बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता
बेनी(म्याग्दी), १ भदौः सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ ।
घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ ।
यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । अघिल्ला वर्षहरुमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उहाँको भनाइ छ ।
पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सिप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछि वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवति देखि बृद्धबृद्धासम्म सडकतीर जम्माहुने गर्छन् ।
वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरुको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताउनुभयो ।
परम्परागतरुपमा देखाइँदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवंगत भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ ।
दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरुको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेष श्रेष्ठले बताउनुभयो । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उहाँको भनाइ छ ।
वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।
‘खाद्य, ऊर्जा र जलवायु सङ्कटबाट पार पाउन सामूहिक प्रयास अपरिहार्य’
काठमाडौँ, १ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तन, स्रोत र साधनको बुद्धिमत्तापूर्ण प्रयोगबाट अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्रका जनताको हित सुनिश्चित गर्नका साथै आपसी साझेदारी र सहकार्यबाट समुज्ज्वल भविष्य निर्माण गर्न सकिने बताउनुभएको छ ।
भारत सरकारद्वारा श्रव्यदृश्यका माध्यमबाट आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभयो ।
‘वसुधैव कुटुम्वकम्’को आदर्शअनुरुप ‘दिगो भविष्यका लागि सशक्त ग्लोबल साउथ’ शीर्षकमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणामा आयोजित उक्त सम्मेलन सामयिक भएको बताउँदै प्रधानमन्त्री ओलीले ग्लोबल साउथको अभिमत अभिव्यक्त गर्नुभएकामा आफ्ना भारतीय समकक्षीको सराहना गर्नुभयो ।
विश्वका विभिन्न भागमा फैलिएको द्वन्द्व, खाद्य र ऊर्जा सङ्कट, जलवायु परिवर्तनका असरलगायत विषयले असमान रूपमा विकासशील देशहरूमा गम्भीर चुनौती थपेकाले तिनको सामना गर्न सामुहिक प्रयास अपरिहार्य भएकामा प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
प्रधानमन्त्री ओलीले ग्लोबल साउथका १५ राष्ट्र तथा सरकारप्रमुखसँगै सम्मेलनलाई सम्बोधन गर्नुभएको हो । तुलनात्मक रूपमा न्यून आर्थिक एवं औद्योगिक विकास गरेका ७८ अल्पविकसित, विकासोन्मुख एवं विकासशील राष्ट्र ग्लोबल साउथका सदस्य छन् ।
अलैँची र सुन्तला उत्पादन बढाउनसुपर जोन कार्यक्रम
किमाथाङ्का (सङ्खुवासभा), १ भदौः कृषिमा आधुनिक प्रविधि भित्राएर आत्मनिर्भरता बनाउने उद्देश्यले छ वर्षयता कृषि परियोजना सञ्चालनमा ल्याइएको छ । सङ्खुवासभा र भोजपुर दुई जिल्ला समेटेर अलैँची र सुन्तलालाई सुपर जोन क्षेत्र बनाइ कार्यान्वयन गरिएको हो ।
उक्त परियोजनाअन्तर्गत सङ्खुवासभाका १० र भोेजपुरका छ स्थानीय तहमा कार्यक्रम लागु गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिनुभयो । अलैँची सुपर जोनतर्फ २३ सय १३ हेक्टरमा र सुन्तला सुपर जोनतर्फ छ सय ८७ हेक्टरमा कार्यक्रम लागु गरिएको उहाँले बताउनुभयो ।
सुपर जोन क्षेत्रमा अलैँची र सुन्तला उत्पादन बढाउन यो वर्ष सिँचाइ पूर्वाधार र सुधारिएको आधुनिक अलैंँची भट्टी निर्माण कार्यक्रम राखिएको परियोजना एकाइ प्रमुख गुरुङले उल्लेख गर्नुभयो । परियोजनाका लागि चालु आर्थिक वर्षमा पुँजीगततर्फ रु २० लाख र चालुतर्फ रु चार करोड ४७ हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
परियोजना कार्यान्वयन एकाइ सङ्खुवासभाले चालु आवमा सिँचाइ पूर्वाधार, सुधारिएको आधुनिक भट्टी निर्माण र जडान कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको एकाइ प्रमुख गुरुङले बताउनुभयो । सिँचाइ पूर्वाधार निर्माण गर्न रु ७० लाख, सुधारिएको आधुनिक भट्टी निर्माण र जडानमा रु ४६ लाख, अलैँची बाली प्राथमिक प्रशोधन उद्योग स्थापना गर्न रु २५ लाख, सुन्तलाको भण्डारण गर्न मिनि चिस्यान केन्दै स्थापना कार्यक्रमका लागि रु २१ लाख र सुन्तला बालीको क्षेत्र विस्तारमा रु २१ लाख विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । चालु आवमा अन्य २४ कार्यक्रमसमेत पारित भएका छन् ।
अलैँची सुपन जोन कार्यक्रम सङ्खुवासभाका १० स्थानीय तहअन्तर्गत ३२ वडा र भोजपुरका छ स्थानीय तहअन्तर्गत ३० वडामा सञ्चालन गरिएको मा छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले अलैँची, सुन्तला, धान, मकै, गँहु, आलु, सागसब्जी र माछालगायत कृषि क्षेत्रमा किसानलाई सहयोग पु¥याउँदै आएको छ ।
गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’
म्याग्दी, १ भदौ : पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रंगी बिरंगी फुल । तल हेर्दा देखिने हरियाली जंगल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की ।
चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी ।
बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लु सम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश । समुन्द्रि सतहदेखि चार हजार १० मिटरको उचाईमा रहेको पुर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझै आभास हुन्छ ।
काठमाडौका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जिवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताउनुभयो । “लोप हुदै गएको घुम्ति गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उहाँले भन्नुभयो “जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।”
यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्षको पहाडी भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमइरहेका भेडा, बाख्रा, घोडा, गाईभैसीका बथानहरु थप आकर्षण हुन् ।
शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले बताउनुभयो । बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रंगीबिरंगी फुलेका बुकीमा रमाउन पाउँदा उमंगको अनुभूति हुने उहाँले सुनाउनुभयो ।
ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिडेपछि पुगिने गर्पाछेडा पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ । किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकाडाडा, रासबन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।
पाहुनाका लागि ‘गोठ स्टे’
गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठस्टे’ सञ्चालन गरिएको छ । होटल र होमस्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठस्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ । ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताउनुभयो ।
“नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो,” उहाँले भन्नुभयो “जंगली जनावर, पंक्षी, पहाडी भूगोल, वनजंगल, हिमाल, सुर्योदय र सुर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जिवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।”
गाईभैसीको दूध, दहि, मोही, घ्यु, भेडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताउनुभयो । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ । बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ ।
चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति रु. दुई हजार शूल्कमा २ छाक खाना, २ छाक खाजा र सुत्न पाइन्छ । शुक्रबार, शनिबार र बिदाका दिन १४÷१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुदैन् । गोठ स्टेमा २० जनाको क्षमता छ ।
ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको बताउनुभयो । ढोरपाटन आउने पर्यटकको बसाई लम्बाउने गर्पाछेडा, किटिनी डाडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उहाँले बताउनुभयो ।
चीनको युवा बेरोजगारी दरमा वृद्धि
बेइजिङ, १ भदौ (रासस / एएफपी) : चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।
राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो । एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ ।
यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।


ललितपुरको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुँदै
ललितपुर, १ भदौ : ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ ।
जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ । जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।
भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उहाँले बताउनुभयो । “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ । अबको केही दिनमा काम सुरु हुन्छ”, सूचना अधिकारी पाठकले भन्नुभयो । जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ ।
पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी
सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।
उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”
खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित
खोटाङ, १ भदौ : पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।
पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताउनुभयो । उहाँको खेतको सिरानदेखि पहिरो गएको छ ।
“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उहाँले भन्नुभयो, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।”
पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उहाँको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ ।
आर्थिक वर्ष २०८०÷८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो ।
यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।

उज्यालो पर्खिरहेको निसेलढोर
ढोरपाटन (बागलुङ), १ भदौ : पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो ।
पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमा छ ।
पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताउनुभयो । अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाउनुभयो । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको त्र बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ ।
विकले भन्नुभयो, “बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।”
स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताउनुभयो । बजारमा मट्टीतेल पाइन छोडेको उहाँको भनाइ छ ।
“घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन”, घर्तीले भन्नुभयो, “जसोतसो बसिरहेका छौँ ।”
निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताउनुभयो । ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उहाँले बताउनुभयो । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ ।
जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता
काठमाडौँ, ३२ साउनः वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले आज काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग कम गर्ने, सामानको पुनःपयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।
वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । “हरित तीजका लागि महिलाले परिवर्तनको नेतृत्व गरिरहेका छन्”, उहाँले भन्नुभयो,“ साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिङ द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।”
पचास जना अभियन्ताहरुमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहनुभएको छ ।
त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तन्को असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।
संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् ।
अभियान घोषणा कार्यक्रममा अभिनेत्री रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।”
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताउनुभयो ।
अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडकभडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि सहभागी गराइएकोमा खुशी व्यक्त गर्नुभयो । अभियन्ता सविना काफ्लेले वातावरणलाई ख्याल राखेर चाडपर्व मनाईनुपर्ने धारणा राख्नुभयो ।
अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभयो ।





















