बुधबार, १० भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J20WX9V5EQR3RTWZ42F7WWY9.jpg

निःशुल्क शिक्षाका लागि थप बजेट विनियोजन गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ, २१ असार I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षालाई निःशुल्क र गुणस्तरीय बनाउन सरकारले बजेट थप गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले शिक्षाका ऐन, नियम र निर्देशिकाको पालनाका लागि अनिवार्य दायित्वका रुपमा बजेट विनियोजन हुन आवश्यक रहेको औँल्याउनुभएको हो । शिक्षाका लागि अतिरिक्त बजेट कसरी निर्धारण गर्ने भनेर सोच्नुपर्नेमा जोड दिँदै उहाँले गुणस्तरीय शिक्षाका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट अध्ययन र अनुसन्धान गरेर निचोड निकाल्नुपर्ने जनाउँदै उहाँले विद्यालय शिक्षालाई गुणस्तरीय र राजनीतिक हस्तक्षेपबाट मुक्त राख्न ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ जारी गरिएको स्पष्ट गर्नुभयो ।     
     
“शिक्षण पेसा भनेको जागिरको विषय होइन, दायित्व हो । उनीहरु जतिबेला पनि विद्यार्थीको सिकाइमा केन्द्रित हुनुपर्छ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “त्यसैले शिक्षकलाई कुनै पनि राजनीतिक दलको जिम्मेवारी र सदस्यमा राख्नुहुन्न । यसका लागि म सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्दछु ।”     
     
मन्त्री श्रेष्ठले शिक्षक ‘पोर्टल’ निर्माणगरी एकीकृत तथ्याङ्क तयार गर्ने र सरुवालाई वैज्ञानिक बनाउन उक्त पोर्टल सहयोगी हुने बताउनुभयो । उहाँले ‘साथीसँग सिकाइ’ कार्यक्रमका साथै एक हजार विद्यार्थीलाई प्रशिक्षण दिएर हरेक पालिकामा पठाउने जानकारी दिनुभयो ।     
     
मन्त्री श्रेष्ठले शैक्षिक परामर्श केन्द्र र विदेशी सम्बन्धनमा सञ्चालित कलेजहरुको दर्ता, नवीकरण र अनुगमनका लागि विगतमा काम नभएको पाइएकाले अहिले अनुगमन सुरु गरिएको पनि स्पष्ट गर्नुभयो । यसैगरी मन्त्री श्रेष्ठले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को पुनःसंरचाका लागि प्रक्रिया सुरु भएको जानकारी दिँदै विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदाकमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने स्पष्ट गर्नुभयो । 

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20TF34RHQB5GS72V09ZM7FS.jpg

लेबर पार्टीको फराकिलो जीत, स्टार्मर नयाँ प्रधानमन्त्री बन्ने

लन्डन, २१ असार  I किअर स्टार्मरको नेतृत्वमा रहेको लेबर पार्टीले बेलायती संसद्को तल्लो सदनमा स्पष्ट बहुमतसहित विजय प्राप्त गरेको छ ।  संसद्को ६५० सिटमध्ये ४६७ सिट घोषणा हुँदा लेबर पार्टीले ३२६ सिट जितेको स्काइ न्युजले शुक्रबार बिहान जनाएको छ ।

कुनै पनि मिडिया आउटलेटले ३२६  सिटको सीमा पुगेको घोषणा गर्नु अघि नै बेलायती प्रधानमन्त्री ऋषि सुनकले आम निर्वाचनमा हार भएको स्वीकार गर्नुभएको थियो ।  

बीबीसी, आइटीवी, र स्काई न्यूजले गरेको एक्जिट पोलले केही घण्टा अघि लेबरले ४१० सिटको शानदार जित हासिल गर्ने अनुमान गरेका थिए भने कन्जरभेटिभका लागि सिटको सङ्ख्या १३१ मा कायम हुने अनुमान गरिएको थियो ।  

“लेबर पार्टीले यो आम चुनाव जितेको बताउँदै नेता स्टार्मरलाई जीतका लागि बधाई दिएको सुनकले उल्लेख गर्नुभएको छ ।  

बेलायती जनताले  गम्भीर फैसला दिएको तथा त्यहाँ सिक्नुपर्ने धेरै कुरा भएको बताउँदै उहाँले हानिको जिम्मेवारी लिने उल्लेख गर्नुभएको छ ।  

प्रधानमन्त्री सुनकले राजा चाल्र्स तृतीयलाई भेटी चाँडै आफ्नो राजीनामा घोषणा गर्ने अपेक्षा गरिएको छ । यसले स्टार्मरललाई बेलायतको नयाँ प्रधानमन्त्रीको पदभार ग्रहण गर्ने मार्ग प्रशस्त गर्नेछ । 

स्टार्मरले लेबर पार्टीको बहुमत पुष्टि भएपछि मध्य लन्डनमा  जनतालार्ई सम्बोधन  गर्दै भन्नुभयो, “हामीले जित्यौँ । तपाईँले यसका लागि अभियान चलाउनुभयो, सङ्घर्ष गर्नुभयो, र जितको अवस्था आइपुगेकोले परिवर्तनको अनुभूति छिट्टै हुनेछ ।”  

उहाँले भन्नुभयो, “बेलायती जनताले लेबर पार्टी र यसको नेतृत्वलाई विस्वास गरेका छन् र हामी उनीहरूको हितको लागि काम गर्न सक्छौँ ।” नेता स्टार्मरले लेबरको जीतमा योगदान गर्ने सम्पूर्ण नेता, कार्यकर्ता, शुभचिन्तकलगायत मतदाताप्रति आभार प्रकट गर्नुभएको छ ।(रासस/एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20MGV32565DZFC5ZHHPCTPV.jpg

सुनसरीमा आँप उत्पादन घट्यो

धरान (सुनसरी), २१ असार I जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिनुभयो ।     
     
 उहाँले भन्नुभयो, “ कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुने आँप अहिले प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ ।” गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उहाँले बताउनुभयो ।     
     
केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ । गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो ।     
     
जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन् । अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ । जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताउनुभयो । आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको जनाइएको छ ।  

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20JQQSW8CCRYM0ER6D519ZD.jpg

नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो

मुग्लिन (चितवन), २१ असार I सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका साथ मानव सेवामा समर्पित गर्न आग्रह गर्नुभयो ।     
      
उहाँले भन्नुभयो, “ देशमा मनसुन सुरु भइसकेको छ, नागरिकको जीउधनको सुरक्षा गर्ने कुरालाई केन्द्रविन्दुमा राखेका छौँ ।” प्रदेशसभा सदस्य कृष्णप्रसाद सिलवालले सशस्त्र प्रहरीले नागरिकको सुरक्षाका लागि अहम भूमिका निर्वाह गरिरहेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा ३६ दिनसम्म सञ्चालित तालिममा १९ जना सहभागिता रहको थियो ।     
      
सो अवजसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक वंशीराज दाहालले नेपालमा गोतोखोरको सङ्ख्या ११० पुगेको जानकारी दिनुभयो । शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद पौडेलले प्रशिक्षार्थीलाई चितवनको कुरिनटारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा तालिमको अभ्यास गराइएको बताउनुभयो । प्रशिक्षार्थीहरूले पानीजन्य घटना–दुर्घटनामा उद्धारसम्बन्धी नमूना अभ्यास प्रदर्शन गरेका थिए ।     
      
कार्यक्रममा चितवन र गोरखाका स्थानीय पालिकाका प्रमुख–उपप्रमुख, नेपाली सेना नं ६ बाहिनी अड्डा बैरेनी धादिङका बाहिनीपति सहायक रथी रोजप्रताप जबरा, सशस्त्र प्रहरी बल राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी, नं ३ गढिमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरिक्षक गणेश ठाडामगर, चितवन, धादिङ र गोरखाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20C38XT6NEVY68531HXW87C.jpg

विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

ढोरपाटन (बागलुङ), २१ असार I बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या ह्वात्तै घटेको छ । हाल सो विद्यालयमा दुईजना छात्रमात्र अध्ययनरत छन् । उनीहरूमध्ये एकजनाले कक्षा १ र एकजनाले कक्षा ३ मा अध्ययन गर्छन् । कक्षा २ मा भने विद्यार्थी नै छैनन् ।   
  
स्थानीयवासी सुविधाको खोजीमा अन्यत्र बसाइँ सरेपछि विद्यालयमा विद्यार्थी आउन छाडेका प्रधानाध्यापक गोविन्द अधिकारीले जानकारी दिनुभयो । विसं २०८० मा तीनजना हुँदै नयाँ शैक्षिकसत्रमा दुईजनामा सीमित भएको छ । उहाँका अनुसार विसं २०४६ मा स्थापना भएर २०४७ सालमा अनुमति पाएको विद्यालयमा २०७८ सालसम्म ११ जना विद्यार्थी थिए । विसं २०७९ मा त्यो सङ्ख्या १० जनामा झर्यो । विद्यालयमा एकजना स्थायी दरबन्दीको शिक्षक, एक अस्थायी र एकजना कार्यालय सहयोगी कार्यरत छन् । बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएपछि विद्यालयको अस्तित्व नै धरापमा परेको छ । पैतीस वर्ष अगाडि स्थापित विद्यालयमा दशक अगाडि विद्यार्थीको चाप हुँदा भुइँमै बसेर पढ्नुपर्ने बाध्यता थियो । तर अहिले भौतिक रूपमा सम्पन्न हुँदा विद्यार्थीको सङ्ख्या निकै कम भएका छन् ।   
  
धुसगाउँ भौगोलिक हिसाबले अलि विकटमा हुँदा धेरैले आफ्ना बालबालिका सुविधायुक्त विद्यालयमा पठाउँदा विद्यार्थी कम भएको प्रअ अधिकारी बताउनुहुन्छ । गाउँभन्दा नजिकै गुल्मीको पुर्तिघाटमा निजी विद्यालय रहेको हुँदा गाडीले घर नजिकै लिन आउँदा धेरै विद्यार्थी त्यता जान थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विद्यार्थी कम हुँदा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बन्न नसकेको, आफूहरूमा नैराश्य छाएको छ । पछिल्लो समय गाउँमा बालबालिका पनि कम छन् । भएका पनि सहरबजार जाने प्रचलन बढेको छ । हामी त जागिर खानका लागि यहाँ आइयो विद्यार्थी धेरै नहुँदा सिक्न र सिकाउन पाइएको छैन, दिन बिताउन साह्रै गाह्रो हुन्छ, पहिलेको जस्तो भुइँमा बसेर पढ्नुपर्ने अवस्था छैन, धेरै सुविधा थपिएको छ ।”   
खासगरी यस गाउँका स्थानीय बसाइँसराइ गरी चितवन, रुपन्देही गएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले विद्यालयको भौतिक संरचनादेखि अन्य व्यवस्थापन गरेको तर धेरै विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गएको बताउनुभयो । नगरपालिकाले कम विद्यार्थी भएको विद्यालयलाई समायोजन गर्ने नीति रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,“नगरपालिकाले नगर शिक्षा ऐन बनाएको, त्यसअन्तर्गत रहेर दरबन्दी मिलान अगाडि बढाएको , विद्यालय समायोजनसम्बन्धी कार्यविधि बनाएर काम अगाडि बढेको छ । विद्यालय समायोजनपछि नगरपालिकाले सञ्चालन गरेको ‘लिड’ विद्यालयमा टाढाका विद्यार्थीलाई आवासीय सुविधा प्राप्त हुनेछ । ”   
  
जैमिनी नगरपालिकाका शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्यले ताराज्योति प्राथमिक विद्यालयलाई छिट्टै समायोजन गर्ने जानकारी दिनुभयो । अहिले नगरपालिकाले कुन विद्यालय समायोजन गर्ने, कुन तह मिलान गर्ने भन्ने विषयमा अध्ययन गरिसकेको उहाँले बताउनुभयो ।  

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J20BGDZ6P0ETYCPRBVGEA4WM.jpg

गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन

काठमाडौँ, २१ असार I गृहसचिव एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई  निर्देशन दिनुभएको छ ।  गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उहाँले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका स्थानीय पालिकासँग सहकार्य एवम् समन्वय  गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
 
प्रदेश सरकार, निजी क्षेत्र,सामाजिक संस्थाहरू परिचालनका निम्ति समन्वय गर्न एवं सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

विपद् व्यवस्थापनमा पालिकाको भूमिका महत्त्वपूर्ण रहने भएकाले प्रजिअहरूले पालिकासँगका समन्वयमा जोड दिनुपर्ने गृहसचिव अर्यालले निर्देशनमा बताउनुभयो  । “स्थानीयस्तरमा विपद्जन्य घटनाको पहिलो जिम्मेवारीमा पालिका नै रहने भएकाले जनप्रतिनिधिसहित कर्मचारीसँगको समन्वय महत्त्वपूर्ण छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा आफ्नो कार्यक्षेत्र नछाड्न निर्देशन दिनुहोला ।”

यसैगरी मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्धार र राहतका लागि हेलिकप्टरदेखि अन्य प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई उहाँले अनुरोध गर्नुभएको छ । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको उहाँले बताउनुभयो । गृहसचिव अर्यालले विपद्बाट मानवीय क्षति व्यहोर्न पुगेका परिवारहरूमा आफैँ उपस्थित भई आवश्यक सहयोग गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिनुभएको थियो ।

प्रकाशित मितिः शुक्रबार, २१ असार २०८१
https://jawaaf.com/storage/01J1Z0D4BGYJMWYF8PCDSZZGF1.jpg

नेकपा एसको अध्यक्षमा नेता नेपाल सर्वसम्मत

काठमाडौँ, २० असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन हुनुभएको छ ।   
  
नेपाल प्रज्ञाप्रतिष्ठानमा जारी पार्टीको दशौँ महाधिवेशनले उहाँलाई उक्त पदमा सर्वसम्मतिले चयन गरेको हो । पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको छ । महाधिवेशनले झलनाथ खनाललाई सम्मानित नेतामा चयन गरेको छ ।   
  
उक्त पार्टीको प्रचार विभागका अनुसार ती तीन पदमा सर्वसम्मत चयन गरिएको हो भने अन्य पद पार्टी सचिवालयले टुङ्ग्याउने निर्णय गरेको छ । 

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1YK392AF8FPSZNTN1KGAG0T.jpg

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार

काठमाडौँ, २० असार I यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढ्दा कारोबार रकम पनि उच्च देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ४६ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६९ अङ्कमा कायम भएको हो ।

आज तीन सय १३ कम्पनीको दुई करोड २१ लाख ६७  हजार छ सय ७९ कित्ता शेयर ८४ हजार एक सय २६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ४८ करोड २५ लाख ४६ हजार नौ सय ८० बराबरको कारोबार भएको छ ।

आज वित्त समूह शून्य दशमलव ५९ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक तीन दशमलव ४३ प्रतिशतले बढेको छ । 

बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन एक दशमलव ७५, जलविद्युत् शून्य दशमलव २२, लगानी एक दशमलव ८९ र जीवन बीमा एक दशमलव ९७ प्रतिशतले बढेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव २४, निर्जीवन बीमा शून्य दशमलव ५८, व्यापार शून्य दशमलव ४८ र व्यापार समूह शून्य दशमलव १५ प्रतिशतले बढेको छ ।

आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ७५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु तीस करोड नौ लाख चार हजार छ सय ९४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने एनआईसी एसिया ब्यालेन्स फण्डको ३५ लाख एक हजार दुई सय कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1YH8DJMT4ZSD2A7NFKPPS9A.jpg

प्रधानमन्त्रीलाई थप कार्यभार

काठमाडौँ, २० असार I राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित आठजना मन्त्रीले पदबाट राजीनामा दिएपछि उहाँहरूले सम्हाल्नुभएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले सम्हाल्ने गरी तोक्नुभएको छ । 

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपतिले प्रधानमन्त्री स्वयंलाई ती मन्त्रालयको कार्यभार तोक्नुभएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

मौजुदा मन्त्रिपरिषद्का कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले बुधबार अपराह्न प्रधानमन्त्री दाहालसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) बमोजिम राजीनामा दिनुभएको थियो 

प्रकाशित मितिः बिहिबार, २० असार २०८१
https://jawaaf.com/storage/01J1YBXTRFZTRVPZAW6FAZ7AGM.jpg

बेलायतमा आम निर्वाचनका लागि मतदान सुरु

लन्डन, २० असार (रासस/एएनआई) I संयुक्त अधिराज्य (बेलायत) को ऐतिहासिक आकस्मिक आम निर्वाचनका लागि बिहीबार मतदान सुरु भएको छ ।

मतदान स्थानीय समय बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ । 

सबै प्रमुख दलहरूको छ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ ।

इङ्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कूल छ सय ५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ । कूल छ सय ५०  संसदीय सिटमध्ये ३२६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ । 

बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ ।

यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषिसुनकलगायत दावेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ ।

बेलायतको युरोपेली सङ्घसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ ।

यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री  सुनकले आकस्मिक चुनावको आह्वान गर्नुभएको हो । उहाँको पार्टीमा केही नेता समेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए । 

प्रकाशित मितिः बिहिबार, २० असार २०८१