‘गुन्युचोलो’ अमेरिकाको तस्बिर फिल्म मार्केटमा छनोट
काठमाडौँ, १ कात्तिकः लैङ्गिक अल्पसङ्ख्यक पारालैङ्गिक पात्रको कथामा बनेको नेपाली फिल्म ‘गुन्युचोलो’ अमेरिकाको प्रतिष्ठित तस्बिर फिल्म मार्केटमा छनोट भएको छ ।
समुद्र भट्टले निर्देशन गरेको फिल्म अक्टोबर १७ देखि २० सम्म अमेरिकाको सियाटलमा आयोजना हुने तस्बिर फिल्म मार्केटका लागि छनोट भएको हो । जहाँ अमेजन एमजीएम स्टुडियो, पिलर्स फण्ड, ब्लमहाउस एचबीओ, सीएए, क्रिएटिभ ल्याण्ड स्टुडियोजस्ता प्रतिष्ठित फिल्म संस्था पनि सहभागी हुनेछन् ।
तस्बिर फिल्म फेस्टिभलका संस्थापक र निर्देशक रीता मेहरले यस फेस्टिभललाई अस्कर योग्य दक्षिण एसियाली फिल्म फेस्टिभलको रूपमा विकास गरिने बताउनुभयो ।
फिल्म ‘गुन्युचोलो’मा नाजिर हुसेनको मुख्य भूमिका छ । फिल्ममा उहाँले पारालैङ्गिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गर्नुभएको छ । फिल्ममा नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्ण ‘ट्रान्सस्टोरी’मा निर्मित यस फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।
माटोका भाँडा बेचेर मासिक ८० हजारसम्म आम्दानी
धरान (सुनसरी), १ कात्तिकः इटहरी उपमहमनगरपालिका–६ का सुरज पण्डितले माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
गाउँघरदेखि सहरबजारतिर माटोको भाँडाकुँडा प्रयोगमा कम आए पनि आफूले पुख्र्यौली पेसा छोड्न नसकेको र यसबाट निराश हुने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी सबै परिवार माटोको भाँडा बनाउँछौँ, हाम्रा बाजेहरूले पहिलेदेखि बनाउँदै यही काम गर्दै आउनुभएको हो । पुख्र्यौली पेसा हो अहिले पनि यही भाडाँकुडा बनाएरै घरखर्च पुगेको छ, आम्दानीको स्रोत नै यही हो ।”
उहाँको इनरुवामा माटोको भाँडा बनाउने आरन छ, त्यहाँ बनाका भाडाँकुडा इटहरी लिएर बच्ने गरिएको छ । धेरै व्यापारीले आरनमै आएर खरिद गरी लिने गरेको पनि उहाँले सुनाउनुभयो । यसरी बनाउने भाँडाका लागि आवश्यक माटो भने विराटनगरको बर्जुताल क्षेत्रबाट ल्याउने गरेको पण्डितले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जस्तो पायो त्यस्तो माटोले भाडाँ बन्दैन, नजिकै राम्रो माटो पाउन गाह्रो छ । एक ट्रयाक्टर माटोको रु १२ हजारदेखि १८ हजारसम्ममा ल्याउने गरेका छौँ, एक गाडी माटोले रु १ लाख ५० हजार मूल्य बराबर माटोका सामान बनाउन सकिन्छ । घरमा सबै खर्च कटाएर पनि रु ८० हजारभन्दा बढी मासिक आम्दानी हुने गरेको छ ।”
पण्डितले माटोको सामान उत्पादन गर्न सकेमा बिक्रीका लागि बजारको समस्या खासै नरहेको बताउनुभयो । “धेरैजसो व्यापारीले कारखानामै आएर सामान लिन्छन्, पसलबाट पनि उति नै बिक्री हुन्छ । धेरैजसो मागका सामान बनाउने भएकाले इटहरी बाहिरका ग्राहकले पनि माग गर्छन्”, उहाँले भन्नुभयो, “पूर्वको झापा, मोरङ, पाँचथर, इलाम, खादबारी, फिदिम, धनकुटादेखि भोजपुरसम्म मागअनुसार गाडीमार्फत उठाउने गरेका छौँ ।”
पण्डितका अनुसार बजार र ग्राहकको मागअनुसारका सामग्री बनाउन सके भाँडा व्यवसायबाट राम्रो कमाइ हुन्छ । आफूले रक्सी बनाउने पैनि, गमला, गाग्रो, पाला, कलश, दियो, फूलदानी, दही जमाउने भाँडा, फिल्टर, खुतु्रके, गिलासलगायत सामान बनाउने गरेकाले सामान बिक्री हुँदैन कि भनेर कहिल्यै चिन्ता गर्नु नपरेको उहाँको भनाइ छ । “एक÷दुईवटा सामान बोकेर गाउँ डुल्नुपर्ने अवस्था छैन, घर खर्चका लागि कमाउन त्यति धेरै गाह्रो हुन्न”, पण्डितले भन्नुभयो ।
हाल एउटा पैनि रु छ सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको छभने गमला रु ३० रुपैयाँदेखि रु आठ सयसम्म बिक्री हुने गरेको छ । साना–साना सामान दर्जनका हिसाबले बिक्री हुन्छ । जसमा रु २० रुपैयाँदेखि लिएर रु एक हजारसम्ममा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “अन्यत्र मजदुरी गरेर दुःखले कमाउनुभन्दा पुख्र्यौली पेसाबाटै कमाइ राम्रो छ । तीन दशकदेखि भाँडा बनाउँदै आएका छौँ”, पण्डितले भन्नुभयो ।
इटहरी उपमहानगरपालिका–६ का व्यापारी युवराज काफ्ले पछिल्लो समय माटोका भाँडा थोरै स्थानमा मात्रे बनाउने गरिएकाले यसको संरक्षण र प्रवर्द्धनका लागि सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि माटोको भाँडाकुँडा व्यापार सुरु गरेको र सिजनअनुसार आम्दानी राम्रै हुने बताउनुभयो । “माटोका भाँडा भनेको जन्मदेखि मृत्युसम्म नै आवश्यक पर्छ । सिजनअनुसार सबै माटोको सामग्री बिक्री हुन्छ, अहिले दियो, कलश धेरै बिक्री हुने गरेको छ”, काफ्लेले भन्नुभयो,“ इनरुवा, विराटनगर, भारतलगायत ठाउँबाट सामान खरिद गरी बिक्री गर्ने गरेको छु । मासिक रु ३० हजारसम्म भाँडा बिक्रीबाट आम्दानी हुन्छ ।”
मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के जाँच
काठमाडौँ, ३० असोजः खानेपानीमन्त्री प्रदीप यादवले आज मन्त्रालय एवं खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के जाँच गर्नु भएको छ ।

दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन बित्दासमेत कार्यालयमा कर्मचारी उपस्थित नभएको गुनासो आउन थालेपछि मन्त्री यादवले आज मन्त्रालय एवं विभागका सम्पूर्ण शाखाहरुमा छड्के जाँच गर्नुभएको हो ।
उक्त जाँचका क्रममा खानेपानी मन्त्रालयमा ११ र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा दुईगरी १३ जनाबिना जानकारी अनुपस्थित भएको पाइएको मन्त्रालयका सहसचिव रामबाबु पुरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रीले आज आकस्मिक छड्के जाँच गर्नुभएको थियो, सो क्रममा मन्त्रालय र विभागमा १३ जना अनुपस्थित भएको देखिएको छ । अनुपस्थित हुनुका कारण बुझनुपर्ने हुन्छ ।”
उक्त छड्के जाँचका क्रममा मन्त्री यादवले काम गर्दा वा अन्य कुनै समयमा समस्या भएमा तत्काल आफूलाई जानकारी गराउन कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो ।
पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँः एमाले
काठमाडौँ, ३० असोज : पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ ।
एमालले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्र्सनायोग्य छ ।”
पार्टीले एक व्यवसायी एवं लोकतन्त्रवादी व्यक्तित्व पार्टीका समर्थक, शुभचिन्तक मीनबहादुर गुरुङ र उहाँकी धर्मपत्नी सावित्री गुरुङबाट कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा निःशुल्क प्रदान गरी पार्टी केन्द्रीय कार्यालय भवन निर्माण गर्न सहयोग गर्नुभएको जनाएको छ ।
विसं २०८१ असोज २४ गतेको सचिवालयको ३८औँ बैठकले संस्थागत रुपमा स्वीकार गरी उहाँलाई सहयोगका निम्ति धन्यवाद दिई यही असोज २५ गते औपचारिक रुपमा पार्टी अध्यक्ष एवं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको शिलान्याससमेत गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
जग्गादाता गुरुङ विद्यार्थीकालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैङ्क लिमिटेडमा कार्यरत रहँदा बैङ्किङ क्षेत्रमा पार्टीसम्बद्ध कर्मचारीको केन्द्रीय कार्यसमिति सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामीप्यतामा रहेको तथ्य जगजाहेर भएको एमालेले जनाएको छ ।
“अन्तरमनबाट पारदर्शी र खुल्ला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौँ, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन”, विज्ञप्तिमा भनिएको छ, “उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैँले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन ।”
लोकतान्त्रिक मुलुकहरूमा पनि आमरुपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा रहेकाले तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि ग्राह्य हुने जनाएको छ ।
“विगत नौ वर्षदेखि अस्तव्यस्त केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा रहेका थियौँ”, विज्ञप्तिमा भनिएको छ, “यसै सिलसिलामा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक (८–९ वैशाख २०८१, गोदावरी ललितपुर) बाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिङ्गो बैठकबाट आह्वान गरेका थियौँ ।”
त्यसयता सम्पन्न केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको व्यहोरा सार्वजनिक भएको एमालले जनाएको छ ।
विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ ।
बेपत्ता भएका आफन्तको पीडा : फोनको घण्टि बज्नासाथ झस्कन्छु
गण्डकी, ३० असोजः रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता भएपछि यतिखेर उहाँको सिङ्गो परिवार समस्यामा परेको छ ।
घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुख्र्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ । जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमान्कै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झस्याङ्ग बनाउँछ । आफू उच्चरक्तचाप र मधुमेहको तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ ।
निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि गत असोज ३० गते घरबाट बिदा भएर निस्कनुभयो, काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुग्नुभएछ, मङ्सिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन इन्दिराले बताउनुभयो । “रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्राो क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो”, उहाँले भन्नुभयो ।
“रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क छैन”, इन्दिरा थापा भन्नुहुन्छ, “मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन अहिले नियमित औषधि खुवाउन समेत मुस्किल परेको छ । विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ म सँग उत्तर छैन ।”
सात वर्षीय छोरोको उपचारसहित परिवारको खुसीका लागि ज्यानको जोखिम मोलेर रसियाका तर्फ बाट युक्रेनको युद्धरत क्षेत्रमा पुग्नुभयो अहिले सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा रु आठ लाख ऋण लागेको उहाँको भनाइ छ । सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि रसिया गएका थिए ।
सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ । छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ । दसँैको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको बताउँदै उहाँले भन्नुभयो, “बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ ।”
रसियन राजदूतावासबाट डिएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौँ जानुभएको थियो । पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आउनुभएको उहाँले गहभरि आँसु बनाउँदै भन्नुभयो, “भाइ आउने आश अझै मरेको छैन ।” मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेसिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उहाँको भनाइ छ ।
बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग
रसियामा अभिभावक बेपत्ता भएपछि बिचल्लीमा परेको परिवारका लागि पोखरा–१७ आँखा अस्पतालमा सञ्चालित पुनः डिपोले आर्थिक सहयोग गरेको छ । विभिन्न समाचारमा प्रकाशित समाचारका आधारमा डिपोका तर्फबाट रु पाँच हजार पाँच सय सहयोग गरिएको हो ।
पोखरा–१६ बाटुलेचौरस्थित निवासमा पुगेर डिपोका प्रमुख हिमलाल पुनले इन्दिरा थापामगरलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । निर्माण सामग्री बिक्रीबाट भएको आम्दानीले पीडित परिवारलाई सहयोग गर्ने अवसर प्राप्त गरेकामा आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री
सियोल, ३० असोज : साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कङले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा बिक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ।
लघु कथाकार र उपन्यासकार हानकोे म्यान बुकर पुरस्कार विजेता ‘द भेजिटेरियन’ का लागि उहाँ विदेशमा परिचित हुनुहुन्छ । उहाँको ‘द भेजिटेरियन’ अङ्ग्रेजीमा अनुवाद गरिएको पहिलो उपन्यास हो।
नोबेल पुरस्कार जित्ने पहिलो एसियाली महिला लेखिका समेत बनेकी ५३ वर्षीया लेखिकालाई ‘ऐतिहासिक आघातको सामना गर्ने र मानव जीवनको नाजुकता उजागर गर्ने गहन काव्यात्मक गद्यका लागि’ छनोट गरिएको स्वीडिश एकेडेमीले गत साता जनाएको थियो ।
हानले नोबेल पुरस्कार जितेको घोषणापछि दक्षिण कोरियामा उहाँका कृति र उहाँको लेखन शैलीबारे सनसनी मच्चिएको छ ।
नोबेल पुरस्कार घोषणापछि प्रमुख पुस्तक पसल र प्रकाशन गृहहरूको वेबसाइटहरूमा उहाँका कृतिहरूको माग ह्वात्तै बढेको थियो । दशौं हजार मानिसहरूले उहाँका कृतिको माग गर्न थालेपछि बजारमा उहाँका कृतिहरूको अभाव देखिएको छ ।

गत बिहीबारको नोबेल घोषणापछि बुधबार बिहानसम्म ई–बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति बिक्री भइसकेको तीन प्रमुख पुस्तक पसल तथा अनलाइन खुद्रा बिक्रेता क्योबो, अलादिन र येस २४ ले बताएका छन् ।
क्योबोका प्रवक्ता किम ह्युन जुङले भन्नुभयो, “हानका पुस्तकहरू अत्यधिक बिक्री भइरहेको अनुभव भएको छ । यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएनौं।”
अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अब्टुबर १५ सम्मको तुलनामा उहाँका पुस्तकको बिक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको बिक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ ।
उहाँलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र बिक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ ।
हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ’इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रुसोको ‘एटलस डे बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको बिक्री पनि बढेको अलादिनले बताएको छ ।
क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्याङ्क नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी बिक्री भएको जनाएको छ।
क्योबोका कर्मचारीले भने, “हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लाग्छ।
दक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन् ।
हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगिएका छन् । ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, “साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काङलाई बधाई छ, योन्सेई विश्वविद्यालय उहाँलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गोरवान्यित बनेको छ ।”
उहाँको गृहनगर ग्वाङ्जुमा सन् १९८० मा एउटा नरसंहार भएको थियो जसले हानको प्रशंसित उपन्यास ’ह्युमन एक्ट्स’लेख्न उहाँलाई प्रेरित गरेको थियो ।
हानका पुस्तकहरूको माग पूरा गर्न केही छापाखानाहरूले सप्ताहन्तमा पूर्ण क्षमतामा सञ्चालन गरिरहेको स्थानीय रिपोर्टहरूले जनाएका छन्।
“सन् २००६ मा कम्पनीमा आबद्ध भएदेखि म यति धेरै व्यस्त कहिल्यै भएको थिइनँ”, अलादिनका एक कर्मचारीले भन्नुभयो, “यो सबै धेरै खुशीको कुरा भएको छ।”
अध्यक्ष दाहाल र थाई सिनेट अध्यक्ष सुरसज्जाबीच भेटवार्ता
काठमाडौँ, ३० असोजः अन्तर–व्यवस्थापिका सङ्घको महासभामा सहभागी हुने सिलसिलामा जेनेभा रहनुभएका राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध, आपसी हित र साझा चासोका साथै भविष्यमा हनसक्ने सहकार्यबारे छलफल भएको जेनेभास्थित संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालको स्थायी नियकोगले जनाएको छ ।
अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिकसम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्धसेतुका रूपमा काम गरेको बताउनुभयो । थाई पर्यटकका लागि भगवान् बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका बनेको बताउनुभयो ।
दुवै देशका नागरिक बर्सेनि पर्यटकका रूपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटनलगायत माध्यमबाट नेपाल–थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ बनेको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । आफूहरुले नेपाल–थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको बताउँदै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
साझा सरोकार र आपसी हितका विषयमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका उहाँले बताउनुभयो ।
अध्यक्ष सुरसज्जाले बहुसङ्ख्यक थाई जनताले बौद्ध धर्म मान्ने भएकाले बुद्ध जन्मभूमि नेपाललाई उनीहरूले आफ्नो जीवनकालमा एकपटक भ्रमण गर्नुपर्ने स्थलका रूपमा राखेका भएको बताउनुभयो ।
नेपालको पर्यटन क्षेत्रमा थाइल्याण्डबाट भएको लगानीले रोजगारीका अवसर सृजनामा योगदान पुगको विश्वास उहाँले व्यक्त गर्नुभयो । थाई पर्यटकका लागि लुम्बिनी महत्वपूर्ण पर्यटकीयस्थल भएकाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन भएमा उनीहरुलाई अझ सहज अध्यक्ष सुरसज्जाले बताउनुभयो ।
भेटवार्तामा संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनहरूका लागि नेपालका स्थायी प्रनिनिधि रामप्रसाद सुवेदीका साथै प्रतिनिधिमण्डलका अन्य सदस्य पनि सहभागी हुनुहुन्थ्यो ।
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
भोजपुर, ३० असोजः स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कात्तिक ३ देखि १७ गतेसम्म बृहत् हतुवागढी महोत्सव हुने भएको छ ।
हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले रु तीस लाख बजेट विनियोजन गरिएको हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिनुभयो ।
महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा रहेको जिल्लाको सबैभन्दा होचोस्थल माइबेँनीबाट एक हजार आठ सय ६५ मिटर उचाइ रहेको सङखाम जोरआहाल हुँदै घोडेटार बजारसम्म २६ किलोमिटर दौड प्रतियोगिता हुनेछ ।
कृषिका साथै मारुनी, स्यामुना सिली, लाखे, हुर्रा, डम्फु नाच र वाद्यवादन यन्त्रको प्रदर्शनी हुने जानकारी अध्यक्ष राईले दिनुभयो ।
सहयोग नपाएको सुनसरीका बाढीपीडितको गुनासो
इनरुवा(सुनसरी), ३० असोजः हालैको अविरल वर्षाका कारण भोक्राहा नरसिंह गाउँपालिका–३ की ५० वर्षीया परमिला खत्वेको घरमा पाँच फिटसम्म पानी जमेको थियो । वर्षासँगै बाढी घरमा पसेपछि अन्नपात भेलमा बग्योभने ओढ्नेओछ्याउने पनि लगातारको झरीले हप्तौँसम्म अख्रन पाएनन् । विपद्का बेला कसैले सहयोग नगरेको र तीन दिनसम्म भोकै बस्नुपरेको पीडा गहभरि आँसु पारेर उहाँले सुनाउनुभयो । 
सोही स्थानकी कुमारी खत्वेको अवस्था पनि उस्तै रह्यो । सहायता सामग्री वितरणमा पालिकाले विभेद गरेकामा उहाँ क्रुद्ध हुनुहुन्छ । स्थानीय सरकारबाट सहयोग नपाउने परमिला र कुमारी खत्वे भोक्राहा नरसिंह गाउँपालिकाका प्रतिनिधि पात्र हुनुहुन्छ । नरसिंह गाउँपालिकाका अधिकांश बाढीपीडितले राज्यबाट सहायता नपाएको गुनासो गरेका छन् ।
राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले बाढीपीडितलाई प्रतिपरिवार रु १५ हजारका दरले वितरण गरेको भए पनि वास्तविक पीडितले उक्त रकम नपाएको भोक्राहा नरसिंह गाउँपालिका ७ का धीरेन्द्र कामैतले बताउनुभयो । नदिएको भोक्राहा नरसिंह गाउँपालिका– ७ का धीरेन्द्र कामैतले बताउनुभयो ।
बाढीबाट पीडित नभएकालाई सहयोग गरेको भोक्राहा नरसिंह गाउँपालिका–७ का अर्का पीडित चमरु मण्डलले गुनासो गर्नुभयो । पहुँचका आधारमा सहायता रकम वितरण गरिएको उहाँको दाबी छ ।
यसैबीच, बाढीपीडितले राज्यका कुनै निकायबाट सहयोग नपाएपछि भोक्राहा नरसिंह गाउँपालिका–३ नम्बर वडा कार्यालयमा सोमबार विरोधप्रदर्शन गरेका थिए । साथै उनीहरूले वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीय ताराचन मण्डलले बताउनुभयो ।
वडाध्यक्ष धीरेन्द्रकुमार यादवले आन्दोलनमा उत्रेकालाई लाभग्राहीको नाम शुक्रबारसम्ममा उपलब्ध गराउने र वार्ताको माध्यमबाट समस्या समाधान गर्ने बताउनुभयो ।
बाढीबाट भोक्राहा नरसिंह गाउँपालिकामा एक हजार दुई सय ९३ घर प्रभावित भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
देशभर १९ हजार जना डेङ्गुबाट सङ्क्रमित
काठमाडौँ, ३० असोज : देशभर डेङ्गु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेङ्गु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेङ्गु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् ।
डेङ्गु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेङ्गु सङ्क्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेङ्गु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् । यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ,“पोस्ट मनसुन सुरु हुँदा डेङ्गुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेङ्गुका बिरामी बढिरहेका छन् । समुदायमा डेङ्गु सङ्क्रमण फैलिएको देखिन्छ ।”
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेङ्गु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्नुहुन्छ, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”

















































































