महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने
काठमाडौँ, १७ असार I नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
गलेश्वर (म्याग्दी) १७ असार I म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रु २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।
म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुरखेतीमा आकर्षित भएका उहाँको भनाइ छ ।
जिल्लामा २० समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुरखेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।
टिम्मुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।
जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रु १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताउनुभयो ।
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।
म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रु एक हजार छ सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।
‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
काठमाडौँ, १७ असार I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो ।
“शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन”, उहाँले भन्नुभयो, “संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ ।
शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको छ ।” शिक्षा क्षेत्रको रुपान्तरणका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको जिम्मेवारी हुने मन्त्री श्रेष्ठले दोहो¥याउनुभयो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको जानकारी दिँदै शिक्षामन्त्रीले हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) को निर्मम समीक्षा गर्नुपर्ने बताउनुभयो ।
शिक्षालाई श्रम बजारसँग जोड्नेगरी ‘समाजसँग पाठ्यक्रम’ कार्यक्रम ल्याइएको र विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम बनाउँदा पनि रोजगारसँग जोड्नेगरी बनाउन निर्देशन दिएको उहाँको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति कसरी गठन भएको छ भनेर अध्ययन भइरहेको, विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेकोलगायत सुधारका काम भएका उहाँले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा एक हजार कक्षाकोठा थप्ने गरी योजना तर्जुमा गरिएको तथा त्यो मानव सुचकाङ्कमा पछाडि परेका दुई सय ४० वटा पालिकामा विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणसम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनअनुसार निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल
काठमाडौँ, १६ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको छ ।
बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र डा विजयकुमार पौडेल रहनुभएको छ ।
यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ ।
त्यस अवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।
सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने पुराना कम्युनिष्ट नेताहरु सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो ।
एक हजार आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने महासचिव डा घनश्याम भुसालले जानकारी दिनुभयो ।
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
गलकोट (बागलुङ), १७ असार I जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु चार लाख बचत गरिरहनुभएको छ ।मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको हो । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आउनुभएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताउनुभयो । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उहाँले सबै खर्च कटाएर वार्षिक रु चार लाख बचत भइरहेको जानकारी दिनुभयो ।
चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उहाँले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । “आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ”, उहाँले भन्नुभयो । अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताउनुभयो । “लगानी नहँुदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु”, उहाँले भन्नुभयो ।
एक वर्षभित्रै दुई सय बाख्रा पु¥याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिनुभयो । “आधुनिक खोर निर्माणमा रु १० लाख लगानी भइसक्यो”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट खर्च कटाएर वार्षिक रु चार लाख बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।” एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताउनुभयो ।
पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताउनुभयो । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उहाँको भनाइ छ ।
“बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ”, मनरुपाले भन्नुभयो, “परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।” उहाँका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ । बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रु एक लाख १९ हजार र जैमिनी नगरपालिकाले रु २३ हजार अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिनुभयो । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उहाँको भनाइ छ ।
सुदूरपश्चिममा पहिलो पटक दलित समुदायबाट दुईजना मन्त्री
अत्तरिया (कैलाली), १७ असार I सुदूरपश्चिम प्रदेश सरकारमा दलित समुदायबाट पहिलो पटक दुईजना मन्त्री बन्नुभएको छ । प्रदेश सरकारमा पहिलो पटक दुईजना दलित प्रदेशसभा सदस्यलाई मन्त्रीको जिम्मेवारी दिइएको हो ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आइतबार नेकपा एमालेका हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानुन र नेकपा (माओवादी केन्द्र)की लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिनुभएको हो । उहाँहरु गत जेठ २८ गते विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको थियो ।
सार्की र विक दुबै जना समानुपातिकतर्फका सांसद हुनुहुन्छ । सङ्घीयतापछि सुदूरपश्चिम प्रदेशमा बनेका अन्य सरकारमा दलित समुदायबाट राज्यमन्त्रीसम्म बनाइएको थियो । प्रदेश सरकारको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुभएका त्रिलोचन भट्ट नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मानबहादुर सुनारलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री, नेकपा एमालेबाट अर्चना गहतराजलाई आर्थिक मामिला राज्यमन्त्री र नेपाली कांग्रेसका टेकबहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री बनाइएको थियो ।
हाल दलित समुदायबाट सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबाट एक/एक जना प्रदेशसभा सदस्य हुनुहुन्छ । “हाम्रो पार्टीभित्रको आन्तरिक सङ्घर्षले दलित समुदायबाट क्याविनेट मन्त्री बन्नुभएको छ”, एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाजका सुदूरपश्चिम प्रदेश अध्यक्ष भानसिंह विश्वकर्माले भन्नुभयो, “विगतका सरकारभन्दा अहिलेको सरकार समावेशी बनेको छ । यसमा हामी खुसी छौँ ।”
माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष जगत विकले पार्टीले यसपटक सही मुल्याङ्कलन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीले एक जना भए पनि क्याबिनेट मन्त्री बनाएको छ । यो सकरात्मक कदम हो ।”
गत वैशाख ६ गते मूख्यमन्त्रीमा नियुक्त हुनुभएका सोडारी नेतृत्वको सरकारमा मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
काठमाडौँ, १७ असार I देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग-सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् ।
यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् । मधेश प्रदेश र सुदुरपश्चिममा भने सो अवधिमा उच्च जोखिम छैन ।
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
झापा, १७ असार I घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन् ।
पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पु-याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।
नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।
मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पु-याइयो ।
सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पु-याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पु-याए । अहिले राईको उपचार भइरहेको छ ।
मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पु-याइसक्नु भएको छ । तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफै घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ ।
सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पु-याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ ।
चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्न्ुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।”
केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो ।
केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।
विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, १७ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ । प्रधानमन्त्री निवासमा आज बिहान भएको छलफलमा उहाँहरुबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीचको छलफल अहिले पनि जारी छ I आइतबार पनि प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो । उक्त छलफलमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि सहभागी हुनुहुन्थ्यो ।
‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र
म्याग्दी, १७ असार I म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान भएको हो । गण्डकी प्रदेश सरकारको रु ५० लाख सशर्त अनुदान र बेनी नगरपालिकाले रु ३० लाख बजेट विनियोजन भएको यस सडक आयोजना निर्माणका लागि श्रमजिवी निर्माण सेवाले रु ५६ लाख ५२ हजार ४५ मा ठेक्का सम्झौता गरेको थियो ।
बाँसबोटमा तीन सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको बेनी नगरपालिकाका इञ्जिनियर दिपेश केसीले बताउनुभयो । कालोपत्र र ढलानअघि सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कुनातर्फ टेवा पर्खाल निर्माण गरिएको थियो ।
विभिन्न ठाउँमा सय मिटर ढलान गर्ने काम सकिएको निर्माण कम्पनीका सञ्चालक प्रकाश बानियाँले बताउनुभयो । बाँसबोटका कृषक दुर्गादत्त पौडेलले सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको बताउनुभयो । पशुपालक कृषकसमेत रहेका पौडेलले सडक सुधार भएसँगै यसअघि बाँसबोटदेखि बेनी आउन ३० मिनेट लाग्ने गरेकोमा अहिले यात्राअवधि छोटिएर १० मिनेट भएको बताउनुभयो । बेनी सामुदायिक माथि, कुरिलाखर्क र अर्थुङ्गेको घुम्तीमा सडक स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीले बताएका छन् ।
गत वर्ष अर्थुङ्गदेखि बाँसबोटसम्म करिब दुई सय मिटर सडक कालोपत्र भएको थियो । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मङ्गला गाउँपालिकाको १ नम्बर वडाका बस्तीहरुलाई जिल्ला सदरमुकाम बेनीलाई जोड्छ । बेनी–पुलाचौर सडकको एकपाटे, अवेचौर, पुरुण्डी खण्डमा स्तरोन्नति र बेनीको सङ्गमचोकदेखि हुलाकचोक खण्डमा ओभरले कालोपत्र गर्न सञ्चालित अर्को आयोजना पनि सम्पन्न हुने चरणमा छ । सडक बोर्ड नेपालको रु ७० लाख र बेनी नगरपाकिलाको रु ३० लाख बजेट रहेको यो सडकअन्तर्गत एकपाटे, अवेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर सडक ढलान गर्ने काम अन्तिम चरणमा पुगेको हो ।
ढलानको काम सकेर हुलाकचोकदेखि सङ्गमचोकसम्मको एक सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र गर्ने काम यही असार महिनासम्म सम्पन्न गर्ने तयारी गरेको निर्माण कम्पनीका सञ्चालक नवराज बरुवालले बताउनुभयो । यो सडक स्तरोन्नतिका लागि एसएस विल्डर्सले रु ७६ लाख २१ हजार एक सय ९९ मा ठेक्का सम्झौता गरेको थियो । यो ठेक्काको काम सकिएपछि बेनीदेखि पुरुण्डीसम्मको सडक सहज हुने जनाइएको छ ।