सोमबार, ०८ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J55KJR19G4JYFBZQ5ATEFGNV.png

सामाजिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति

_


इनरुवा, २९ साउन : बङ्गलादेशमा भड्किएको हिंसाको असर पर्न नदिन र सामाजिक सद्भाव कायम राख्न यहाँका सरोकार राख्ने पक्षहरुबीच सहमति भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सर्वपक्षीय बैठक गरी विभिन्न धर्मका धर्मगुरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलगायतबीच छलफल गरेको थियो । बैठकमा धार्मिक सहिष्णुता कायम राख्न आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।   
 
बैठकले धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न सबैपक्षलाई सार्वजनिक आह्वानसमेत गरेको छ । परम्परागत चाडपर्व मनाउने बाहेक प्रशासनको अनुमतिबिना धार्मिक भेला तथा सभासमेत नगर्ने सहमति भएको प्रजिअ तिवारीले बताउनुभयो ।   
 
बैठकले सुनसरीको धरानलगायतका क्षेत्रमा पछिल्लो समय भइरहेको गतिविधिबाट सामाजिक सद्भाव खलबलिन नदिन आगामी साता धार्मिक सद्भाव ¥याली निकाल्ने निर्णयसमेत गरेको छ । बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायमाथि भइरहेको आक्रमण र अत्याचार तत्काल बन्द गर्न मुलुकका विभिन्न ठाउँमा प्रदर्शन भएपछि आह्वान गरिएको बैठकमा प्रशासनले सीमा क्षेत्रमा विशेष निगरानी गर्ने तथा कुनै पनि तेस्रो मुलुकका नागरिकको प्रवेशमा कडाइ गर्ने सहमति भएको छ ।  


_

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J559ANM7CNCX3C3HP9YFAPJB.jpg

भारत र अष्ट्रेलियाबीच समुद्री सुरक्षा वार्ता

_


नयाँ दिल्ली, २९ साउन (रासस / एएनआई) : भारत र अस्ट्रेलियाबीच छैटौँ सामुद्रिक सुरक्षा संवाद मङ्गलबार क्यानबेरामा सम्पन्न भएको विदेश मन्त्रालयले जनाएको छ । भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेश मन्त्रालयको निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सहसचिव मुआनपुई साइआवीले गर्नुभएको थियो भने अष्ट्रेलियाली प्रतिनिधिमण्डलको नेतृत्व दक्षिण एसिया तथा मध्य एसिया डिभिजनका प्रथम सहायक सचिव सारा स्टोरीले गर्नुभएको थियो ।     
      
दुवै पक्षबीच समावेशी विकास र विश्वव्यापी कल्याणका लागि अनुकूल सुरक्षित समुद्री वातावरण कायम राख्ने तरिकाहरूबारे छलफल भएको छ ।     
      
उहाँहरुले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षा वातावरण, मानवीय सहायता र विपद् राहत (एचएडीआर) समन्वय, क्षेत्रीय र बहुपक्षीय संलग्नता र समुद्री स्रोतहरूको दिगो प्रयोगलगायत आपसी चासोका विभिन्न विषयहरूमा विचार आदानप्रदान गर्नुभयो ।     
      
दुवै पक्षले यी क्षेत्रहरूमा आफ्नो द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने तरिका र साधनबारे पनि छलफल गर्नुभयो । वार्ताको अर्को चरण पारस्परिक रूपमा सुविधाजनक मितिमा नयाँ दिल्लीमा आयोजना गर्न दुई देश सहमति भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 


_


Subscribe to JawaafTV

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J558DD03KSBZTWKXRZ8QM06Y.jpg

विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी

_


स्वर्गद्वारी (प्युठान), २९ साउनः पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।     
     
जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो , “मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ । ”     
     
विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाउनुभयो । उहाँले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किनुभएको हो । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुन्नुभएको थियो ।     
     
जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब रु तीन लाख बराबर बिक्री गर्नुभएको हो । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउनुभएको छ भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गर्नुभएको छ ।     
     
जिसी कृषि फार्मका रूपमा रु ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल रु आठ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।     
     
जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । “गत वर्ष सबै खर्च कटाएर वार्षिक रु छ लाख नाफा भएको छ”, जिसीले भन्नुभयो, “काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।” विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ । जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गर्नुभएको छ । उहाँले वार्षिक आगामी वर्ष रु सात लाख बचत हुनेगरी उत्पादनमा लाग्नुभएको छ ।     
     
जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि रु दुई लाख ७० हजार अनुदान पाउनुभएको थियो । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन । प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उहाँको भनाइ छ ।  


_

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J55828T5FJTXPH7GS0MJB72X.jpg

ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’

_


ओखलढुङ्गा, २९ साउनः गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा 'फ्रिज' भएको हो ।

कुल रु ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा 'फ्रिज' भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट 'फ्रिज' भएको हो । 

“समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो”, जोशीले भन्नुभयो, “प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौँ । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।” बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उहाँको सुझाव छ । 

सङ्घ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल रु आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ रु चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र रु एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।

गत आवमा प्रदेशतर्फ चालु बजेट रु ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत रु एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च  बर्सेनि घटेको छ । 

तथ्याङ्कमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौँ आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन् ।


_


प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J557T20DEK7RYZCR8HX53TB0.jpg

‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई

    

_

काठमाडौँ, २९ साउनः साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ ।  नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो । साहित्यकार तथा लेखक डा पुरण राईले आफ्नी आमाको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ ।     
     
साहित्कार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उहाँकी आमा विमला राईलाई नगद रु ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा पुरण राईले जानकारी दिनुभयो ।     
     

Subscribe to JawaafTV


भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा राईले बताउनुभयो । नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याउनुभएको योगदानस्वरूप उहाँकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय गरिएको हो ।     
     
सम्मानित हुनुहुने विमला राई झापा घर भइ हाल काठमाडौ बस्दै आउनुभएको छ । उहाँलाई प्रदान गरिने पुरस्कार घोषणा कार्यक्रममा कानुन व्यवसायी एवं साहित्यकार किवाहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतको उपस्थिति रहेको थियो ।     
     
साहित्यकार डा पुरण राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधा जस्ता कृति प्रकाशित छन् ।     


_

 

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J54WHG3KHQBS6507218AH8WN.jpg

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै

Advertisement
 


   
कास्की, २९ साउनः पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।     
     
“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।     
     
‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।     



     

Subscribe to JawaafTV on YouTube


कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”     
     
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो । सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो । 


Advertisement
    

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J54S1M00Y46B4DQE0XQZBTF2.jpg

झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा

भद्रपुर (झापा), २९ साउन : झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।     
     
आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।     
     
गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । “आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उहाँले भन्नुभयो ।     
     
आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ ।     
 


Subscribe to JawaafTV on YouTube


प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J54RA6AMYPY5XX50PDR194X0.jpg

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

_

काठमाडौँ, २९ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।     
     
आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।     
     
त्यसैगरी विभागले आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।     


_


प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://jawaaf.com/storage/01J538AAAW7XBB26GM1GQBJ37C.jpg

कृष्णसारको सङ्ख्या बढ्यो

advertisement

गुलरिया (बर्दिया) २८ साउनः गुलरिया नगरपालिका–२ को खैरापुरको (पटाहा)मा कृष्णसारको सङ्ख्या बढेको छ । गत वर्षसम्म एक सय ९७ वटा कृष्णसार रहेकामा २७ वटा थपिएर यस वर्ष २२४ पुगेको कृष्णसार संरक्षण कार्यालयले जनाएको छ । 

नियमित गस्ती, प्रभावकारी अनुगमन, घाँसे मैदानको व्यवस्थापन, तारजाली तथा मर्मतका कारण कृष्णसारको सङ्ख्या बढेको कृष्णसार व्यवस्थापन परिषद्का अध्यक्ष दीपेन्द्र यादवले बताउनुभयो । 

विसं २०३२ सालमा अस्थायी चौकी खडा गरी कृष्णसार संरक्षणको सुरुआत गरिएको थियो । चितुवा, हुँडार, स्याललगायतको आक्रमणका कारण कृष्णसारको सङ्ख्या घट्दै गएपछि संरक्षण सुरु गरिएको थियो । 


advertisement


Subscribe to JawaafTV on Youtube

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://jawaaf.com/storage/01J533GQHP3Q6V9XKF6VXNXV08.jpg

गाडीमा कोचिएरै यात्रा, ट्राफिक छल्छन् चालक

 

adv.

   
गण्डकी, २८ साउनः पोखरादेखि तनहुँको दमौलीलगायत छोटो दूरीका गन्तव्यमा दैनिक सयौँ गाडी ओहोरदोहोर गर्छन् । प्रदेश राजधानीमा बढ्दो जनघनत्वको तुलनामा सार्वजनिक यातायातको गुणस्तर भने सुधार हुन सकेको छैन । सर्वसाधारण यात्रु थोत्रा गाडीमा कोचिएरै यात्रा गर्न बाध्य छन् । पर्यटकीय राजधानीसमेत रहेको पोखरामा २० वर्ष नाघेका सवारी साधन निर्वाध चलिरहेका भेटिन्छन् ।     
     
यान्त्रिक अवस्था ठीक नभएका (थोत्रा) सवारी साधन सडकमा गुड्दा प्रदूषण, दुर्घटनाको जोखिम बढ्नाका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको छ । बिहान र बेलुका कार्यालय छुट्ने समयमा पोखराको सार्वजनिक यातायात अस्तव्यस्त देखिन्छ । घुमफिर, किनेमेल आदिका लागि पोखरा आएका सर्वसाधारण पनि साँझ गाडीमा कोचाकोच गरेर घर फर्कनुपर्ने अवस्था छ । बागलुङ बसपार्कदेखि दमौलीका लागि छुट्ने बस पृथ्वीचोकसम्म पुग्दा यात्रु खचाखच भइसकेका हुन्छन् ।     
     
बसका चालकले भने यात्रु चढाउन छोड्दैनन् । बसमा सिट नभए पनि ठाउँठाउँमा रोक्दै यात्रु डाकिरहेका हुन्छन् । ट्राफिक प्रहरी भेटिँदा बसको ढोका बन्द गर्छन् । उभिएका यात्रुलाई भुइँतिर निहुरिएर बस्न अ¥याउँछन् । अर्को विकल्प नभए पनि यात्रु पनि घर जाने हतारले गाडीमा उभिन तयार हुन्छन् । यात्रु चढ्न र झर्न पनि मुस्किल हुनेगरी बसले यात्रु ओसारिरहन्छन् । कोचाकोच हुनेगरी यात्रु नचढाउन गरेको आग्रहलाई चालक र सहचालकले टेर्दैनन् । उल्टै नमीठो जवाफ फर्काउँछन् ।     
     
दिउँसोको समयमा कम यात्रु लिएर हिँड्नु परेकाले साँझ–बिहान सिट सङ्ख्याभन्दा बढी यात्रु चढाउनुपर्ने बाध्यता रहेको उनीहरु सुनाउँछन् । ट्राफिक प्रहरीले बेवास्ता गर्ने भएकाले चालकलाई नियम मिच्न पनि सजिलो छ । दमौलीका लागि छुट्ने बसले अधिकांश स्थानीय यात्रुलाई सेवा दिँदै आएको पोखरा–दमौली चल्ने बसका सहचालक दीपक परियारले बताउनुभयो ।     
     
JawaafTV

दमौली जाने बसमा पोखराकै चलाउँथे, विजयपुर, अर्घौं, तालचोक, भण्डारढिक, गगनगौँडालगायत ठाउँमा पुग्ने यात्रुलाई सेवा दिँदै आएको उहाँको भनाइ छ । पोखरा–मुग्लिन राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलाइले पनि सो क्षेत्रको आवातजावात कठिनाइपूर्ण रहेको उहाँले बताउनुभयो ।     
     
 जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ हबल्दार आशिष क्षेत्रीले कुनै पनि सवारी साधनले सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्न नपाइने बताउनुभयो । पोखरा–दमौली, पोखरा–बेगनासलगायतका रुटमा चल्ने सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको गुनासो आइरहेकाले ट्राफिक अनुगमनलाई कडाइ गरिने उहाँको भनाइ छ । “लामो दूरीका गाडीमा त यो समस्या छैन”, उहाँले भन्नुभयो, “पोखरा महानगर र बाहिरका नजिकका गन्तव्यसम्मको सार्वजनिक यातायातमा देखिएको समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार हुनुपर्छ ।” स्थानीय रुटमा चल्ने सवारी साधनले विशेष समय र परिस्थितिमा एक÷दुई यात्रुलाई उभ्याएर यात्रा गराउँदा ट्राफिक प्रहरीले व्यवहारिता हेर्ने गरेको वरिष्ठ हबल्दार क्षेत्रीले बताउनुभयो ।     
     
 “खचाखच यात्रु उभिएरै यात्रा गरेको अवस्थामा ट्राफिक प्रहरीले कारबाही गर्छ”, उहाँले भन्नुभयो, “ट्राफिक व्यवस्थापन र अनुगमनलाई अझ चुस्त पार्छौँ ।” उहाँले ट्राफिक प्रहरीको आँखा छलेर ट्राफिक नियम उल्लङ्घन नगर्न यातायात व्यवसायी र सवारी चालकहरुलाई आग्रह गर्नुभयो । तोकिएको सिट सङ्ख्याभन्दा बढी यात्रु बोक्दा गाडी दुर्घटनाको जोखिम बढी हुने उहाँको भनाइ छ । पोखरा–मुग्लिन सडक निर्माणको चरणमा रहेकाले उक्त सडकमा बढी यात्रु बोकेर सवारी साधन गुडाउँदा यात्रा कष्टकर हुने र दुर्घटनाको खतरा रहने ट्राफिक प्रहरीको भनाइ छ ।     
     
 जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यान्त्रिक धेरै पुराना र प्रदूषणयुक्त सवारी साधन सञ्चालनमा कडाइ गरिएको बताउनुभयो । यान्त्रिक हिसाबले सही अवस्थामा नरहेका धेरै पुराना सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढी हुने उहाँले उल्लेख गर्नुभयो । “पुराना सवारी साधनबाट वायु र ध्वनी प्रदूषण पनि बढी हुन्छ, सवारी व्यवस्थापनमा पनि असहजता ल्याउँछ”, प्रहरी निरीक्षक शर्माले भन्नुभयो ।     
     
 गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा दर्ता भई २० वर्ष नाघेका झण्डै चार सय सवारी साधन छन् । प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ ले समेत २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाए पनि कतिपय सवारी धनीले अटेर गरी त्यस्ता सवारी साधन सञ्चालन गरिरहेको मन्त्रालयले जनाएको छ । बीस वर्ष पुराना सवारी साधन सञ्चालन गरेमा प्रदेशको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ मा भएको व्यवस्थाअनुसार कारबाही हुने व्यवस्था छ । मन्त्रालयले २० वर्ष नाघेका सवारी साधनको लगतकट्टा गरी दर्ता खारेजीको प्रक्रियामा आउन सवारी धनीलाई अनुरोध गर्दै आएको छ ।     
 

Adv.


प्रकाशित मितिः सोमबार, २८ साउन २०८१