केन्द्रीय नेता स्वत: महाधिवेशन प्रतिनिधि हुने
काठमाडौँ, २ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरू महाधिवेशन प्रतिनिधि बन्न तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुन नपर्ने व्यवस्था गरेको छ तल्लो तहबाट प्रतिनिधि चुनिएर आउनुपर्ने व्यवस्थाले केही नेताहरू निर्वाचित हुन नसक्ने भएपछि केन्द्रीय कमिटीलाई महाधिवेशन प्रतिनिधि बन्न पाउने नियम बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
यसअघि केन्द्रीय परिषद् बैठकले महाधिवेशनमा लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्न तथा नेतालाई कार्यकर्ताप्रति थप जिम्मेवार बनाउन पार्टीको केन्द्रीय अध्यक्षदेखि सामान्य नेतासमेत कार्यकर्ताबाट अनुमोदित भएर महाधिवेशन प्रतिनिधि आउनुपर्ने व्यवस्था गरेको थियो ।
केन्द्रीय आयोगका सदस्यहरू पनि केन्द्रीय नेतासँगै प्रतिनिधिका रूपमा छनोट हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा कलस्टरबाट चुनिएर आउने व्यवस्था कायमै राखिएकाले त्यस क्षेत्रबाट आउने प्रतिनिधि तल्लो तहका कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने छ ।
बैठकले केन्द्रीय तहका नेताको व्यवस्थापनमा आएको समस्या समाधान गर्न उनीहरुलाई स्वतः प्रतिनिधि छनोट गर्न लागिएको विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो । एक सय २५ जना कार्यकर्ता बराबर एकजना प्रतिनिधि छनोट गरिने छभने दलित, युवा, महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । नयाँ नेतृत्व चयन गर्ने पार्टीको दशौँ महाधिवेशन यही असार १६ देखि २० गतेसम्म हुँदैछ ।
दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्छन् बागलुङका किसान
गलकोट (बागलुङ), २ असार I जिल्लाको जैमिनी नगरपालिका–१ को टुनिबोट क्षेत्रका किसान दूधमात्र होइन घाँस पनि बेचेर प्रशस्त आर्जन गर्न थालेका छन् । विसं २०५५ मा १६ लिटर दूध सङ्कलन गरी दूधको बजारीकरण थालेको बागलुङ नगरपालिका–१२ टाकुरीको कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले हाल दैनिक आठ सय लिटर दूध बिक्री गर्दै आएको छ ।
बसाइँसराइले उजाड बन्दै गएको टाकुरीगाउँ र जैमिनी नगरपालिका–१ को टुनिबोटलगायत क्षेत्रका एक सय २० किसानले सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका उनीहरू घाँस पनि बेच्न थालेका छन् ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले उक्त गाउँलाई घाँसको स्रोत केन्द्रका रूपमा विकास गरेको छ । सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएको सहकारीले अहिले बागलुङ बजार र पोखरामा दूध बेच्दै आएको छ ।
कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद लामिछानेले दूधको सङ्कलन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यले टाकुरीमा आफ्नै भवनमा सञ्चालित सहकारीका चारवटा सङ्कलन केन्द्र रहेका राससलाई बताउनुभयो । उहाँले सहकारीमा आबद्ध किसानलाई घाँसखेतीका निम्ति अभिप्रेरित गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एक सय २५ शेयर सदस्यमध्ये एक सय २० जनाले नियमित रूपमा दूध सङ्कलन गर्दै आएका छन्, घाँसमा आधारित पशुपालनका कारण यहाँका किसानले दूधको उत्पादन लागत घटाएर नाफा बढाएका छन् ।”
सहकारीमार्फत किसानले वार्षिक रूपमा दूधमा अनुदानमात्रै रु पाँच लाख बुझ्दै आएका छन् । चालु आवमा सहकारीमार्फत एक लाख ८२ हजार लिटर दूध बिक्री भइसकेको छ भने किसानले दूधमार्फत रु एक करोड १८ लाख ३० हजारभन्दा बढी र भित्र्याएका छन् । सहकारीले किसानको दूध सङ्कलन गरी थोरै मुनाफा राखेर बजारीकरण गर्दै आएको छ । सहकारीले प्रतिलिटर रु ६५ मा सङ्कलन गरेर रु ७५ मा बेच्दै आएको छ । बागलुङ बजारमा प्रतिलिटर दूधको मूल्य रु एक सय २० कायम भएको छ । ढुवानी र प्रशोधन खर्च जोडेर सहकारीले दूध बेच्ने गरेको छ ।
बाँदर आतङ्कबाट पीडित यहाँका किसानले अन्नबाली लगाउन छाडेर घाँस लगाउन थालेपछि घाँस पजि बेच्न थालेका टुनिबोटका किसान रुद्रनाथ शर्माले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा बहुवर्षे उन्नत जातको घाँस लगाएको बताउनुभयो । “सहकारीमार्फत दूधको बजारीकरण गर्दै आएका किसानले यस वर्ष ४० क्विन्टल घाँस बेचेका छन् । हाल भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले प्रतिरोपनी घाँसमा रु तीन हजरका दरले अनुदान दिँदै आएको छ भने दूधमा प्रतिलिटर दुई रुपैया ५० पैसा अनुदान दिँदै आएको छ”, दुग्ध किसान शर्माले भन्नुभयो ।
भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले अहिले दूधमा उत्पादनका आधारमा अनुदान र घाँसखेती गर्ने किसानलाई क्षेत्रफलका आधारमा अनुदान दिएकाले किसान उत्साहित भएका केन्द्र प्रमुख डा ऋषिराम सापकोटाले बताउनुभयो । दूधमा अनुदान पाउन संस्थागत अथवा व्यक्तिगत दैनिक दुई सय लिटरभन्दा बढी दूध उत्पादन हुनुपर्ने नियम बनाइएको उहाँले जानकारी दिनुभयो । टुनीबोट, तल्लो टुनिबोट, टाकुरी र कुश्मिसेरालगायत स्थानबाट किसानले दूध सहकारीमार्फत दूध बेच्दै आएका छन् ।
राष्ट्रपति पौडेल बर्लिनमा, भोलि औपचारिक भेटवार्ता
काठमाडौँ, २ असार I राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका क्रममा जेनेभाबाट बर्लिन पुग्नुभएको छ । उहाँ आफ्ना समकक्षी डा फ््र्याङ्क –वाल्टर स्टीनमेयरको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणमा जानुभएको हो ।
राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई शनिबार अपराह्न बर्लिन ब्रान्डेनवर्ग अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा उहाँकी धर्मपत्नी, जर्मनीका राष्ट्रपतिको सङ्घीय परराष्ट्रमामिला कार्यालयका वरिष्ठ अधिकारीले स्वागत गर्नुभएको बर्लिनस्थित नेपालको राजदूतावासले आज जनाएको छ ।
राष्ट्रपति पौडेलका साथ प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रपतिको कार्यालयका सचिव डिल्लीराम शर्मा तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु हुनुहुन्छ ।
राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपतिबीच भोलि सोमबार औपचारिक भेटवार्ताको कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ ।
विसं २०४३ पछि राष्ट्रप्रमुखको तहमा नेपालबाट भएको यो पहिलो भ्रमण हो । नेपाल र जर्मनीबीच २०१४ साल चैत २२ गते कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध आपसी समझदारी र सहयोगका आधारमा प्रगाढ बन्दै गएको छ । राष्ट्रपति पौडेल यही असार ५ गते स्वदेश फर्कन कार्यक्रम छ ।
दिक्तेलमा साकेला उँभौलीको मैझारो
खोटाङ I
सारङ्गी र्याइँ–र्याइँ रेटौँला !
अर्को साल फेरि भेटौँला !!
भेटौँला लै–लै भेटौँला...
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित माटीकारे खेलमैदान िहजो दिनभर ढोल, झ्याम्टाको तालमा यस्तै गीतले गुञ्जयमान बन्यो । ढोल–झ्याम्टका तालसँगै नाच्न कस्सिएका बालबालिकादेखि बूढापाकासम्म साकेला सिलीमा रमाइरहँदा मुहारमा बेग्लै हर्ष देखिन्थ्यो ।
किरात राई यायोक्खा र किरात सेवा समाज खोटाङले आज संयुक्त रूपमा आयोजना गरेको साकेला सिली प्रदर्शनीमा गैरकिरातले समेत लहर मिलाएर सिली नाचे । माझ किरात भनेर चिनिने खोटाङमा शनिबारबाट यो वर्षका लागि साकेला उँभौली चाड औपचारिक रूपमा मैझारो (समापन) गरिएको छ ।
किराती समुदायले वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली गरी वर्षमा दुईपटक साकेला सिली चाड मनाउँदै आएका छन् । यो बेला जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उभौली भन्ने गरिएको हो ।
उभौलीमा खेतीपाती राम्रो होस्, प्राकृतिक प्रकोप आइनपरोस्, सुब्बेफाब्बे होस् लगायतका कामना गर्दै प्रकृतिको पूजा गर्ने प्रचलन छ । तीनचुल्हा तथा भूमेथानहरूमा पूजाआजा गरेपछि सामूहिक रूपमा गोलो घेरामा छोरीचेली, बाउमाइती, युवायुवतीलगायत सहभागी भएर साकेला गीत गाउँदै सिली नाच्ने गरिन्छ ।
उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । यो बेला जलचर तथा थलचर जीवजन्तु उधौली लाग्ने भएकाले मङ्सिरे पूर्णिमाको दिनदेखि उधौली मनाउने गरिएको हो ।
साकेला उभौली–उधौली चाडलाई आफन्तसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रूपमा पनि मान्ने गरिएको छ । उभौलीका अवसरमा मझुवागढी, तुवाचुङ–जायजुम, छोङ्खालगायत किरातका महत्वपूर्ण थलो तथा विभिन्न भूमेथानमा एक महिनासम्म प्रकृतिको पूजा गरी साकेला सिली नाचिन्छ ।
साकेला सिली किरातीले मात्र नभइ सबै जातजाति तथा धर्म समुदायले समेत नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध संस्कृति बनेको किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगशन किरातले बताउनुभयो ।
मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिएको साकेला उभौली एक महिनापछि आज दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिएको छ । समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत सहभागी भएर सामूहिक रूपमा साकेला सिली नाचेका थिए ।
छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी किराती मौलिक वेशभुषामा ठाँटिएर हर्षोल्लासका साथ मनाइने यो चाडमा किरात समुदायमात्र नभइ गैरकिरात समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्छन् । चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरुन् भन्ने कामनासहित साकेला उभौली तथा उधौली मनाइन्छ ।
हातखुट्टाको चालले पङ्क्तिबद्ध भएर साकेला सिली नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रिया प्रदर्शन गरिन्छ । साकेला उभौली तथा उधौलीको अवसरमा किरात समुदायको घनाबस्ती रहेका हरेक गाउँ तथा टोलहरू ढोल, झ्याम्टा र साकेला गीतले गुञ्जयमान बन्ने गर्छन् ।
साकेला उभौली तथा उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किरात समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा साकेला नाच नाच्दै धुमधामका साथ मनाउने गरिएको छ । यसलाई किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् ।
यसैबीच उभौली चाड समापनका अवसरमा साकेला सिली प्रतियोगितासमेत आयोजना गरिएको थियो । विभिन्न जिल्लाका २३ समूहले प्रतिस्पर्धा गरेको प्रतियोगितामा किरात राई यायोख्खा प्रारम्भिक समिति भोजपुर देउराली पहिलो भएको छ । प्रतियोगितामा जनसांस्कृतिक युवा समूह रतन्छा दोस्रो, पारुहाङ सेवा समाज रतन्छा तेस्रो तथा कर्णकुमारी राई स्मृति प्रतिष्ठान सान्त्वना भएका छन् । विजयी समूहलाई क्रमशः नगद रु २० हजार, १५ हजार, १० हजार र रु पाँच हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
किसानलाई प्रोत्साहन गर्न लहानको आँप ‘ब्राण्डिङ‘
सिरहा I स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले लहानमा उत्पादित आँपको ‘ब्राण्डिङ’ गर्न थालिएको छ । आँपको राजधानी मानिएको लहानबाट आजदेखि औपचारिकरूपमा आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्राण्डिङ’ तथा बजारीकरण कार्यक्रम सुरु भएको हो ।
गत वर्ष ३० मेट्रिक टन आँप ब्राण्डिङ गरी काठमाडौँलगायत देशका विभिन्न सहरमा बिक्री वितरण गरेको लहान नगरपालिकाले यस वर्ष ५० मेट्रिक टन बिक्री गर्ने लक्ष्यसहित लहानको आँप ‘ब्राण्डिङ’ कार्यलाई निरन्तरता दिएको नगरपालिकाका कृषि शाखाका संयोजक एवं वडा नं १२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले बताउनुभयो ।
यहाँको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादिरहित शुद्ध आँप उपभोग गर्न पाउन् भनी नगरले निजी क्षेत्रसँग समन्वय गरी आँपको ब्राण्डिङ थालेको उहाँले जानकारी दिनुभयो ।
“गत वर्षभन्दा यस वर्ष व्यवस्थित रूपमा यहाँको उत्पादित आँपको ब्राण्डिङ गरी बजारीकरण गर्ने योजनाअनुसार आजदेखि काम सुरु गरेका छौँ । यहाँको सरस्वती कृषि फार्मसँग सम्झौता गरी आँपमा लोगो लगाएर काठमाडौँ पठाउने तायारी गरिएको छ”, संयोजक चौधरीले भन्नुभयो, “किसानले असार सुरु भएसँगै मालदह आँप बजारमा ल्याउन थाल्ने भएकाले सङ्कलन गरी पठाउन सम्पूर्ण तयारी गरिएको छ ।”
नगरपालिकाले आँपको जातीय शुद्धता र गुणस्तरीयतासहित काठमाडौँको शान्तिनगरमा ‘लहानको आँप’ बिक्री कक्ष सञ्चालन गर्ने भएको छ । राष्ट्रव्यापी अनलाइन माग तथा ‘होम डेलिभरी’का लागि ओयो पसललाई आधिकारिक ‘अनलाइन पार्टनर’ नियुक्त गरिएको कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यहाँ उत्पादित आँपको ब्राण्डिङ, प्याकेजिङ, डेलिभरी, ढुवानी, बिक्रीकक्ष तथा अन्य आवश्यक सामग्रीमा ५० प्रतिशत अनुदान दिई निरन्तर अनुगमन र मूल्याङ्कनसमेत गरिनेछ ।
स्थानीय आँपको ब्राण्डिङसँगै नगरपालिकाले राख्ने दरभाउमा यहाँका किसानले राम्रो मूल्य पाउने भएपछि आँप खरिद बिक्रीमा बिचौलिया वर्गले लाभ उठाउने परिपाटीको अन्त्य गरेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँका किसानलाई उत्साहित बनाउन नगरपालिकाले आँपको ब्राण्डिङ गरेको हो । यसले यहाँ उत्ािपदत आँपको पहिचान बनाउने छ । योसँगै उपभोक्ताले विषादीरहित नेपाली आँप बजारमा पाउनेछन् ।” नगरप्रमुख चौधरीले आँपलाई लामो समयसम्म भण्डारण गरिराख्न चिस्यान केन्द्र आवश्यक भएको भन्दै त्यसका लागि प्रदेश तथा सङ्घीय सरकारलाई सहयोगका लागि अनुरोधसमेत गर्नुभयो ।
लहानलाई आँपको पकेट क्षेत्रका रूपमा चिनिन्छ । मुख्यगरी यहाँको वडा नं १२, १३, १४, १५, २३, १५, १८, १९ र २४ मा किसानले बीघौबीघा आँपखेती गर्ने गरेका छन् ।
कोशी प्रदेश : ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक
विराटनगर, १ असार I कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।
कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो । सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु चार अर्ब ९८ करोड, राजस्व बाँडफाँटबाट रु १२ अर्ब ४० करोड आठ लाख, सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु आठ करोड ९४ लाख, समपूरक अनुदानबाट रु ६५ करोड ५० लाख तथा विशेष अनुदानबाट रु ७८ करोड एक लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३१ अर्ब ९२ करोड ३४ लाख खर्च व्यहोर्ने तथा बाँकी नगद मौज्दातबाट रु तीन अर्ब २५ करोड र वैदेशिक अनुदानबाट रु १० करोड ५९ लाख व्यहोर्ने आज सार्वजनिक गरिएको बजेटमा उल्लेख छ ।
विराटनगरका सडकलाई सुन्दर बनाउने अभियान
मोरङ, १ असार I विराटनगरलाई सुन्दर सहरका रुपमा विकास गर्ने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्य परियोजनाको आज शुभारम्भ गरिएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालाले विराटनगर–६ र ९ स्थित भट्टीचोकमा रहेका डिभाइडरको बीचमा आज फूलका बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभएको हो ।
महानगर प्रमुख कोइरालाले रोपिएका फूल एवं बिरुवा संरक्षणका लागि नगरवासीलाई आग्रह गर्दै आगामी दिनमा थप क्षेत्रमा अभियान सञ्चालन गरिने र यसलाई नगरको गहनाका रुपमा लिनुपर्ने बताउनुभयो ।
महानगरमा रहेका वित्तीय संस्थाको सहयोगमा वरगाछीदेखि रानीसम्म पाँच किलोमिटर क्षेत्रमा रु ५५ लाखको लागतमा आगामी एक वर्षभित्र ४६ वटा मिडियम (डिभाइडर) सडक सौन्दर्य अभियान सम्पन्न गरिने अभियान उपभोक्ता समितिका अध्यक्ष बेनीगोपाल मुण्दडाले जानकारी दिनुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र महानगरकी उपप्रमुख शिल्पा कार्कीले नगर क्षेत्रलाई सुन्दर बनाउन अभियानबाट मद्दत हुने बताउनुभयो । फूल र बिरुवाको सुरक्षाका लागि तारजाली लगाउन, फूल रोप्ने ठाउँमा खाल्डो खन्ने, मल हाल्नेलगायत कार्य सम्पन्न भएको छ ।
संस्कृतिलाई जोड्दै गुरुङ सम्पदा पदमार्ग
गण्डकी, १ असार I गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशले गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्र्दै गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)को प्रवर्द्धन र विकासमा जुटेको छ । जथाभावी बाटो खन्ने नाममा पदमार्ग मासिँदै गएका अवस्थामा सङ्घले गुरुङ जातिको उद्गमस्थल क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्र्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्द्धनका कार्यक्रम अघि बढाइएको हो । सङ्घले गुरुङहरूको प्राचीन बस्ती ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठूलो लेक–थुर्जु–दूध पोखरी–गुरुङ देउराली–डाँफे खर्क–तिमाङ हुँदै बेँसीसहरसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रुपमा विकास गर्न खोजेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनुुभयो ।
सङ्घले हालै नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मस्र्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा यही जेठ २१ गतेदेखि ३० गतेसम्म उक्त क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवद्र्धन कार्यक्रम सम्पन्न गरेको उहाँले जानकारी दिनुुभयो ।
मौलिक भाषा, धर्म र संस्कृतिले सम्पन्न गुुरुङ समुदायका आफ्नै मातृभाषा, मौलिक पोसाक र लिपि रहेका छन् । आफ्ना संस्कार र संस्कृतिलाई पुस्तौँदेखि संरक्षण गर्दै आएको यो समुदायका घाँटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रुपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रुपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको पाइन्छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास (होमस्टे) सञ्चालन गर्दै आएका छन् ।
गण्डकी प्रदेशको कास्कीस्थित घान्द्रुक, सिक्ल्ेस, ताङतिङ, यान्जाकोट, भाचोक, हेम्जाकोटाजस्ता गाउँहरूका साथै लमजुङका घले गाउँ, भुजुङ, पस गाउँलगायतका स्थानमा घरवास सञ्चालनमा आइसकेको छ । आफ्नो मौलिक संस्कार र संस्कृतिलाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ गुरुङ पर्यटन व्यवसायी सङ्घले गुरुङ हेरिटेज टुरिजम डेस्टिनेसन विकास गर्न लागेको सङ्घका संस्थापक अध्यक्ष गुरुङले बताउनुुभयो ।
“गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन र विकासलाई सङ्घले प्राथमिकता प्राप्त कर्यक्रमका रुपमा लिएको छ”, उहाँले भन्नुुभयो, “हामीले लक्षित गरेको पदमार्ग छोटोमा चार दिनदेखि १२ दिनसम्म लम्ब्याउन सकिने छ ।” उहाँका अनुसार यस सम्पदा पदमार्ग प्राचीन गुरुङ गाउँहरू ताङतिङ, सिङ्दी, याम्जाकोट, पसगाउँ, भुजुुङ, घलेगाउँ, सिउरुङ, जगत, तिमाङ आदि जुन सुकै ठाउँबाट सुुरु गर्न सकिन्छ । “गुरुङहरुको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रुपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको हो”, उहाँले भन्नुुभयो ।
गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रुपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुख्र्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । पदमार्ग क्षेत्रका अनुपम झरना, प्राकृतिक सौन्दर्यतालाई पदयात्रा पर्यटनसँग जोड्ने गरी आफूहरूले प्रयास थालेको
उहाँले बताउनुुभयो ।
पदमार्गका माथिल्लो भेगमा क्याम्पिङस्थलको विकाससँगै तल्लो भेगका गाउँका सामुदायिक घरवासलाई जोड्ने योजना रहेको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङ बताउनुुहुन्छ । यस पदमार्गले पास गाउँ, भाचोक, याङजाकोट, तान्तिङ, सिक्लेसलगायत स्थानका सामुदायिक घरवासलाई पनि जोड्ने उहाँले बताउनुुभयो । कास्कीको लमजुुङ हुँदै मनाङसम्म जोडिने यस पदमार्ग क्षेत्रमा परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको उहाँको भनाइ छ ।
यस अभियानअन्तर्गत सङ्घले पदमार्ग पहिचानसँगै मानव जीवनका संस्कृति र यहाँमो जीवनशैलीका सूचना सङ्कलन, ब्रोसर प्रकाशन गरिने जनाएको छ । प्रवद्र्धन एवं अन्वेषण भ्रमणका क्रममा पर्यटकीय नक्साको लागि जिपिएस डाटा सङ्कलन तथा फोटो तथा फुटेजहरू सङ्कलनका साथै ट्रेल भिडियो, ट्रेल मार्किङसमेत गरिएको जनाइएको छ ।
गुरुङ सम्पदा पदमार्ग गण्डकी प्रदेशका लागि मात्र नभई नेपालकै एक महत्वपूर्ण पदमार्गका रुपमा स्थापित बन्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नवीन पोखरेलले बताउनुुभयो । वैकल्पिक पदमार्गको खोजी भइरहेका अवस्थामा यस पदमार्ग छोटो दूरीको हाइकिङदेखि लामो दूरीको पदयात्राका लागि पनि महत्वपूर्ण बन्ने अपेक्षा गरिएको उहाँले बताउनुुभयो ।
यस पदमार्गको प्रवद्र्धन र विकास हुनसकेमा पदमार्ग क्षेत्रमा पर्ने विशेषतः लमजुङ र कास्की जिल्लाका मादी, मस्याङ्दी, क्होलासाँेथर, चामेलगायत गाउँपालिकाका स्थानीय बासिन्दासँगै पर्यटन व्यवसायी लाभान्वित बन्ने उहाँले बताउनुुभयो ।
बारबर्दिया नगरपालिकाका विद्यालयमा थारु भाषाका पाठ्यक्रम पनि पढाइने
गुलरिया (बर्दिया), १ असार I बर्दियाको बारबर्दिया नगरपालिकामा सञ्चालित विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि नगरपालिकाले पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।
थारु भाषामा तयार उक्त पाठ्यक्रम पहिलो चरणमा कक्षा १ देखि ३ सम्म अध्यापन हुने जनाइएको छ ।
पाठ्यक्रमले बालबालिकाका लागि मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने अपेक्षा गरिएको छ । थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायत उद्देश्यले अध्यापन गराउन लागिएको जनाइएको छ ।
यसअघि पनि नगरपालिकाका केही विद्यालय थारु भाषामा पठनपाठन सुरु गरेपछि निरन्तरता पाउन सकेको थिएन । यसअघिको पाठ्यक्रममा देखिएको कमजोरीलाई सुधार गरी नयाँ पाठ्यक्रम तयार पारिएको नगरप्रमुख छविलाल थारुले बताउनुभयो । उहाँले पहिलो चरणमा कक्षा १ देखि ३ सम्म र दोस्रो चरणमा कक्षा ८ सम्म पाठ्यक्रम अध्यापन गराउने तयारी छ ।
बारबर्दिया नगरपालिकामा ९५ प्रतिशत विद्यार्थी थारु भाषा बोल्न जान्ने भएकाले उनीहरुलाई पठनपाठन गराउन सजिलो हुने नगरपालिकाका उपप्रमुख रत्नकुमारी पाण्डेले बताउनुभयो ।
‘पार्टीको नीतिगत स्पष्टताका लागि काम सुरु गरौ’
काठमाडौँ, १ असार I राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले पार्टी नीतिगत रुपमा स्पष्ट भएर अघि बढनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
रास्वपाको दोस्रो स्थापना वर्षका अवसरमा आज यहाँ आयोजित चियापन समारोहमा उहाँले पार्टीको जलेश्वर घोषणाका विषयहरु नीतिगत रुपमा लिपिबद्ध गर्ने काम सुरु गर्न पार्टीलाई सुझाब दिनुभएको हो । गत मङ्सिर जलेश्वरमा पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले राजनीतिक प्रतिवेदन सार्वजनिक गरेको थियो । सोही अनुसार नीतिगत स्पष्टताका लागि नेता श्रेष्ठले जोड दिनुभएको हो ।
“जलेश्वर घोषणापत्रपछि पार्टीका नीतिगत रुपमा स्पष्ट हुनुपर्छ । पार्टी अब लहडका भरमा मात्र चलाएर हुँदैन”, उहाँले भन्नुभयो, “ पार्टीको विचार र नीति स्पष्ट रुपमा पार्टीकै जिम्मेवार सदस्यहरु र आमनागरिकलाई बुझाउनुपर्ने बेला भैसकेको छ ।”
पार्टी स्थापनाका अवसरमा शुभकामना आदानप्रदान गर्दै मन्त्री श्रेष्ठले शासकीय बेथितिको अन्त्य गर्न रास्वपा प्रयासरत रहेको समेत बताउनुभयो । सत्ता साझेदार दलहरुसँगै आफूहरुले पनि समीक्षा र पुनरावलोकन गर्नपर्ने उहाँको भनाइ थियो ।
“शासकीय बेथिति सामाजिक बेथितिभन्दा पनि डरलाग्दो हुने हामीले अनुभव गरिरहेका छौँ । हामीले सरकारको नेतृत्व गरिरहेका छौँ”, मन्त्री श्रेष्ठले भन्नुभयो, “हामी दुई धारे तरवारका बीचमा चलिरहेका छौ । वर्तमान राजनीतिक परिस्थतिमा सरकारलाई दिएको समर्थनमा समीक्षा आवश्यक छ ।”
त्यस अवसरमा उहाँले शुक्रबार अर्थ मन्त्रालयबाट खेलाडीहरुले पुरस्कारवापत प्राप्त गर्ने रकम निकास भएको जानकारी समेत दिनुभयो । मन्त्री श्रेष्ठले आइतबार मन्त्रालयमा आफनो एक सय दिनको प्रगति र समिक्षा गर्ने जानकारी समेत दिनुभयो ।