‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान
मङ्गलबारे (इलाम), १८ भदौः जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् । एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् ।
सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताउनुभयो । “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उहाँले भन्नुभयो, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।”
“पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भन्नुभयो । नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उहाँको बुझाइ छ ।
सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताउनुभयो । “सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ ।
अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उहाँले उल्लेख गर्नुभयो । “यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकाले यसलाई रेड किबी भनिएको हो”, उहाँले भन्नुभयो ।
इलाममा व्यावसायिक रुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवनठाडा मगरले बताउनुभयो । “पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन÷भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक÷मङ्सिरमा मात्र उत्पादन हुने भएकाले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन्”, उहाँले भन्नुभयो ।
बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकामा रेड बिक्रीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताउनुभयो । उहाँका अनुसार प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्म पर्दछ ।
अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताउनुभयो । उहाँका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उहाँको भनाइ छ ।
एक दशकअघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताउनुभयो ।
रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गर्नुभयो । रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उहाँको भनाइ छ ।
बोटमा नै पाक्नसक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।
सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ ।
पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा रु सात सय प्रतिकिलो किनबेच हुने गरेकामा हाल रु एक सयदेखि रु तीन सयसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिनुभयो ।
नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ ।
“किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ”, उहाँले भन्नुभयो ।
रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकाले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ ।
किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ । पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ ।
“यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ”, कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भन्नुभयो । यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उहाँले जानकारी दिनुभयो ।
पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट एक हजार दुई सय मिटरदेखि माथि दुुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ ।
जिल्लामा कूल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अघिल्लो वर्ष दुई हजार आठ सय ५२ मेट्रिकटन उत्पादन भएको थियो ।
आजको विनिमय दरः अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो
काठमाडौँ, १८ भदौः सोमबारको तुलनामा आज अमेरिकी डलर र युरोको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले तय गरेको आजको विदेशी मुद्रा विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४९ पैसा रहेको थियो ।
हिजोको तुलनामा आज नेपाली बजारमा युरोको भाउ पनि बढेको छ । सोमबार एक युरोको खरिददर एक सय ४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५८ पैसा रहेको थियो भने आज एक युरोको खरिददर एक सय ४८ रुपैयाँ २६ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ९२ पैसा कामय भएको छ ।
आजको विदेशी मुद्रा विनिमयदरअनुसार पाउण्ड स्टर्लिङ भाउ पनि बढेको छ । यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ९८ पैसा कायम भएको छ भने बिक्रीदर एक सय ७६ रुपैयाँ ७६ पैसा कायम भएको छ । सोमबार यस मुद्राको एकको खरिददर एक सय ७५ रुपैयाँ ८० पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ५९ पैसा रहेको थियो ।
त्यस्तै, आज स्वीस फ्रयाङ्क एकको खरिददर एक रुपैयाँ ५७ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ २३ पैसा कायम भएको छ । त्यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७६ पैसा र बिक्रीदर ९१ रुपैयाँ १७ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ७१ पैसा कायम भएको छ । त्यसैगरी, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ९३ पैसा कायम भएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा रहेको छ । आजको विनिमयदरअनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९२ पैसा र बिक्रीदर तीन रुपैयाँ ९३ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ पाँच पैसा कायम भएको छ । स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ छ पैसा र बिक्रीदर १३ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा रहेको छ ।
आज हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ १८ पैसा र बिक्रीदर १७ रुपैयाँ २६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ३८ पैसा रहेको छ । त्यस्तै, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ चार पैसा रहेको छ ।
राष्ट्र बैंकले तय गरेको विदेशी विनियमदर खुला बजारमा भने फरक पर्नसक्नेछ ।
पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’
काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।
सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।
तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।
चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।
अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोज पहिलो साता
काठमाडौँ, १७ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएको छ ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन् ।
यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।
सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने छ । क्रान्तिकारीले यही भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ ।
अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती
नारायणगढ (चितवन), १६ भदौ : सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो ।
चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उहाँका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गर्नुभएको हो । मनकलाले भन्नुभयो, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।”
सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्नुहुन्थ्यो । त्यसैको जगमा उहाँ आज एक व्यवसायी बन्न सफल हुनुभएको हो । उहाँले सुनाउनुभयो, “म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।”
पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आउनुभयो । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गनुर््हुन्थ्यो । जब उहाँहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उहाँहरु सदरमुकाम खाँदबारीतर्फ लाग्नुभयो ।
सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आउनुभएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उहाँका श्रीमान्को साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।
कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।”
अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।
कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उहाँहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो । मनकलाले भन्नुभयो, “फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।”
कुनैबेला आफैँ कामदार रहनुभएकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उहाँ बताउनुहुन्छ । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाउनुभयो, “आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो”, उहाँले भन्नुभयो । श्रीमान्कोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताउनुभयो ।
देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाउनुभयो, “सबै योजना उनकै (मनकला) हो ।” उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उहाँहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत हुनुहुन्छ भने छोरा विद्यालयस्तरमा अध्ययनरत हुनुहुन्छ ।
चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउनुहुन्छ । देवेन्द्रले भन्नुभयो, “धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।” ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उहाँलाई खुसी लागेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
फुङ्लिङ (ताप्लेजुङ), १६ भदौ : लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ ।
“तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।
मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको पुनहिल
म्याग्दी, १५ भदौ : निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो ।
समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ ।
बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । “बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,” उहाँले भन्नुभयो “कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।”
चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताउनुभयो । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताउनुभयो । “शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,” उहाँले भन्नुभयो “छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तब्य रहेछ् ।” अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ ।
घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताउनुभयो । “पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो “एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।”
पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल÷घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ ।
घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताउनुभयो । “गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,” उहाँले भन्नुभयो “मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।” वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ ।
पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले रु ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष रु ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
कोशी प्रदेशसभा बैठकः प्रदेश निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल
मोरङ, १५ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । यस अगाडि बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो संशोधन विधेयमाथि सैद्धान्ति छलफल गरियोस् भन्ने प्रस्ताव सदन समक्ष पेश गर्नुभएको थियो । सभामुख अम्बरबहादुर विष्टले विधेयक सर्वसम्मतले पारित भएको सभा समक्ष जानकारी दिनुभएको थियो ।
संशोधन विधेयकको सैद्धान्तिक छलफल भाग लिँदै प्रदेशसभा सदस्य रामदेव यादव, भूपेन्द्र राई, प्रदीपकुमार सुनवार,शोभा चेम्जोङ, गेम्बु शेर्पा, विदुरकुमार लिंथेप, रमेशकुमार बस्नेत लगायतले विधेयकमा जनसङ्ख्याको आधारमा आरक्षण हुनुपर्ने, संशोधन विधेयकमा समानता रहेको विचार राख्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासामा जवाफ दिनुहुँदै विधेयक समयानुकूल परिमार्जन गर्न ल्याएको बताउनुभयो । उहाँले विधेयकले स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई चुस्तदुरुस्त एवं जनमुखी बनाउन सहयोग पुग्ने छ भन्नुभयो । सभाको अर्काे बैठक आइतबार दिउँसो १ बजे बस्नेछ I
सामूहिक रुपमा न्वागी मनाउँदै चेपाङ समुदाय
मुग्लिन (चितवन), १५ भदौ : चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् ।
यस वर्ष जिल्लामा रहेका चेपाङ समुदायले सामूहिक रुपमा छोनाम पर्व मनाउने निर्णय भएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाडाँमा सामूहिक रुपमा न्वागी मनाउन लागिएको हो ।
चेपाङको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो भदौ २२ गते राष्ट्रिय न्वागी पर्व मनाउने गरिएको अध्यक्ष चेपाङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखा गरी चार जिल्लामा पालैपालो न्वागी मनाउने गरेका छौँ, यो वर्ष गोरखामा मनाउँदै छौँ ।” उहाँका अनुसार चेपाङ समुदायले विगत नौ वर्षदेखि सङ्घको पहलमा सामूहिक रुपमा उत्सव जस्तै गरी न्वागी मनाउँदै आएका छन् ।
उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले भदौ २२ गतेलाई राष्ट्रिय रुपमा मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरुको कूलअनुसार भदौको पूर्णिमादेखि महिनाभरि मनाउने गरिन्छ ।” अध्यक्ष चेपाङका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाँइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।
न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनका रुपमा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङले कुनै काम नगरी नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।
जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ रहेका अध्यक्ष चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै चितवनमा ३५ हजारको सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् भने २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।
चेपाङहरुको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको अध्यक्ष चेपाङले बताउनुभयो ।
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि ...
झापा, १५ भदौः जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।
गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो । “प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी कृन्द्रित छौँ”, उहाँले भन्नुभयो, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्यो र उसलाई बनाउनुपर्यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”
विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।
हजारौँ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको जानकारी दिनुभयो ।
“कस्तो योग्यता र अनुभवप्राप्त शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर ऐनमा भनिएकै छ”, अध्यक्ष खतिवडाले भन्नुभयो, “त्यही नियमलाई टेकेर व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा पूरा गरिसक्नुभएको ज्येष्ठ शिक्षक भट्टराईलाई नियुक्त गरेको हो ।”
विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्यो भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।
विद्यालयको वातावरण पठनपाठन प्रभावित हुन थालेपछि तत्काल समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउन व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो ।
नियुक्ति पाएका दुवै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेकाले हाल निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहनुभएको छ ।



























