बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3KX9DTW9YKXZB2V1E124Q2E.jpg

बेनी–जोमसोम सडकः बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’

म्याग्दी, १० साउन I राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।   
  
म्याग्दीको उत्तरी क्षेत्र हँुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।   
  
बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ । पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।   
  
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।   
  
बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।  

प्रकाशित मितिः बिहिबार, १० साउन २०८१
https://jawaaf.com/storage/01J3J5SYGVAEA06BGD9AKTCZQK.jpg

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ९ साउन I नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी १८ जनाको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताउनुभएको छ ।  

उहाँले आज सामाजिक सञ्जालमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । 

घाइते पाइलटको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ, “यस दुर्घटनाबाट राष्ट्रलाई गम्भीर क्षति पुगेको छ, देशले दक्ष प्राविधिकहरू गुमाएको छ । दुर्घटनाको व्यवस्थित उद्धार, घाइतेको प्रभावकारी उपचार र घटनाको छानबिनका लागि  सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै धैर्यधारणका निम्ति सम्पूर्णमा अपिल गर्दछु ”।

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3J52ENKENSH0FGGYF8S2FM8.jpg

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी छन्ः परराष्ट्रमन्त्री डा राणा

काठमाडौँ, ९ साउन I परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताउनुभएको छ ।     
     
संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उहाँले सो स्पष्ट गर्नुभएको हो । सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको हो भन्ने बारेमा परराष्ट्रमन्त्री डा राणासँग सो प्रश्न गर्नुभएको हो ।     
     
मन्त्री डा राणाले भन्नुभयो, “यस परियोजनाको ‘फ्रेमवर्क डकुमेन्ट’ मा नेपाल सरकारले पहिले नै हस्ताक्षर गरिसकेको छ । अब यसको कार्यान्वयनको मोडल के कस्तो हुने, यसलाई अनुदान या ऋण केमा सञ्चालन गर्ने भन्ने विषय निर्णय भइसकेको छैन, सर्वपक्षीय रुपमा सबैसँग आवश्यक छलफल गरी पछि निर्णय गर्नेछौँ । यसमा व्यापक छलफल गर्नेछौँ, जसरी एमसिसी परियोजनाका बारेमा पनि सबैसँग व्यापक रुपमा छलफल गरेर नै संसद्ले पारित गरेको थियो ।”     
     
परराष्ट्रमन्त्री डा राणाले नेपालले परराष्ट्र नीति निर्माण तथा कार्यान्वयन गर्दा नेपालको राष्ट्रियता, नेपालको हित र नेपाली नागरिकलाई केन्द्रमा राखेर बनाइने स्पष्ट गर्दै नेपालमा निर्माण हुने वैदेशिक सहायताका परियोजनाहरुमा पनि यो पक्षलाई राम्रोसँग ध्यान दिइने धारणा राख्नुभयो ।     
     
सांसदहरुको जिज्ञासामा मन्त्री डा राणाले नेपालको परराष्ट्र नीति पञ्चशीलका सिद्धान्तका मूल्या मान्यता एवं असंलग्नतामा आधारित नै हुने पनि स्पष्ट गर्नुभयो । इपिजीको प्रतिवेदनका विषयमा सोधिएको एक प्रश्नमा उहाँले भन्नुभयो, “सो प्रतिवेदन दुवै देशको सहमतिबाट नै बुझ्ने भन्ने रहेछ, तर कहाँ गएर रोकिएको छ भन्ने विषयमा अध्ययन गरेर अघि बढिने छ ।”     
     
हाल बङ्गलादेशमा विकसित घटनाक्रममा सबै नेपाली नागरिक सुरक्षित रहेको जानकारी पनि उहाँले गराउनुभयो । त्यहाँ अप्ठेरोमा परेका नेपाली विद्यार्थीहरुका लागि मन्त्रालयले अलग्गै डेस्क राखेर तथा ढाकास्थित नेपाली दूतावासलाई सक्रिय गराएर नेपाल आउन चाहनेलाई यहाँ आउनका लागि सहजीकरण गरिएको र बाँकी त्यहाँ रहेकाहरुको सुरक्षाका लागि ध्यान दिन निर्देशन दिइएको पनि मन्त्री डा राणाले जानकारी दिनुभयो । उहाँले हिजोसम्म करिब एक हजार चार सय विद्यार्थी नेपाल आइसकेको र त्यहाँ रहेकाहरु पनि सुरक्षित रहेका पनि जानकारी गराउनुभयो ।     
     
विदेशी भूमिमा यस्तै प्रकारका असहज परिस्थितिहरु उत्पन्न हुन जाँदा नेपालले आफ्ना नागरिकको उद्धारका लागि राष्ट्रियस्तरको कुनै त्यस्तो मापदण्ड नबनाएकाले नेपालीहरुको उद्धारका लागि अप्ठेरो हुने गरेको बङ्गलादेशको यो पछिल्लो घटनाबाट पाठ सिकिएकाले आगामी दिनमा यस कार्यका लागि एक विशेष प्रकारको मापदण्ड निर्माण गरिने पनि उहाँले जानकारी दिनुभयो ।     
     
त्यस्तै, नेपाली विद्यार्थीहरु विश्वका विभिन्न देशमा अध्ययनका लागि जाने गरेका भए पनि उनीहरु कहाँ कति जना छन् भन्ने बारेको जानकारी पाउन गाह्रो हुने भएकाले शिक्षा मन्त्रालयले अध्ययन अनुमतिपत्र दिने गरेकोबाहेक पनि एकीकृत सूचना प्राप्त गर्न सक्ने खालको एक अलग्गै वेबसाइट निर्माण गरेर त्यसमा सूचनाहरु राख्नुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसले गर्दा नेपालीहरु कहाँ छन् भन्ने एकीकृत सूचना प्राप्त हुने र सम्बद्ध देशका दूतावासहरुलाई पनि उद्धारका लागि सजिलो हुने उहाँको भनाइ थियो ।     
     
विदेशमा रहेका नेपालीहरुको सहायताका लागि दूतावास र कन्सुलेटहरुलाई पनि समयानुकूल पुनर्संरचना गरी नेपालीहरु धेरै रहेका स्थानमा उनीहरुलाई सकभर पायक पर्नेगरी व्यवस्था गर्न आवश्यक रहेको पनि परराष्ट्रमन्त्री डा राणाले जानकारी दिनुभयो ।     
त्यसैगरी, रुस युक्रेन युद्धका कारण रुसी सेनामा रहेका नेपालीहरुको उद्धार र देशफिर्तीका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको पनि जानकारी गराउनुभयो । रुसी सेनामा ३४ जना नेपालीले ज्यान गुमाएका, २२ जनाको डिएनए परीक्षणका लागि दिइएको पुष्टि हुन बाँकी रहेको र युक्रेनमा युद्धबन्दीका रुपमा छजना रहेका जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै, इजरायल प्यालेस्टाइन युद्धमा बेपत्ता बनाइएका विपिन जोशीको उद्धारका लागि नेपाल सरकारले सुरुदेखि नै उच्च तहमा द्विपक्षीय बहुपक्षीयस्तरमा कूटनीतिक पहल निरन्तर रुपमा गर्दै आएको पनि मन्त्री डा राणाले जानकारी दिनुभयो ।     
     
त्यस अवसरमा उहाँले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुभएको भ्रमणका क्रममा छिमेकी देश भारत र चीनसँग भएका पछिल्ला सम्झौताहरु र ती सम्झौताको कार्यप्रगतिका बारेमा पनि जानकारी गराउनुभएको थियो ।     
     
सांसदहरुले भैरहवा र पोखराका दुई अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी बढीभन्दा बढी विदेशी उडानहरु सञ्चालनमा ल्याउनका लागि पहल गर्न गरिएको आग्रहमा मन्त्री डा राणाले भन्नुभयो, “विगतमा र अहिलेसम्म यस विषयमा कुन देशसँग के कसरी प्रयास भइरहेका छन् त्यसबारेमा पहिले अध्ययन गरेपछि हामी अघि बढ्नेछौँ ।”     
     
परराष्ट्रमन्त्री डा राणालाई सांसदहरु माधवकुमार नेपाल, महन्थ ठाकुर, सुनिता बराल, सुदन किराँती, शिशिर खनाल, एकनाथ ढकाल, उदयशमशेर राणा, भीमप्रसाद आचार्य, प्रेम सुवाल, डा धवलशमशेर राणा, दामोदर पौडेललगायतले प्रश्न गर्नुभएको थियो । आजको बैठकमा पहिलो सहभागिता रहेकाले पनि नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई सांसदहरुले सफल कार्यकालको शुभकामना दिनुभएको थियो । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3J37JVWAJH4R67WQKKXWT72.jpg

नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान

काठमाडौँ, ९ साउन I नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।     
     
काठमाडौँस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गर्नुभएको हो । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उहाँले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।     
     
 फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3J30XEEMJ1BX7ZPA94FXHV0.jpg

बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया

तुलसीपुर (दाङ), ९ साउन I  दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा. प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ । 

“काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा प्रमिलाले भन्नुभयो, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।” 

डा प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो । डा रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो । 

गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको  डा प्रमिलाले बताउनुभयो । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो । 

“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा प्रमिलाले भन्नुभयो, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।” 

डा प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ । उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ । उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने  डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।” 

अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच-सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताउनुभयो । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाइ छ । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3J2J65NYNN94SS4R1NC9WKJ.jpg

प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौँ ९ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।     
     
नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गर्नुभएको छ । उहाँले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गर्नुभएको छ ।     
     
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिनुभएको छ । आज बिहान ११ः११ बजे काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको हो । 

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3HRWQVRFT4STX8KX7D9YV4B.jpg

सुशासनको पक्षमा विजेता भएर सरकारबाट बाहिरिएका छौँ : अध्यक्ष दाहाल

काठमाडौँ, ९ साउन I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको यथार्थलाई जनताले बुझेका बताउनुभएको छ ।     
     
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज यहाँ आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताउनुभयो ।     
     
“मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन्”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताउनुभयो ।     
     
 “राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ”, अध्यक्ष दाहालले भन्नुभयो ।     
     
 माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीले मात्रै मुलुकको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार गर्न सक्ने बताउनुभयो । “माओवादीले नै त्यो ऐतिहासिक जिम्मेवारी लिनुपर्छ, माओवादीलाई रुपान्तरण गरेर एकताबद्ध, क्रान्तिकारी र शक्तिशाली पार्टी निर्माण गरेर मात्र राष्ट्रिय कार्यभार पूरा गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।     
     
 माओवादी पार्टी सरकारको नेतृत्वबाट प्रतिपक्षमा पुगेको अवस्थालाई सहजै लिइएको उल्लेख गर्दै उहाँले सरकारमा रहनु र बाहिर आउनु ठूलो कुरा नभएको बताउनुभयो । “यद्यपि, अहिलेको कार्यभार पूरा गर्न सरकारको भूमिका महत्त्वपूर्ण रहन्थ्यो, सङ्घ र प्रदेश सरकारमा नरहेसँगै संसद्मा मुख्य भूमिका रहन्छ । जनतालाई एकताबद्ध गरेर अघि बढ्नुपर्छ”, वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।     
     
 राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा तथा प्राप्त उपलब्धिलाई सृदृढ बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र बनाएर आर्थिक समृद्धि हासिल गर्दै समाजवादको आधार तयार गर्नुपर्ने बताउनुभयो ।   

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3HRPMHQR3MQR3TTT0RN3S9J.jpg

घरआँगनमा पुगेर सेवा प्रवाह गर्दै फक्ताङलुङ पालिका

फुङ्लिङ (ताप्लेजुङ), ९ साउन I फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ । स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो ।

जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य  जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागार्इँले बताउनुभयो । 

“मङ्गलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ, फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँ”, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो ।

पालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन निःशुल्क एम्बुलेन्स र औषधि उपलब्ध गराउँदै आएको छ । दीर्घरोगीलाई घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने गरिएको छ । टोल–टोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ । प्रत्येक तीन–तीन महिनामा नागरिकका घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण साथै परामर्श दिँदै आएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3HJ0G48A301NT72XZ8THDNZ.jpg

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

लुम्बिनी, ९ साउन I लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।     
     
प्रदेश प्रमुख शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नुभएका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली कांग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ ।     
     
संविधान धारा १६८ को उपधारा ९ बमोजिम आजै मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठजना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराउनुभयो । मुख्यमन्त्री आचार्यले आजै एमालेबाट चारजना र कांग्रेसबाट चारजना बिनाविभागीयमन्त्री नियुक्तिको सिफारिस गर्नुभएको थियो ।     
     
प्रदेश प्रमुख शेरचनले एमालेका भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा, खेमबहादुर सारु र कांग्रेसका सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेलाई बिनाविभागीय मन्त्रीको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।     

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१
https://jawaaf.com/storage/01J3HGPDBFS4TQZ4C5JZK8ZB59.jpg

बेरोजगारी टहाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण

खोटाङ, ९ साउन I डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न  वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो । 

जिल्लाका दश स्थानीय तहका स्थानीय बासिन्दालाई विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यो जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।” 

डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधारलगायत कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि रु १८ लाख, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि रु तीन लाख, विद्यालय वातावरण सुधारका लागि रु पाँच लाख, अर्गेली विस्तार कार्यक्रमका लागि रु पाँच लाख, कृषि वन कार्यक्रमका लागि रु पाँच लाख, कबुलियती वन कार्यक्रमका लागि रु पाँच लाख, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि रु पाँच लाख तथा खयरका बिरुवा उत्पादनका लागि रु चार लाख बजेट विनियोजन भएको थियो । 

सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको  वन कार्यालयका शाखा अधिकृत दीपेन्द्र मेहताले बताउनुभयो । अब ३० हजार बिरुवा वितरण गर्न बाँकी छ । वन कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारालगायत बिरुवा उत्पादन गरेको छ । विद्यालय वातावरण सुधारका लागि १० विद्यालयलाई पाँच सय बिरुवा वितरण गरिएको छ ।  

वन कार्यालयका अनुसार खयरका बिरुवा उत्पादन कार्यक्रमअन्तर्गत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण गरिएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा पहिलोपटक परीक्षणका लागि उत्पादन गरिएकोे छ । 

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार छ सय ३० बिरुवा वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको छ ।  

अर्गेली व्यवस्थापन कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कृषि वन कार्यक्रमअन्तर्गत जन्तेढुङ्गाको चिसापानीमा दाँते ओखर, चिराइतो, टिमुर, बन्दाकोभीको बीउ वितरण एक हजार आठ सय चार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत दुई हजार चार सय बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ । 

जडीबुटी व्यवस्थापन कार्यक्रमअन्तर्गत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्न तीन हजार एक सय तथा सामुदायिक वनमा रोप्न छ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०९ साउन २०८१