प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
मोरङ, ६ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो । उहाँले मानवीय क्षति न्यून गर्न समाजका सबै वर्गको सहयोग र योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई साधन स्रोतले सम्पन्न गराउने र जनशक्ति वृद्धि गर्ने जानकारी दिँदै चालक, सहचालक र नागरिक समाज, विद्यालय, शिक्षकलगायत सबैका लागि सचेतना कार्यक्रम गरी सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले मोरङ, सुनसरी र झापामा अध्यधिक सडक दुर्घटना हुने १०–१५ किलोमिटर क्षेत्रलाई नमुना ट्राफिक केन्द्रका रुपमा निर्धारण गरी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, ट्राफिक नियम पालना गर्दाका राम्रा पक्षलगायत विषयमा जानकारीमूलक अभियान सञ्चालन गरेमा अन्यले अनुशरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले सडक अनुशासन र नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्नुपर्ने आवश्कता औल्याउँदै ट्राफिकलाई आधुनिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुबेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठले जनधनको सुरक्षाका लागि ट्राफिक नियम सबैले पालना गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक प्रहरीलाई राडार गर्न तथा ट्राफिक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था एवं व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।
यसअघि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत विराटनगरको रोडशेष चोकबाट निस्केको आन्तरिक मामिला तथा कानुनमन्त्री, विभिन्न निकायका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थीसहितको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो ।
जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने
चितवन, ६ असार I उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु (जिबी) राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले आफू मलेसियाका गृहमन्त्रीसँग लगातार सम्पर्कमा रहेको बताउनुभयो । मलेसियामा राई रहेको ठाउँ पत्ता लागिसकेको उहाँको भनाइ थियो ।
फरक प्रसङ्गमा गृहन्त्री लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिँडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो– “हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौँ ।”
गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक फेर्ने कुरामा सत्यता नभएको उहाँको भनाइ थियो ।
उत्तर कोरियासँगको रक्षा सम्झौतामा हस्ताक्षरपछि पुटिन भियतनाममा
हनोई, ६ असार I उत्तर कोरियाली नेता किम जोङ उनसँग पारस्परिक रक्षा सम्झौतामा हस्ताक्षर गरेको एक दिनपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भियतनामी समकक्षीसँग बिहीबार हनोईको राजकीय भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको छ ।
नेता पुटिनलाई भियतनामका नवनियुक्त राष्ट्रपति तो लाम र हनोईस्थित राष्ट्रपति भवनमा एक सैन्य गार्डले स्वागत गर्नुभएको थियो । उहाँले लामसँग वार्ता गर्नुका साथै भियतनामको सत्तारुढ कम्युनिष्ट पार्टीका शक्तिशाली महासचिव गुयेन फु ट्रोङलगायत अन्य वरिष्ठ भियतनामी नेतासँग पनि भेटवार्ता गर्नुहुनेछ ।
यसअघि, नेता पुटिनले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो । पुटिन र किमले प्योङयाङमा भएको शिखर सम्मेलनमा आक्रमण भएमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धता पनि समावेश भएको एक रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका थिए । किमले युक्रेनविरुद्ध रूसको युद्धलाई आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ ।

वासिङ्टन र उसका सहयोगीहरूले उत्तर कोरियाले युक्रेनयुद्धका लागि रूसलाई गोलाबारुद र क्षेप्यास्त्र आपूर्ति गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी विदेश मन्त्रालयले रुस र उत्तर कोरियाबीचको सम्बन्ध प्रगाढ हुनु ’ठूलो चिन्ताको विषय’ भएको बताएको छ भने युक्रेनका एक उच्च अधिकारीले प्योङयाङले मस्कोलाई ‘युक्रेनी नागरिकको सामूहिक हत्या’ गर्न उक्साएको आरोप लगाएका छन् ।
बुधबार २४ वर्षमा उत्तर कोरियाको पहिलो भ्रमण गर्दै पुटिनले मस्कोजस्तै कडा अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको प्योङयाङसँग ‘सैन्य प्राविधिक सहयोग’लाई आफूले इन्कार नगरेको बताउनुभएको थियो । पुटिनले भन्नुभयो, “आज हामी संयुक्त राज्य अमेरिका र उसका सहयोगीको ‘आधिपत्यवाद र नव–औपनिवेशिक अभ्यास’ को विरुद्ध एकसाथ लडिरहेका छौं।
उत्तर कोरियाको स्थापना भएदेखि अर्थात् दोस्रो विश्वयुद्धपछि नै यी दुई देश सहयोगी रहँदै आएका छन् भने सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछि पुटिनविरूद्ध पश्चिमा मुलुकहरूले विश्व मञ्चमा आवाज वुलन्द पार्ने र आक्रमणविरूद्ध एक भएपछि यी दुई देश अझ नजिक भएका हुन् । नेता किमले पुटिनलाई ‘कोरियाली जनताको सबैभन्दा प्रिय मित्र’ को संज्ञा दिँदै युक्रेनमा जारी युद्धप्रति आफ्नो ‘पूर्ण समर्थन र ऐक्यबद्धता’ व्यक्त गर्नुभएको छ ।(रासस/एएफपी)
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
काठमाडौँ, ६ असार I आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् ।
जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।
वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।
इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।
कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बग्यो
पर्वत, ६ असार I उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ ।
पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो । दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिनुभयो । बाढीबाट रु डेढ करोड बराबरको क्षति भएको छ ।
यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् । पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । पच्चीस मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।
यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिनअगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यवसायीले क्षति व्यहोर्नुपरेको बताउनुभयो । उहाँका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिबारे बताउन सकिने उहाँले बताउनुभयो ।
इन्जिनियर गौतमले ठेकेदारलाई एक-दुई महिनाको जरिवाना गराएर भए पनि आगामी मङ्सिरभित्र पुल सम्पन्न गरिने बताउनुभयो । हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम पूरा भएको छ । करिडोरअन्तर्गत स्याङ्जाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्र भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सीधा यातायात सञ्चालन हुन नसकेको हो ।
कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुङ्गा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरे पनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । विसं ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।
विसं २०७५ पुसमा काम सुरु गरेका व्यवसायीले २०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मङ्सिरदेखि काम सुरु भएको थियो । यो पुलसँगै सुरु भएको मोदीखोलाको पुल दुई वर्षअघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाइ भएपछि यस क्षेत्रकमा सांसद, नगरप्रमुखलगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो
भक्तपुर, ६ असार I युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।
तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।
पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो ।
नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।
गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।
युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।
एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो । -रासस
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तरः सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहाल
काठमाडौँ, ६ असार I प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदका जिज्ञासाको जवाफ दिनुहुने भएको छ ।
प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीले दिनुहुने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।
आजको बैठकमा नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूचि छन् । विनियोजन विधेयकमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले बुधबारदेखि दिन थाल्नुभएको हो ।
प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको सदन स्थगन
विराटनगर, ५ असार I कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहिष्कार गरेपछि स्थगन भएको छ ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२५(४) बमोजिम आर्थिक वर्ष २०८१/८२ को आर्थिक विधेयक माथि सभामा छलफल हुने बैठकको कार्यसूची थियो ।
निर्धारित समयभन्दा ढिलोगरी सुरु भएको सभामा सभामुख अम्बरबहादुर विष्टले बोल्न लाग्दा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राप्रपाका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख विष्टले आफ्ना कुरा राख्न आग्रह गर्नुभएको थियो ।
नेपाली कांग्रेसका गोपाल तामाङ र राप्रपाका सविना बजगाइँले सरकारले सदनमा ल्याएको नीति तथा कार्यक्रमअनुसार बजेट नआएको जिकिर गर्नुभयो । उहाँहरुले रातो किताबमा उल्लेखित बजेट र योजना हेर्दा मन कुँडिएको, यसबाट निर्वाचन ताका जनतालाई गरेको कबोल पूरा नहुने धारणा राख्दै आजको सदन बहिष्कार गर्ने दलको निर्णय भएको सुनाउनुभएको थियो ।
सदनमा सत्तापक्षबाहेक अरु कुनै पनि दलका प्रतिनिधि नहुँदा सभामुख विष्टले आजै ३ बजेसम्मका लागि सदन स्थगित गर्नुभएको थियो । स्थगन भएको अवधिमा सत्तापक्ष र प्रतिपक्षबीच सदन चलाउने सहमति नभएपछि भोलि बिहान ११ बजे बस्नेगरी सूचना जारी गरी सदन स्थगन गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्तापक्षले प्रतिपक्षसँग चित नबुझेको विषयमा वार्तामा खुलस्त ढङ्गले कुराकानी भएको र केही विषयमा सहमति हुन बाँकी रहेकाले आजको सदन सञ्चालन हुन नसकेको प्रतिक्रिया दिनुभयो
विकासको गतिलाई तीव्रता दिनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ, ५ जेठ I पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीव्रता प्रदान गर्न राजनीतिक नेतृत्वलाई सुझाव दिनुभएको छ ।
राष्ट्रिय समाचार समितिद्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जनआकाङ्क्षाअनुरुप मुलुकको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि तीव्र गतिको बोध नेतृत्वले गर्नुपर्ने बताउनुभयो ।
“मान्छेका आकाङ्क्षा धेरै हुन्छन् । चाहनाअनुरुप केही भइरहेको छ । तर हाम्रो गति चाहिँ तीव्र हुनुपर्छ । किनकी हामी विश्वका अन्य विकसित देशभन्दा झण्डै डेढ सय वर्षपछि छौँ । त्यसलाई भेटाउन चाँडो दौडिनुपर्छ । राजनीतिले यसको नेतृत्व गर्ने भएकाले राजनीतिक नेतृत्वले यसको बोध गरोस् भन्ने सबैको चाहना हो”, उहाँले भन्नुभयो ।
डा भट्टराईले गणतन्त्रबाट प्राप्त उपलब्धिबारे चर्चा गर्नुभयो । आर्थिक परिवर्तनका लागि पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थामा केही हुँदै नभएको भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताउनुभयो ।
“हामीले राजनीतिक परिवर्तनपछि अब आर्थिक परिवर्तनको युग सुरु भयो भनेका छौँ । त्यसका लागि आधार भनेकै पूर्वाधार हो । केही भइरहेका छन्, केही भइसकेका छन्”, उहाँले भन्नुभयो, “नेपालमा केही भएको छैन, केही हुँदै भएन भन्ने गलत भाष्य चिर्न यो तस्बिर प्रदर्शनीले सकारात्मक योगदान गर्ने अपेक्षा छ ।”
डा भट्टराईसँगै पूर्वमन्त्री एवं नेत्री हिसिला यमीले पनि उक्त तस्बिर प्रदर्शनी अवलोकन गर्नुभयो । यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोेडेर उनीहरुको अपनत्व ग्रहण गराउनसक्नुपर्ने सुझाव दिनुभयो । पूर्वाधार निर्माण आर्थिक व्यवहारसँग जोड्न सक्नुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उहाँको भनाइ थियो ।
“विकास मात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लो तहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोडनुपर्छ । निर्यातसँग पनि जोडनुपर्छ । सबै प्याकेजमा हुनुपर्छ”, यमीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमन्त्री यमीलाई राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराउनुभएको थियो । गत जेठ १० गतेदेखि सुरु भएको प्रदर्शनी यही असार १० गतेसम्म सञ्चालन हुनेछ ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क
पाटन (ललितपुर), ५ असार I ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ ।
महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ ।
सोका लागि पेस्की-आयोजना फछ्र्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्रभित्र विगत आव २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्याैटका लागि निवेदन पेस हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्याैट गरिने नीति महानगरले तय गरेको छ ।
बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने विषयलाई नीति तथा कार्यक्रममा पनि समेटिएको छ ।
महानगरको नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारी साधनको आवागमन करिडोर (नख्खु, बागमती)बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ । ठैव, हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने विषयलाई पनि कार्यक्रममा समेटिएको छ ।
महानगर क्षेत्रभित्र रहेका शिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।