पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’
म्याग्दी, ३१ साउनः समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, चराचुरुङ्गी र जनावरहरुको आवाज ।
यी दृश्य हुन्–पूर्वी रुकुम, बागलुङ्ग र म्याग्दी जिल्लाको एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको हो । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको फाँट र पाखा बुकी फुलेर रङ्गिएपछि रमणीय बनेको छ । लेकमा फुल्ने फूलहरुलाई समग्रमा बुकीका नामले चिन्ने गरिन्छ ।
ढोरपाटन पर्यटन प्रवद्र्धन विकास संस्थाका सचिव जीवनकुमार पुनले वन्यजन्तु र घरपालुवा जनावरको पोषिलो आहारा बुकीले पर्यटक लोभ्याउन थालेको बताउनुभयो । “असारदेखि भदौसम्म अन्य ठाउँमा पर्यटकको ‘अफसिजन’ भए पनि ढोरपाटनमा ‘सिजन’ हो,” उहाँले भन्नुभयो “केही वर्षअघिसम्म स्थानीय स्तरमा सीमित ढोरपाटनको बुकीको सौन्दर्य अहिले पर्यापर्यटनको माध्यम बनेको छ ।”
सडक, यातायात, होटल तथा घरबास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताउनुभयो ।
शुक्रबार, शनिबार र छुट्टीको दिन देशका विभिन्न सहरबाट ढोरपाटन घुम्न पर्यटकहरु आउने गरेका छन् । ढोरपाटनका विभिन्न ठाउँमा पाँच दिन घुमेर फर्किएका काठमाडौँका नवीन खत्रीले सिकार पर्यटनका लागि मात्र नभएर प्रकृतिप्रेमीहरुका लागि पनि ढोरपाटन उपयुक्त गन्तव्य भएको बताउनुभयो ।
“शान्त वातावरणमा रङ्गीबिरङ्गी फूल, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरुमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ,” समुन्द्री सतहदेखि चार हजार १० मिटर उचाइमा रहेको गर्पाछेडा क्षेत्रमा भेटिएका खत्रीले भन्नुभयो, “थरीथरीका फूलले रङ्गिएको ढोरपाटन बर्खायाममा झनै रमाइलो छ ।”
ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । “बर्खा सिजनमा ढोरपाटनको आकर्षण नै बुकी हो,” उहाँले भन्नुभयो “यहाँ पाइने फूलहरुको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।”
संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरक फरक फूलको तस्बिर र स्थानीय नाम सङ्कलन गर्नुभएको छ । दहीठेकी, राक्षस, बिसौरी, बोक्सी, राके, दूधे, ओठे, पुतली, नाकेफुली, फट्याङ्ग्री, प्याउली, मदाने र कापचुच्चे स्थानीय नाम गरेका फूलको तस्बिर सङ्कलन भएको छ ।
सङ्कलन भएका तस्बिरहरुलाई सम्बन्धित विज्ञहरुको सहयोगमा अङ्ग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पँगेनीले बताउनुभयो । आरक्षले फूलहरुलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्र्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ ।
पोषिलो घाँस खुवाउन म्याग्दी, बागलुङ र पूर्वी रुकुमका किसानले ढोरपाटनको बुकीमा गाईभैँसी, भेडाबाख्रा र घोडा चराउन गोठ लगेर गएका छन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान धनबहादुर कायतले बताउनुभयो ।
ढोरपाटन सिकार आरक्ष सदाबहार पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको छ । ऋतुअनुसार यहाँ फरक फरक आकर्षण छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार २०८१ को साउन महिनाको १ देखि २८ गतेसम्म पाँच सय ८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका छन् । आर्थिक वर्ष २०८०÷८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्यापर्यटन शीर्षकमा रु १९ लाख ३३ हजार सात सय राजस्व सङ्कलन भएको छ ।
ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति रु एक सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार पाँच सय र अन्य देशकाले रु तीन हजारका दरले शुल्क तिर्नुपर्छ ।
ढोरपाटन सिकार आरक्षका प्रमुख वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार गत आर्थिक वर्षमा रु चार करोड ७१ लाख दुई हजार छ सय २८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो । (रासस)
कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता
मनाङ, ३१ साउन : “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले विगत सम्झिँदै भन्नुभयो ।
जङ्गलमा गएर सल्लाका रुख काटी फल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको उहाँ बताउनुहुन्छ । “जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरुप पनि फेरिन थालिसक्यो”, उहाँ भन्नुहुन्छ । पहिले माटो र काठले बनेको घरहरु अहिले कङ्क्रिटको मात्र बन्न थालेका छन् ।
पानी नै नपर्ने मनाङमा अहिले पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ”, उहाँले भन्नुभयो, “हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गयो ।”
करिब पाँच वर्ष अगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । तर, अहिले पुराना घर मासिँदै गएको छ । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौैँरीको सिङ्ले बाँधेर कडा बनाइन्थ्यो ।
पुराना घर संरक्षण गर्नुपर्ने हो । तर, जलवायु परिवर्तनसँगै यहाँ पानी पर्न थालेको अनुमान स्थानीय गर्छन् । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङ भन्नुहुन्छ, “पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक छ । तर, पहिले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य छौँ ।” गतवर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उहाँले बताउनुभयो ।
पहिले एकै ठाउँमा झुप्पा परेका घर बनेका हुन्थे । तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दार्जे गुरुङ भन्नुहुन्छ, “यहाँका झुप्प परेका घर पर्यटकको रोजाइ थियो । अहिले उत्तिकै आकर्षक मानिन्छन् । तर, मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको छ । पुराना घर अस्तित्वको रुपमा रहेका मनाङका पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेका छौँ ।” पर्यटकले यहाँका घरका बिममा याकका सिंङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो ।
माटो र काठका घरले थेग्न नसकेपछि यहाँ जस्ता र सिमेन्ट प्रयोग गरी घर बनाउन थालिएको हो । मौसमी परिवर्तनले कङ्क्रिटको घर बनाएर हिटर जडान गर्न बाध्य बनाएको गाउँले बताउँछन् । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउनुहुन्छ ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेञ्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।”
मनाङको मौलिकता संरक्षणका लागि प्राथमिकता दिन गाउँवासीलाई अनुरोध गरिएको उहाँ बताउनुहुन्छ । नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घरहरु छन् । तर, पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ ।
मनाङको घरबास सञ्चालन भएको क्षेत्र नासोँ गाउँपालिका–८ ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरकोस्वरुप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङ भन्नुहुन्छ, “सुरक्षित बसोबासका लागि पनि यहाँको घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य छन् । काठ र माटो प्रयोग घट्दै गएको छ । पर्यटकीय क्षेत्र भएकाले स्वरुप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको छ ।”
जलवायु परिवर्तनले यहाँ अनावृष्टि र अतिवृष्टि हुने क्रम बढेको छ । यसले गर्दा यहाँ बाढीपहिरो, पानी पर्ने क्रम बढ्दो छ । यहाँका ताचै, तिल्चे, थोंचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङ गाउँ, खाङ्सार लगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् ।
उपनिर्वाचनको तयारी
सुदूरपश्चिम, ३१ साउनः देशभर रिक्त रहेका पालिका तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र वडाअध्यक्षको आगामी मङ्सिर महिनामा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ ।
प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले नगरपालिका र गाउँपालिका तहमा विभिन्न कारणले रिक्त रहेका पदमा आगामी मङ्सिरमा उपनिर्वाचन गराउने तयारी सुरु गरिए पनि निर्वाचनको मिति निश्चित गर्न बाँकी रहेको जानकारी दिनुभयो ।
यस्ता पदहरु रिक्त भएका कारण नागरिकलाई सेवा प्राप्तिमा असुविधा उत्पन्न भइरहेकाले उपनिर्वाचनमार्फत पदपूर्तिका लागि निर्वाचन आयोगले आन्तरिक तयारी गरेको जनाइएको छ । धनगढीमा बुधबार आयोजित वार्षिक समीक्षा कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी भट्टले अनलाइन मतदाता नामवली सङ्कलन तथा नाम दर्ता कार्य, मतदाताको ठाउँसारी, मतदाताको त्रुटि सच्च्याउने, मृत्यु भएका मतदाताको मतदाता नामावलीबाट नाम हटाउने, मतदाता शिक्षा कार्यक्रम, निर्वाचन शिक्षा तथा सूचना केन्द्रको अवलोकन कार्यक्रम र यस्ता गतिविधिमा सरोकारवालाको भूमिकालगायत विषयमा प्रस्तुति गर्नुभयो ।
सुदूरपश्चिमको कैलाली जिल्लामा वर्ष २०८०/८१ मा एक हजार १२ नयाँ मतदाताको नामावलीमा नाम दर्ता भएको, एक सय ५७ को ठाउँसारी भएको, दुई सय ४५ को त्रुटि सच्च्याइएको र मृत्यु भएका दुई हजार दुई सय ४२ मतदाताको मतदाता नामावलीबाट नाम हटाइएको जानकारी उहाँले दिनुभयो ।
प्रतिनिधिसभाको पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा गएको वैशाखसम्ममा जम्मा पाँच लाख ३६ हजार सात सय ७० मतदाता पुगेका छन् ।
कार्यक्रमका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले मताअधिकारबाट कुनै पनि मतदाता वञ्चित हुन नपाउनेगरी निर्वाचन कार्यालयले समयमै आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो । सुदूरपश्चिम प्रदेशको हकमा बाजुरा जिल्ला, स्वामीकार्तिक गाउँपालिका उपाध्यक्ष पद रिक्त रहेको निर्वाचन आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बझाङ जिल्ला सुर्मागाउँपालिका–४, डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका–६, दार्चुला जिल्ला दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वडाअध्यक्ष पद रिक्त रहेको छ । देशभर नगरपालिकाका प्रमुख÷उपप्रमुख, गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्ष र वडाअध्यक्ष गरी ३४ पद रिक्त रहेको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ बमोजिम यसरी रिक्त रहेका पदहरुको पदावधि एक वर्षभन्दा बढी बाँकी रहेको अवस्थामा निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले मिति तोकेर उपनिर्वाचनद्वारा रिक्त पदको पदपूर्ति गरिनुपर्ने व्यवस्था छ ।
अष्ट्रेलियामा बेरोजगारी वृद्धि
क्यानबेरा, ३१ साउन (रासस/सिन्ह्वा) : अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ । ‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने सङ्केत पछिल्लो तथ्याङ्कले देखाएको छ ।
एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।
सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।
यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ ।
भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो
चौतारा (सिन्धुपाल्चोक), ३१ साउनः यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–७ सानोसिरूवारी स्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । जिल्ला सदरमुकाम चौताराबाट नजिकको प्राकृतिक पर्यटकीय स्थलका रुपमा रहेको भूतछाँगामा सार्वजनिक बिदाका दिन सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका हुन् ।
पैदलयात्रा तथा साइकलिङका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको भूतछाँगा राजधानी काठमाडौँबाट ९३ किलोमिटर र चौताराबाट छ किलोमिटर दूरीमा पर्दछ । अन्यत्रबाट भ्रमण, काम वा अध्ययनका सिलसिलामा चौतारा आएकाको प्रमुख रोजाइ बन्ने गरेको स्थानीय राजिव दुलालले बताउनुभयो । यहाँ सिन्धुपाल्चोकसहित काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौँ र ललितपुरबाट पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो ।
आफू पहिलोपटक यहाँ पुग्दा भूतछाँगा प्राकृतिक रुपमा सुन्दर र मनमोहक रहेको स्थानीय तेजबहादुर अधिकारीले बताउनुभयो । यहाँ पर्यटकीय सम्भावना रहेको भन्दै स्थानीय सरकारले पर्यटन प्रवर्द्धनमा योजनाबद्ध रुपमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पर्यटन प्रवर्द्धन गरी स्थानीयस्तरमा स्वरोजगारका अवसर सिर्जना गरी आयआर्जन वृद्धि गर्न सकिने उहाँको भनाइ छ ।
भूतछाँगामा अन्य साहसिक पर्यटनका गतिविधिसमेत सञ्चालन गर्न पर्याप्त सम्भावना देखिएकाले यसतर्फ सरोकार भएकाको ध्यान जान आवश्यक रहेको अधिकारीले बताउनुभयो ।
काठमाडौँबाट एक दिनमा पुगेर फर्कन सकिने, हाइकिङ वा साइक्लिङ गर्न उपयुक्त स्थान भूतछाँगामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको स्थानीय भुवन घलेले बताउनुभयो । पर्यटकीय गतिविधि बढ्न थालेपछि स्थानीय व्यवसायीले यहाँ रिसोर्ट सञ्चालन गरेका भन्दै थप पूर्वाधार निर्माण गरी आर्थिक गतिविधि वृद्धि गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो ।
बराहक्षेत्रमा सफाइ अभियान सुरु
धरान (सुनसरी), ३१ साउन : सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको बताउनुभयो । अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनुपर्नेमा सबै लागिपर्नुपर्छ । ”
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आप्mनो घर अगाडि फोहर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ । अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागिता छ ।
उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
म्याग्दी, ३१ साउन : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु. २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरुलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर थापाले जानकारी दिनुभयो ।
भोजपुरका किसान बङ्गुरपालन तर्फ आकर्षित
टक्सार (भोजपुर), ३१ साउन : जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी रु १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गर्नुभएको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताउनुभयो ।
किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडाँैसमम बिक्री हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सबै खर्च कटाएर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उहाँले बताउनुभयो । उहाँले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पाल्नुभएको छ । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।
खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गर्नुभएको छ । उहाँका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उहाँले सुनाउनुभयो । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गर्नुभएको छ । उहाँले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थाल्नुभएको हो ।
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
“शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भन्नुभयो ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।
“नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।”
पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।
व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।
नेपाल–पाकिस्तान मत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले रु चार करोड ३० लाख बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
ढोरपाटन (बागलुङ), ३० साउन : बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।
गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।
सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।
सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।
नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।
“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”
महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।




















