देशभर मनसुनी वायुको प्रभाव कायम
काठमाडौँ, ३२ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।
साफ च्याम्पियनसिपः मैदानको टुङ्गो अझै लागेन
काठमाडौँ, ३१ साउनः दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन ।”
उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उहाँले आज एएफसीबाट दशरथ रङ्गशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुङ्गो लाग्ने बताउनुभयो ।
प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रङ्शालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलङ्काबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने उहाँको भनाइ छ ।
भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् ।
त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलङ्का र भारत भोलि नेपाल आइपुग्नेछन् भने बङ्गलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।
डेङ्गी नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिसँग छलफल
काठमाडौँ, ३१ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रुप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो ।
छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गीे नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्नुभयो । “उपत्यकामा डेङ्गी नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।”
साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताउनुभयो । उहाँले सरसफाइको कमीका कारण सङ्क्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताउनुभयो ।
हाल मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप सङ्क्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए सङ्क्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राख्नुभयो । छलफलमा सहभागी काठमाडौँ, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउनुभएको थियो । उहाँहरुले डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिहरुले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । “हामीलाई पहिलोपटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,” नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भन्नुभयो, “हामी डेङ्गी नियन्त्रणमा सहकार्य गर्न तयार छौँ ।”
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर कायम नगर्नेहरुलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्याङ्कमा सहयोग प्राप्त नगरेकाले मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।
शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार
काठमाडौँ, ३१ साउन : धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार भयो ।
नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन् ।
यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् ।
नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ ।
साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा
काठमाडौँ, ३१ साउनः घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गर्नुभयो । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।
नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन्भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।
नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् ।
पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
म्याग्दी, ३१ साउनः समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज ।
यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ ।
ढोरपाटन पर्यटन प्रवद्र्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताउनुभयो । “असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,” उहाँले भन्नुभयो “केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।”
सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो ।
शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौँका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताउनुभयो ।
“शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,” समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भन्नुभयो, “थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।”
ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । “बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,” उहाँले भन्नुभयो “यहाँ पाइने फूलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।”
संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्नुभएको छ । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ ।
सङ्कलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताउनुभयो । आरक्षले फूलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ ।
पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताउनुभयो ।
ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार सात सय राजस्व सङ्कलन भएको छ ।
ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।
ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा रु चार करोड ७१ लाख दुई हजार छ सय २८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो । (रासस)
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
मनाङ, ३१ साउन : “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भन्नुभयो ।
जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उहाँ बताउनुहुन्छ । “जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरुप पनि फेरिन थालिसक्यो”, उहाँ भन्नुहुन्छ । पहिले माटो र काठले बनेको घरहरु अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन् ।
पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ”, उहाँले भन्नुभयो, “हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।”
करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौैँरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो ।
पुराना घर संरक्षण गर्नुपर्ने हो । तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन् । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।” गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उहाँले बताउनुभयो ।
पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे । तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्नुहुन्छ, “यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रुपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।” पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो ।
माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउनुहुन्छ ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।”
मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उहाँ बताउनुहुन्छ । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरु छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।
मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्नुहुन्छ, “सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरुप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।”
जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ । यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् ।
उपनिर्वाचनको तयारी
सुदूरपश्चिम, ३१ साउनः देशभर रिक्त रहेका पालिका तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडाअध्यक्षको आगामी मङ्सिर महिनामा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले नगरपालिका र गाउँपालिका तहमा विभिन्न कारणले रिक्त रहेका पदमा आगामी मङ्सिरमा उपनिर्वाचन गराउने तयारी सुरु गरिए पनि निर्वाचनको मिति निश्चित गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
यस्ता पदहरु रिक्त भएका कारण नागरिकलाई सेवा प्राप्तिमा असुविधा उत्पन्न भइरहेकाले उपनिर्वाचनमार्फत पदपूर्तिका लागि निर्वाचन आयोगले आन्तरिक तयारी गरेको जनाइएको छ । धनगढीमा बुधबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी भट्टले अनलाइन मतदाता नामवली सङ्कलन तथा नाम दर्ता कार्य, मतदाताको ठाउँसारी, मतदाताको त्रुटि सच्च्याउने, मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाउने, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन कार्यक्रम र यस्ता गतिविधिमा सरोकारवालाको भूमिकालगायत विषयमा प्रस्तुति गर्नुभयो ।
सुदूरपश्चिमको कैलाली जिल्लामा वर्ष २०८०/८१ मा एक हजार १२ नयाँ मतदाताको नामावलीमा नाम दर्ता भएको, एक सय ५७ को ठाउँसारी भएको, दुई सय ४५ को त्रुटि सच्च्याइएको र मृत्यु भएका दुई हजार दुई सय ४२ मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको जानकारी उहाँले दिनुभयो ।
प्रतिनिधिसभाको पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा गएको वैशाखसम्ममा जम्मा पाँच लाख ३६ हजार सात सय ७० मतदाता पुगेका छन् ।
कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मताअधिकारबाट कुनै पनि मतदाता वञ्चित हुन नपाउनेगरी निर्वाचन कार्यालयले समयमै आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो । सुदूरपश्चिम प्रदेशको हकमा बाजुरा जिल्ला, स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष पद रिक्त रहेको निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बझाङ जिल्ला सुर्मागाउँपालिका–४, डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका–६, दार्चुला जिल्ला दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वडाअध्यक्ष पद रिक्त रहेको छ । देशभर नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा रिक्त पदको पदपूर्ति गरिनुपर्ने व्यवस्था छ ।
अष्ट्रेलियामा बेरोजगारी वृद्धि
क्यानबेरा, ३१ साउन (रासस/सिन्ह्वा) : अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ ।
एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।
सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।
यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ ।
भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो
चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारी स्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् ।
पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।
आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताउनुभयो ।
काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताउनुभयो । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।




















