यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।
आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा कायम छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २ड पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, २९ असोजः देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।
गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भन्नुभयो, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”
महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
तीन महिनामा ६ गैँडा मरे
चितवन, २८ असोज : चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।
एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।
पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।
भेडेटारको कोसेली हरियो सागसब्जी
धरान (सुनसरी), २८ असोज : धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ ।
अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।
धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिनुभयो । उहाँ धनकुटाबाट इटहरी टीका लगाउन जाँदै गर्नुभएको रहेछ । उहाँको हातभरि हरियो साग, सिमी र किबी थियो । “इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अग्र्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दसैँको बेला त कोसेली पो हुन्छ”, मुसुक्क हाँस्दै उहाँले भन्नुभयो ।
दसैँतिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी बिक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल बिक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ भ्रमणमा आएका अधिकांशले फर्कने समयमा सागसब्जी कोसेलीका रुपमा लैजाने गर्नुहुन्छ । दसैँमा चाहीँ अन्य बेला भन्दा कोसेलीका लागि किन्नेको भीड अलि धेरै हुन्छ ।”
व्यापारी विक्रम मगर अघिपछि भन्दा दसैँ लागेपछि ग्राहकको भीड बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अघिपछि सागसब्जी खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैनन्, यहाँ सबै पहाडी भेगबाट सागसब्जी अग्र्यानिक र ताजा आउने गरेकाले दसैँको बेला पनि सागसब्जी किन्नेको भीड लागेको छ ।” दसैँ सुरु भएयता रु दुई लाख बढीको सागसब्जी र किबी बिक्री गरेको मगरले बताउनुभयो ।
मगरकाअनुसार यहाँ धनकुटा, नाम्जे, राजारानी मूलघाट, भोजपुरलगायतका ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सागसब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरिद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताउनुहुन्छ ।
ड्रोन तनाव बढेपछि ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाको भनाइ
सोल, २८ असोज : उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।
आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका प्रचार पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।
सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउँदै आएका कार्यकर्ता समूहहरूमा दक्षिणका स्थानीयहरूको अनुमानहरू केन्द्रित छन् ।
यद्यपि उत्तरले सोललाई आधिकारिकरूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ ।
“हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ”, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भन्नुभयो ।
हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिनुभएको छ ।
सोमबार एक वक्तव्यमा किम यो जोङले भन्नुभयो, “ड्रोन उडानहरू हाम्रो राज्यका लागि क्षमा नहुने दुर्भावनापूर्ण चुनौती थियो ।” उहाँले यस्तै तीनवटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारवृत्ति रोक्न उपायहरू अपनाउन आग्रह गर्नुभएको छ ।
जेसिएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेबार रहेको न पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ ।
“उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्तैन तर दक्षिणलाई दोष लगाइरहेको छ– त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छ”, प्रवक्ता लीले भन्नुभयो, “यो लज्जास्पद दाबीबाहेक केही होइन ।”
सोलको एकीकरण मन्त्रालयले ड्रोन दाबीहरू उत्तरद्वारा आन्तरिक एकता बढाउने प्रयास हुनसक्ने बताएको छ । मन्त्रालयलका प्रवक्ता कु ब्योङ–सामले उत्तरले ‘उक्साहट गर्न वा हाम्रो समाजमा चिन्ता र भ्रम सिर्जना गर्न’ का लागि बहाना खोजिरहेको हुनसक्ने बताउनुभयो ।
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल
फुुङ्लिङ(ताप्लेजुङ), २८ असोजः सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हँुदै गएको हो ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ ।
सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दसँैंको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उहाँहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।
लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।
रमिते र राजदुवाली खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ । नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो । सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
खजुरा (बाँके), २८ असोजः बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ ।
कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो । “बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ”,उहाँले भन्नुभयो, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन् । यहाँ पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन् । जसले धेरैलाई लोभ्याउने गरेको छ ।”
पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका लागि स्रोत नहुँदा सो कार्य हुन नसकेको बताउनुभयो ।
वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि प्रयाप्त नभएको बताउनुभयो । पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । “यो ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक आम्दानीको स्रोत पनि बन्थ्यो तर हामीसँग आर्थिक स्रोत नभएकाले ठूलो लगानी गर्न सकेका छैनौँ । यसमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरेमा धेरै सहज हुन्थ्यो । अब त्यसका लागि पहल गर्छौं”, अध्यक्ष शाहीले भन्नुभयो ।
गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?
काठमाडौँ, २८ असोजः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई र थाइल्याण्ड मुख्यालय रहेको थाइ एयर एशियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेका हुन् । यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकका छन् । सोहीअनुरुप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।
फ्लाई दुवईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फलाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
महाप्रबन्धक तिवारिका अनुसार फलाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ । यसैबीच फलाइ दुबईको प्राविधिक टोलीले गौतमबुद्ध विमानस्थलको भ्रमण गरी सेवा सुविधाबारे जानकारी लिएकाले तयारीको कार्य अगाडि बढाउने महाप्रबन्धक तिवारीले बताउनुभयो ।
यस्तै जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।
फलाई दुबईले कात्तिकदेखि दुबई–भैरहवा र भैरहवा–काठमाडौँ हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो । विमानस्थल उद्घाटन भएको लामो समय भए पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन् । सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो । अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ । त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो । प्राविधिक टोलीलाई विमानस्थलकोतर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरु जस्तै बजार विश्लेषण, अन्य अपरेशनसँग सम्बन्धित अन्य फाइदाहरुको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिनुभयो । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुङ्गो लागेको छैन ।
यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गएको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको हो । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ । नेपाल र थाइल्याण्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्याण्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सङ्ख्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।
थाई एयर एसियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शान्तिसुक क्लोडचैयाले नेपाल र थाइल्याण्डबीच हवाई सम्पर्क सञ्जाल मात्रै नभएर दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई प्रगाढ तुल्याउन उडानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरुप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । “सरकारको कार्ययोजना अनुरुप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उहाँले भन्नुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।
अध्यागमन कार्यालय, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद ढुङ्गानाले जजिरा एयरलाइन्स र फलाई दुबईले छिट्टै उडान गर्ने भएकाले सोही बमोजिम आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी तयारी अवस्थामा छौँ, प्राविधिक जनशक्ति व्यवस्थापनका लागि केन्द्रीय कार्यालयमा ताकेता गरिएको छ । एयरलाइन्सको उडान सुरु भएपछि यात्रुलाई सहज ढङ्गले दिनुपर्ने हुन्छ, त्यसका लागि अध्यागमन कार्यालयले सबैखाले तयारी गरेको छ ।”
प्राधिकरणले अन्तर निकायसँग समन्वय र छलफल गरिरहेको छ । अध्यागमन, भन्सार कार्यालय, सुरक्षा निकायको सबैखाले तयारी भएको छ । अध्यागमनमा यात्रु डेस्क निर्माण भएको छ । केही प्राविधिक पक्ष व्यवस्थापन गर्न बाँकी छ । विमानस्थलमा २१ वटा यात्रुसेवा काउन्टर छन् । उपकरण जडान छन् केही अटोमेसनको काम बाँकी छ ।
“काठमाडौँ विमानस्थल मर्मतको क्रममा गौतमबुद्ध विमानस्थलमा भविष्यमा उडान सङ्ख्या बढ्नसक्छन् एयरलाइन्स पनि थपिने सम्भावना रहेकाले सोही अनुरुप व्यवस्थापकीय तयारी त गर्नुपर्छ । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको जनाइएको छ”, उहाँले भन्नुभयो । विमानस्थलमा अध्यागमनको सेवालाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले हालै अध्यागमन विभागका महानिर्देशकसहितको टोलीले गौतमबुद्ध विमानस्थलको स्थलगत निरीक्षणसमेत गरेको थियो ।
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजना अनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् । अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाएको विमानस्थलका अधिकारीले बताएका छन् । निर्माण सम्पन्न भएर लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेका ती दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सेवामा एयरलाइन्सलाई सहुलियतलगायतका आकर्षक प्याकेज घोषण गरेको छ ।
गत साउन २८ गतेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन क्षेत्रको समग्र सुधारसम्बन्धी कार्ययोजना स्वीकृत गर्दै गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना स्वीकृत गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाई इन्धनदेखि टिकट सहुलियत दिने सरकारको योजना छ ।
दुई विमानस्थल प्रभावकारी सञ्चालनका लागि प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित विभिन्न चरणमा बैठक भएका छन् । दुवै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरुबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिनेबारे छलफल भइरहेको जनाइएकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुवै विमानस्थल प्रभावकारी सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउण्ड ह्यान्डलिङ, हवाई इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाइएको छ ।
पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाई टिकटमा लगाइएको भ्याट पनि विस २०८३ भदौसम्म नलिने जनाइएको छ । उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्ययोजना बनाइएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो । सन् १९५८ जुलाई ४ मा भैरहवा आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको थियो । सोही विमानस्थललाई विस्तार गरेर अन्तर्राष्ट्रिय विमानस्थल बनाइएको हो ।
दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल
मन्थली (रामेछाप), २८ असोजः दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका—३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका-६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् ।
यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरिकोट हुँदै लामोदुरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“लामोदुरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ ।”
उहाँका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रीलाई लक्षित गरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेहरूका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायतका खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदिपकुमार सिंहले बताउनुभयो ।
काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरिकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् ।
भीरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भीरपानीको चरीखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताउनुभयो ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २८ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५९ पैसा र बिक्रीदर ९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ८५ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ पाँच पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा कायम छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९५ पैसा र बिक्रीदर नौ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९ रुपैयाँ ७६पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७६पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६५ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

























































































