बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3VPMZDDH8PZHGKCQM2NGXNY.png

नेकपा एसको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौँ, १३ साउन I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

पार्टी विधानअनुसार दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा अब तीन सय २९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ ।
 
सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताउनुभयो ।

प्रकाशित मितिः आइतबार, १३ साउन २०८१
https://jawaaf.com/storage/01J3VP9ECG9QRZPC8GHHSQQN98.png

पेरिस ओलम्पिकः ब्याडमिन्टनमा पराजय

काठमाडौँ, १३ साउन I ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन् ।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् ।

सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।

सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो ।  ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन् ।

भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन् । दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।
 
ओलम्पिक खेलअन्तगर्त सुटिङ खेलमा नेपालकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्भने पौडीमा डुवाना लामाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।

प्रकाशित मितिः आइतबार, १३ साउन २०८१
https://jawaaf.com/storage/01J3VJA5PBZB5H9J93BC32QYFR.jpg

गड्डाचौकी नाकामा आवागमन सहज बनाउन माग

दोधारा चाँदनी (कञ्चनपुर), १३ साउन I गड्डाचौकी नाकामा आवागमन सहज तुल्याउन व्यवसायीले माग गरेका छन् । जिल्ला होटल व्यवसायी सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा व्यवसायीले सरकारसँग त्यस्तो माग गरेका हुन् । 


उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लले नाकामा जाँचका नाममा हुने सास्तीले पर्यटक आउन छाडेको बताउनुभयो । “पाँच किलोमिटरको दूरीमा नौ स्थानमा जाँच हुन्छ यसले यो नाकाबाट आउन पर्यटकलाई असहज भएको छ”, उहाँले भन्नुभयो । 

नाकामा हुने अनावश्यक जाँचले गड्डाचौकी भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको होटल व्यवसायी बताउँछन् । नाकामा एकीकृत सुरक्षा जाँच गरेर यसको समाधान गर्नुपर्ने व्यवसायीहरूको माग छ । “नाकामा पर्यटकलाई सहज रूपमा आवतजावतको वातावरण सिर्जना हुनुपर्छ ।” होटल व्यवसायी सङ्घका अध्यक्ष जगदीशचन्द्र भट्टले भन्नुभयो, “सरकारले एकीकृत सुरक्षा जाँच गरेर नाकामा सहज आवागमनको व्यवस्था गर्नुुपर्छ ।”

सुरक्षा निकायले भने सीमा नाकामा हुने जाँचका कारण कुनै समस्या नभएको दाबी गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले सुरक्षा, लागुऔषध कारोबार नियन्त्रणलगायत अपराध नियन्त्रण गर्न नाकामा जाँच गर्ने बताउनुभयो । “प्रहरीको जाँचले कसैलाई पनि बाधा पुगेको छैन”, उहाँले भन्नुभयो, “नाकाबाट अवैध रूपमा आउने सामान नियन्त्रण गर्न प्रहरी सक्रिय  छ, विगतको तुलनामा राजस्व वृद्धि भएको छ ।”

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नाकामा एकीकृत सुरक्षा जाँच हुनुपर्ने बताउनुभयो । “नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकाबाट महेन्द्रनगरसम्म पुग्दा नौ ठाउँमा जाँच गर्छन्”, रावलले भन्नुभयो, “अनावश्यक दुःख दिने किसिमले पाँच किलोमिटरको दूरीमा नौ ठाउँमा जाँच हुनुले राम्रो सन्देश गएन ।”

प्रकाशित मितिः आइतबार, १३ साउन २०८१
https://jawaaf.com/storage/01J3VHHKPEBC0YBC3GKBZR7AM0.jpg

खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन

खोटाङ, १३ साउन I  जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ । 

बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, हेलमेट नलगाएको तथा दर्ता नम्बर बिना सवारी साधान चलाउने उपर कारबाही गरेर उक्त रकम सङ्कलन भएको हो । 

दश स्थानीय तह रहेको जिल्लामा आव २०८०/८१ मा १५ वटा सवारीसाधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिएभने १६ जना घाइते भएका थिए । 

जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारी साधन बिना अनुमति सञ्चालन भइरहेका पाइएको जनाउँदै प्रहरीले त्यस्ता सवारीचालकलाई पनि कानुनको दायरमा ल्याइएको बताएको छ ।  यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य ‘रुट परमिट’ (सम्बन्धित सडक सवारी अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ ।

विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमा बोकेर ल्याइएको सवारी साधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा सानाठूला गरी करिब सात सयको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गले छोएको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।

प्रकाशित मितिः आइतबार, १३ साउन २०८१
https://jawaaf.com/storage/01J3T8Y115M135CJ23GF4V0CTK.jpg

साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो मुलुक साहित्य साधनाको ऊर्बर भूमि र ज्ञानको उद्भव स्थल हो भन्नुभयो । “मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँशु कविता प्रकट हुने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्ने चाहन्छु ।’’   
  
उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको छ भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गर्नुभएको थियो ।   
  
लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्नु नपर्ने बताउनुभयो ।   
  
आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।   
  
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।  

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T8GFGD18BM4C25VYJV3HY1.jpg

जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ साउन I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताउनुभएको छ ।   
  
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गर्नुभयो ।   
  
उहाँले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई केन्द्रित गरेको बताउनुभयो ।   
  
संविधन संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको भनाइ छ । संविधान संशोधनको सैद्धान्तिक विरोध नभए पनि जुन तरिकाका साथ दुई दल (नेपाली कांग्रेस र नेकपा (एमाले) अगाडि बढ्न खोजेका छन् त्यसले भने आफूहरूलाई संशय पैदा गरेको उहाँको कथन छ ।   
  
संविधानका मूलभूत प्रस्तावनालाई परिवर्तन गर्न खोज्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व, सङ्घीयता र गणतन्त्रको सकारात्मक पक्षलाई कमजोर पार्न खोज्ने प्रवृत्ति देखापरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो “संसद्को पहिलो र दोस्रो ठूलो दल मिल्नु स्वाभाविक मानिँदैन, लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको छ ।”   
  
पछिल्ला दिनमा ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने र ‘तथाकथित’ रूपमा दुई दलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबर्जस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको टिप्पणी गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानलाई केन्द्रमा राखेर पुनः वामपन्थी शक्तिबीचको एकता प्रक्रियालाई अगाडि बढाउन उहाँले सबैलाई आह्वान गर्नुभयो ।   
  
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता, सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखापरेको अराजकता र व्यक्तिकेन्द्रित अहङ्कार र जनताको अधिकार खोस्न खोज्ने प्रवृत्तिका विरुद्ध साझा प्रतिवादको जरुरी रहेको बताउनुभयो ।   
  
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखापरेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको समाधान हुने बताउनुभयो ।   
  
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लक्ष्यसहित कार्यक्रम अगाडि बढाउन सबै वामपन्थी शक्तिलाई आह्वान गर्नुभयो ।   
  
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गर्नुभयो ।   
  
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता भीम रावल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले पुष्पलालको योगदान र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्दै समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्नुभयो ।  

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T5TPYY2X053B9EHVBBT5PQ.jpg

सर्बियामा भ्यान पल्टिँदा नेपालीसहित ३० यात्रु घाइते

बेलग्रेड, १२ साउन (रासस/एएफपी) I दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ ।

आरटीएसका अनुसार तीन जना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ ।

ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष रहेको आरटीएसले जनाएको छ । 

गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।

सर्बिया युरोपेली सङ्घ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ । 

सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3T2XTHSTKS1JE4G23ZGYZRW.jpg

स्मार्टफोन, हेडफोन र चार्जर खरिदमा बाहिरियो ३१ अर्बभन्दा बढी

काठमाडौँ, १२ साउन I गत आर्थिक वर्ष २०८०/८१ मा स्मार्टफोन, हेडफोन र मोबाइल चार्जरको आयातमा मात्र मुलुकबाट करिब रु साढे ३१ अर्ब बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले बढी आयात गर्ने वस्तुहरुमा पेट्रोलियम पदार्थ र फलामजन्य वस्तुपछि तेस्रो स्थानमा स्मार्टफोन छ ।

गत आवमा स्मार्टफोन आयातमा मात्र रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर बाहिरिएको हो । यस अवधिमा १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन नेपाल भित्रिएका छन् । स्मार्टफोनको आयात सरकारले रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाएको पनि विभागको तथ्याङ्कबाट देखिन्छ । गत आवमा रु एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार छ सय ९० सेट टेलिफोन आयात भएका छन् । 

त्यस्तै, हेडफोन आयातमा मात्र रु ६५ करोड ९३ लाख २८ हजार विदेशिएको छ । एक वर्षमा २९ लाख ९६ हजार दुई सय २९ वटा हेडफोन आयात गर्दा सरकारले रु २१ करोड नौ लाख २३ हजार भन्सार राजस्व सङ्कलन गरेको छ । 

गत आवमा मोबाइल रु ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार आठ सय ३९ वटा चार्जर आयात भएको छ । चार्जर आयातबाट मात्र रु १५ करोड ५७ लाख १० हजार राजस्व सङ्कलन भएको छ । गत आवमा रु ३५  करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार छ सय ६९ वटा स्मार्टवाच आयात भएको छ ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3SXDAHZKA23ZVMZ32ZGWY7W.jpg

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ, १२ साउन I स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिनुभयो । 

उहाँले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । ढलबाट मिसिएको हुनसक्छ । शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ । हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ ।”

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनले भन्नुभयो, “हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ ।” 

हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् । डा पुनका अनुसार यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ । 

डा पुनले मुख्यतः तीन वटा कुरामा ध्यान दिन सके हैजालाई नियन्त्रणमा राख्न सकिने बताउनुहुन्छ । पहिलो सुरक्षित पानी, व्यक्तिगत सरसफाइ र अर्को अनुगमन । उहाँले सबैभन्दा महत्वपूर्ण पाटो सफा र स्वच्छ पानी सेवन गर्नुपर्ने बताउनुहुन्छ । “हैजा दुषित पानीबाट एकदमै सहज र सरल तरिकाले फैलिने गर्दछ । धाराको पानी मान्छेले उमालेर वा फिल्टर गरेर खान्छन् तर जारको पानी धेरैले त्यसो गर्दैनन्”, उहाँले भन्नुभयो, “किनेको पानी पिउनयोग्य नै छ भनेर सिधै खाइन्छ । विद्यालयदेखि लिएर कार्यालयदेखि लिएर सार्वजनिक स्थलमा जारको पानी राख्ने चलन छ । कतिपय व्यवसायीहरुले प्रशोधित नै नगरेका पानी बजारमा पठाउँदा रहेछन् । जसले गर्दा हैजाको संक्रमण फैलिन्छ ।”

उहाँले व्यक्तिगत सरसफाइ व्यवहारमा लागू भएको नदेखिएको बताउनुहुन्छ । “शौचालयको व्यवस्थापन राम्रो हुनुपर्छ । शौचालयको व्यवस्थापन कमजोर हुँदा हैजालगायत पानीजन्य रोगहरु फैलिन सक्छ । दिसामा रहेका जीवाणुहरु कुनै कारणले गर्दा बगेर फेरि हाम्रो खानेपानीमा आइपुग्छ । शौचालयको प्रयोग गरेपछि साबुन पानीले मिचिमिचि हात धुन जरुरी छ”, उहाँले भन्नुभयो । 

डा पुन कतिपय व्यापारीले प्रशोधन नै नगरी पानी बजारमा ल्याइदिँदा खेरी मानिसहरु बिरामी हुने भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “अनुगमन कडाइका साथ गर्ने हो धेरै हदसम्म नियन्त्रणमा आउँछ । किनभने विकसित देशमा पानीजन्य रोगहरु अत्यधिक कम छ ।” 

हैजालगायत पानीजन्य रोगबाट बच्न उमालेको वा क्लोरिन झोल हालेर शुद्धीकरण गरिएको पानी पिउने, खानेकुरालाई राम्ररी पकाएर खाने, खाना बनाउनु अघि र खाना खानु वा खुवाउनु अघि, दिसापिसाब गरेपछि वा बालबालिकाको दिसा धोएपछि, फोहोर चलाएपछि, घर वा कार्यालय छिर्नु अघि, बाहिर सामान छोएपछि साबुन पानीले कम्तीमा २० सेकेन्डसम्म मिचिमिचि हात धुनुपर्ने विज्ञहरुको सुझाव छ । 

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१
https://jawaaf.com/storage/01J3SQFD7VK2Q7REHDN3BNC0MK.png

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा कमला ह्यारिसको उम्मेदवारी घोषणा

वासिङ्टन डीसी, १२ साउन (रासस /एएनआई) I अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेदवारीको आधिकारिक घोषणा गर्नुभएको छ । 

“आज, मैले संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि आधिकारिक रूपमा मेरो उम्मेदवारी घोषणा गर्ने फारमहरूमा हस्ताक्षर गरेको छु । म हरेक मत कमाउन कडा मेहनत गर्नेछु र नोभेम्बरमा हाम्रो जित हुनेछ“, कमला ह्यारिसले आफ्नो पोस्टमा भन्नुभयो । 

नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा उपराष्ट्रपति कमला ह्यारिसलाई डेमोक्र्याटिक पार्टीले आफ्नो उम्मेदवारको रूपमा समर्थन जनाएको छ ।

यसअघि शुक्रबार पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी राष्ट्रपति पदका लागि कमला ह्यारिसलाई सार्वजनिक रूपमा समर्थन गर्नुभएको थियो । ओबामाले आफू र अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसको जित सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । 

यस हप्ताको सुरुमा ओभल अफिसबाट राष्ट्रलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कमला ह्यारिसलाई “महान उपराष्ट्रपति“ को रुपमा सम्बोधन गर्नुभएको थियो । “उहाँ अनुभवी हुनुहुन्छ र राष्ट्रपति पदका लागि सक्षम हुनुहुन्छ“, बाइडेनले भन्नुभएको थियो ।

यसबाहेक, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन पियरेले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवारका लागि कमला ह्यारिसभन्दा योग्य अरु नभएको बताउनुभएको थियो ।

प्रकाशित मितिः शनिबार, १२ साउन २०८१