बराहक्षेत्रमा सफाइ अभियान सुरु
धरान (सुनसरी), ३१ साउन : सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ ।
नगर प्रमुख रमेश कार्कीले बराहक्षेत्र चतराधाममा रहेको बराहक्षेत्र मन्दिरमा भक्तजनको चहलपहल धेरै हुने भएकोले मन्दिर क्षेत्रमा सरसफाइमा ध्यान दिएको बताउनुभयो । अभियानमा सबै नगरवासीको साथ र सहयोग आवश्यक रहेको आर्थिक विकास संयोजक तेकबहादुर गुरुङ्ले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो बराहक्षेत्र राम्रो बराहक्षेत्र बनाउनुपर्नेमा सबै लागिपर्नुपर्छ । ”
अभियानको क्रममा पछिल्लो समय डेङ्गुको सङ्क्रमण बढ्दै गएकोले नगरपालिकाले सडकको सरसफाइ र डेङ्गुको लार्भा नष्ट गर्दै आप्mनो घर अगाडि फोहर व्यवस्थापन गर्न थालिएको छ । साथै पानी जम्ने खाल्टाखुल्टीमा पानी जम्न नदिन सबै नगरवासीलाई नगरपालिकाले अनुरोध गर्दै आएको छ । अभियानमा स्थानीयवासी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, राजनीति दलका नेता ,स्थानीय सङ्घ संस्था , नेपाल प्रहरी र नगरप्रहरीलगायतको सहभागिता छ ।
उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण
म्याग्दी, ३१ साउन : पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक सहयोग र उपभोक्ताहरुको श्रमदानमा रु. २५ लाख लागतमा उक्त पुल निर्माण भएको हो ।
म्याग्दीको धवलागिरी गाउँपालिकादेखि ढोरपाटन सिकार आरक्षमा जाने पदमार्गमा निर्माण भएको २५ मिटर लामो उक्त पुलबाट छेन्तुङ, गुर्जाघाट, पाखाथरका बासिन्दाका साथै पर्यटकहरुलाई सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष बिष्णुबहादुर थापाले जानकारी दिनुभयो ।
भोजपुरका किसान बङ्गुरपालन तर्फ आकर्षित
टक्सार (भोजपुर), ३१ साउन : जिल्लाका पशुपलक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् ।
भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि तथा पशुपालन फार्म दर्ता गरी रु १६ लाख खर्चेर १० माउ पोथी र एउटा भाले बङ्गुरबाट व्यावसायिक रूपमा सुरु गर्नुभएको बङ्गुरपालनले प्रारम्भमा प्रतिफल नदिए पनि कालान्तरमा मुनाफा आर्जन गराएको बताउनुभयो ।
किसान सुवेदीले पालेका बङ्गुर तराईका विभिन्न जिल्लासँगै काठमाडाँैसमम बिक्री हुन थालेपछि उहाँ उत्साहित हुनुभएको छ । सबै खर्च कटाएर वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।
स्थानीय जातको बङ्गुरभन्दा उन्नत जातको बङ्गुरबाट चाँडो आम्दानी लिन सकिने उहाँले बताउनुभयो । उहाँले लोकल हेमसार, ल्यान्डरेस र डिउरो जातका बङ्गुर पाल्नुभएको छ । स्थानीय जातका बङ्गुरको अधिकतम वजन ५० देखि ६० किलो हुने तर उन्नत जातका बङ्गुर एक सयदेखि एक सय ८० किलोम्म हुने गरेको छ ।
खेतबारीमा रमाउने किसान सुवेदीले बङ्गुरपालन मात्र होइन, फलफूलखेती पनि गर्नुभएको छ । उहाँका खेतबारीमा एभोकाडो लटरम्म फल्न थालेका छन् । यो याममा एभोकाडोबाट रु पाँच लाख आम्दानी गर्ने लक्ष्य उहाँले सुनाउनुभयो । स्वदेशमै श्रम गरे विदेशिनु पर्दैन भन्ने सन्देश युवावर्गमा प्रवाहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यसैगरी भोजपुर नगरपालिका–९ का भोला तामाङले पनि व्यावसायिक रूपमा बङ्गुरपालन सुरु गर्नुभएको छ । उहाँले मोक्तान कृषि तथा पशुपालम फर्म दर्ता गरेर व्यवसाय थाल्नुभएको हो ।
नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
“शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भन्नुभयो ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।
“नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।”
पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।
व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।
नेपाल–पाकिस्तान मत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले रु चार करोड ३० लाख बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
ढोरपाटन (बागलुङ), ३० साउन : बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।
गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।
सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।
सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।
नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।
“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”
महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
- खेमराज गौतम
गलकोट (बागलुङ), ३० साउनः सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् ।
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् । प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो । सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महङ्गो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।
तीन वर्षअघि गण्डकी प्रदेशको रु २१ लाख र गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको रु १० लाख लागत गरी रु ३१ लाखमा बागलुङ–८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेका छैनन् ।
सुन्तलालाई बेमौसममा महङ्गो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो । सहकारीमा आबद्ध किसानले हालसम्म रु दुई लाख विद्युत् महसुल मात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका किसान खड्काले बताउनुभयो । पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छोडेको उहाँले उल्लेख गर्नुभयो ।
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक रु तीन हजार विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएका जानकारी दिनुभयो ।
“किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारीमार्फत किसानले लगानी गरेका थिए । अहिले लगानी खेर जाने अवस्था आएको छ, विद्युत् महसुल तिर्दै केन्द्र सञ्चालन गरिराख्न आर्थिक अभाव भएपछि विद्युत्को मिटर निकालियो”, अध्यक्ष खड्काले भन्नुभयो, “किसानलाई नाफा होला भनेर स्थापान गरेको केन्द्रबाट नोक्सानी मात्र भयो । अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रुपमा तापक्रम मिलाउन सिकाइएको छैन । यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ ।”
उहाँले चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निरास बनेका बताउनुभयो । बीस टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि दुई वर्षयता केन्द्र सञ्चालन नगरिएको अध्यक्ष खड्काले बताउनुभयो । केन्द्रको हालै विद्युत् काट्न किसान बाध्य भएका उहाँले जानकारी दिनुभयो ।
यस्तै, काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ । पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशङ्कर कँडेलले जानकारी दिनुभयो । उहाँले चिस्यान केन्द्र निर्माणमा रु सात लाखको जग्गा खरिद गरी तारबार गरेको बताउँदै रु ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।
“पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए । विद्युत्को महसुल मात्रै रु ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्षदेखि सुन्तला राख्न छोडेका छौँ । अहिले सहकारीले मासिक रु तीन हजार विद्युत् महसुल तिर्दै आएको छ”, कँडेलले भन्नुभयो, “किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युत्को रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ ।”
अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गर्नुभयो । चिस्यान केन्द्र बागलुङमा मात्रै नभई अन्य स्थानमा पनि सफल नभएको अध्ययन÷अवलोकनका क्रममा पाएको उहाँले बताउनुभयो ।
काठेखोला गाउँपालिका–३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युत्को महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । एक वर्ष विद्युत् महसुल काठेखोला गाउँपालिकाले तिरे पनि दुई वर्षदेखि सहकारीले महसुल तिर्दै आएको उहाँले जानकारी दिनुभयो ।
आलु राख्दा मासिक रु ४० हजारसम्म विद्युत्को रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु भण्डारण गरी राख्दा नोक्सानी भएको काठेखोला–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो । पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउ मात्रै भण्डारण गर्न थालेका उहाँले जानकारी दिनुभयो । खाने आलु बिग्रिएपछि बीउका लागि भण्डारण गरिएको बताउँदै परिमाण कम भएकाले विद्युत् महसुल तिर्न समस्या भएको विकले बताउनुभयो ।
जिल्लामा रहेका तीनवटै चिस्यान केन्द्रमा आलु र सुन्तला भण्डारण गर्दा सुरक्षित नभएको, विद्युत्को रकम बढी भएकोलगायत अवस्था आएको किसानले गुनासो गरेका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी
काठमाडौँ, ३० साउन : प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ ।
कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको थियो ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

काठमाडौँ, ३० साउनः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।
खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा
गुल्मी, ३० साउनः रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो ।
मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताउनुभयो । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो ।
विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।

एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार छ सय ९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेकोे छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।
रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी बताउनुभयो ।
नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।
अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह
खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।
साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


















