केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी
कञ्चनपुर, ९ असोजः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा इन्चार्ज तोकेको छ । सुदूरपश्चिम प्रदेश समितिका इन्चार्ज गिरिराजमणि पोखरेलको परामर्श र सुझावका आधारमा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएर कार्य क्षेत्रमा खटाइएको इन्चार्ज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुर टेकेन्द्रप्रसाद भट्ट, कैलाली नेपबहादुर चौधरी, डडेल्धुरा कुन्ती जोशी, डोटीमा त्रिलोचन भट्टलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।
यसैगरी, बैतडीमा नरेन्द्र कुँवर, दार्चुला लक्ष्मणदत्त जोशी, बझाङ मीनबहादुर कुँवर, बाजुरा कर्णबहादुर विश्वकर्मा र अछाम जिल्ला इन्चार्जको जिम्मेवारी शरद्सिंह भण्डारीलाई दिइएको छ ।
जिम्मेवारी पाएर कार्यक्षेत्रमा खटिएका इन्चार्जले सङ्गठन सुदृढीकरणसँगै विस्तारका लागि कार्य अगाडि बढाउने बताइएको छ । अन्य केन्द्रीय समिति सदस्यलाई प्रदेश, जिल्ला, सदन, विभाग, जनवर्गीय समिति, मोर्चामा जिम्मेवारी दिइने पोखरेलले बताउनुभयो ।
आलेख : बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम
जलेश्वर, ९ असाेज: आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आउनुभएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ । उहाँले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आउनु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत हुनुहुन्छ । पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतम सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै ज्ञानको ज्योति छर्नमा व्यस्त हुनुहुन्छ । भूईमै कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएकी विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्दछन् ।
बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनीयरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ । करिब दुई हजार बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउनुहुन्छ । कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि सुरु हुने माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।
विद्यालयको एउटा कक्षा कोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेको हेर्न सकिन्छ । उहाँले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गर्नुभएको थियो । कक्षा ११÷१२ को पढाइ पोखराबाट पूरा गर्नुभएकी उहाँले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बटिएड.सम्मको अध्ययन गर्नुभएको हो । त्यसपछि उहाँले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाउनु भएको हो ।
कानले राम्ररी सुन्न नसक्ने र मुखले पनि राम्ररी बोल्न नसक्ने भएकाले उहाँ र उहाँका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो रहेको पाइँदैन । सायद त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी देखिएको प्रधानाध्यापक महतो बताउनुहुन्छ । बालबालिकाहरुले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उहाँसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ । बालबालिकाहरुले कुराकानी मात्रै नभएर उहाँको सङ्केत र इशाराकैभरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।
ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउनुहुन्छ । कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ । विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको बताउँदै शिक्षिका गौतमले शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको त्यहाँ पुगेका सञ्चारकर्मीलाई लेखेर देखाउनुभयो ।
उहाँले बहिरा बालबालिकालाई पठनपाठन गराउँदा देखिएका चुनौतीको बारेमा सोध्दा उहाँ भन्नुहुन्छ, ‘‘सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् ।’’ त्यस्ता क्षमता भएका बालबालिकाहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गरेको उहाँले बताउनुभयो ।
अन्य कक्षा जस्तो वैकल्पिक शिक्षिक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उहाँको गुनासो छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउनुहुन्न । बिरामी वा अन्य कारणले उहाँ विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्थापन गरिनुपर्ने माग गर्नुभयो । शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउनुहुन्छ । प्रत्येक गाउँबस्तीमा रहेका सुस्त श्रवण भएक बालबालिका शिक्षाबाट वञ्चित हुन नपरोस् र सामान्य नागरिक जस्तो बोल्न र सुन्न नसके पनि शिक्षाको माध्यमले ज्ञानको ज्योतिको साहारामा यस संसारमा सम्मानित जीवनयापन गर्न सकुन् भने उहाँको धारणा रहेको छ ।
उहाँ फरक क्षमता भएकाहरुका लागि जिल्ला, प्रदेश र सङ्घमा रहेका विभिन्न सङ् सस्थाहरुमा समेत आवद्ध हुनुहुन्छ । हाल उहाँ महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष हुनुहुन्छ भने राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव हुनुहुन्छ । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत रहनुभएको छ । फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उहाँको प्रतिनिधित्व रहने गर्दछ । प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ । उहाँले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताउनुभयो । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् । शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा लिखित र मौखिक रुपमा माग गर्दै पत्राचार गर्दै आएको प्रधानाध्यापक महतोले बताउनुभयो । विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी रु चार हजारका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन हुँदै आएको छ ।
राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस
काठमाडौँ, ९ असोज : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष देवराज विश्वकर्माले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
ढाका, ९ असोज : बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि गर्ने घोषणा गरेको छ ।
बङ्गलादेश बैङ्कका गभर्नर अहसान एच मन्सुरले सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नीतिगत दरमा वृद्धि र अन्य मौद्रिक नीतिमा कडाइ गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामी यो सातासम्ममा यसलाई बढाउनेछौँ र अर्को महिना फेरि यसलाई समायोजन गरिनेछ ।
केन्द्रीय बैङ्कले गत महिना मौद्रिक नीतिमा परिवर्तन गरेको थियो । बैङ्कले अन्य बैङ्कका लागि उपलब्ध गराउने ब्याजदर (रिपो रेट)मा वृद्धि गरेको थियो । मुद्रास्फीतिलाई नियन्त्रण गर्न वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने ऋणलाई ५० आधार बिन्दुले बढाएर ९ प्रतिशत पुर्याएको थियो।
बङ्गलादेशको मुद्रास्फीति अगस्टमा केही घटेर १०.४९ प्रतिशतमा झरेको थियो तर जुलाईमा ११.६६ प्रतिशतको उच्च रेकर्डपछि लगातार दोस्रो महिना दोहोरो अङ्कमा कायम रहेको थियो ।
कोरला नाकामा सञ्चार सुविधा विस्तार
म्याग्दी, ९ असोज : चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना कोरलामा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ ।
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले सञ्चार सुविधा भएपछि स्थानीयवासी, व्यापारी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी र कोरला नाका पुग्ने जोकोहीलाई सञ्चार गर्न सहज भएको बताउनुभयो ।
एक वर्षअघि सञ्चालनमा आएको कोरला नाकामा गत वैशाखमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार भएको थियो । नाकामा गण्डकी प्रदेश सरकारको लगानीमा गत साउनमा निर्माण भएका भवनमा अध्यागमन, भन्सार, सुरक्षा निकायको कार्यालय स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनुभयो ।
मुस्ताङको लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, थासाङ, लोघेकर र दामोदरकुण्ड गाउँपालिकाका बासिन्दा तिब्बतको नेचुङ–लिचीसम्म व्यापार गर्न नियमित रूपमा आवतजावत गर्दै आएका छन् ।
President, Vice-President messages on Jitiya festival
Kathmandu, Sept 25: President Ramchandra Paudel said indigenous festivals such as Jitiya festival would promote mutual respect, good will and sense of tolerance, thereby protecting diversity of the country.
In his message on the occasion of Jitiya festival today, President Paudel called for all to unite for preserving peculiar Nepali cultural heritage.
The Head of the State underlined the need to continue the glory of such festivals in order to create an ideal social and cultural environment and adopt a virtuous lifestyle.
Jitiya festival is celebrated by the married women of Tharu and Madhesi communities, especially in the Mithila region, by worshiping God for the longevity, good health, success and well-being of their offspring and families.
The festival falls on the eighth day of the waning moon (Krishna Pakshya) in the Nepali month of Ashwin as per the lunar calendar.
They feast on 'Ogatan' (delicacies) in the midnight of the previous day before observing a fast that bars even the consumption of water. Prior to observing the fast, women devotees take a holy bath in nearby rivers, ponds or lakes.
Meanwhile, Vice President Ram Sahay Prasad Yadav in his message on the occasion said, "The festivals we celebrate help us connect our customary values and norms to the present days. It also contribute to strengthen our family relations and consolidate social structures and unity".
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
काठमाडौँ, ९ असोजः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छभने कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ ।
यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानमा हुरीबतासको चल्ने सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
क्रिप्टो कारोबार : आरोपी प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस
काठमाडौँ ८ असोज : क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी उपरीक्षक प्रजित केसीको नेतृत्वको गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनमा उनीहरूमाथि थप अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको हो ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले क्रिप्टो कारोबारीसँग सम्पर्क रहेको पाएपछि समिति बनाएर अनुसन्धान गरिएको र आज थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै परिसरमा प्रतिवेदन पठाइएको राससलाई जानकारी दिनुभयो ।
यसरी अनुसन्धान गरिएकामा प्रहरी हवल्दार गणेश खड्का र जवान साजन शर्मा रहेका छन् । उनीहरूमाथि पक्राउ परेका क्रिप्टो कारोबारीलाई ५० लाख असुलेर छाडेको आरोप लागेको छ ।
सो विषयमा परिसरले पनि प्रहरी उपरीक्षक नवराज अधिकारी नेतृत्वका छानबिन समिति बाएर अनुसन्धान गरेको थियो । क्रिप्टो कारोबारी अहिले फरार रहेकाले उनी पक्राउ परेपछि अझै थप कुरा खुल्ने पनि उपत्यका प्रहरीले जानकारी दिएको छ ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँ, ८ असोजः धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै ५९ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५८ दशमलव ९३ अङ्कले ओरालो लागेर दुई हजार चार सय ७० दशमलव ३९ मा सिमित भएको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक नौ दशमलव ५२ अङ्कले ओरालो लागेर चार सय ४४ दशमलव ८८ मा सिमित भएको छ । कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कुल एक करोड ५५ लाख चार हजार नौ सय २९ कित्ता शेयर रु पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।
नेप्सेका अनुसार, स्वरोजगार लघुवित्त आठ दशमलव ८१, अप्पर स्याङ्गे हाइड्रोपावर सात दशमलव ८३, एनआइबिएल ग्रोथ फन्ड चार दशमलव ८५, इन्ग्वा हाइड्रोपावर चार दशमलव १४ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले चार दशमलव शून्य आठ प्रतिशतले कमाएका छन् ।
हिमालयन हाइड्रोपावर १०, नेपाल फाइनान्स आठ दशमलव ७४, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ९६, श्वेतगङ्गा हाइड्रोपावर सात दशमलव ६२ र एनआइसी एसिया फ्लेक्सी क्याप फन्डका लगानीकर्ताले सात दशमलव ५५ प्रतिशतले गुमाएका छन् ।
फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन
काठमाडौँ, ८ असोज : खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ ।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण अनुगमनका क्रममा मन्त्री यादवले उक्त निर्देशन दिनुभएको हो । काठमाडौँ उपत्यकामा सहरीकरणसँगै बढ्दै गएको फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण परियोजना भएको उल्लेख गर्दै उहाँले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताउनुभयो ।
“फोहोर पानी प्रशोधन केन्द्रहरुको प्रभावकारी सञ्चालनले काठमाडौँ उपत्यकामा पानीको गुणस्तर सुधार र वातावरणीय स्वच्छता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउँछ”, उहाँले भन्नुभयो, “यस्ता परियोजनाले वातावरणीय प्रभाव न्यूनीकरण गर्दै जनस्वास्थ्यमा सुधार ल्याउनेछन् ।”
परियोजना समयमै सम्पन्न भए उपत्यकाका मुख्य नदीमा प्रवाह हुने फोहोर पानीको प्रभावकारी व्यवस्थापन हुनुका साथै, स्वच्छता र स्वास्थ्यसम्बन्धी सेवामा दीर्घकालीन सुधार आउने मन्त्री यादवले अपेक्षा लिनुभएको छ । सोही क्रममा उहाँले मन्त्रालयले आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अनुगमनलाई उच्च प्राथमिकतामा राखेर परियोजनाहरुको समयमै कार्यान्वयन सुनिश्चित गरिने बताउनुभयो । सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरुको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवले जानकारी दिनुभयो ।
उहाँले निर्माण कम्पनीलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्नसमेत निर्देशन दिनुभयो । मन्त्री यादवले धोबीघाटको निरीक्षण अनुगमन पश्चात आजै बालकुमारी (कोड्कु) स्थित निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको पनि निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।
उहाँले परियोजनाको प्रगति अवस्थाबारे जानकारी लिएपछि निर्माण कम्पनीलाई स्रोत साधन परिचालन गरी कामको गति तीव्र पार्न निर्देशन दिनुभएको थियो । निरीक्षणकै क्रममा मन्त्री यादवले केन्द्रको हालको अवस्था, पानी प्रशोधन प्रणाली र बाँकी निर्माण कार्यको प्रगतिका बारेमा विस्तृत जानकारी लिनुभएको थियो ।
धोबीघाट र बालकुमारी (कोड्कु) फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य पूरा भएपछि यसले उपत्यकाका विभिन्न क्षेत्रका बासिन्दालाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त निरीक्षण अनुगमनमा खानेपानी मन्त्रालयका सचिव इ प्रमीलादेवी शाक्य बज्राचार्य, सह–सचिव रमाकान्त दुवाडी, आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक टिकाबहादुर चौधरीलगायतको सहभागिता रहेको थियो ।



























