नेप्से २६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ। अघिल्ला दुई दिन बढेको बजार यस दिन भने घटेको हो। सोमबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ६.३८ अंक घटेको छ भने फ्लोट इन्डेक्स २.०७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेका छन्।
कारोबार रकम पनि घटेको छ। आइतबार १४ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४५ स्टकको १ लाख २ हजार ७५९ पटकको कारोबारमा ११ अर्ब ९७ करोड ४६ लाख रुपैयाँ बराबरको ३ करोड ७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ।
यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अप्पर हेवाखोला हाइड्रोपावर कम्पनी र सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमूल्य साढे ६ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ६८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावरको ६६ करोड रुपैयाँभन्दा बढी र अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको साढे ४१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक मात्र बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन्। बैंकिङ, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
नेपाल आयल निगमद्वारा इन्धनको मूल्य वृद्धि : पेट्रोलमा १५ र डिजेलमा १० रुपैयाँ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार बिहान १२ बजेदेखि लागू हुने पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य बढाएको हो ।
अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विषम परिस्थितिका कारण बाध्यतावश मूल्य बढाउनु परेको हो। यसबाट उपभोक्तामा पर्ने असरप्रति निगम सचेत र संवेदनशील छ ।’
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै नेपालमा पनि यसको प्रत्यक्ष असर देखिएको हो ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ ।
बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।
आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।
निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।
‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल। पि। ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि एल.पि. ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल। पि। ग्यास खरिद गर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ । यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको बताइएको छ ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्त गर्न समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निगमले नियमित रुपमा माग अनुरूप नै एल. पि.ग्यासको आयात तथा वितरण गरीरहेको भए तापनि विगत दुईरतीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको विषय सर्वविदित नै छ । यसै बीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एल।पि। ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ ।’
निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेका छन् ।
होर्मुज मार्ग बन्द गर्ने इरानको धम्की, युरोपेली उर्जा बजारमा धक्का
एजेन्सी । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक, होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ ।
जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रति लिटर २.३० युरोभन्दा माथि पुगेको छ, भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री मार्ग हो ।
यसले विश्वव्यापी समुद्री तेल ढुवानीको लगभग एक चौथाई भाग, साथै ठूलो मात्रामा तरल प्राकृतिक ग्यास र मलहरू ह्यान्डल गर्दछ । थोक ऊर्जा झट्काले जर्मन उपभोक्ताहरूलाई पहिले नै असर गरिरहेको छ, इन्धन लागतले दैनिक बजेटमा ठूलो प्रभाव पारेको छ ।
‘गत हप्ता, जब मैले यसलाई सुरुबाट भरें, यसको मूल्य लगभग असी यूरो थियो। अब यो सतसठ्ठी यूरो भएको छ । तर यो केवल आधा ट्याङ्की हो,’ जर्मन चालक कादिर ओज्टर्कले भने ।
ऊर्जा विश्लेषकहरूले उपभोक्ता मूल्य वृद्धि समयपूर्व हुन सक्ने चेतावनी दिएका छन्। म्युनिखको प्राविधिक विश्वविद्यालयका प्राध्यापक स्वेतलाना इकोनिकोभाले आपूर्ति शृङ्खलाका धेरै तहहरूमा प्रशस्त इन्भेन्टरीहरू रहेको बताइन् ।
जर्मनीमा, ऊर्जा कर र कार्बन डाइअक्साइड लेवी जस्ता करहरूले ग्यास र डिजेलको मूल्यमा उल्लेखनीय प्रभाव पार्ने पनि देखिएको छ । उपभोक्ताहरूले इन्धनमा १९ प्रतिशत मूल्य अभिवृद्धि कर पनि तिर्छन् । बाँकीले तेल उद्योगको लागत र मार्जिन र कच्चा तेलको अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ।
यद्यपि, युरोपको तेल आपूर्ति अहिलेको लागि सुरक्षित छ । हर्मुजको जलडमरूबाट गुज्रने ऊर्जा स्रोतहरूमा अवरोधहरूले विश्वव्यापी बजारहरूमा तरंग ल्याउन सक्छ । जसले गर्दा द्वन्द्व बढ्यो भने मूल्यहरू अझ उच्च हुन सक्नेछ ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा संयुक्त हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव तीव्र गतिमा बढिरहेको छ । इरानी पक्षले इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै यस क्षेत्रभरि धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरिरहेका छन् । जसले खाडीका धेरै देशहरूलाई असर गरेको छ ।
सैन्य टकरावले ऊर्जा संकटको डर थप बढेर गएको छ । हर्मुज जलडमरू अवरोधको जोखिमले युरोपमा इन्धन र ग्यास आपूर्तिमा थप झट्का लाग्ने संकेत गरिएको छ ।(सीसीटीभीप्लस)
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।
यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ । एएनआई
रास्वपाको बहुमतपछि शेयर बजारमा ३ मिनेटमै तीन सर्किट, आजका लागि बजार बन्द
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले करिब दुईतिहाइ बहुमत ल्याएपछि शेयर बजारमा अभूतपूर्व उत्साह देखिएको छ । स्थिर सरकार बन्ने र नीतिगत स्थिरता आउने अपेक्षासहित लगानीकर्ताले आक्रामक रूपमा शेयर किन्न थालेपछि सोमबार खुलेको बजारमा लगातार तीन सर्किट लागेको हो ।
बजार खुलेको एक मिनेटमै नेप्से ४ प्रतिशतले बढ्दै पहिलो सर्किट लाग्यो र २० मिनेटका लागि कारोबार स्थगित गरियो । त्यसपछि खुलेको बजारमा फेरि एक मिनेटमै नेप्से ५ प्रतिशत पुगेपछि दोस्रो सर्किट लाग्दै ४० मिनेटका लागि कारोबार रोकियो । पुनः खुलेको बजारमा अर्को एक मिनेटमै थप १ प्रतिशत बढेर कुल ६ प्रतिशत पुगेपछि तेस्रो सर्किट लाग्दै आजका लागि कारोबार बन्द गरिएको हो ।
सोमबार नेप्से परिसूचक १६२.९३ अंकले बढेर २८७५.४३ विन्दूमा पुगेको छ । २५३ कम्पनीको शेयर कारोबार भएको बजारमा करिब ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
लगानीकर्ताहरूका अनुसार रास्वपाको स्थिर सरकार बन्ने अपेक्षा, शेयर बजार सुधारसम्बन्धी प्रतिबद्धता र सम्भावित आर्थिक सुधारका कारण बजारमा उत्साह बढेको हो । बजार विश्लेषकहरूले आजबाट सुरु भएको बुल ट्रेन्डले आगामी दिनमा नेप्सेले नयाँ रेकर्ड बनाउन सक्ने अनुमान गरेका छन् ।
मध्यपूर्वमा तनाव चुलिँदा एसियाली शेयर बजारमा भारी गिरावट
काठमाडौं । मध्यपूर्वको बढ्दो भू–राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढेसँगै सोमबार एसियाली शेयर बजारमा भारी गिरावट आएको छ । जापान र दक्षिण कोरियाका प्रमुख शेयर सूचकांक यतिबेला करिब ७ प्रतिशतसम्म घटेका छन् ।
सोमबार बजार खुल्नेबित्तिकै कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढेपछि विश्व बजारमा लगानीकर्ताहरू सतर्क बनेका हुन् । यो रिपोर्ट तयार पार्दासम्म कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ११५ अमेरिकी डलरमा कारोबार भइरहेको थियो, जसले मुद्रास्फीति र आपूर्ति अवरोधको चिन्ता बढाएको छ ।
एसियाली प्रमुख सूचकांकमध्ये जापानको शेयर बजार (निक्केई २२५) करिब ७ प्रतिशतले घटेर ५२,०१० अंकमा झरेको छ । त्यसैगरी दक्षिण कोरियाको कोस्पी सूचकांक पनि ७.४३ प्रतिशतले घटेर ५,१६९ अंकमा पुगेको छ । अन्य एसियाली बजारहरूमा पनि गिरावट देखिएको छ । सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक २.६५ प्रतिशतले घटेर ४,७२० अंकमा झरेको छ भने हङकङको ह्याङसेङ सूचकांक २.४६ प्रतिशतभन्दा बढीले घटेर २५,०९५ अंकमा पुगेको छ । त्यस्तै ताइवानको वेटेड इन्डेक्स पनि ५.७७ प्रतिशतले घटेर ३१,७६७ अंकमा पुगेको छ ।
एसियाली शेयर बजारमा आएको यो गिरावट पश्चिम एसियामा जारी द्वन्द्वका कारण कच्चा तेलको मूल्य आकस्मिक रूपमा बढेपछि देखिएको हो । सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य २५ प्रतिशतभन्दा बढीले बढ्दै कारोबारका क्रममा ११९.४५ डलर प्रतिव्यारेलसम्म पुगेको थियो ।
हाल पश्चिम एसियामा इरान, इजरायल र अमेरिकाबीच बहुपक्षीय उच्चस्तरीय द्वन्द्व चलिरहेको छ ।
अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेपछि त्यहाँको सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको खबर आएपछि तनाव झनै बढेको हो । यस घटनाले विश्व ऊर्जा बजारमा तेल आपूर्ति अवरुद्ध हुने चिन्ता बढाएको छ ।
यसैबीच, अमेरिकी शेयर बजार पनि गत साता दबाबमा देखिएको थियो । शुक्रबार एसएन्डपी ५०० सूचकांक १.३३ प्रतिशतले घटेर ६,७४० अंकमा झरेको थियो भने न्यास्ड्याक सूचकांक पनि १.५३ प्रतिशतले घटेर २२,४०० अंकमा पुगेको थियो । तेलको मूल्यमा आएको तीव्र वृद्धि र बढ्दो भू–राजनीतिक तनावका कारण विश्व वित्तीय बजारमा अनिश्चितता थप बढ्ने विश्लेषकहरूले बताएका छन् ।
एएनआई
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता
काठमाडौं । इरान र अमेरिका बीच बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग “निःशर्त आत्मसमर्पण” माग गरेको अभिव्यक्ति दिएपछि सम्भावित दीर्घकालीन द्वन्द्वको चिन्ता बढ्दै जाँदा तेल बजारमा तीव्र प्रतिक्रिया देखिएको हो ।
अन्र्तराष्ट्रिय बजारमा आज बिहान सम्म क्रुड तेलको मूल्य करिब १२.२ प्रतिशतले बढेर प्रतिव्यारेल ९०.९० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा यो अप्रिल २०२० पछिकै सबैभन्दा ठूलो साप्ताहिक वृद्धि मानिएको छ ।
विशेषज्ञहरूका अनुसार इरान तथा व्यापक पश्चिम एसिया क्षेत्रमा बढ्दो तनावले विश्वव्यापी तेल आपूर्तिमा असर पर्ने चिन्ता बढाएको छ । ऊर्जा आपूर्ति अवरुद्ध हुन सक्ने जोखिमका कारण आगामी दिनमा मूल्यमा अझ उतारचढाव देखिन सक्ने चेतावनी दिइएको छ ।
अमेरिका र इरानबीचको द्वन्द्वले ऊर्जा बजारलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ । उनका अनुसार युद्धका कारण विशेषगरी स्ट्रेट अफ हर्मुजहुँदै हुने तेल आपूर्तिमा अवरोधको जोखिम बढेको छ ।
उनले भने, “विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही जलडमरूमध्यबाट हुने भएकाले यहाँको कुनै पनि अस्थिरताले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्छ ।”
ऊर्जा अनुसन्धान संस्था एस एण्ड पी ग्लोबल एसएफ क्रुड आयल अनुसन्धान प्रमुख जिम बर्खार्डका अनुसार अमेरिका र इजरायलसँगको युद्धले इतिहासकै सबैभन्दा ठूलो तेल आपूर्ति अवरोध निम्त्याउन सक्ने सम्भावना देखिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्य हुँदै हुने तेल ढुवानीमा कमी आए वा पूर्ण रूपमा रोकिए विश्व बजारमा गम्भीर संकट आउन सक्ने उनले बताएका छन् ।
सुरुमा इरानले ऊर्जा पूर्वाधारलाई निशाना नबनाए पनि पछिल्ला दिनमा साउदी अरेबिया र कतारका ऊर्जा संरचनामा आक्रमण भएपछि तेल तथा ग्यास बजारमा थप झट्का लागेको विश्लेषण गरिएको छ ।
एस एण्ड पी ग्लोबलको इनर्जी कमोडिटिस एट सी तथ्यांकअनुसार मार्च १ मा हर्मुज जलडमरूमध्यबाट केवल ५ वटा तेल ट्यांकर मात्र गुज्रिएका थिए, जबकि सामान्य अवस्थामा दैनिक करिब ६० वटा ट्यांकर त्यहाँबाट आवतजावत गर्ने गरेका छन् ।
विशेषज्ञहरूका अनुसार यदि यो अवस्था लम्बिएमा विश्व ऊर्जा बजारमा मात्र होइन, तेल आयातमा निर्भर देशहरू—जस्तै भारत र नेपाल—मा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि तथा आर्थिक दबाब बढ्न सक्ने सम्भावना रहेको छ ।
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा
एजेन्सी । चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २०२६ मा ६ ट्रिलियन युआन (लगभग ८७० अर्ब अमेरिकी डलर) भन्दा बढीले बढ्ने अपेक्षा गरिएको छ ।
देशको शीर्ष आर्थिक योजनाकारका प्रमुखले बताए अनुसार यो आर्थिक विस्तारले रोजगारी, जनताको कल्याण र जोखिम रोकथामका लागि ठोस सहयोग प्रदान गर्नेछ ।
राष्ट्रिय विकास तथा सुधार आयोगका प्रमुख झेङ शान्जीले १४ औं राष्ट्रिय जन कांग्रेसको चौथो सत्रका अवसरमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् ।
‘यस वर्ष, यदि सामान्य परिस्थितिमा सबै कुरा सहज रूपमा चल्यो भने, जीडीपी वृद्धि ६ ट्रिलियन युआन भन्दा बढी हुने अपेक्षा गरिएको छ। यसले रोजगारी स्थिर गर्न, मानिसहरूको जीविकोपार्जनमा सुधार गर्न र जोखिमहरू रोक्न बलियो सहयोग प्रदान गर्नेछ,’ झेङले भने।
१५ औं पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) मा चीनको सेवा क्षेत्रको आकार १०० ट्रिलियन युआन (लगभग १४.५ ट्रिलियन अमेरिकी डलर)भन्दा बढी विस्तार हुने अपेक्षा गरिएको उनले बताए ।
चीनको कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित उद्योगहरूको मूल्य २०३० सम्ममा १० ट्रिलियन युआन (१.४५ ट्रिलियन अमेरिकी डलर) भन्दा बढी हुने अनुमान गरिएको छ ।