गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट
काठमाडौँ, ३२ साउन : गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रसंशा गर्नुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गर्नुभयो ।
सो अवसरमा संयोजक हाम्डीले सङ्क्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसङघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उहाँले उल्लेख गर्नुभयो ।
सोलुखुम्बुको थामेमा भीषण बाढी
सोलुखुम्बु, ३२ साउनः यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो । थामे गाउँमा बाढीले क्षति पु-याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।
सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री निर्वाचित
बैङ्कक, ३२ साउन (रासस/एएफपी) : थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।
फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।
पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसपहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ ।
राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो ।
पेटोङ्टार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बन्नुभएको छ ।
सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो ।
संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।
सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आउनुभएको थियो र गत वर्षको आम चुनावको दौडान उहाँ चुनावी अभियानमा लगभग निरन्तर उपस्थित रहनुभएको थियो ।
विद्यार्थीद्वारा शिक्षकको निगरानी !
टीकापुर , ३२ साउन (रासस) : कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।
विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको हो । विद्यालयले कक्षा लिडर (मनिटर) ले यो रेकर्ड राख्नुपर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न लग बुक दिएको छ । विद्यालयमा गत शैक्षिक शत्रबाट यो अभ्यास थालिएको हो ।
कक्षा ८ का मनिटर नमूना पौडेल कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि प्रधानाध्यापकलाई बुझाउने गरेको बताउनुभयो । ‘‘शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ’’, उहाँले भन्नुभयो, ‘‘हरेक शिक्षक आएको र गएको समय लेख्छौँ ।’’
शिक्षक कक्षाकोठामा प्रवेश गरेको र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ६ का मनिटर मनोज चौधरीले बताउनुभयो । ‘‘हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ’’, उहाँले भन्नुभयो, ‘‘शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन् । हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ ।’’
हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएकोे जानकारी दिनुभयो । ‘‘केही शिक्षकहरु १० मिनेट ढिलो कक्षामा प्रवेश गर्ने, ५ मिनेट पहिल्यै कक्षा छोड्ने गरेको देखिन्थ्यो, यसैलाई रोक्न निगरानी गर्ने जिम्मा विद्यार्थीलाई दियौँ’’, उहाँले भन्नुभयो, ‘‘शुरुमा विद्यार्थीले निगरानी गर्ने भनेपछि केही शिक्षकले यस्तो शैली मन पराएका थिएनन् । यसले शैक्षिक सुधारमा सघाउँछ । सबै शिक्षकलाई जिम्मेवार बनाउँछ भनेपछि शिक्षक साथीहरु तयार हुनुभयो ।’’
विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उहाँको भनाइ छ । ‘‘इमानदार शिक्षकलाई यस कार्यले खुशी दिएको छ । कक्षाकोठामा नियमित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्न शिक्षकले लापरवाही गर्न पाइदैन भन्ने हो’’, प्रअ चौधरीले उहाँ भन्नुभयो, ‘‘४५ मिनेट पूरा विद्यार्थीलाई दिनुपर्छ भन्ने हो । समय ख्याल नगरे पठनपाठन र नियमित क्रियाकलापमा असर पार्छ ।’’ प्रअ चौधरीका अनुसार सुरुमा शिक्षकको मूल्याकंन विद्यार्थीले गर्ने भनी शिक्षकहरुलार्ई नरमाइलो लागेको थियो तर सकारात्मक पक्ष, समय पालना नियमित हुन्छ भनी लागू गर्दा, अहिले शैक्षिक सुधार भएको छ ।
प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा
नयाँदिल्ली, ३२ साउन (रासस/एएफपी) : सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ ।
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया व्यक्तिको रगतले लतपतिएको र क्रुर शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।
नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भन्नुभयो, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।
हत्याको निन्दा गर्नका लागि हजारौँले बुधबार रातभर कोलकाताको सडकहरूमा जुलुस निकाले र मध्यरातमा भारतको स्वतन्त्रता दिवसको सुरुआतका साथ मैनबत्तीको उज्यालोमा जुलुस निकाले ।
इन्डियन मेडिकल एसोसिएसनले निजी अस्पतालहरूमा सबै अनावश्यक र चिकित्सा प्रक्रियाहरू निलम्बन गर्दै शनिबार २४ घन्टाका लागि ‘देशव्यापी सेवाहरू बन्द गर्न’ आह्वान गरेको छ ।
शिक्षण अस्पतालको सेमिनार हलमा हत्या गरिएकी चिकित्सक फेला परेको र उनी लामो सिफ्टका क्रममा केही समयका लागि आराम गर्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । अदालतमा निवेदनमा पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको आशङ्का गरेका छन् ।
अत्याचार
प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने एक व्यक्तिलाई हिरासतमा लिएको छ । राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।
भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या हो । एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बलात्कारको घटना रिपोर्ट गरिएको छ ।
धेरैका लागि आक्रमणको विभत्स प्रकृतिले सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग तुलना गरेको छ ।
ती महिला महिलाविरुद्ध यौन हिंसाको सामना गर्न सामाजिक रूपमा रूढिवादी मुलुकको असफलताको प्रतीक बनिन् । उनको मृत्युपछि दिल्ली र अन्य स्थानमा ठूलो मात्रामा कहिलेकाहीँ हिंसात्मक प्रदर्शनहरू भए ।
दबाबमा सरकारले बलात्कारीहरूका लागि कठोर सजाय र बारम्बार अपराध गर्नेहरूका लागि मृत्युदण्डको व्यवस्था गर्यो ।
धेरै नयाँ यौन अपराध पनि सुरु भए । यसमा पछ्याउने पनि सामेल छ । साथै बलात्कारको उजुरी दर्ता गर्न अस्वीकार गर्ने अधिकारीहरूलाई अब जेल सजाय हुनसक्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार महिलाविरुद्ध ‘राक्षसी’ कृत्य गर्नेहरूलाई तत्काल सजाय दिन माग गर्नुभयो । “हाम्रा आमा र दिदीबहिनीमाथि भएको अत्याचारप्रति आक्रोश छ”, उहाँले भन्नुभयो, “महिलाविरुद्धका अपराधको शीघ्र छानबिन हुनुपर्छ, महिलाविरुद्धको राक्षसी व्यवहारलाई कडा र तत्काल सजाय दिनुपर्छ ।”
चिकित्सकहरूले स्वास्थ्यकर्मीहरूलाई हिंसाबाट बचाउन केन्द्रीय संरक्षण ऐन, विधेयक लागु गर्न माग गरेका छन् ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उहाँको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउनुभयो । जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उहाँले बताउनुभयो ।
नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा
मध्यविन्दु (नवलपरासी), ३२ साउनः बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।
सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो । लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो ।
सीका नेवाः गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो । गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष पनि लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “गाईजात्रामा बजाउनुपर्ने धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तािलम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तन्तरण गर्दैछौँ”, उहाँले भन्नुभयो ।
बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताउनुभयो । नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने चलन रहेको जानकारी उहाँले दिनुभयो ।
दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली
फिक्कल (इलाम), ३२ साउनः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।
प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।
लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताउनुभयो । “पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ, “उहाँहरु समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ”, अध्यक्ष केरुङले भन्नुभयो ।
वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्याइने उहाँले बताउनुभयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने बताउनुभयो ।
खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ ।
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरु १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन्भने तीमध्ये तीन करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् ।
म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण
म्याग्दी, ३२ साउनः आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् ।
झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले रु २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताउनुभयो ।
मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो ।
यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका–८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका–४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ ।


















