाध्यापक पोख्रेलका अनुसार विद्यालयमा हाल आठ सय ५० विद्यार्थी अध्ययनरत छन् । एक वर्षमै दुई सय भन्दा बढी विद्यार्थी सङ्ख्या थपिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको चाप बढेपछि आठ शिक्षक थप गरी ३० शिक्षकबाट पठनपाठन सञ्चालन गरिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । विद्यालयमा बिहान १० देखि ४ बजेसम्म अङ्ग्रेजी माध्यम र १०ः३० देखि ४ः३० बजेसम्म नेपाली माध्यमको पढाइलाई दुई भागमा विभाजन गरिएको छ ।
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै महेन्द्र माविमा कार्यरत शिक्षकहरुलेसमेत आफ्ना छोराछोरीलाई सोही विद्यालयमा भर्ना गरेको शिक्षक प्रवीण खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “अभिभावकहरुले अङ्ग्रेजी माध्यममा पढाइ सुरु गर्न आग्रह गरेपछि छुट्टै आठ शिक्षक थप गरी अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो ।”
विद्यालयको आयस्रोत कमी भएकाले अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकका लागि विद्यालयले अभिभावककै राजीखुसीमा प्रति विद्यार्थी मासिक न्यूनतम शुल्क लिने गरेको विद्यालयले जनाएको छ । विसं २०१३ मा स्थापना भएको महेन्द्र माविले २०५७ सालदेखि कक्षा १२ सम्म सञ्चालन गर्दै आएको छ ।
प्रधानमन्त्री आज न्यूयोर्क प्रस्थान गर्नुहुँदै
काठमाडौँ, ४ असोज : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।
उहाँले असोज १० गते संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिनेः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषय रहेको छ ।
प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उद्घाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । साथै उहाँले समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयमा असोज ७ गते आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा प्रमुख सम्बोधन गर्नुका साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई पनि सम्बोधन गर्नुहुने कार्यतालिका छ ।
उहाँले भ्रमण क्रममा संयुक्त राष्ट्रसङ्द्धघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनुहुनेछ । प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनुहुनेछ ।
चौथो नेपालगञ्ज फोटो फेस्टिबलका लागि फोटो आह्वान
जानकी (बाँके), ४ असोज : चौथो नेपालगञ्ज फोटो फेस्टिबलअन्तर्गत फोटो प्रतिस्पर्धाका लागि फोटो आवेदन खुला गरिएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज १७ गतेसम्म रहेको आयोजकले जनाएको छ । अन्तरालको आयोजना तथा व्यवस्थापनमा हरेक वर्ष आयोजना गरिने यो फोटो फेस्टिबल प्रतिस्पर्धामा देशभरबाट फोटो पठाउन सकिन्छ ।
अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहका अनुसार नौ विधामा फोटो प्रतिस्पर्धा हुनेछ । उहाँका अनुसार हरेक विधाबाट एउटा उत्कृष्ट फोटो पुरस्कृत हुनेछ र प्रतियोगी सबै फोटोमध्ये सर्वोत्कृष्टलाई वर्ष फोटो उपाधिबाट पुरस्कृत गरिनेछ । वरिष्ठ फोटो पत्रकार तथा फोटो पत्रकार क्लब पिजे क्लबका पूर्वअध्यक्ष विकास कार्कीको नेतृत्वमा वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक टिमले फोटोको अन्तिम छनोट गर्नेछन् ।
फोटो प्रतिस्पर्धामा रहेका विधा समाचार, दैनिक जीवन, पर्यटन, वन्यजन्तु, खेलकुद, संस्कृति, प्रकृति र संरक्षण, कृषि, खुसी र उत्साह झल्किने फोटो नेपाल स्माइल रहेका छन् । हरेक विधामा एकजना व्यक्तिले दुईवटासम्म फोटो पठाउन सक्नेछन् । अन्तरालको अफिसियल वेबसाइट अन्तराल डटकम डटएनपी लगइन गरेर फोटो पठाउन सकिनेछ ।
“उक्त फोटो फेस्टिबलमा सिङ्गो नेपाल झल्किने छ । फेस्टिबलका रूपमा नेपालगञ्ज फोटो फेस्टिबललाई सञ्चालन गरिने छ”, अन्तरालका प्रमुख कार्यकारी शाहले भन्नुभयो, “यो फोटोग्राफीसम्बद्ध धेरै व्यक्तिका जमघटको साझा फोरम पनि बन्नेछ ।” फेस्टिबल दुई दिन नेपालगञ्जमा आयोजना हुनेछ । यस अवसरमा गरिने फोटो प्रदर्शनीमा देशभरबाट छानिएका एक सय ५१ फोटो राखिनेछ । जसमा ३५ जना सहभागी रहनेछन् भने प्रशिक्षणका लागि काठमाडौँबाट वरिष्ठ फोटो पत्रकारको उपस्थिति रहनेछ ।
यसैगरी फोटोग्राफी अन्तक्र्रियासमेत आयोजना हुनेछ । जसमा फोटो पत्रकार र फोटोग्राफरले फोटो खिच्दाका रोमाञ्चकारी अनुभव सुनाउनेछन् । यस फेस्टिबलले अघिल्लो पुस्ता र नयाँ पुस्ताबीच सेतुको काम गर्ने आयोजकको विश्वास छ ।
यसैगरी प्रदर्शनीमा राखिएका फोटोलाई सर्वसाधारणको बढी जमघट हुने चोकमा डिजिटल डिस्प्ले पनि गरिनेछ । फेस्टिबलपछि फोटो राजधानी काठमाडौँ र मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरिनेछ । फोटो प्रतिस्पर्धाको सर्वोत्कृष्टलाई विगतमा रु २५ हजार नगदसहित प्रमाणपत्र प्रदान गर्दै आएकामा पुरस्कार राशि यस वर्षदेखि दोब्बर गरी रु ५१ हजार एक सय ११ पु¥याइने अध्यक्ष शाहले बताउनुभयो ।
दोस्रो संस्करणसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका फोटोमात्र सहभागी गराइएको यस प्रतिस्पर्धालाई तेस्रो संस्करणदेखि देशव्यापी बनाइएको थियो । राष्ट्रियस्तरको स्पर्धा भएकाले यस वर्षदेखि पुरस्कार राशि वृद्घि गरिएको र हरेक विधाको उत्कृष्टलाई विगतमा नगद रु पाँच हजारसहित प्रमाणपत्र दिने गरिएकामा यस वर्ष वृद्धि गरिने भएको उहाँले बताउनुभयो ।
यसैगरी फोटो प्रतिस्पर्धामा देशैभरबाट छानिएका उत्कृष्ट २५ वटा फोटोमध्येबाट एउटा फोटोलाई ‘पिपुल्स च्वाइस फोटो अवार्ड’ प्रदान गरिनेछ । यस अवार्ड विजेताले रु ५० हजार एक नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछ । टप २५ वटा फोटोमध्ये अनलाइन भोटिङका आधारमा यो अवार्ड छानिनेछ । सबैभन्दा बढी भोट प्राप्त गर्नेले अवार्ड जित्नेछन् । फोटो छनोटपछि १५ दिनको समय दिएर अनलाइन भोटिङ खुला गरिने आयोजक अन्तरालले जनाएको छ ।
पाँचथरको याङवरकमा बहुउद्देश्यीय कभर्डहल निर्माण
पाँचथर, ४ असोजः गयाङवरक गाउँपालिकाले बीचगाउँमा बहुउद्देश्यीय कभर्डहल निर्माण गरेको छ । पालिकाले सङ्घीय र कोशी प्रदेश सरकारसँगको लागत साझेदारीमा रु चार करोड ३५ लाखमा गाउँपालिकाको वडा नं ५ याङसिबुङमा कभर्डहल निर्माण गरेको हो ।
नवनिर्मित कभर्डहलको बिहीबार गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले उद्घाटन गर्दै खेलाडीलाई अभ्यास गर्न सहज हुने बताउनुभयो । ब्याडमिन्टन, भलिबल तथा मार्सलआर्टका तेक्वान्दो, कराते, उसु, कबड्डीलगायत खेल सञ्चालन गर्न अन्यत्र जानुनपर्ने उहाँले बताउनुभयो ।
ब्याडमिन्टनको विकासमा नियमित प्रशिक्षणको व्यवस्था गर्न कभर्डहल उपयोगी हुने जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष तेजबहादुर तुम्बापोले बताउनुभयो । संरचनाका कारण युवा खेलकुदतर्फ आकर्षित हुँदा कुलतमा फस्ने सम्भावना कम हुने, खेलकुद तथा खेल पर्यटनको विकासमा मद्दत पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कभर्डहलका लागि सात रोपनी जग्गा पृथीबहादुर योङहाङ, बमप्रसाद योङहाङ र चन्द्रकिशोर योङहाङको परिवारले दान गर्नुभएको हो । उहाँहरूलाई पालिकाले सम्मान गरेको छ ।
संविधान दिवसको अवसर पारेर उद्घाटन भएको कभर्डहलमा बिहीबारदेखि ब्याडमिन्टन प्रतियोगिता प्रारम्भ भएको छ । प्रतियोगितामा ९७ टोली सहभागी छन् ।































