वर्षाको सम्भावना
काठमाडौँ, २८ असोजः पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । अहिले कोशी प्रदेश, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागको अनुमान छ । तीनवटै प्रदेशको पहाडी भू-भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २९ गते मङ्गलबार पनि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहनुका साथै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि सोही किसिमको मौसमी प्रणाली कायम रहने महाशाखाले पूर्वानुमान गरेको छ ।
नेपाली युवाको सक्रियतामा खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ‘ओलम्पियाड’
काठमाडौँ, २७ असोज : धेरै नेपालीले धूमधामसाथ दसैँ मनाइरहेका बेला नेपाली युवाको एउटा समूहले भने एसियामै पहिलोपटक खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय ओलम्पियाड प्रतियोगिता सम्पन्न गरेको छ ।
नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) को आयोजनामा सम्पन्न खगोल र खगोल भौतिक विज्ञानसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाडमा १९ देशका २१ समूहको सहभागिता थियो । युरोपमा हुने गरेको यो ओलम्पियाड एसियामा पहिलोपटक नेपालले गर्ने अवसर पाएको हो । ओलम्पियाडका लागि बागमती प्रदेश, सामाजिक विकास मन्त्रालयले सहयोग गरेको आयोजक समिति नासोका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो ।
सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पनि आयोजकका रुपमा राखिएको थियो । तर, ती निकायबाट सहयोग नपाएको आयोजक नासोको गुनासो छ । मन्त्रालयका कुनै पनि अधिकारी ओलम्पियाड प्रतियोगितामा उपस्थितसमेत नभएको नासोका अध्यक्ष भट्टराईले बताउनुभयो ।
असोज १७ गते नवरात्र सुरु भएपछि धेरै शैक्षिक संस्था बिदा भयो । विद्यार्थी घर, घरमा दसैँको रमाइलोमा रमाउन थाले । तर केही विद्यार्थी भने ‘एष्ट्रोनोमी’ र ‘एष्ट्रोफिजिक्स’सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय ओलम्पियाड सफल बनाउन दिनरात जुटे । असोज १७ देखि सुरु भएको ओलम्पियाड असोज २४ गते सम्पन्न भयो ।
ओलम्पियाडमा नेपाल, भारत, बङ्गलादेश, बुल्गेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रीस, इटाली, लिथोनिया, मलेसिया, रोमानिया, श्रीलङ्का, स्वीडेन, थाइल्याण्ड, युक्रेन र युनाइटेड अरब इमिरेट्सका विद्यालय तहका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने समूहलाई पदक र प्रमाणपत्रसहित पुरस्कृत गरियो ।
खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर विधामा सहभागी विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिइएको थियो । परीक्षाको नतिजाका आधारमा आठ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीलाई वितरण गरिएको थियो । दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् । यसैगरी बुल्गेरिया र थाइल्याण्डले क्रमशः एक/एक स्वर्ण पदक प्राप्त गरे । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेओरी’ अन्तर्गत स्वर्ण प्राप्त गर्नुभयो ।
प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण पदक प्राप्त गर्नुभयो । चेक रिपब्लिकका अलेक्स फेयवले नै ‘बेस्ट इन ओवरल’ पदक पनि प्राप्त गर्नुभयो । ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संस्कृति’ चित्रकला प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शन राखेकोमा मतदानमार्फत् चेक रिपब्लिकले जीत हासिल गरेको थियो । सहभागीलाई एकै देशका दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो ।
उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भयो । नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हुनाले सगरमाथाको उचाई जस्तै जीवनका लक्ष्य निर्धारण गर्नुपर्ने प्रेरणा विद्यार्थीलाई दिनुभयो ।
नासोका अध्यक्ष भट्टराईले ओलिप्याडले नेपालमा मात्र नभइ विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताउनुभयो । ‘आइओएए जुनियर–२०२४’ का सह–अध्यक्षसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “विद्यार्थीको सक्रिय सहभागिताले रोमानिया, ग्रीसहुँदै नेपालमा पनि ओलम्पियाड–जुनियर गर्न सफल भएका हौँ ।”
आइओएए जुनियर २०२४ का सहअध्यक्ष मनिषा द्वाले विसं २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड–जुनियर’को नेपाल एक संस्थापक सदस्य राष्ट्र भएको बताउनुभयो ।
ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो । नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आएको छ । ओलम्पियाडमा ‘सिनियर विधा’ मा १६ देखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन्छन् ।
राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आएको छ । यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थी सहभागी हुन पाउँछन् । नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडमा हालसम्म १८ वटा पदक प्राप्त गरेको सोसाइटीले जनाएको छ ।
विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचानसम्बन्धी यो प्रतियोगितामा भाग लिन विभिन्न देशबाट १०० जना विद्यालय तहका विद्यार्थी र करिब ५० जना समूह नेताका रुपमा नेपाल आएको आयोजक समितिले जनाएको छ । प्रतियोगिता सम्पन्न भएसँगै नेपालमै अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड सम्पन्न गर्ने १० वर्ष पुरानो सपनाले साकार रुप पाएको सोसाइटीका अध्यक्ष भट्टराईले बताउनुभयो ।
विज्ञानमा मुलुकको कम चासो भइरहेका बेला यस्ता प्रतियोगिताले थप काम गर्ने वातावरण बनाउन सहयोग गर्ने विश्वास लिइएको छ । लामो समयदेखि विज्ञान पत्रकारितामा कलम चलाउनुभएका पत्रकार लक्ष्मण डङ्गोल विज्ञानमा राज्यको लगानीका साथै चासो पनि कमै भइरहेका बेला युवा, विद्यार्थीमा यसप्रतिको चासो बढाउन अन्तर्राष्ट्रिय ओलम्पियाड सफल भएको बताउनुहुन्छ । करिब १५० भन्दा बढी विदेशी नेपालमा एक हप्तासम्म बसेर जाँदा नेपालको पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने छ । तर, सरोकार भएका निकायले भने यस्तो अवसरलाई सदुपयोग गर्न नसकेको आयोजक समितिको निष्कर्ष छ ।
आयोगकले मुलुकका सांस्कृतिक र प्राकृतिक पर्यटकीय स्थलका बारेमा प्रचारप्रसार गरिएको जनाएको छ । वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले मन्त्रालयले विज्ञानसम्बन्धी अध्ययन, अनुसन्धानका कामलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभएको थियो । यसका लागि मन्त्रालयको विज्ञान महाशाखाले काम गर्ने उहाँले बताउनुभएको छ ।
बूढानीलकण्ठ नगरपालिकाका नगर उपप्रमुख अनिता लामाले नेपाली युवा उत्साहित भएर अन्तर्राष्ट्रियस्तरको ओलम्पियाड गर्छौँ भनी लागेपछि आफूले पनि प्रेरणा दिएको बताउनुभयो । यस्ता कार्यक्रमले काम र अध्ययनका लागि विदेश जाने नेपालीलाई स्वदेशमै अवसर छ भनी आशा जगाउन सहयोग गर्ने उहाँको भनाइ थियो ।
पाकिस्तानमा भएको झडपमा १६ जनाको मृत्यु
इस्लामाबाद, २७ असोज : पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदाय बीच लामो समयदेखि लडाइँमा संलग्न छन् । कुर्रममा दुई सम्प्रदायका बिचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौँको ज्यान लिएको छ ।
सुन्नीहरूको एउटा समुह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कायर्वाहीमा दुई जना आक्रमणकारीको मृत्यु भएको थियो ।
जुलाई देखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौँ मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ ।
अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् । यद्यपि उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरु अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः हिंसात्मक घटनाहरु हुन सक्ने जनाइएको छ ।
सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ ।
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
धुलिखेल, २७ असोजः अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले आज बिहान ९ बजेदेखि सडक एकतर्फी खुलेको बताउनुभयो ।
सडकमा माथिबाट सुक्खा पहिरो खसेर बाटो दुईतर्फी नै अवरोध भएकामा स्थानीय तह र सडक विभागसँग समन्वय गरी जेसिभीको सहायताले पहिरो पन्छाई बाटो एकतर्फी सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडक अवरुद्ध भएपछि सयौँ सवारीसाधन बीच बाटोमा नै रोकिएको थिए ।
शनिबार राति १० बजेतिर पहिरोले बन्द भएको सडक सञ्चालन भएसँगै रोकिएको सवारीसाधनहरु गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
नेपाली सेनालाई स्वर्ण पदक
काठमाडौँ, २७ असोजः विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिदैं आएको छ ।
दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङकन हुने निर्देशनालयले जनाएको छ ।
नेपाली सेनाले सन् २०१७ र २०१९ मा समेत त्यस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेको थियो । यस वर्ष त्यस प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उपरथी दीपककुमार बानिया सम्मानित अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो ।
खानेपानीमन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण
वीरगञ्ज, २७ असोजः खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज महानगरपालिका–३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।
यही असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति पुर्याएकामा आज उहाँले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको हो । भेडाहा खोलाको अनियन्त्रित बहावले विशेषगरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठूलो क्षति पुर्याएको छ ।
त्यसक्रममा स्थानीयले वर्षौंदेखि खोलाले कटान र बाढीको जोखिम पु¥याउँदै आएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।
मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।”

मन्त्री यादवसँगै पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत पनि निरीक्षणमा पुग्नुभएको थियो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ
काँक्रेविहार (सुर्खेत), २७ असोजः कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दसैँमा राम्रो बजार पाएको छ । यहाँका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताउनुभयो ।
उहाँले यहाँको स्याउ सस्तोमा पाउन थालेपछि सुर्खेत, छिन्चु, कोहलपुर र नेपालगन्जलगायत क्षेत्रमा राम्रो बजार पाएको जानकारी प्राप्त भएको बताउनुभयो । “हामीले त कर्णालीकै स्याउलाई बजारीकरणका लागि सबै सरोकार भएका निकायलाई अनुरोध गरेका छौँ । यहाँका फलफूल व्यापारीलाई समेत स्थानीय स्याउको बिक्री वितरणका लागि आग्रह गरेका छौँ, जसको राम्रो प्रभाव परेको छ”, अध्यक्ष कँडलेलले भन्नुभयो ।
चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगन्जमा हाल कर्णालीको स्याउले बजार लिएको बाँके कोहलपुरका कृष्ण ओलीले जानकारी दिनुभयो । नेपालसँग सिमाना जोडिएका भारतीय भागहरूमा समेत कर्णालीकै स्याउले बजार पाएको उहाँले बताउनुभयो ।
वीरेन्द्रनगर सुर्खेतका व्यापारी कमान जिसीले भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको स्याउ सुर्खेत र नेपालगन्जमा प्रतिकिलो रु ९० देखि एक सय २० सम्ममा पाइन थालेपछि बजार विस्तारमा सघाउ पुगेको बताउनुभयो ।
दसैँमा धेरैजसोले उपहारका रूपमा कर्णालीकै स्याउ प्रयोग गरेका जाजरकोट नलगाड नगरपालिका–८ का वीरबहादुर खत्रीले बताउनुभयो । मुगु, जुम्ला तथा डोल्पाबाट स्थलमार्ग हुँदै आएको स्याउले बजार पाएको उहाँले जानकारी दिनुभयो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २७ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रु पैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ३२ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ३० पैसा र बिक्रीदर ७९ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ तीन पैसा र बिक्रीदर चार रुपैयाँ आठ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १२ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १९ रुपैयाँ ७४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ६६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५५ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती
नवलपुर (नवलपरासी), २६ असोजः आज बडादसैँको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।
स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किनुभएको छैन । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ । विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहनुभएकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिनुभएको छ । “घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन”, गहभरि आँसु पार्दै राजकुमारीले भन्नुभयो, “कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।”
जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ । दसैँ मनाउने उत्साह नभएको उहाँले बताउनुभयो । “हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ”, उहाँले भन्नुभयो, “गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ । एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन ।” छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उहाँले बिन्ती गर्नुभयो ।
उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन । “हामी बाउछोरा भएर तरकारीखेतीे, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ”, उहाँले भन्नुभयो, “दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।” छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, सङ्घसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।
नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आउनुभएको थियो । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए । “घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै”, मलीन मुद्रामा नन्देले भन्नुभयो, “अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।” छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।
राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान
काठमाडौँ, २६ असोज : विजयादशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो ३ बजेपछि अतिविशिष्ट व्यक्तित्वलाई राष्ट्रपति पौडेलले टीका तथा जमरा प्रदान गर्नुभएको हो । टीका तथा जमरा ग्रहण गर्न उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री कान्छाराम तामाङ, सांसद सपना राजभण्डारीलगायत राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालगायतले पनि राष्ट्रपति पौडेलसँग टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपति पौडेलले आज अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीका र जमरा लगाइदिएपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा लगाइदिनुहुने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।























































