त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ
काठमाडौँ, ७ असार I त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो ।
समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।
मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।
नेपालको सार्वजनिक ऋण २४ खर्बभन्दा बढी
काठमाडौँ, ७ असार I नेपालको कुल सार्वजनिक ऋण रु २४ खर्ब नाँघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आन्तरिक ऋण रु ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ रु १२ खर्ब सात अर्ब ८६ करोड बराबर रहेको छ ।
चालु आवको सुरुआत अर्थात् २०८० असार मसान्तमा कुल सार्वजनिक ऋण रु २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर थियो । चालु आवको ११ महिनामा मात्र रु एक खर्ब ९९ करोड बराबर ऋण थपिएको हो । हालसम्मको कुल सार्वजनिक ऋणमा आन्तरिक ऋणको हिस्सा ४९ दशमलव ६८ र बाह्य ऋणको हिस्सा ५० दशमलव ३२ प्रतिशत छ ।
बाह्य ऋणतर्फ बहुपक्षिण ऋणदातालाई रु १० खर्ब ७१ अर्ब ११ करोड र द्विपक्षीय ऋणदातालाई रु एक खर्ब ३६ अर्ब ७४ करोड बराबर तिर्न बाँकी छ । त्यस्तै, आन्तरिक ऋणतर्फ विकास बण्डको दायित्व सबैभन्दा बढी रु सात खर्ब ६४ अर्ब ९४ करोड बराबर छ । हालसम्मको ट्रेजरी बिलको दायित्व रु चार खर्ब १२ अर्ब ६९ करोड, नागरिक बचतपत्रको दायित्व रु १० अर्ब ७५ करोड, वैदेशिक रोजगारी बचतपत्रको दायित्व रु १७ करोड र आईएमएफ बण्डको दायित्व रु तीन अर्ब ९१ करोड बराबर छ ।
चालु आर्थिक वर्षका लागि सरकारले कुल रु चार खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको थियो । जसमध्ये आन्तरिक ऋण रु दुई खर्ब ४० अर्ब र बाह्य ऋण रु दुई खर्ब १२ अर्ब ७५ करोड उठाउने लक्ष्य थियो । गत वैशाख मसान्तसम्ममा सरकारले आन्तरिकतर्फ रु दुई खर्ब २५ अर्ब र बाह्यतर्फ रु ८२ अर्ब ६७ करोड बराबर ऋण उठाइसकेको छ ।
वार्षिक लक्ष्यका आधारमा हालसम्मको कुल ऋण प्राप्ति ६७ दशमलव ९६ प्रतिशत बराबर हो । आन्तरिक तर्फ वार्षिक लक्ष्यको ९३ दशमलव ७५ र बाह्य तर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ८६ प्रतिशत बराबर रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
चालु आवभित्र उठाइसक्ने लक्ष्य लिइएको ऋणमध्ये वैशाख मसान्तसम्ममा आन्तरिकतर्फ रु १५ अर्ब र बाह्यतर्फ रु एक खर्ब ३० अर्ब सात करोड गरी कुल रु एक खर्ब ४५ अर्ब बराबर उठ्न बाँकी रहेको कार्यालयका प्रमुख दीर्घराज मैनालीले जानकारी दिनुभयो ।
चालु आवमा सरकारी ऋणको साँवा तिर्न रु दुई खर्ब २५ अर्ब १७ करोड र ब्याज तिर्न रु एक खर्ब पाँच अर्ब ३८ करोड बराबर विनियोजन भएको थियो । जसमध्ये चालु आवको १० महिनामा साँवातर्फ रु एक खर्ब ९७ अर्ब ३२ करोड अर्थात् विनियोजित बजेटको ८७ दशमलव ८३ प्रतिशत र बाह्यतर्फ रु ३१ अर्ब ५२ करोड अर्थात् ७० दशमलव नौ प्रतिशत बराबर भुक्तानी भइसकेको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको गत वैशाख मसान्तसम्म तिरिएको सार्वजनिक ऋणको साँवा ब्याजमध्ये आन्तरिकतर्फको भुक्तानी रु दुई खर्ब २७ अर्ब २० करोड र बाह्य ऋणको साँवा ब्याजमा रु ४३ अर्ब ९९ करोड बराबर खर्च भएको छ ।
नेकपा एस महाधिवेशनः विशिष्ट नेताको सुरक्षा जिम्मेवारी राजनीतिक कमिटीलाई
काठमाडौँ, ७ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आसन्न राष्ट्रिय महाधिवेशनस्थल तथा विशिष्ट व्यक्तिको सुरक्षा जिम्मेवारी राजनीतिक तथा सुरक्षा समन्वय कमिटीलाई दिएको छ ।
सो कमिटीलाई महाधिवेशनस्थलमा आउने सबै प्रतिनिधि, शुभकामना दिन आउने विभिन्न पार्टीका नेता, पर्यवेक्षकलगायत विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनको जिम्मेवारी तोकिएको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिनुभयो ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा गठित १६ सदस्यीय कमिटीलाई पूर्णता दिइएको छ । कमिटीको सहसंयोजकमा जयन्ती राई, सचिवमा कृष्णराज पन्त हुनुहुन्छ ।
कमिटीको सदस्यमा जगनाथ खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, विरोध खतिवडा, भानुभक्त जोशी, अमरबहादुर थापा, उदयबहादुर बोहोरा, राजेन्द्रलक्ष्मी गैरे, शर्मिला पौडेल, विनोद मैनाली, वसन्त बस्नेत, हरिप्रसाद शर्मा र सविता अर्याल हुनुहुन्छ ।
यही असार १६ देखि २० गतेसम्म नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने महाधिवेशनले पार्टीको भावी नीति तथा कार्यक्रम घोषणाका साथै नयाँ नेतृत्व चयन गर्नेछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट छुट्टिएको पार्टीले आसन्न महाधिवेशनलाई १०औँ राष्ट्रिय महाधिवेशन भनेको छ । आफूलाई २००६ सालमा कोलकातामा स्थापना भएको कम्युनिष्ट पार्टीको उत्तराधिकारी मानेको एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौवटा महाधिवेशनको स्वामित्व लिँदै आगामी महाधिवेशनलाई १०औँ मानेको तर्क गरेको छ ।
कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम
तनहुँ, ७ असार I जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण सहज बनाइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
खाद्य स्वच्छता कायम गर्न ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई व्यावहारिक कार्यन्वयनका लागि कोदोलगायतका स्थानीय उत्पादनलाई बढावा दिन लागिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमले पशु सेवा तथा प्रसार कार्यक्रमअन्तर्गत अध्यक्षसँग पशु कार्यक्रम सञ्चालन गरिने छ ।
घरेलु तथा साना उद्योगतर्फका विभिन्न कार्यक्रम समावेश गरिएको छ । उहाँले भन्नुभयो, “स्थानीय सीप स्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढवा दिई व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने योजना रहेको छ ।”
स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटीमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ । पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन् । स्वास्थ्य क्षेत्रतर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल आधार बनाइएको छ । अपाङ्गता, ज्येष्ठ नागरिक र अन्यतर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडेर अघि बढाइने जनाइएको छ ।
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण
फिक्कल (इलाम), ७ असार I जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।
कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताउनुभयो ।
उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् ।
बाख्रापानल प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा रु ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने रु १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।
“ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ”, वडा अध्यक्ष लिम्बूले भन्नुभयो, “यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।”
चेस प्रतियोगिता यसै सातादेखि
काठमाडौँ, ६ असार I हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
यही असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिनेछ ।
गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ । एकेडेमीका अध्यक्ष खम्बूले भन्नुभयो, “एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले रु १० हजार, दोस्रो हुनेले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।”
सरकारसँगको सहकार्य हाम्रा कारणले टुट्दैन : अध्यक्ष नेपाल
महोत्तरी, ६ असार I नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको विकास र जनचाहना सम्बोधनका लागि आफ्नो दलले सरकारसँग सहकार्य गरेको बताउनुभएको छ । महोत्तरीको बर्दिबासमा समाजवादी प्रेस सङ्गठन नेपालद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निश्चित उद्देश्य प्राप्तिका लागि गरिएको सहकार्यले निरन्तरता पाउने उल्लेख गर्नुभयो ।
“जनताका आवश्यकता पूरा गर्न र समृद्धिको यात्रा अघि बढाउने उद्देश्यकासाथ सरकारसँग सहकार्य गरिएको हो”, अध्यक्ष नेपालले भन्नुभयो, “सरकारसँगको सहकार्य हाम्रा कारणले टु्ट्दैन ।” यद्यपि सत्ता गठबन्धनमा सहभागी दलहरुबीच सघन संवाद भने हुन नसकेको उहाँको गुनासो थियो ।
“सरकार सञ्चालन गर्न सत्ता गठबन्धन दलहरुबीच सरसल्लाह भइरहनुपर्छ, यो पर्याप्तरुपमा हुन सकेको छैन”, अध्यक्ष नेपालले भन्नुभयो । गठबन्धन दलहरुबीचको सम्बन्ध जीवन्त राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै मुख्य पहलकदमी हुनपर्ने उहाँको सुझाव छ । पार्टीको महाधिवेशनको तयारीका सिलसिलामा विभिन्न जिल्लाको दौडाहामा रहनुभएका अध्यक्ष नेपाल महोत्तरी आउनुभएको हो ।
लालुपाते सहकारी घोटला प्रकरणः बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति
केदार मगर
खोटाङ, ६ असार I लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो ।
अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताउनुभयो । “अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो”, उहाँले भन्नुभयो, “‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।”
बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ ।
डुबेको रकम फिर्ता पाएकामा आफूहरू खुसी रहेको बचतकर्ताहरूले बताएका छन् । “घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भन्नुभयो, “सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।”
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार एवं हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो ।
तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीका ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको अनुसन्धानमा देखियो, सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार पाँच सय ६४ देखिन्छ”, उहाँले भन्नुभयो, “सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ, संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”
बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालतका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन् ।
सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौँस्थित उनीहरूको घरैबाट पक्राउ परेका थिए । उनीहरूमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ ।
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो ।
तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य रु १०–१० लाख तथा उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई रु पाँच–पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राई अदालतबाट रु १० लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए ।
बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीका सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले विसं २०८० कात्तिक १२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरूलाई प्रहरीले पक्राउ गरे पनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरूको नाम सार्वजनिक गरेको थिएन ।
प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।
सहकारीको नाममा हलेसीमा रु ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीका भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।
तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच ऋणीले रु १५ लाख १६ हजार फिर्ता गरेका छन् ।
प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड
काठमाडौँ, ६ असार I नेपाली कांग्रेसमा आवद्ध नेताहरुले प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन छुट्टै सिट निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल महिला सङ्घले आज यहाँ अयोजना गरेको कार्यक्रममा सहभागीले निर्वाचनमा सबै राजनीतिक दलले थोरै सङ्ख्यामा महिला उम्मेदवार बनाउने गरेकाले विजयी हुनेको सङ्ख्या पनि कम हुने भन्दै महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष निर्वाचनमा महिलाका लागि छुट्टै सिट निर्धारण गर्नुपर्ने विषय सकारात्मक रहेको बताउनुभयो । “प्रत्यक्ष निर्वाचनमा महिलाको सहभागिता बढाउन अलग्गै सिटको व्यवस्था गर्नुपर्छ भन्ने सकारात्मक विषय हो”, उहाँले भन्नुभयो । त्यसअघि पार्टीभित्र हुने अन्तर्घात अन्त्य गर्न सके महिलाले थप अवसर पाउने उहाँको भनाइ छ ।
सभापति देउवाले मुलुकमा भएको समावेशी समानुपातिक व्यवस्थाले महिलालाई राज्यका हरेक क्षेत्रमा स्थान दिएको र उक्त व्यवस्थाले आगामी दिनमा पनि अझ सशक्त र प्रभाकारी भूमिका निर्वाह हुँदै जाने अपेक्षा गर्नुभयो । संसारमा महिला अधिकार र समावेशी समानुपाति व्यवस्थाका विषयमा आवाज उठिरहेको भन्दै उहाँले नेपालमा यसको उपलब्धिकारुपमा राष्ट्रपति पदमा महिला सहभागी भइसकेको उल्लेख गर्नुभयो ।
भोलिका दिनमा यस्तै महत्वपूर्ण जिम्मेवारीमा महिला आउन सक्ने बताउँदै सभापति देउवाले त्यसका लागि तयारी गरेर आफूलाई योग्य र सक्षम बनाउन सबै महिलालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता डा शेखर कोइरालाले महिलाले राजनीतिक सशक्तिकरणका साथै आर्थिक र सामाजिक सशक्तिकरण पनि आफूलाई सक्षम बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले विद्यमान आरक्षणको प्रतिशत वृद्धिको मागसँगै त्यसका लागि आफू सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।
नेता कोइरालाले संविधान संशोधन गरेर भए पनि आगामी दिनमा प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्नेगरी सिट निर्धारणको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
महामन्त्री विश्वप्रकाश शर्माले समाजमा देखिएका महिला हिंसा र द्वन्द्व न्यूनीकरणका लागि महिला सङ्घले नेतृत्वदायी भूमिकाका साथ अभियान सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले महिला सङ्घसँग राजनीतिक सङ्घर्षको लामो इतिहास भएको उल्लेख गर्दै समाजमा शान्ति कायम गर्न, थिति स्थापित गर्न सङ्घ लाग्नुपर्ने धारणा राख्नुभयो ।
कांगेस प्रवक्ता डा प्रकाशशरण महतले अभिव्यक्ति स्वतन्त्रता नभएसम्म कसैले पनि अधिकार नपाउने भएकाले कांग्रेसले समयसमयमा विभिन्न राजनीतिक आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचनमा महिलाले मात्र प्रतिस्पर्धा गर्ने व्यवस्था गर्न संविधान संशोधनतर्फ जानुपर्नेमा जोड दिनुभयो ।
उषा राउत मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस नेत्री पुष्पा भुसाल, कांग्रेस नेत्री एवं पूर्वमन्त्री सीता गुरुङलगायले कांग्रेसभित्र महिलामैत्री वातावारण रहेको बताउनुभएको थियो । संविधान, विभिन्न कानुन र पार्टी विधानमा भएका महिला अधिकार, समावेशी समानुपातिसम्बन्धी व्यवस्था कार्यान्वयनमा उहाँहरुले जोड दिनुभएको थियो ।
९१ प्रतिशत भौतिक प्रगति गरेको, सिदिन–याङनाम खानेपानी योजना मुहानको विवादले सङ्कटमा
पाँचथर, ६ असार I मुहान क्षेत्रका बासिन्दाले संरचना निर्माण गर्न र पानी लैजान नदिएपछि पाँचथरको सिदिन–याङनाम खानेपानी योजना सङ्कटमा परेको छ । फालेलुङ गाउँपालिका–६ र ७ को सीमामा अवस्थित प्युरेखोलामा मुहान थापेर सञ्चालन गर्न लागिएको योजनाको मुहानको विवादले समस्यामा परेको हो । मुहान प्रयोग गर्ने विषयमा लामो समयदेखि संवाद हुँदै आए पनि स्थानीयवासी अझैसम्म मुहान प्रयोग हुन दिने पक्षमा छैनन् । यही खोलामा मुहान थापेर खानेपानी र सिँचाइका योजना सञ्चालनमा रहेको, पानीका मुहान क्रमशः सुकिरहेको अवस्थामा यहाँ मुहान दिए निकट भविष्यमै आफूहरूको जीविकोपार्जन सङ्कटमा पर्ने स्थानीयवासीको भनाइ छ । जसकारण करिब ९१ प्रतिशत भौतिक प्रगति गरेको योजना अघि बढ्न सकेको छैन ।
जिल्लाको फिदिम नगरपालिका वडा नं १० र फालेलुङ गाउँपालिका वडा नं ८ का सुक्खा प्रभावित क्षेत्रका एक हजार दुई सय ११ परिवारका लागि सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामबाट योजना निर्माण भइरहेको छ । विसं २०७९ असार २३ गते ठेक्का सम्झौता भई निर्माण थालिएपछि नै फालेलुङ गाउँपालिका–७ ले अनुमति र जानकारी नलिई योजना निर्माण सुरु भएको भन्दै निर्माणकार्य रोक्न पत्राचार गरेको थियो । जिल्ला समन्वय समितिको अगुवाइमा भएको छलफलपछि निर्माण सुरु भएको थियो ।
विसं २०८० असोज १३ गते फालेलुङ वडा नं ६ को कार्यालयले समेत निर्माणकार्य रोक्न भनेपछि मुहान क्षेत्रमा काम ठप्प भएको थियो । यद्यपि उपभोक्ता समिति र निर्माण कम्पनीले वितरण क्षेत्रमा निर्माणकार्य धमाधम सम्पन्न गरेका थिए । मुहानको विवाद समाधान गर्न गत वैशाख १३ र जेठ २० गते सर्वपक्षीय बैठक बसे पनि समाधान निस्कन नसकेको फालेलुङ–८ का वडाध्यक्ष श्रीहाङ केरुङले बताउनुभयो । सर्वपक्षीय बैठकले समाधान निकाल्न नसकेपछि गत जेठ २६ गतेबाट मुहान क्षेत्रमा संरचना निर्माण थालिएकामा जेठ ३१ गते स्थानीयवासीले अवरोध गरेपछि निर्माण रोकिएको वडाध्यक्ष केरुङले बताउनुभयो ।
चालु आवमा योजनाका लागि छुट्टिएको बजेट निकासा गराउनुपर्ने, समयमा निर्माणकार्य रोकिएपछि प्राप्त भएको बजेट फिर्ता हुने र भविष्यमा बजेट प्राप्त गर्ने सम्भवना कम भएको फिदिम नगरपालिका–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङको भनाइ छ । “बजेट फ्रिज भएपछि यो योजनाको भविष्य अन्योलमा पर्छ”, थाम्सुहाङले भन्नुभयो, “दुई वडाको खानेपानीको समस्या समाधानका लागि उक्त योजनाको मुहानभन्दा अर्को उपयुक्त विकल्प पनि छैन ।”
मुहान क्षेत्रका बासिन्दाले खानेपानी नदिए आफ्नो क्षेत्रबाट सञ्चालन भएको सडक, विद्युत्, इन्टरनेटलगायत सेवासमेत अवरुद्ध पार्ने योजनाको लाभान्वित क्षेत्रका बासिन्दाले चेतावनी दिएका छन् । उपभोक्ताको भेलाले समस्या समाधान नभए यही असार ९ गतेबाट मुहान क्षेत्र फालेलुङ गाउँपालिका वडा नं ७, ६ लगायतमा प्रवाह हुने विद्युत्सहित सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको उपभोक्ता समितिका सचिव भुवन जबेगूले बताउनुभयो ।
तर मुहान क्षेत्रका बासिन्दाले भने आफूहरूसँग समन्वय नै नगरी योजना निर्माण थालिएकाले खानेपानी दिन नसकिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय पाँचथरमा केही समयअघि भएको सर्वपक्षीय छलफलमा मुहान क्षेत्रका बासिन्दा प्रकाश केरुङले भन्नुभयो, “त्यही मुहानबाट सिँचाइको व्यवस्था गर्नुका साथै जीविकोपार्जनको माध्यम अलैँची बनाएका छौँ । योजनाले अर्को उपयुक्त मुहान खोज्नु ठिक हुन्छ ।”
पटक–पटक भएका छलफल स्थानीयवासी मुहान दिन तयार देखिएका छैनन् । यता उपभोक्ताले भने सुक्खायाममा मुहानमा हुने पानीको एकतिहाइ पानी दिन आग्रह गरिरहेका छन् । वर्षायाममा भने पानी प्रशस्तै हुने हुनाले मुहान क्षेत्रमा कुनै प्रभाव नपर्ने उपभोक्ताको तर्क छ ।
यस योजनामा अहिलेसम्म ९१ प्रतिशत भौतिक प्रगति र ८३ प्रतिशत वित्तीय प्रगति भएको छ । विसं २०७९ असार २३ मा अञ्जना–पराजुली–पाथीभरा जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी रु १३ करोड ६० लाख ९१ हजार छ सय ८६ लागतमा योजनाको ठेक्का लिएको थियो । मुहानको विवाद र निर्माणकार्यमा अवरोध हुँदा आयोजनाको भविष्य नै सङ्कटमा पर्ने निर्माण कम्पनीका प्रतिनिधि लोकेन्द्र राजभण्डारीले बताउनुभयो ।
योजनाले एक हजार दुई सय ११ घरका पाँच हजार आठ सय तीन जनसङ्ख्या लाभाविन्वत हुनेछन् । योजनामा ७२ दशमलव २३ किलोमिटर पाइपलाइन, ११ वटा मुख्य पानी भण्डारण ट्याङ्की, २३ वटा बिपीटी, ४५ वटा भल्भ च्याम्बर, ८० वटा ब्लक तथा पाइप सपोर्ट पोस्ट, फिल्टर ट्याङ्कीलगायत संरचना छन् । योजनाको निर्माणकार्य गरेवापत हालसम्म रु ११ करोड ३६ लाख १४ हजार आठ सय ५३ रकम आफूलाई भुक्तानीसमेत भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
योजनाको सबै पानी भण्डारण ट्याङ्की, उपभोक्ता समितिको भवन, पानी प्रशोधनशाला निर्माण भइसकेकोे छ । पाइपलाइन तथा वितरण लाइनको अधिकांश निर्माणकार्य सकिएको छ भने एक हजार दुई सय ११ घरमध्ये एक हजार ३२ घरमा धारा जडान सम्पन्न भएको उपभोक्ता समितिले जनाएको छ ।
