पोखरामा बजार अनुगमनः खाद्य ‘स्टोर्स’लाई रु एक लाख जरिवाना
कास्की, १३ भदौ : जिल्ला प्रशासन कार्यालय कास्कीले चाडपर्वलक्षित बजार अनुगमनका क्रममा पोखरा महानगरपालिका–५ मा अवस्थित सगरमाथा एग्रो प्याकेजिङ स्टोरलाई रु एक लाख जरिवाना गराएको छ । उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्दै सामान बिक्री गरेको पाइएपछि बुधबार कारबाही गरिइएको हो । साथै सो उद्योगबाट म्याद गुज्रिएका र लेवल नभएका रु ५५ हजार आठ सय ९२ मूल्य बराबरका सामान जफत गरी नष्ट गरेको बजार अनुगमन समितिका संयोजक एवं कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यसरी म्याद गुज्रिएर जफत गरिएका सामग्रीमा अलैँची १६ केजी, चक्रचिप्स १९ केजी, पिप्ला आठ केजी, मेथीपत्ता चार बट्टा, पास्ता एक केजी, ओखर १६ केजी र अन्य तिललगायत मसला पाँच केजी रहेको छ । यसैगरी स्टोरमा मूल्यसूची नराखी जथाभावी सामान बिक्री वितरण गरेको पाइएपछि सम्पूर्ण कागजातसहित तीन दिनभित्र जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन समितिले निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “उपभोक्ताले गुनासो गर्नुभएपछि जिल्ला अनुगमन समितिबाट अनुगमन गरेका हौँ । सो क्रममा उपभोक्ता संरक्षण ऐनका विपरीतका कुसर गर्नुभएकाले पसल सञ्चालकलाई जरिवाना र अखाद्य सामग्री जफत गरेका छौँ ।”
यसैगरी अन्यत्रबाट खुला ल्याई उक्त उद्योगमा प्याकेजिङ गरिएको सोयाविन मस्यौरा प्रयोगशाला परीक्षणका लागि खाद्य नियन्त्रण तथा गुणस्तर कार्यालयमा पठाइएको क्षेत्रीले जानकारी दिनुभयो । सो स्टोरका सञ्चालक भारतको मोतिहारी जिल्ला ढाका गाउँ पञ्चायत–२ स्थायी घर भएका अशोक जैसवाललाई अब आइन्दा उपभोक्तामाथि खेलवाड नगर्न सचेत गराइएको छ ।
बजार अनुगमन टोलीमा नापतौल तथा गुणस्तर कार्यालय पोखराका प्रतिनिधि जनप्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि तथा उपभोक्ता मञ्च र सञ्चारकर्मीको सहभागिता रहेको थियो । यसैगरी चाडपर्व नजिकिएसँगै मूल्यवृद्धि, सामानको कृत्रिम अभाव, कालोबजारी र उपभोक्ता हकहितविरुद्धका कार्य हुनसक्ने भन्दै पोखरा महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ । महानगरले विभिन्न मासु पसल, दूध डेरीहरूमा अनुगमन बढाएको छ ।
लगानीअनुसार जुटले मूल्य पाएन
बेलबारी (मोरङ), १३ भदौः जुटले उचित मूल्य नपाउँदा यहाँका किसान चिन्तित बनेका छन् । पूर्वी तराई क्षेत्रमा वर्षौँदेखि नगदे बालीका रूपमा लगाउने गरिएको जुटखेतीले पछिल्लो समय किसानको लागत खर्च पनि उठ्न छाडेको छ । धनपालथान गाउँपालिका–१ नोचाका किसान काशीनाथ चौधरीले भन्नुभयो, “जुटखेतीतर्फ आकर्षण घटेको छ । जुट उत्पादनमा लगानी धेरै लाग्छ । लगानीअनुसारको बजार मूल्य नपाउँदा पुस्तौँदेखि गर्दै आएको जुटखेती छाड्दै गएका हौँ ।”
विगत वर्षहरूमा तीनदेखि पाँच बिघासम्ममा जुटखेती गर्दै आएकामा यस वर्ष एक बिघा १० कठ्ठामा मात्र खेती गरिएको उहाँले चौधरीले बताउनुभयो । तराईका अन्य खेतीभन्दा धेरै जुटखेती झन्झटिलो भएका कारण पनि आकर्षण घट्दै गएको जनाइएको छ । विगत वर्षहरूमा जुट सफाइ (धुने) गर्ने मजदुरलाई ४० मुठा धोएबापत छ मुठा दिने चलन थियो, अहिले ४० मुठा धोएबापत १० मुठासम्म दिँदा पनि धुने मानिस भेट्न छाडिएको किसान काशीनाथ चौधरी बताउनुभयो ।
धनपालथानका किसान चौधरीजस्तै जहदा–७ का किसान राजनिश सिंहले जुटखेतीलाई आधुनिकीकरणतर्फ जोड्न नसक्दा र उचित मूल्य नपाउँदा पछिल्लो समय जुटखेतीको आकर्षण घट्दो रहेको बताउनुभयो ।
किसानले जुटखेतीतर्फको आकर्षण घट्दो बताए तापनि तथ्याङ्कमा भने वार्षिक रूपमा उत्पादन बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा मोरङमा सात हजार तीन सय ५१ दशमलव ५० मेट्रिक टन, आव २०७९/८० मा सात हजार चार सय नौ दशमलव ५० मेट्रिक टन र आव २०८०/८१ मा सात हजार सात सय ३१ मेट्रिक टन जुट उत्पादन भएको हुँदा विगत वर्षमा भन्दा यस वर्ष उत्पादन बढेको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताउनुभयो ।
उहाँले मोरङमा गत वर्ष पाँच हजार एक सय १० हेक्टर जमिनमा जुटखेती गरिएकामा यस वर्ष वृद्घि भई पाँच हजार एक सय २५ हेक्टर जमिनमा जुटखेती गरिएकोे बताउनुभयो । उहाँका अनुसार यस वर्ष प्रतिहेक्टर एक दशमलव ४५ मेट्रिक टन उत्पादन भएको छ । आव २०७८/७९ मा प्रतिक्विन्टल रु ११ हजारमा कारोबार भएको जुटको मूल्य घटेर आव २०७९÷८० मा प्रतिक्विन्टल नौ हजार पाँच सयसम्ममा र हाल प्रतिक्विन्टल आठ हजार एकसय ५० मा कारोबार भइरहेको प्रमुख सिंहले बताउनुभयो ।
कोशी प्रदेशमा छ हजार नौ सय नौ सय ६२ हेक्टर जमिनमा जुटखेती गरिन्छ । प्रदेशभित्र अन्य जिल्लाको तुलनामा झापा, मोरङ र सुनसरीमा जुटखेती बढी गर्ने गरिएको छ । ज्ञान केन्द्रका अनुसार मोरङका १७ पालिकामध्ये धनपाल, जहदा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकामा जुटखेती गर्ने गरिएको छ ।
नेपालमा उत्पादित जुट सबै स्वदेशमै खपत हुन्छ । नेपालमा भारत र बङ्गलादेशबाट जुट आयात हुने गरेको छ । नेपालमा उत्पादन हुने जुटलाई तीन वर्गमा विभाजन गरिएको छ । रातो खैरो रङको जुटलाई एक नम्बर, सेतो रङको जुटलाई दुई नम्बर र कालो रङको जुटलाई तीन नम्बरमा विभाजन गरिएको छ ।
बोयर बोका र खरी जातको बाख्राको माग उच्च
दमौली (तनहुँ), १३ भदौः तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी खरी जातको बाख्रा उत्पादन गरेको छ । केन्द्रले एक वर्षको अवधिमा ३४ खरी बाख्रा उत्पादनको लक्ष्य राखेकामा ७० बाख्रा उत्पादन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा ३६ बढी बाख्रा उत्पादन भएको केन्द्रका प्रमुख राजु कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट खरी, सिन्हाल, बारबरी, जमुनापारी क्रस, शुद्ध बोर, बोर क्रस, शुद्ध सानन र सानन क्रस बाख्राका पाठापाठी उत्पादन गरिएको छ ।
सोही वर्ष बारबारीका छ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा छ, सिन्हालका चार पाठापाठी उत्पादन लक्ष्य राखिएकामा १२, शुद्ध बोरका ८० पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ५९, शुद्ध बोरका ८० पाठापाठी लक्ष्य उत्पादन राखिएकामा ५९, बोर क्रसका एक सय ७३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा एक सय ५९, शुद्ध साननका १५ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा २५, सानन क्रसका ३३ पाठापाठी उत्पादन लक्ष्य राखिएकामा ६६ पाठापाठी उत्पादन भएको छ ।
सानन दूध दुई हजार लिटर उत्पादन लक्ष्य राखिएकामा पाँच हजार सात सय ९१ लिटर, सानन चिज दुई सय किलो उत्पादन लक्ष्य राखिएकामा छ सय १२ किलो उत्पादन भएको केन्द्रका प्रमुख कँडेलले जानकारी दिनुभयो । अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको छ । उहाँले भन्नुभयो, “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”

केन्द्रले सो वर्ष एक सय ४२ बाख्रा वितरण गरेको छ । नेपालका अधिकांश जिल्लामा यहाँबाट उत्पादन हुने बाख्रा वितरण हुने गरेको कँडेलको भनाइ छ । एक सय प्रतिशत बोर बाख्रा ४५ वटा वितरण गरिएको छ । उक्त बाख्रा म्याग्दी, सोलुखुम्बु, पाल्पा, गोरखा, कैलाली, कास्की, काठमाडौँ, दाङ, रामेछाप, चितवन, तनहुँ, दोलखा, उदयपुर, लमजुङ, स्याङ्जा, रुकुमपश्चिम, धादिङमा वितरण भएको केन्द्रका प्रमुख कँडेलको भनाइ छ ।
बोर ९६ दशमलव ८७ प्रतिशत दुई, बोर ९३दशमलव ७५ प्रतिशत पाँच, बोर ८७ दशमलव ७५ प्रतिशत १२, बोर ७५ प्रतिशत १६, बोर ५० प्रतिशत नौ, सानन एक सय प्रतिशत ११, सानन ९३.७५ प्रतिशत चार, सानन ८७ दशमलव पाँच प्रतिशत तीन, सानन ७५ प्रतिशत चार, सानन ५० प्रतिशत दुई, बारबारी दुई, खरी २६ वटा बाख्रा वितरण गरिएको छ ।
बाख्राको अनुसन्धानका लागि केन्द्रले विभिन्न ठाउँमा स्रोतकेन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको नीलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् । त्यसमध्ये बरभञ्ज्याङमा एक सय ५५, बक्राङ गोरखामा १३, बरादी तनहुँमा एक सय ९३, पेखुथाना स्याङ्जामा दुई सय ३२, घिरिङ तनहुँमा ७७, नीलकण्ठ धादिङमा ६३ र निजगढ बारामा ४३ बोर क्रसका पाठापाठी उत्पादन भएको छ ।
केन्द्रमा बाख्रालाई चरिचरनको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुक्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आलेगाउँमा जमिन सम्याइ घाँस लगाइएको छ । केन्द्रमा कुल २४ जनाको दरबन्दी रहेकामा दरबन्दीअनुसार पाँचजना कार्यरत छन् । त्यस्तै तीनजना काजमा आएका छन् भने एकजना काजमा गएका छन् । प्राविधिक कर्मचारीको कमी, प्राविधिक कर्मचारीलाई प्रोत्साहन तथा तालिमको कमीका कारण सोचेअनुसारको काम हुन नसकेको प्रमुख कँडेल बताउनुहुन्छ ।
कुल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायोलगायत घाँस खुवाउने गरिएको छ । देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वनविज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रमा मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरूले अवलोकन गर्ने गरेका छन् ।
‘जहाँ हाटबजारमा पनि डेउडा गुञ्जिन्छन्’
घोडाघोडी (कैलाली), १३ भदौ : कैलालीको घोडाघोडी नगरपालिका–१ की ६० वर्षीया पद्मादेवी धामी शनिबार कहिले आउँदा भनेर औँला गन्दै बस्ने गर्नुहुन्छ । शनिबार आयो कि आफूले गर्न सक्ने काम छिटोछिटो भ्याएर नजिकैको सुख्खड बजारमा जाने हतारो हुन्छ उहाँलाई । त्यसको कारण हो डेउडा खेल्नु ।
शनिबारका दिन घोडाघोडी–१ सुखडमा डेउडा खेल्ने गरिन्छ । धामीले भनिन्, “अछामकी हुँ हजुर ! पहिँले पहिँले पहाडमा खुवै खेल खेल्लो छिया, तराई आएपछि खेल्ल पाहिन्या छियोन, आजकाल हाटबजारमा खेल लाग्दो छ । यैँ भएर शनिबार कैल आउला मान्नो छु ।”
धामीलाई जस्तै घोडाघोडी नगरपालिका–८ की धनसरा जोशीलाई पनि शनिबारको पर्खाइ हुन्छ । उहाँ भन्नुहुन्छ, “यो खेल लाग्न सुरू भएदेखि प्रत्येक शनिबार डेउडा खेल्न आइपुग्छु । देउडा खेल्न पाउँदा आफ्ना बाल्यकालका दिन याद आउँछन् ।”
विभिन्न मेला महोत्सव आयोजना गरिने सुखड बजारको हेलिप्याडमा शनिबारका दिन एकातिर कृषकले तरकारी बेचिरहेका हुन्छन् भने अर्कोतिर डेउडा खेल लागिरहेको हुन्छ । पद्मा र धनसरा जस्तै घोडाघोडी नगरपालिकाभित्रका डेउडा पारखीहरूलाई शनिबारको पर्खाइ हुन्छ । ताजा तरकारीसँगै अन्य सामान पनि किनमेल त गर्न पाइन्छ नै डेउडा खेल खेल्न र मनोरञ्जन पनि लिन पाइने डेउडा खेल्न पुुग्ने गरेका डम्बर विष्ट बताउनुहुन्छ ।
रमाइलोसँगै डेउडा खेल्न थालेदेखि व्यापार पनि राम्रो हुने गरेको व्यवसायी लक्ष्मी चौधरीको भनाइ छ । “मङ्गलबार हाटबजार लाग्ने गर्छ तर शनिबार त व्यापार र रमाइलो हुने भएकाले अचेल हामीलाई पनि रमाइलो लाग्न थालेको छ”, उहाँले भन्नुभयो ।
हाटबजारमा हरेक मङ्गलबार बिहान १० बजेदेखि कृषकले तरकारी बेचिरहेका हुन्छन भने शनिबार तरकारीसँगै दिउँसो ३ बजेपछि डेउडा खेलिने गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले जानकारी दिनुभयो ।
गएको माघदेखि हाटबजारमा नियमित रूपमा डेउडा खेल हुने गरेको उहाँले बताउनुभयो । “कृषकको व्यवसायसँगै हाटबजारमा डेउडा संस्कृतिको पनि संरक्षण गरिरहेका छौँ । यसले कृषकलाई पनि फाइदा पुगेको छ”, उहाँको भनाइ थियो । घोडाघोडीसँगै जिल्लाको बर्दगोरिया गाउँपालिका, लम्की चुहा नगरपालिकास्थित गुलरामा हाटबजारमा पनि डेउडा संस्कृति जोगाउने प्रयास गरिँदै आइएको छ ।
हाटबजारमा डेउडा लाग्ने दिन निकै भिड हुने गरेको बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बम बताउनुुहुन्छ । ‘संस्कृति बचाउ’ भन्ने उद्देश्यका साथ एक वर्षदेखि निरन्तर रूपमा डेउडा खेल हुने गरेको उहाँले सुनाउनुभयो । “आइतबार र बिहीबार गरी दुई दिन हाटबजार लाग्ने गर्छ”, अध्यक्ष बमले भन्नुभयो,“बिहीबार डेउडा खेलाउने गर्दछाँै । डेउडा खेल्नका लागि धनगढी, अत्तरिया, लम्की, महेन्द्रनगरका डेउडा कलाकारलाई बोलाउने गरिएको छ । गएको साउनदेखि निरन्तर डेउडा खेल खेलाइने गरेको छ ।”
धेरै जसो ज्येष्ठ नागरिकहरू डेउडा खेल्न आउने गरेकाले रमाइलोसँगै सुखदुःख साँट्ने र आफ्ना पुराना दिन स्मरण गर्दै रमाउनका लागि यो कार्य उपयोगी भएको छ ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा संस्कृतिविद् टि एन जोशी डेउडा खेल सुदूरपश्चिमका लागि निकै महत्वपूर्ण भएकाले यसलाई जोगाउनु सबैको दायित्व रहेको बताउनुहुन्छ । “यो यहाँको मौलिक संस्कृति हो, त्यसका लागि हाटबजारमा हरेक शनिबार यस्ता कार्यक्रम गर्नु पनि मौलिक नै छ । अब हरेक क्षेत्रबाट सुदूरपश्चिमका संस्कृति जोगाउने खालका कार्य हुन आवश्यक छ”, उहाँले भन्नुभयो,“यसले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न सघाउ पुगेको छ । डेउडासँगै सुदूरपश्चिमका अन्य संस्कृतिलाई पनि विभिन्न कार्यक्रममार्फत जोगाउन लाग्नुपर्छ ।”
प्रदेश १ मा दुग्धजन्य पदार्थको बिक्री बढ्न थाल्यो : व्यवसायी उत्साहित
झापा, १३ भदौः दुग्धजन्य वस्तु बिक्री नभएर सङ्कट झेलिरहेका डेरी व्यवसायीहरूमा सुधारको आशा पलाएको छ । डेरीबाट उत्पादन गरिएका नौनी घिउ, छुर्पी र पाउडर दूधको बिक्री बढ्न थालेपछि व्यवसायीमा आशा पलाएको हो ।
नेपाल डेरी एशोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमरियाले मौज्दातमा रहेका दुग्धजन्य पदार्थको दसैँतिहारसम्म ५० देखि ६० प्रतिशत खपत हुने बताउनुभयो । विगतमा सरकारले दुग्धजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएसँगै यहाँ उत्पादित सामग्रीले बजार पाएको हो ।
कोशी प्रदेशमा सहकारी र निजी डेरीले किसानबाट सङ्कलन गरेको दूधको भुक्तानी एक महिनामात्र ‘होल्ड’ गरेर सबै भुक्तानी गर्दै आएको बताउनुभयो । यसका कारण किसान पनि उत्साहित बनेका छन् । छ महिनाअघिसम्म कोशीका डेरी उद्योगमा नौनी घिउ, एसएमपी र छुर्पीको मौज्दात पाँच लाख केजीभन्दा ज्यादा रहेको थियो । भारतीय दूधको आयात घटेसँगै आन्तरिक खपतमा स्थानीय उत्पादन र उद्योगीलाई पहिलो प्राथमिकता दिने सरकारको निर्णयले हाल व्यवसायमा सुधार आएको उहाँले बताउनुभयो ।
उहाँले कोडिभ महामारीपछि ठूला गाईफार्म धामधम बन्द हुन थालेपछि हाल दूध उत्पादन घटेको बताउनुभयो । “किसान पछिल्लो समय पलायन भएका छन् । इलाम, पाँचथर, झापालगायत स्थानमा सञ्चालित धेरै गाईफार्म बन्द भए”, उहाँले भन्नुभयो, “करिब ३० प्रतिशत उत्पादन घटेसँगै बजारमा यसको बिक्रीमा सुधार आयो ।”
उहाँले यहाँ उत्पादित छुर्पी भने अन्तर्राष्ट्रिय बजारमा सहज रूपमा निर्यात भइरहेको बताउनुभयो । छुर्पीजस्तै घिउ, बटर र पाउडर दूध निर्यातमा समेत सरकारले गम्भीर भएर पहल गर्न आवश्यक रहेको उपाध्यक्ष चिमिरियाको भनाइ छ । उहाँका अनुसार देशभर हाल आठ लाख ५० हजार लिटर खुला दूधको दैनिक कारोबार हुँदै आएको छ । यसमध्ये कोशी प्रदेशमा मात्र तीन लाख ५० हजार लिटरको कारोबार हुने गरे तापनि रु ४५ करोड बढीको बटर नौनी अझै मौज्दात रहेको उहाँका भनाइ छ ।
चेकेथुम पहिरोको उच्च जोखिममा
खोटाङ, १३ भदौः बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित चेकेथुम पहिरोको उच्च जोखिममा परेको छ । गाउँभन्दा करिब एक किलोमिटर तल पर्ने मस्टपुखोलाबाट पहिरो बर्सेनि माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुमका स्थानीय बासिन्दा जोखिममा परेका हुन् ।
पच्चीस वर्षअघि सुरु भएको पहिरो निरन्तर माथिल्लो भेगमा सर्दै गएपछि त्यसभन्दा माथि पर्ने चेकेथुम गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दा दिनरात त्रासमा बस्नुपरेको बराहपोखरी –२ वडाध्यक्ष पदम मगरले जानकारी दिनुभयो । “चेकेथुमभन्दा मुनिका क्षेत्रमा प्रायः हरेक वर्षको भदौ र असोजमा पहिरो खस्ने गरेको छ । पहिरोभन्दा माथि पर्ने गाउँमा ६१ घर स्थानीय बासिन्दाको बसोबास छ”, उहाँले भन्नुभयो, “पहिरो निरन्तर सर्दै गाउँतर्फ आएपछि यस वर्ष स्थानीय खड्गबहादुर थापामगर, पर्शुराम मगर र गोपाल मगरको घर उच्च जोखिममा परिसकेको छ । यही क्रम नरोकिने हो भने पूरै गाउँ पहिरोमा बग्ने खतरा बढ्दै गएको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
हिउँद, बर्खा निरन्तर पानी बगिरहने मस्टपुखोलाबाट सुरु भएको पहिरो क्रमशः गाउँतिर सरेपछि २०७२ सालमा चेकेथुमको तल्लो भेगमा बसोबास गर्ने २८ घर स्थानीय बासिन्दा विस्थापित भएका थिए । पहिरोबाट विस्थापित भएकामध्ये स्थानीय दण्डबहादुर तामाङ र डम्बरबहादुर तामाङ छिमेकी जिल्ला उदयपुरको राजाबास भन्ने ठाउँमा बसाइँ सरिसक्नुभएको छ । पहिरोबाट विस्थापित भएका २८ घरमध्ये २६ घरका स्थानीय बासिन्दा आसपासका स्थानीयको जग्गा खरिद गरेर तथा आफ्नै सुरक्षित जग्गामा घर बनाएर सरेका छन् । भिरालो जमिन रहेको चेकेथुममा वर्षाको पानीले धाँजा फाट्ने र घाम लागेपछि क्रमशः पहिरोका रूपमा खस्ने क्रम नरोकिँदा तल्लो क्षेत्रमा पर्ने सयौँ रोपनी खेतीयोग्य जमिन बगिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।
बर्सेनि निरन्तर गइरहने पहिरो माथिल्लो भेगमा सर्दै गएपछि चेकेथुम सिङ्गो गाउँ तथा एउटा सामुदायिक विद्यालय पहिरोको उच्च जोखिममा पर्दै गएको स्थानीय आशिष बञ्जरा बताउनुभयो । “निरन्तर खसिरहने पहिरोका आकार करिब पाँच सय मिटर फराकिलो छ । पहिरोले बस्तीसँगै जनचेतना आधारभूत विद्यालय पनि जोखिममा पर्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिरो बर्सेनि माथिल्लो भेगमा रहेको गाउँतर्फ सर्दै गएपछि तल्लो भेगमा रहेका बस्ती पनि माथिमाथि सर्दै गएको छ । लामो समयअघिदेखि सुरु भएको पहिरो नरोकिँदा घर सार्नुपर्ने बाध्यताले स्थानीय बासिन्दा हैरानीमा परेका छन् ।”
वर्षात्का समयमा केही नहुने पहिरो वर्षा रोकिएर घामले जमिन तातिन थालेपछि फाट्दै गएर ठूलो पहिरोका रूपमा खस्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् । सिमसार र कमेरे माटो भएको जमिनलाई वर्षाको समयमा खोलामा आएको भलले कटान गरिरहने भएका कारण चेकेथुममा पहिरो नरोकिएको स्थानीय बासिन्दाको ठम्याइ छ । लामो समयदेखि निरन्तर खसिरहने पहिरो रोकथाम गर्न सकिने सम्भावना नरहेको वडाध्यक्ष मगरले जानकारी दिनुभएको छ । वडाध्यक्ष मगरका अनुसार सिमसार र कमेरे माटो भएको ठाउँबाट पहिरो गएकाले नियन्त्रण गर्न सम्भव नभएको हो ।
पहिरोबाट विस्थापित चेकेथुमका स्थानीय बासिन्दाले आफूहरू विस्थापित भएको लामो समय बितिसक्दा पनि राज्यको तर्फबाट अहिलेसम्म क्षतिपूर्तिबापत केही पनि नपाएको गुनासो गरेका छन् । पहिरोका कारण विस्थापित अधिकांश घरपरिवार आफैँले ऋण गरेर खरिद गरेको जग्गामा बनाएको घरमा बसिरहेका छन् ।
‘मिस भिवा’का १६ प्रतिस्पर्धी सार्वजनिक
काठमाडौँ, १२ भदौः ‘मिस भिवा’ का १६ जना प्रतिस्पर्धी सार्वजनिक गरेको छ । आज आयोजित एक समारोहका बीच उमङ्ग क्रियशनले प्रतिस्पर्धीसहित (ताज) क्राउन सार्वजनिक गरेको हो ।
‘मसि भिवा’ संस्कृत शब्द रहेकाले यसको नेपाली अर्थ ब्रेभ, बोर्ड, ब्युटीको रहेको उमङ्ग क्रियशनका प्रबन्ध निर्देशक उद्धव अधिकारीले बताउनुभयो । मिस भिवाका विजेताले मिस ग्रान्ड नेपालमा सहभागिता जनाउन पाउने उहाँले बताउनुभयो ।
प्रतियोगितामा जम्मा १६ जना प्रतिस्पर्धी सहभागी रहेका छन् । जसमा मिमोशा राई, अस्मिता शाह, डा काजल ठाकुर, आकृति कुँवर, प्रेक्षा जोशी, विना महर्जन, प्रेमा लामगाढे, ज्योति खड्क, रिंसा शाक्य, कृशला गुरूङ, प्रिया महर्जन, श्रीया मानन्धर, शिशेका सुब्बा, सञ्जु केसी, सुधिरा यादव र जेनिता सेञ्चुरी सहभागी रहेका छन् । प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रतिस्पर्धीलाई सार्वजनिक गरिएको थियो ।
कार्यक्रमा सबैभन्दा महँगो रु २५ लाख बराबरको क्राउन सार्वजनिक गरिएको थियो । यो अपाला ज्वेलर्सले नेपाली संस्कृति र पहिचान झल्कने गरी डाइमन तथा ह्वाइट गोलबाट निर्माण गरेको त्यस अवसरमा जानकारी दिइयो । प्रबन्धक अधिकारीले इन्टरनेशनल फ्रेञ्चाइजसहित पहिलो चरणमा अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट २० मा पु¥याइसकेको र अब मिस भिवालाई अन्तर्राष्ट्रिय प्याजेन्टका रूपमा नेपालमा नै गर्ने लक्ष्यका साथ अगाडि बढाइएको बताउनुभयो ।
विजेताले मिस ग्राण्ड इन्टरनेशनलमा प्रतिनिधित्व गर्ने छन् । ‘मिस भिवा’ थाइल्याण्डको फ्रेञ्चाइज हो ।
अफगानिस्तानमा मार्शल आर्टमाथि प्रतिबन्ध
काबुल, १२ भदौ : अफगानिस्तानको तालिबान सरकारले मिश्रित मार्शल आर्ट (एमएमए) लाई गैर–इस्लामिक भएको विश्वासमा प्रतिबन्ध लगाएको यसको खेल प्राधिकरणले बुधबार बताएको छ ।
खेलको इस्लामिक कानून वा शरियाको पालनाको अनुसन्धानपछि सद्गुणको प्रचार र अवगुणको रोकथामका लागि मन्त्रालयमा अफगानिस्तानको नैतिकता प्रहरीले उक्त आदेश पारित गरेको प्राधिकरण र स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।
“यो खेल शरियाको सन्दर्भमा समस्याग्रस्त छ र यसमा धेरै पक्ष इस्लामको शिक्षासँग विरोधाभासपूर्ण छन्”, तालिबान सरकारको खेल प्राधिकरणले एएफपीलाई पठाएको विज्ञप्तिमा भनिएको छ, “त्यसैले अफगानिस्तानमा मिश्रित मार्शल आर्टमाथि प्रतिबन्ध लगाउने निर्णय लिइएको छ ।”
खेल प्राधिकरणका एक अधिकारीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार मार्शल आर्टलाई अत्यन्त हिंसात्मक मानिएको र यसबाट चोट वा मृत्युको खतरा भएकाले एमएमएमाथि आंशिक रूपमा प्रतिबन्ध लगाइएको थियो ।
इस्लामिक कानूनको कडा व्याख्या लागु गर्दै तालिबान अधिकारीहरू सन् २०२१ मा सत्तामा फर्किएका थिए । उनीहरूले हालै नैतिकता कानूनलाई अनुमोदन गरेका छन् । यसमा व्यवहार र पोशाकमा धेरै नियमलाई औपचारिक रूप दिइएको छ । कानूनमा पुरषहरूले घुँडाभन्दा माथि कमिज लगाउन नपाइने व्यवस्था गरिएको छ ।
मार्शल आर्ट अफगानिस्तानमा लोकप्रिय खेल हो । पेरिस खेलमा राष्ट्रिय वा शरणार्थी ओलम्पिक टोलीमा भाग लिने ११ अफगानमध्ये चार जना मार्शल आर्टका खेलाडी थिए ।
सुरक्षा चिन्ताका कारण एमएमएलाई ओलम्पिक खेलका रूपमा मान्यता दिइएको छैन ।
जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व हो: मन्त्री यादव
काठमाडौँ, १२ भदौः खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ ।
खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०/०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”
मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।”
खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी ! यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।”
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।
महाधिवेशन सम्पन्न प्रश्चात पनि जसपा नेपालभित्र असन्तुष्टि झनै बढ्दै
इटहरी, भाद्र १२ : उपेन्द्र यादव नेतृत्व जनता समाजवादी पार्टी नेपालको एकताको राष्ट्रिय महाधिवेशन २०८१ जेष्ठ २८, २९ र ३० गते सम्म मधेस प्रदेशको राजधानी जनकपुरधाम मा सम्पन्न भएको थियो । महाधिवेशन सम्पन्न भएको लगभग २ महिना प्रश्चात भदौ १० गते २० सदस्यीय पदाधिकारी घोषणा गरेकोछ। सार्वजनिक गरिएको निर्णय अनुसार सहअध्यक्ष–१, उपाध्यक्ष–५, महासचिव–२ उपमहासचिव–३, सचिव–७, कोषाध्यक्ष– १, प्रवक्ता –१ जना चयन गरेको छ ।
पदाधिकारी चयन प्रति जसपा नेपालमा आबद्ध विभिन्न तहका नेताहरूले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालभर व्यक्त गरेको देख्न सकिन्छ । उक्त पदाधिकारी चयनप्रति जसपा नेपालका राजनीति समिति सदस्य तथा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले असन्तुष्टि जनाएका छन् । बस्नेतले पदाधिकारी चयनप्रति असन्तुष्ट हुदै आफ्नो फेसबुकमा लेखेका छन्, "पार्टी परित्याग गर्छु भन्दै धम्क्याउँदै हिँड्ने लाक्पा शेर्पा सचिव, यो पार्टी काम लाग्दैन तपाई (जुद्ध ढाक्रेलाई) घोषणापत्र लेख्नुस्, म विधान लेख्छु भनेर लागेका राजकुमार राई सचिव, एमालेमा पदको बार्गेनिङ गर्दै हिँडेका विद्युत् बज्राचार्य उपाध्यक्ष, जसपा नेपाल फुटाएर जसपा पार्टी बनाउने मुख्य परिकल्पनाकार र योजनाकार रकम चेम्जोङ सह–अध्यक्ष । जसपा नेपालमा जति ठुलो गद्दारी, त्यति ठुलो पद !" www.facebook.com/purnasamajwadi
त्यसैगरी जसपा नेपालका अर्का नेता लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले पनि पदाधिकारी चयन प्रति असन्तुष्टि जाहेर गर्दै आफ्नो फेसबुकमा लेखेकाछन् , "जनता समाजवादी पार्टी, नेपाल निर्माण गर्नमा तराई मधेसका हामी जस्ता हजारौँ युवाहरूको बलिदानी पूर्ण इतिहास छ, जसरी पार्टी महाधिवेशनमा विभिन्न षड्यन्त्र गरी घोषणा गरिएको निर्वाचन रोकेर एकल अधिकार प्रयोग गर्दै तराई मधेसका क्रान्तिकारी योद्धाहरूलाई बाइपास गरेर केही पार्टी भित्र आफ्नो वरिपरि गणेश परिक्रमा गर्ने भडुवाहरूलाई पदाधिकारीमा राखेर पार्टी कब्जा गर्ने निती स्वरूप पार्टी नेतृत्वले अपरिपक्व निर्णय लिएको छ,यस निर्णयको विरुद्ध पार्टी भित्र सङ्घर्ष निश्चित रूपमा हुन्छ। यो निर्णय गलत छ,सुधार भएन भने विद्रोह गरेर भएपनि सच्याउनु पर्छ । निर्णय सच्याएनन् भने पार्टी अध्यक्ष उपेन्द्र यादव कुनै भगवान होइनन्, जसरी पटक पटक मधेसका क्रान्तिकारी नेताहरूलाई समाप्त पार्ने षड्यन्त्र गरेका छन त्यसरी नै कुनै दिन मधेस बाटै उठेको आन्दोलनले उनैलाई समाप्त गर्न सक्छ समयमा सचेत हुन आवश्यक छ । जय मातृभूमि !!!" भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । www.facebook.com/ashoky3
उपेन्द्र यादवले २०६३ सालमा मधेस जनअधिकार फोरम नेपाल गठन गरेका थिए। ०६३ देखी ०८१ सालमा आइपुग्दा मधेस जनअधिकार फोरम जुट्ने र फुट्ने क्रम भए पनि यादव जहिले पार्टी नेतृत्वमा नै रहेका थिए । १८ वर्षपछि भएको एकताको राष्ट्रिय महाधिवेशनबाट जनता समाजवादी पार्टी नेपालमा उपेन्द्रले आफूलाई फेरी अध्यक्षमा सर्वसम्मत चयन गराएका थिए । र, अध्यक्ष बाहेक पदका लागि निर्वाचनको सम्पूर्ण तालिका सार्वजनिक पनि भएको थियो तर सबै प्रक्रिया स्थगन गरी पदाधिकारी र केन्द्रीय कार्य समिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादव आफैले लिने निर्णय गराएका थिए ।






























