बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J1YA6JGF8YV65VJMZVYBKEP3.jpg

खोटाङका ८५ घर बाढी, चार सय ३९ घर पहिराको उच्च जोखिममा

खोटाङ, २० असार I जिल्ला प्रहरी कार्यालय खोटाङले बाढी र पहिराको उच्च जोखिममा रहेका घर तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको छ । मनसुनजन्य प्रकोपबाट हुने जनधनको क्षतिबाट जिल्लावासीलाई जोगाउन जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन गरेर बाढी र पहिरोको उच्च जोखिममा रहेका परिवार तथा प्रभावित हुनसक्ने मानिसको सङ्ख्या सर्वेक्षण गरेको हो । 

प्रहरीले गरेको सर्वेक्षणअनुसार १० स्थानीय तह रहेको जिल्लामा बाढीबाट ८५ परिवारका तीन सय २० र पहिरोबाट चार सय ३९ परिवारका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेका छन् । 

मनसुन सुरु भएसँगै प्रहरी परिचालन गरेर उच्च जोखिममा रहेका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । उहाँका अनुसार दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा चारवटा स्थानीय तह बाढी र डुबानको उच्च जोखिममा रहेको प्रहरीको सर्वेक्षणले देखाएको छ । 

ऐसेखुखर्क गाउँपालिका–१ राखाबाङ्देल र वडा नं ३ ऐसेलुखर्क, रावाबेँसी गाउँपालिका–१ कुभिण्डे र वडा नं ६ हौँचुर, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र वडा नं ९ सल्ले तथा केपिलासगढी गाउँपालिका–४ बाक्सिला र वडा नं ७ सुङ्देल बाढी तथा डुबानको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो ।

पहिरोको उच्च जोखिममा जिल्लाका १० वटै स्थानीय तहका अधिकांश वडा रहेका प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १५ विजयखर्क, ऐसेलुखर्क–५ जलेश्वरी, केपिलासगढी–५ सप्तेश्वरको दामथला, जन्तेढुङ्गा गाउँपालिकाका सबै वडा, बराहपोखरी–२ सुन्तले, वडा नं ३ साउनेचउर र वडा नं ४ फाक्टाङ, खोटेहाङ–६ को इन्द्रेणीपोखरी पहिरोको उच्च जोखिममा रहेका प्रनाउ खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार खोटाङ बजारमा भने पहिरोको जोखिम छैन ।  

रावाबेँसी गाउँपालिकाको वडा नं १ कुभिण्डे र वडा नं ३ लामीडाँडा, वडा नं ६ हौँचुर, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडा नं १ याम्खा, वडा नं ५ सप्तेश्वर छितापोखरी र वडा नं ६ छितापोखरी, साकेला गाउँपालिकाको वडा नं १ बाँझेच्यानडाँडा, वडा नं २ रतन्छा, वडा नं ३ खिदिमा, वडा नं ४ मात्तिमको आहाले र वडा नं ५ कात्तिके पहिरोको उच्च जोखिममा छन् । 

हलेसी तुवाचुङ नगरपालिकाको वडा नं १ बाहुनीडाँडास्थित ट्यामटुकु, फर्चेपु, खर्क र ठुल्ढुङ्गा, वडा नं ७ महादेवस्थानको महादेवबेँसी र गैरीगुठ, वडा नं ८ धितुङको दीपखर्क, दियाले, गैरी, रातेखोला, गराबु, वडा नं ९ सल्लेको चिचिङ्गा र लुगु तथा वडा नं १० अर्खौलेको डुक्सेली र नवलपुर पहिरोको उच्च जोखिममा रहेका प्रहरीको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

बाढी र पहिरोको उच्च जोखिममा रहेका जिल्लावासीलाई विपद् आइपरेको खण्डमा तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्नका लागि सम्भावित ठाउँको समेत पहिचान गरिएको प्रहरीले जनाएको छ । विपद् आइपरेको खण्डमा उनीहरूलाई उद्धार गरेर जिल्लामा सञ्चालित विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने ठाउँ रहेको प्रनाउ खड्काले जानकारी दिनुभएको छ । 

प्रहरीले जिल्लामा हुनसक्ने विपद्जन्य जोखिमलाई घटाउन २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको जनाएको छ । मनसुन सुरु भएसँगै जिल्ला प्रहरी कार्यालयले १०० नम्बरको ‘हटलाइन’ सेवा सञ्चालन गरेर २४ घण्टे आपत्कालीन सेवा सुरु गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो ।

यसैबीच, जिल्लामा हुनसक्ने प्राकृतिक प्रकोपलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउन जिल्ला विपद् व्यवस्थापन समिति तयारी अवस्थामा रहेको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । मनसुनजन्य विपद् व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकाय तथा रेडक्रसलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।

उद्धार तथा राहत वितरणका लागि जिल्लास्थित सबै स्थानीय तहलाई आ–आफ्नो क्षेत्रमा तयारी अवस्थामा रहन पत्राचार गरिएको विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद् आइपरेको खण्डमा समितिले जिल्लास्थित स्थानीय तहसँग सहकार्य गरेर उद्धार तथा राहत वितरण गर्ने निर्णय गरिएको समितिका संयोजक एवं प्रजिअ कार्कीले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1Y45ZK3VZCTPRYY8T40XTSG.jpg

नयाँ गठबन्धनलाई जसपाले समर्थन गर्ने

काठमाडौँ, २० असार । नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।  

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले  जानकारी दिनुभयो । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उहाँले बताउनुभयो ।  

महासचिव राईले भन्नुभयो, “परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।”
     
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी हुनुहुन्छ ।

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1Y1VZY6EQMZ9AW7A0EHBD6C.jpg

मकैबालीलाई फौजी कीराले नष्ट गर्दा किसान चिन्तित

बैतडी, २० असार I अमेरिकन फौजी कीराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी कीराले मकैखेतीलाई असर पुयाएको हो । कीराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कीराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ । कीराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ । कीरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ ।”     
     
विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी कीराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले फौजी कीराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौँ ।”     
     
समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी कीरा बढी सक्रिय हुने गरेको छ । मकैको पकेट क्षेत्रमै कीराले मकैबाली नोक्सान गरेको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि कीराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ ।     
     
पालिकाका विभिन्न वडामा अमेरिकन फौजी कीराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताउनुभयो । रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी कीराको जोखिम देखिएको जानकारी गराएका छन् । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौँ ।” फौजी कीरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको शाखा अधिकृत भट्टको भनाइ छ ।     
     
गएको चार वर्षयता हरेक वर्ष फौजी कीराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “मकैमा फौजी कीराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ । नियन्त्रणका लागि मुस्किल हुने गरेको छ ।”     
     
पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ । इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै कीराको जोखिम नियन्त्रण हुने जनाइएको छ । माटोको उपचार गरेर पनि फौजी कीराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ । फौजी कीराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ ।     
     
बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जङ्गली जनावर, विभिन्न रोगकीरा, बसाइँसराइका कारण हाल पाँच हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ ।     

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1Y080XYSKAF5CF65G7JRQRZ.jpg

‘उज्यालो इटहरी’ अभियान

इनरुवा, २० असार । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको छ । इटहरी–१  स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो । 

सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युत्का खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो I

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1XTFDQM8GBNMBYV6HPK2QYN.jpg

रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित

काठमाडौँ, २० असार I  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ ।  पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो ।

“केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने  निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भन्नुभयो, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।” 

डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । बैठकमा उहाँले  बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाउनुभएको थियो । 

बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्नुभएको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको  कार्यवाहक प्रवक्ता  झाले बताउनुभयो । 

आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी हुनुभएको थियो । 

  उक्त बैठकमा डा ढकालमाथि  कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटालाई समेत बैठकमा आमन्त्रित  गरिएको थियो । डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1W7R4YP1YHK4JC7CGPZJVZA.jpg

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

काठमाडौँ, १९ असार I सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ । 

विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो । 

सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिनुभयो । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।

यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।

“परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ”, विभागको परिपत्रमा भनिएको छ ।

प्रकाशित मितिः बुधबार, १९ असार २०८१
https://jawaaf.com/storage/01J1W2M0TZTBQ962T1NCTDE5SD.jpg

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ, १९ असार I नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै छ दशमलव १२ र वित्त समूहको सूचक छ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक दुई दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन एक दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः बुधबार, १९ असार २०८१
https://jawaaf.com/storage/01J1W1GABA7HHYD7ZMXMAH1WR1.jpg

नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

काठमाडौँ, १९ असार I सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।     
      
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झण्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।     
      
समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इञ्जिनीयरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इञ्जिनीयर सूर्यप्रकाश उपाध्याय रहनुभएको थियो । गत माघ ५ गते गठित समितिले अवधारणापत्रसम्बन्धी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको छ । प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ ।     
      
साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता आँैल्याउँदै प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनी आधारसहित डाटा सुरक्षण रुपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका नीति र कानुनको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलन हुने गरी मानक निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।     
      
प्रतिवेदनले एकीकृत राष्ट्रिय पोर्टलको विकास गरी एआईसम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचनाको निर्माण गर्नुपर्ने, यस विषयमा अनुसन्धान, विकास र उपयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने, एआईको प्रयोगमा गति प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, यसको रुपान्तरणकारी प्रकृतिलाई आर्थिक सामाजिक विकासमा उपभोग गर्न राष्ट्रिय परियोजना एवं क्षेत्रगत पहलको विकास गर्नुपर्ने सुझाव दिइएको मन्त्रालयका उपसचिव एवं अवधारणापत्र तयारी प्राविधिक समितिका सदस्य तिमिल्सिनाले जानकारी दिनुभयो ।     
      
“गोपनीयता संरक्षण, पारदर्शीता र जवाफदेहिताको प्रवर्द्धन, एआई प्रयोगको विकास र प्रवर्द्धनलगायत विषयमा अनुसन्धान, लगानी र सहकार्यलाई वृद्धि गर्ने रणनीति लिनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “यसका लागि सम्बन्धित क्षेत्रले आफ्नो नीति, रणनीति र कार्यक्रममा एआई प्रयोगको विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।”     
      
विद्यमान जनशक्तिको पहिचान गरी उनीहरुको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक र निजी क्षेत्रमा दक्षजनशक्तिको उपलब्धता पश्चात् एआई विकास, प्रयोग र प्रवर्द्धनलाई गति दिन सकिने भएकाले यस क्षेत्रमा मानव पुँजी निर्माणमा सबैको ध्यान जानुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको समितिका सदस्य तिमिल्सिनाले बताउनुभयो ।     
      
रोग निवारण र उपचार, वित्तीय सेवा र विश्लेषण, निर्माण तथा उत्पादन, शिक्षा र विकास, सञ्चार र अनुभव सुधार, साङ्गठनिक प्रबन्धन, सरकारी सेवा, सामाजिक सुरक्षा, खेलकूद, अनुसन्धान र विकास, कृषि, पर्यटनलगायत क्षेत्रमा एआईको प्रयोग गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको उहाँको भनाइ छ ।     
      
“नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्द्धनका सम्भावित क्षेत्रहरु, अनुसन्धान र विकासको क्षमता, कार्ययोजनाको मूल्याङ्कन गर्नुपर्ने हुन्छ”, प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय रणनीतिले स्वास्थ्य सेवा, कृषि, शिक्षा, स्मार्ट सहर एवं पूर्वाधार, स्मार्ट मोलिलिटी र यातायातलगायत प्रमुख क्षेत्रहरु निर्धारण गरी उक्त विषयमा भावी कार्ययोजना तय गर्नुपर्दछ ।”     
      
एआईसम्बन्धी रणनीतिले डाटा र डिजिटल पूर्वाधार, एआई ‘स्टार्टअप’लाई गति दिन आर्थिक तथा वित्तीय व्यवस्था, अनुसन्धान र विकास, नैतिकता, डाटा गोपनीयता, सुरक्षा र नियमन, जनशक्तिलाई सीप र क्षमता वृद्धि, प्रविधिको औद्योगिकीकरण तथा क्षेत्रगत पहल समेट्नुपर्ने प्रतिवेदनको सुझाव छ ।     
      
प्राविधिक समितिले एआईको पृष्ठभूमि, अवधारणा, एआई इकोसिष्टम, यसका आधारभूत सिद्धान्त, दृष्टिकोण, उद्देश्य, विद्यमान अवस्था, नीतिगत व्यवस्था, संस्थागत एवं प्रयोगको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिलगायत क्षेत्रमा अध्ययन गरेर नेपालले लिनुपर्ने आगामी कार्यदिशा तथा योजना तर्जुमाका विषय प्रतिवेदनमा समेटिएको उपसचिव तिमिल्सिनाले जानकारी दिनुभयो ।     
      

उहाँका अनुसार युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ, नर्डिक–बाल्टिक क्षेत्र, यूएई, भारत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, सिङ्गापुर, दक्षिण कोरियालगायतले जारी गरेका एआई प्रयोगसम्बन्धी रणनीतिको अध्ययन गरी प्रतिवेदनमा तुलनात्मक विश्लेषण समावेश गरिएको छ ।-रासस

प्रकाशित मितिः बुधबार, १९ असार २०८१
https://jawaaf.com/storage/01J1VHKKDJ8AQ00J5EH8V45X7P.jpg

नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै

काठमाडौँ, १९ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ । 

आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

प्रकाशित मितिः बुधबार, १९ असार २०८१
https://jawaaf.com/storage/01J1VEGXYWFW0X5RT92QVJ5YE0.jpg

जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार मुख्य सडकमा ढलान गर्ने काम सम्पन्न

खोटाङ, १९ असार I जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।     
      
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताउनुभयो । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो ।     
      
सहरी विकास तथा भवन कार्यालयको रु पाँच लाख बजेटमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुङ्गा –५ चिसापानी र जन्तेढुङ्गा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । जन्तेढुङ्गा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाललगायत निर्माणका काम अलपत्र परेको हो ।     
      
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब रु दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताउनुभएको छ ।     
      
पेश्कीबापतको रु ४६ लाख निर्माण सम्बद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।     
      
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०/८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । आव २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताउनुभएको छ ।     
      
जन्तेढुङ्गा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो ।     
      
ऐतिहासिकस्थल जन्तेढुङ्गामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुङ्गामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुङ्गाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापर्वाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुङ्गाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् । 

प्रकाशित मितिः बुधबार, १९ असार २०८१