यातायात र सडक व्यवस्थापनका लागि टोली बनाएर खट्छौं ः कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवं शहरी विकासमन्त्री कुलमान घिसिङले यातायात र सडक व्यवस्थापनको काम द्रुत गतिमा अगाडि बढाउने बताएका छन् ।
मन्त्री घिसिङले आफैले बोलाएको आकस्मिक बैठकमा उनले अहिले वर्षातको समय भएको हुनाले यातायात र सडक व्यवस्थापनको विषयमा टोलीहरु बनाएर कामहरु गर्ने भन्दै द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने बताए ।
उनले भने, ‘यातायात व्यवस्थापनको विषय, सडकको अवस्था र वर्षातको समय भएको हुनाले यसलाई कसरी व्वस्थापन गर्ने र कसरी द्रुत गतिमा काम गर्ने भन्ने विषयमा छलफल हुँदैछ र यसका लागि टोलीहरु पनि बनाएर कामहरु गर्छौ । द्रुत पुनःस्थापनाको काममा पनि लाग्ने छौं । कतै बाटो बन्द भयो भने तुरुन्तै खोल्ने हिसाबले काम गर्नेछौ ।’
सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त रजौरेले राजमार्गको सुरक्षा सम्बन्धमा सम्पूर्ण प्रदेशहरुमा ट्राफिक कम्युनिकेशन एपदेखि चेकजाँचको सबै व्यवस्था मिलाएको बताए ।
साथै, नागरिक सहायता कक्ष काठमाडौंबाट नै १२ ठाँउमा राखिएको र १७२ वटा ठाँउमा लाने योजना रहेको भन्दै यसबाट आउने समस्याहरु तत्काल समाधान गर्न सकिने पनि उनको भनाई छ ।
श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ
काठमाडौं । वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा. मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।
कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पु¥याउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।
काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००७ यता कतारलाई कर्मथलो बनाएर उनी श्रमिक अधिकार संरक्षण, उद्धार र सहायतामा क्रियाशील छन् । नेपाली मात्र नभई दक्षिण एसियाली श्रमिक समुदायबीच पनि उनी विश्वसनीय नामका रूपमा परिचित छन् ।
उनका अरबी, नेपाली, उर्दू, हिन्दी भाषामा तीन दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । फारसी, मलेसियन, पस्तु, नेपाली, अंग्रेजी र हिन्दी भाषामा दक्ष मियाँ श्रम ऐन र श्रमिक अधिकार विषयक अनुसन्धानका कारण कतारमा सम्मानित व्यक्तित्व मानिन्छन् । उनलाई कतार सरकारले समेत दर्जनौँ पटक सम्मान गरिसकेको छ ।
उनी पछिल्लो पटक जेन जी अभियानमा सहभागी हुन कतारबाट काठमाडौ आएका थिए र आन्दोलनमा प्रत्यक्ष सहभागी भै सहयोग पनि गरेका थिए ।
२०७२ को भूकम्पताका उनले आधा घण्टाको टेलिभिजन अपिलमार्फत ३२ मिलियन कतारी रियाल संकलन गरी नेपाल पठाएका थिए । कोरोना महामारीताका पनि उनले कतार सरकारबाट नेपाललाई ठूलो परिमाणमा मेडिकल सामग्री सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा कतार च्यारिटी र कतार डेभलपमेन्ट फन्डमार्फत विभिन्न सहयोग ल्याउन उनको योगदान रहँदै आएको छ । कतारी अमिर लगायत विभिन्न उच्च व्यक्तित्वको नेपाल भ्रमण मिलाउन उनले बलियो कसरत गरेका समेत थिए ।
भारतका पूर्व राष्ट्रपति डा. एपीजे अब्दुल कलाम फाउन्डेसनले यस वर्षको अरबी साहित्य तथा समाजसेवा सम्मान प्रदान गर्ने पहिलो नेपाली व्यक्तित्वसमेत बनेका मियाँ हालै अन्तर्राष्ट्रिय मानवअधिकार संगठन बाट पनि उच्च सम्मान बाट सम्मानित भएका थिए । कतार फाउन्डेसन कतार सरकारका निकायहरु कतार फन्ड फर डेभलपमेन्ट लगायत कतारको विभिन्न निकाय संग मियाँको बलियो सम्बन्ध भएको हुनाले उनले आर्थिक कुटनिती गर्न सक्ने विश्वास समुदायले लिएको छ ।
कतार र खाडी मुलुकको राजदूतमा समेत बलियो दावेदार मानिँदै आएका मियाँ मुस्लिम समुदायका उदाउँदा तारा हुन । नेपालमा समेत उनी आफ्नो समुदायको शैक्षिक, सामाजिक तथा आर्थिक उत्थानमा सक्रिय रहँदै आएका छन्।
प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्रीका लागि मियाँको नाम जोडदार रूपमा सिफारिस हुन थालेपछि उनको बहुआयामिक व्यक्तित्व फेरि एकपटक चर्चामा आएको छ । वैदेशिक रोजगारीमा रहेका कामदारको हकहितमा धेरै काम गरेर अनुभव बटुलेका मिया श्रममन्त्री बनेमा उनले आमूल परिवर्तन ल्याउन सक्ने वैदेशिक रोजगार बिज्ञहरु बताउछन ।
हाल श्रममन्त्रीमा मियासङ्गै अन्य ३ जनाको सिफारिस परेको समाचार स्रोतले दावी गरेको छ । मुस्लिम समुदायबाट कोहि पनि बर्तमान मन्त्रीपरिसदमा नभएकोले मियाको संभावना बढेर गएको छ ।
अमेरिका–चीन सम्बन्ध विश्व शान्ति र समृद्धिका लागि महत्वपूर्ण : राष्ट्रपति सी
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले चीन र अमेरिका मिलेर अघि बढे दुवै देश मात्र होइन, विश्व नै लाभान्वित हुने बताएका छन् । उनले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक फाइदामा आधारित सहकार्यमार्फत साझा समृद्धि हासिल गर्न सकिने उल्लेख गरेका हुन् ।
शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ताका क्रममा राष्ट्रपति सीले द्विपक्षीय सम्बन्ध र साझा चासोका विषयमा खुला र गहिरो छलफल भएको जानकारी दिए । उनले विश्वयुद्धताका चीन र अमेरिका सहयात्री रहेको स्मरण गर्दै इतिहासलाई सम्झन, शान्तिलाई कदर गर्न र भविष्यतर्फ अघि बढ्न दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
वार्तामा राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धको रणनीतिक महत्व औंल्याउँदै, हालै सम्पन्न परामर्शहरूले समानता, आपसी सम्मान र साझा फाइदाको भावना प्रस्ट्याएको बताए । उनले एकतर्फी व्यापारिक प्रतिबन्धबाट टाढा रहन अमेरिकी पक्षलाई आग्रह गर्दै, टिकटक मुद्दामा चीनको स्पष्ट धारणा दोहोर्याए । सीले अमेरिकी बजारमा चिनियाँ लगानीकर्ताका लागि निष्पक्ष र गैर–भेदभावपूर्ण वातावरण उपलब्ध गराउन पनि आग्रह गरे ।
उता, राष्ट्रपति ट्रम्पले चीनले युद्ध विजयको ८०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सैनिक परेड “अद्भुत र सुन्दर” भएको भन्दै प्रशंसा गरे । उनले अमेरिका–चीन सम्बन्धलाई विश्वकै सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध भनेका छन् । ट्रम्पले आर्थिक–व्यापारिक सहकार्य प्रवर्धन गर्ने, टिकटक विवाद समाधानका लागि परामर्शलाई निरन्तरता दिने र विश्व शान्तिका लागि चीनसँग सहकार्य गर्न तयार रहेको पनि बताए । सीसीटीभी
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।
आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।
‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ । यो अभियान देश निर्माणको अभियान हो ।’
उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई एक्यवद्धता जनाउन आग्रह गरे ।
सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।
सरसफाई अभियान र पुर्ननिर्माण अभियानलाई हामीले देशैभरी जारी राख्नुपर्छ । यो अभियान देश बढाउने अभियान हो । यो अभियानमा देशमा र विदेशमा रहेका नेपालीहरुले एक्यवद्धता जाहेर गरेर अगाडि बढ्न पनि अनुरोध गर्दछु । करिब करिब डेढ दुई खर्ब बढीको संरचनाहरु ध्वस्त भएका छन् । यी ध्वस्त भएका संरचनाहरुलाई हामी नेपालीहरुले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीहरुले नै बनाउनुपर्ने काँधमा आएको छ ।’
यसअघि विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा सरकारी भवन, सवारी साधन तथा अन्य सार्वजनिक सम्पत्तिहरूमा क्षति पु¥याइएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल सुरु गरिसकेको छ ।
एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले जनताको गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिताको राष्ट्रिय एजेण्डालाई आत्मसाथ गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।
शुक्रबार संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताईन् ।
उनले भनिन, ‘सूचना प्रविधिमा भएको विकास, अन्तराष्ट्रिय स्तरमा देखिएको नागरिकमैत्रि शासन प्रणाली खुला सरकारको बारेमा जानकार रहेका युवा पुस्ताले उठाएको रोजगारीको अवसर गुणस्तरिय जीवनस्तर, सरकारका काम कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरु हामी सबै पुस्ताका साझा अपेक्षा र राष्ट्रिय एजेण्डा हुन् । यस्ता एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध छ ।’
यस्तै, उनले शासकिय आकांक्षा बोकेर, कुनै पदको लोभ लिएर प्रधानमन्त्री नभएको भन्दै देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न प्रधानमन्त्री बनेको बताईन् ।
उनले भनिन्, ‘शासकिय आकांक्षा बोकेर कुनै पदको लोभ लिएर प्रधानमन्त्री भएको होईन । देश संकटमा रहेको बेला युवा पुस्ताको अनुरोधको आधारमा संक्रमणको व्यवस्थापन गर्न नेपालको संविधान अनुसार ६ महिनाभित्र प्रतिनिधि सभाको निर्वाचन मार्फत जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने गरि म वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री भएको हो ।’
समयसँगै नागरिकका आवश्यकता र आकांक्षा परिवर्तन हुने हुदाँ जनताको अपेक्षा अनुसार राज्य क्रियाशिल हँुदै सुधारको बाटोमा हिन्नु पर्ने पनि उनको भनाई छ ।
उनले संविधानको मर्म र भावना अनुसार स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्य सुशासन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा खरो उत्रिन नसक्नुको परिणाम पनि वर्तमान अवस्था भएको भन्दै जनताको भावना संविधानका अक्षरभन्दा बढि बहुआयामिक हुने बताईन् ।
जीर्ण आयोजनाको ठेक्का तोडिने, संसद भवन पुसभित्रै सक्नुपर्ने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुलाई जीर्ण आयोजनाहरुको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् ।
तीनवटै मन्त्रालयहरुको कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र अवस्थामा राख्न नदिने बताए ।
‘चालू रहेका ठूला पूर्वाधारका आयोजनाहरु तोकिएका समय र गुणस्तरमा निर्माण सम्पन्न हुन नसक्दा एकातर्फ मुलुकले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ भने अर्कोतर्फ त्यस्ता आयोजनाबाट प्राप्त हुने लाभबाट नागरिक वञ्चित भइरहेको विडम्वनापूर्ण अवस्था छ’,अब कसैको अनुहार हेरेर हुँदैन, त्यस्ता आयोजनाको पहिचान र मूल्याङ्कन गरी तत्काल सूची पेश गर्नुहोस्,’ निर्देशन दिंदै मन्त्री घिसिङले भने, ‘निर्णय नगरी काम हुँदैन, त्यसैले निर्णय गरी काम गर्छौं,जीर्ण बनेका आयोजनाको ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियामा जानुपर्छ, आयोजनालाई अलपत्र पारेर राख्न पाइँदैन ।’
सिंचाइअन्तर्गत राष्ट्रिय गौरबको सुनकोशी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधार अन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
संसद भवन पुसभित्रै जसरी पनि सकौं
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन जसरी पनि आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताएका छन् ।
मन्त्री घिसिङले शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुस आगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिए I
‘जेनजी आन्दोलनका क्रममा बानेश्वरस्थित संसद भवनमा ठूलो क्षति पुर्याइएपछि अहिले संसद भवन नै छैन, त्यसैले संसद भवन निर्माण संवेदनशील आयोजना हो, यो या त्यो वाहानामा अब ढिला गर्नुहुँदैन, यसमा सबै पक्ष गम्भीर भएर पूर्ण रुपमा परिचालित भई समय अगावै सक्नुपर्छ ।’
संसद भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७६को असोजमा ठेक्का सम्झौता भएको थियो । पाँचौपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी पुसमा सकिँदैछ । आयोजनाको भौतिक प्रगति ८६ प्रतिशत रहेको छ ।
राष्ट्रिय र प्रतिनिधि सभा हलमा फल्स सिलिङका लागि थप ट्रस तथा दुवै भवनको पहिलो तलामा रहेको मल्टिपरपोज हलमा फल्स सिलिङ लागि थप ट्रसको निर्माण,इलेक्ट्रिकलअन्तर्गत मेन एलटी प्यानल, सब एलटी प्यानल, मेन, सम्पूर्ण स्यानेटरी, इलेक्ट्रिकल फायर फाइटिङ, एचभिएसी परीक्षण तथा सञ्चालनलगायतका काम बाँकी रहेका छन् ।
अनियमिता फेला परे तुरुन्तै कारबाही
ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्ना कार्यलयअन्तर्गतका निकायमा हुने अनियमिता रोक्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले अनियमिता फेला परेमा त्यसमा सङ्लग्नलाई तुरुन्तै कारबाही गर्ने चेतावनी दिए ।
‘विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेण्डानै भ्रष्टाचार नियन्त्रण थियो, भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छ त्यसै अनियमिता हुने छिद्रहरुको पहिचान गरी त्यसलाई बन्द गर्नुहोस्, एक रुपैयाँ पनि अनियमिता गरेको फेला परेमा सङ्लग्नलाई छाडिने छैन ।’ उनले सेवा प्रवाहमा सुधार गर्न पनि निर्देशन दिए ।
विराटनगरबाट एमाले नेताहरूको आवाज : नेतृत्वमा सुधार आवश्यक
विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् ।
एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झन्डोत्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेन–जीको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि भएको उल्लेख गरे । उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरे ।
कार्कीले भने, ‘पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ ।’ उनले एमाले सरकारमा रहँदा विकासका काम भएको स्मरण गर्दै प्राकृतिक सम्पदामाथि भइरहेको आक्रमण रोक्न सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महानगर कमिटी अध्यक्ष बलराम गिरिले युवापुस्ताको माग सम्बोधन गर्दै पार्टीलाई समयानुकूल अघि बढाउनुपर्नेमा जोड दिए । उनले सङ्गठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भेलामा सहभागीहरूले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति र गल्ती स्वीकार नगर्ने संस्कृतिप्रति चिन्ता व्यक्त गरे । कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेतलगायतले पनि मन्तव्य राखेका थिए ।
जेनजी आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’
काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ ।
जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार गर्न नजिक पुगेकी थिइन् आशिका । न त उनले त्यो दिन पत्रकारको ध्यान तान्न खोजिन्, न त सामाजिक सञ्जालको वाहवाहीको अपेक्षा गरिन् । तर, उनी त्यहाँ थिइन् खाना, पानी, मल्हमपट्टी, लुगा, औषधि, र माया बोकेर ।
जेनजी आन्दोलन अघि पनि सामाजिक सेवामा सक्रिय तामाङ अहिले यो आन्दोलनमा घाइते भएका र ज्यान गुमाएका परिवारहरुलाई आर्थिक सहयोग गर्दै घाउँमा मलमपट्टि लगाउनमा व्यवस्थ छिन् ।
आशिका तामाङ त्यो पात्र हुन जसले जेनजी आन्दोलनमा घाइते भएकाहरुलाई धेरै सहयोग गरिन् । उनले निस्वार्थ ढंगले सेवा गर्दै आज उनले सबैको मन जितेकी छन् । तेल, चामल र उपचार खर्चसमेत बाँडिरहेकी उनले अस्पतालमा घाइतेलाई फेर्न लुगा समेत किनेर लगिरहेकी छन् ।
भीडभाडले गञ्जागोल भएका अस्पतालहरूमा, जहाँ नर्स र चिकित्सक आफै थाकेका थिए, त्यहाँ आशिकाले एउटा अभिभावकको जस्तो भूमिका निभाइन् । कोही घाइते बेहोस अवस्थामा थिए, कसैको हातमा गोली लागेको थियो, कसैको छातिमा । तीमध्ये कतिपयको त आजसम्म घरपरिवारसँग सम्पर्क पनि हुन सकेको छैन् । उनी आफै ती अज्ञात बिरामीहरुका लागि आफन्त बनिन र घाइतेहरुका घरपरिवार सम्म सन्देश पु¥याउन पनि सहयोग गरिन् ।
उनको सेवा कुनै संस्थाले मागेको थिएन, कुनै राजनीतिक दलले उर्दी दिएको थिएन । त्यो न त प्रचारको रणनीति थियो, न नै लोकप्रियताको खेल । त्यो एउटा सशक्त आत्माको करुण पुकार थियो ‘मानवताको आवाज, जसले पीडामा साथ दिन्छ ।’
उनले नहेरेका कोही थिएनन्, वीर अस्पतालदेखि टिचिङ, सिभिल, र काठमाडौंका अन्य अस्पतालसम्म । रातदिन नभनी दौडिरहेकी थिइन्, जतिबेला देशभर जेनजी आन्दोलनको राप सल्किरहेको थियो यो एउटी महिलाको कथा हो, जसलाई कहिल्यै औपचारिक ’कर्मचारी’ वा ’पद’ दिइएन, तर जसले असली नेतृत्व देखाइन् । उनले समाजलाई देखाइन् कि, नेतृत्व सत्ता र भाषणले होइन, कर्मले हुन्छ ।
हिजो त्यही सामाजिक सञ्जालमा कतिपयले उनलाई गाली गरे, ‘यस्तो पनि समाज सेवा हुन्छ ?’भन्दै तुच्छ टिप्पणी गरे । आज ती सबै मौन छन् र उनीमाथि गर्व गरिरहेका छन् । उनी आज जनताको नजरमा ‘दोस्रो भगवान’ का रुपमा देखिएकी छिन् ।
उनको उदारताले कुनै सिमा मानेन । बझाङका सुभाष बोहरा— जसले आन्दोलनका क्रममा गोली लागेर आफ्नो ज्यान गुमाए, उनको परिवारलाई आशिकाले १ लाख रुपैयाँभन्दा बढी सहयोग गरिसकिन् । ज्यान गुमाएकाहरुको पशुपतिमा दाहसंस्कारको व्यवस्थादेखि लिएर अस्पतालमा घाइतेहरूसम्म पुग्न उनले कुनै कसर बाँकी राखिनन् ।
उनको सहयोग केवल आर्थिक मात्र होइन भावनात्मक सहारा पनि हो । यस्तो समयमा, जब परिवार नै अस्पतालमा पुग्न सक्दैन, आशिका उनीहरूको ‘दिदी’ बनिन्, ‘छोरी’ बनिन्, ‘आमा’ बनिन् । अझ प्रष्ट भाषमा भन्ने हो भने प्रहरीको बन्दुकको गोलि लागेर अस्पतालको शैयामा छट्पटाइरहका घाइतेहरुका लागि दुखाइ निको पार्ने सिटामोल बनेर आशिका उभिइन भन्दा फरक पर्दैन् ।
सामाजिक अभियन्ता आशिका तामाङ आज एउटा पात्र होइनन्, उनी एक प्रेरणा हुन् । एक यस्तो जीवन्त उदाहरण, जसले हामी सबैलाई सम्झाइन् मानवीयता भनेको कुनै संगठन वा नीतिमा सीमित हुँदैन, त्यो त दिलको कुरा हो । जब एक मनले अर्को पीडामा साथ दिन्छ, त्यहींबाट सुरु हुन्छ परिवर्तनको बीउ ।
आज हामीले उनीजस्तो पात्रको कथा लेख्नुपर्छ, सुनाउनुपर्छ, ताकि हाम्रो पुस्ता ‘नेतृत्व’ भनेको कुर्सी होइन, मानवीयता हो भन्ने पाठ सिकून् ।
आशिका तामाङ एउटा उदाहरण हुन् जतिबेला देश दुखाइमा छ, आन्दोलनमा छ, त्यतिबेला कसरी एक नारी, बिना तामझाम, बिना प्रचार, केवल मानवताको आवाजमा उठेर लाखौंको हृदय छुने सेवा गर्न सक्छे । यिनै आशिकाहरुका कारण समाजमा अझै आशा बाँकी छ ।
मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।
मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई रोजगारी दिलाउने र स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीले आजै सुरु गर्ने बताइएको छ ।
मोदीको जन्मदिन अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशव्यापी रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
यसैबीच, भारतको राजनीतिमा विपक्षी कांग्रेस नेता राहुल गान्धीको नयाँ खुलासा ‘हाइड्रोजन बम’ का रूपमा चर्चामा छ। चुनावमा धाँधली हुँदै आएको आरोपलाई प्रमाणसहित प्रस्तुत गर्ने तयारीमा रहेका गान्धी आजै देशबासीलाई सम्बोधन गर्नेछन् ।
गान्धीले यसअघि बैंगलोर दक्षिण लोकसभा सिटअन्तर्गत महादेवपुरा क्षेत्रमा १ लाखभन्दा बढी मत धाँधली भएको दाबी गर्दै त्यसलाई ‘परमाणु बम’ भनेका थिए । अब दोश्रो खुलासालाई उनले ‘हाइड्रोजन बम’ नाम दिएका छन्। राजनीतिक विश्लेषकहरूले गान्धीको नयाँ खुलासा कति प्रभावशाली हुन्छ भन्ने प्रश्नलाई उत्सुकतापूर्वक हेरेका छन् ।
भारतमा आज प्रधानमन्त्री मोदीको जन्मदिन र राहुल गान्धीको राजनीतिक बम दुवै कारणले असामान्य चहलपहल देखिएको छ ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंको टीकाको साइत सार्वजानिक गरेको छ । मंगलबार समितिले सूचना जारी गर्दै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ः५३ बजे रहेको जानकारी दिएको हो ।
त्यस दिन बिहान ९ः२३ बजे देवी विसर्जनको साइत छ भने टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने समितिले जनाइएको छ । समितिले आज जारी गरेको सूचना अनुसार यस वर्षको बडादशैं २०८२ सालको असोज ६ गतेदेखि सुरु हुदैँछ । त्यस दिन बिहान ९ बजेर १३ मिनेटमा घटस्थापनाको साइत रहेको छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुने समितिको सूचनामा उल्लेख गरिएको छ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ः१७ बजे र स्थिरासन बिहान ९ः२३ बजे तोकिएको छ । असोज १४ गते मङ्गलवार महाष्टमी, कालरात्रि रहेको छ भने असोज १५ गते बुधवार महानवमी परको छ ।