मीनराज वसन्तद्वारा अनूदित ‘पहेँलो छाता’ सार्वजनिक
काठमाडौँ, १० साउन I प्रसिद्ध भारतीय लेखक उदय प्रकाशद्वारा लिखित ‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद ‘पहेँलो छाता’ सार्वजनिक भएको छ ।
सम्पूर्ण किताब चितवनमा भएको एक अनौपचारिक जमघटमा ‘पहेँलो छाता’ सार्वजनिक गरिएको हो । स्रस्टाहरू भूपिन, डा एकनारायण पौड्याल, डा केशवराज चालिसे, रमेश प्रभात, चेतराज रेग्मी, लेखराम सापकोटा, अमर घिमिरेलगायतले कृति सार्वजनिक गर्नुभयो ।
कृति सार्वजनिक गर्दै भूपिनले आफू उदय प्रकाशको लेखनको प्रशंसक भएको बताउनुभयो । “उहाँका कृतिमध्ये मलाई मनपर्नेमध्येको एक पिली छतरी वाली लडकी पनि हो”, उहाँले भन्नुभयो, “यसलाई मीनराज बसन्तले नेपालीमा अनुवाद गरेर राम्रो काम गर्नुभएको छ । यो ज्यादै खुसीको कुरा हो ।”
‘पहेँलो छाता’मार्फत पाठकले उदय प्रकाशको समाजलाई हेर्ने दृष्टिकोण र बुझ्ने धारणा महसुस गर्ने सकिने उहाँको भनाइ थियो । “भारतीय उपमहाद्वीपमा जुन जातीय र भाषिक मुद्दा छ, त्यसलाई उदय प्रकाशले कलात्मक ढङ्गले विश्वविद्यालयको परिवेशमा कथा उनेका छन्”, भूपिनले भन्नुभयो, “नेपालमा पनि दलितमुक्ति आन्दोलनका लेखक तथा पाठक दुवैका लागि यो कृति फाइदाजनक छ । भाषिक कोमलतामा पनि यति सुन्दरता कृति लेख्न सकिन्छ भन्ने थाहा पाउन पनि यो कृति पढ्नुपर्छ ।”
‘पिली छतरी वाली लडकी’ को नेपाली अनुवाद आख्यानकार मीनराज वसन्तले गर्नुभएको हो । उहाँका यसअघि दुई आख्यान ‘मुदिर’ (२०७३) र ‘पिपिरी’ (२०७५) प्रकाशित छन् भने लेनिनको जीवनी ‘लेनिन’ (अनुवाद) प्रकाशित छन् । बीएन पुस्तकले प्रकाशन गरेको कृतिको मूल्य रु चार सय २५ रहेको छ ।
रास्वपाद्वारा पार्टीको विधान परिमार्जनका लागि कार्यदल गठन
काठमाडौँ, १० साउन I राष्टिय स्वतन्त्र पार्टी(रास्वपा)ले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि कार्यवाहक महामन्त्री बुर्लाकोटीसहित ११ सदस्यीय कार्यदल गठन गरेको हो ।
उक्त कार्यदलको सदस्यमा सोविता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शङ्कर श्रेष्ठ हुनुहुन्छ ।
आजको बैठकको निर्णयबारे जानकारी दिँदै कार्यवाहक प्रवक्ता मनिष झाले भदौको दोस्रो सातामा कर्णाली अभियान कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उक्त अभियान सहमहामन्त्री विपिन आर्चायले संयोजन गर्नुहुनेछ ।
बैठकले पार्टीको पदाधिकारी र नेतृत्वमा रहेका सदस्यलाई रणनीतिकरुपमा सक्षम बनाउन सघन प्रशिक्षणका लागि ‘क्लोज क्याम्प’ आयोजना गर्ने निर्णय गरेको छ ।
सो पार्टीको केन्द्रीय समितिको आजको बैठकले पार्टीको सम्बन्धमा सार्वजनिक बहसमा आएका विषयमा अध्ययन अनुसन्धानका लागि केन्द्रीय अनुशासन आयोगलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । बैठकले डा अरनिको पाँडेलाई पार्टीको केन्द्रीय समितिमा पुनर्बहाली गर्ने निर्णय गरेको हो । यस्तै बैठकले पार्टीको केन्द्रीय विभागमा विभिन्न मितिमा सदस्य अनुमोदन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णयः मुख्य सचिव र राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्त
काठमाडौँ, १० साउन I सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र सदस्यहरुको मनोनयन पनि सो बैठकले गरेको छ । आयोगको उपाध्यक्षमा पाल्पाका डा शिवराज अधिकारीलाई नियुक्त गरेको उहाँले जानकारी दिनुभयो । अधिकारी त्रिभुवन विश्वविद्यालयमा अर्थतन्त्र प्राध्यापक हुनुहुन्छ । बैठकले आयोगका सदस्यहरुमा डा आरपी बिछार, डा रमेशप्रसाद सिंह, डा प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीलाई नियुक्त गरेको छ ।
भारतबाट एक अर्बको आलु आयात
खजुरा (बाँके), १० साउन I बाँकेको जमुनाह सीमा नाकाहुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ । सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो । आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो ।
आलु आयातबाट आव २०७९/८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०/८१ मा रु २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा रु १३ करोड राजश्व वृद्धि भएको छ ।
पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताउनुभयो । उहाँका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन ।
नेप्से परिसूचकमा ३२ अङ्कको वृद्धि
काठमाडौँ, १० साउन I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर दुई हजार पाँच सय ६८ दशमलव ११ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक सात दशमलव शून्य नौ अङ्कले उकालो लागेर चार सय ६० दशमलव शून्य तीनमा पुगेको छ । कूल तीन करोड ५५ लाख ९४ हजार आठ सय ६८ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ । नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एशियन हाइड्रोपावरको शेयर मूल्यमा समान नौ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ ।
यस्तै, गणपति लघुवित्त नौ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले नौ दशमलव ९४ प्रतिशतले कमाएका छन् । मितेरी डेभलपमेन्ट बैंक सात दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबिएल डिबेञ्चर तीन दशमलव ९२, कालिका पावर कम्पनी तीन दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन् ।
म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालोपत्र
सन्तोष गौतम
म्याग्दी, १० साउन I पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् ।
सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले आठ किमी, पूर्वाधार विकास कार्यालयले १२ किमी र स्थानीय तहहरुले नौ किमी दुई सय ४५ मिटर पक्की सडक निर्माण गरेको जनाएका छन् ।
आव २०७९/८० मा १० किमी र आव २०७८/७९ मा १९ दशमलव छ सय ७० किमी सडक कालोपत्र भएको थियो । विसं २०५२ मा सडक सञ्जालमा जोडिएको म्याग्दीमा आव २०७७/७८ सम्म करिब २० किमी मात्र सडक कालोपत्र भएको थियो ।
गत आवमा जिल्लाभर ८७ किलोमिटर सडक कालोपत्र भएको छ । छवटा स्थानीय तहका ४५ मध्य धवलागिरी गाउँपालिका–१ गुर्जा बाहेकका वडामा सडक पुगेको गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले बताउनुभयो । सडक सञ्जालमा जोडिएको २४ वर्षसम्म नयाँ मार्ग खोल्ने काम भएको भन्दै जिल्लामा सङ्घीयताको कार्यान्वयनसँगै भित्रिएका सडक आयोजनाले पूर्णता पाउन थालेका उहाँले उल्लेख गर्नुभयो ।
“म्याग्दी सडक पूर्वाधारका हिसाबले पछाडी परेको जिल्ला हो”, गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीसमेत रहनुभएका सांसद जुग्जालीले भन्नुभयो, “प्रदेशको पहिलो कार्यकालमा भित्रिएका आयोजनालाई पूर्णता दिन जोड दिनुका साथै गत आवमा सात सडक आयोजना स्तरोन्नति गर्न नयाँ योजना भित्रिएका छन् ।”
ग्रामीण सडकहरु धमाधम कालोपत्र, ढलान हुन थालेपछि धुलो र हिलोबाट मुक्ति मिलेको, यात्रा अवधी छोटिएको, सुरक्षित र सहज भएको सवारी चालक विश्वास खत्रीले बताउनुभयो । भाडादर समायोजन नहुनु, सडकअन्र्तगतका खोलाहरुमा पुल नहुनु र पहिरो तथा कटानका कारण स्तरोन्नति भएका सडकमा नियमित यातायात सञ्चालनको चुनौति देखिएको उहाँको भनाइ छ ।
कृषि उपजको निकासी, खाद्यान्न, दैनिक उपभोग्य वस्तुु र निर्माण सामग्रीको भाडादर घटाउन, दुुर्घटना न्युुनीकरण, प्रत्यक्ष रोजगारी सिर्जना, बसाइँसराई घटाउँदै सहरबाट गाउँ फर्काउन, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सडक आयोजनाहरु प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । हिलो र धुलोबाट मुक्ति पाएका सर्वसाधारण फराकिलो, सफा, पक्की सडकमा यात्रा गर्न पाउँदा खुसी भएका छन् । दूरदराजका बस्तिमा सडक विस्तार भएसँगै समग्र विकासमा टेवा पुगेको छ ।
क्रमागत, नयाँ वहुवर्षीय र सालबसाली सहित ८० भन्दा बढी योजना कार्यान्वयन गरिएको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । जिल्लाभर आठ दशमलव १८२ किलोमिटर सडक कालोपत्र र चार दशमलव २७३ किलोमिटर सडक ढलान भएको उहाँले जानकारी दिनुभयो ।
“दुईवटा मोटरेबल र एउटा झोलुङ्गे पुल, ३१ कल्भर्ट र १२ वटा कजवे निर्माण भएका छन् । करिब ११ किमी नयाँ सडकको मार्ग निर्माण भएको छ । १२ दशमलव २०९ किलोमिटर सडक ग्राभेल भएको छ”, प्रमुख पौडेलले भन्नुभयो । दुई दशमलव ३१६ किमी तथा करिब १७ हजार २८६ घनमिटर ग्याविन जाली तथा मेसिनरी पर्खाल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
अधुरा अवस्थामा रहेका पुराना वहुवर्षीय क्रमागत योजनालाई चलायमान बनाई गति दिनुका साथै सातवटा रणनीतिक महत्वका सडक स्तरोन्नति, थप दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्न वहुवर्षीय योजना कार्यान्वयन गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलाबाट कालीओडार, तिप्ल्याङ, महभीर, भिरकाटे–रातोपानी–पोखरेबगर–भुरुङ्ग तातोपानी खण्डमा आठ किमी डिबिएसडी प्रविधीको कालोपत्र भएको छ ।
हिउँदमा कालोपत्र र ढलान भएको सडक वर्खा यामको सुरुवातसँगै पहिरो, पानीका मुहान र कटानका कारण क्षति भएको कालीगण्डकी कोरिडोरको ठेकेदार कम्पनी शर्मा–युनाइटेडका आयोजना व्यवस्थापक सुमन भट्टराईले बताउनुभयो ।
सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पुर्वाधार विकास कार्यालय कास्कीमार्फत अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट गण्डकी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी जोड्ने १८ किमी दूरीको पोखरेबगर–चित्रे सडक स्तरोन्नति गर्न विसं २०७५ मा सुरु भएको आयोजना यसै वर्ष ठेक्का टुङ्गिएको छ ।
आयोजनामार्फत आठ किमी डिबिएसडी कालोपत्र, दुई दशमलव दुई सय किमी ढलान र तीन दशमलव ६९० किमी सडक सोलिङ र ग्राभेल भएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।
“धेरै ठाउँमा सडक स्तरोन्नति भएपछि सहज भएपनि प्रवेश विन्दुमा पर्ने हल्लेगौडा क्षेत्रको पहिरोले दुःख दिएको छ”, उहाँले भन्नुभयो, “पोखरेबगर–घोडेपानी सडकको यात्रालाई सहज, सुरक्षित र नियमित बनाउने हल्लेगौँडाको दुई ठाउँमा पहिरोको दीर्घकालीन समाधानका लागि बजेट र योजनाको खोजीमा छौँ ।”
बेनी नगरपालिकाले आव २०८०÷८१ मा पाँच दशमलव ४७ किमी सडक कालोपत्र÷ढलान, तीन दशमलव ६२ किमी ग्राबेल र १९ दशमलव ७८ किमी सडकमा सोलिङ, नाली, टेवा पर्खाल निर्माण गरी स्तरोन्नति गरिएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले तीनवटा आयोजनामार्फत सात सय छ मिटर प्रिमिक्स कालोपत्र, पाँच सय ६९ मिटर ढलान र तीन सय मिटर ग्राभेल सडक निर्माण गरिएको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकामा तीन दशमलव ८८७ किमी सडकको नयाँ मार्ग निर्माण गरिएको बताउँदै गाउँपालिकाका इञ्जिनियर ईश्वर भण्डारीले २७० मिटर ढलान, एक हजार ६४०.७ मिटर सोलिङ र पाँच सय ८८ मिटर नाली निर्माण भएको जानकारी दिनुभयो ।
धोबीखोलाको बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द
काठमाडौँ, १० साउन I काठमाडौँको धोबीखोलास्थित बुद्धनगर–बबरमहल जोड्ने पुलमा आवागमन बन्द गरिएको छ । केही दिन यतादेखिको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले काठमाडौँ महानगरपालिका–१० र वडा नं ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “वर्षाका कारण धोबीखोलामा पानी बढेकाले पुल चर्किएको छ, पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको हो ।”
सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
भोजपुर, १० साउन I भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताउनुभयो । सडक हिलाम्य हुँदा आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उहाँको भनाइ छ । “सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,” उहाँले भन्नुभयो, “अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवतजावतमा कुनै समस्या छैन ।”
स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताउनुभयो । सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उहाँको भनाइ छ ।
“सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,” उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रका मुख्य सडकमा आवतजावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ ।” वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो ।
हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान सम्पन्न गरेको उहाँको भनाइ छ । स्थानीयको आवतजावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उहाँले बताउनुभयो । “मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,” वडाध्यक्ष तामाङले भन्नुभयो, “यहाँका मुख्य सडकहरु प्रायः ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आयआर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।”
सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरु करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ । नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताउनुभयो ।
धरानमा ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु
धरान (सुनसरी), १० साउन I धरानमा नेपाली कांग्रेसले ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको छ । कांग्रेसले ४२औँ बिपी स्मृति दिवसका अवसर पारेर ‘ग्रिन एण्ड क्लिन’ अभियान सुरु गरेको हो ।
धरान उपमहानगरपालिका–१९ बाट सुरु भएको अभियानका क्रममा नगरवासीलाई सरिफा, बेल, कागती, अम्बा, अमला, तेजपत्तालगायत विभिन्न फलफूलका बिरुवा वितरण गरिएको छ ।
अभियानका क्रममा कांग्रेसले सडक सरसफाइ र डेङ्गुका लार्भा नष्ट तथा डेङ्गुसम्बन्धी सचेतना पर्चा वितरण साथै डेङ्गु बिरामीलाई औषधि वितरण पनि गरेको छ ।
कांग्रेसका सुनसरी सचिव माधव घिसिङले अभियानको उद्घाटन गर्दै त्यसबाट नगरको सौन्दर्य बढाउन तथा हरियाली कायम गर्न सहयोग पुग्ने बताउनुभयो । गत वर्ष पनि अभियान सञ्चालन भएको थियो । अभियान धरान उपमहानगरपालिका–१, ५, ६, ८, १०, ११, १४, १५, १६, १७, १८ र १९ नं वडामा भदौ १ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
नेपाली कांग्रेस सुनसरीको १ नं प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १ (१) र १ (२) समितिको संयोजन र नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दलको सहकार्य एवं सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा ‘ग्रिन एण्ड क्लिन धरान’ अभियान आयोजना गरिएको हो ।
सुदूरपश्चिममा बजेट शून्यता
सुदूरपश्चिम, १० साउन I एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ ।
प्रदेशसभामा प्रस्तुत आर्थिक वर्ष २०८१÷८२ को बजेट पारित नहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सरकारबाट बाहिरिएपछि बजेट शून्यता भएको हो । बजेट पारित नहुँदा साउन १ गतेदेखि प्रदेश सरकारको राजस्व सङ्कलन र खर्च ठप्प छ ।
सरकारमा सहभागी प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले)ले समय छँदै बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गरेको र अन्य वैधानिक विकल्पको खोजी नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुर्याएको आरोप विपक्षीले लगाउँदै आएका छन् ।
मुख्यमन्त्री सोडारी भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा रहनुभएको छ । मुख्यमन्त्री विश्वासको मत लिने मनस्थितिमा रहनुभएका उहाँका स्वकीयसचिव दीर्घ जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै आठ दिन बाँकी छ, यो बीचमा उहाँ प्रदेशसभाबाट विश्वासको मत लिने मनस्थितिमा हुनुहुन्छ ।”
मुख्यमन्त्रीको दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलका उपनेता प्रकाश रावलले भने मुख्यमन्त्रीले पदबाट राजीनामा दिने वा विश्वासको मत लिने भन्ने विषयमा दलको बैठकमा अहिलेसम्म छलफल नभएकाले यस विषयमा आफूलाई जानकारी नभएको बताउनुभयो ।
तीस दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमाले गत असार २० गतेदेखि प्रदेश सरकारबाट बाहिरिएको थियो ।
पूर्वआर्थिक मामिलामन्त्री रहेका रावल प्रदेशमा अहिले बजेट शून्यताको अवस्था सिर्जना हुनुमा सत्ता र प्रतिपक्ष दुवै जिम्मेवार रहेको बताउनुहुन्छ । “अहिलेकै सरकारलाई अध्यादेश ल्याउन दिएको भए त्यसैमा टेकेर अब गठन हुने अर्को सरकारले बजेट ल्याउन पाउँथ्यो”, रावलले भन्नुभयो । अब गठन हुने सरकारले पनि कुन आधारमा बजेट ल्याउने भन्ने अहम् सवाल बनेको रावल बताउनुहुन्छ ।