नेपाली तेक्वान्दो खेलाडीलाई कोरियाली दूतावासमा सम्मान
काठमाडौँ, ९ साउन I नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले पारा ओलम्पिक २०२४ मा सहभागी हुन लागेका नेपाली खेलाडीलाई सफलताको कामनासहित बिदाइ गर्नुभएको छ । सो प्रतियोगिता आगामी २८ अगस्टदेखि ८ सेप्टेम्बरसम्म फ्रान्सको पेरिसमा आयोजना हुँदैछ ।
काठमाडौँस्थित दूतावासमा आयोजत कार्यक्रममा राजदूत थेयङले नेपाली तेक्वान्दो महिला खेलाडी पलेशा गोवद्र्धन र पुरुष खेलाडी भरतसिंह महतलाई सम्मानसहित बिदाइ गर्नुभएको हो । खेलको माध्यमबाट नेपालको गरिमा बढाउन सकिने अवसर रहेको बताउँदै उहाँले नेपालका खेलकुद क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउन कोरिया सरकार निरन्तर लागिपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणा, उपाध्यक्ष बनबहादुर चन्दलगायत दूतावासका कर्मचारीको उपस्थिति रहेको थियो ।
फ्रान्सको पेरिस प्रस्थान गर्ने टोलीमा प्रशिक्षक कविराज नेगी लामा, टिम मेनेजर रामचन्द्र श्रेष्ठसहितको टोलीले सहभागिता जनाउनेछन् । साथै उक्त टोली आजै पेरिसतर्फ प्रस्थान गर्नेछ । कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको स्वर्णजयन्तीको उपलक्षमा दक्षिण कोरियाली दूतावासले यस वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
बिरामीलाई विश्वास दिलाउन आफ्नै आमाको शल्यक्रिया
तुलसीपुर (दाङ), ९ साउन I दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् । बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा प्रमिला गुप्ता र डा रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा. प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ ।
“काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा प्रमिलाले भन्नुभयो, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।”
डा प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो । डा रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो ।
गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको डा प्रमिलाले बताउनुभयो । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।
“धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा प्रमिलाले भन्नुभयो, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।”
डा प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ । उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ । उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।”
अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच-सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताउनुभयो । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाइ छ ।
घरआँगनमा पुगेर सेवा प्रवाह गर्दै फक्ताङलुङ पालिका
फुङ्लिङ (ताप्लेजुङ), ९ साउन I फक्ताङलुङ गाउँपालिकाले नागरिकको घरआँगनमा सेवा प्रवाह गर्दै आएको छ । स्थानीय सरकारको अनुभूति गराउन गाउँपालिकाले नागरिकका घरमा पुगेर सेवा दिन थालेको हो ।
जनप्रतिनिधि, कर्मचारी र स्वास्थकर्मीको टोलीले नागरिकका घरमा पुगेर स्वास्थ्य जाँच गर्ने र आवश्कताअनुसार उपचारका लागि परामर्श दिने गरेका फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका वडाध्यक्ष भूपेन्द्र चौँलागार्इँले बताउनुभयो ।
“मङ्गलबार बिहानदेखि स्वस्थ्य परीक्षण र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएका छौँ, फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा दुई सयजना सामाजिक सुरक्षा भत्ता पाउने नागरिक छन्, बिहीबारसम्ममा काम सकाउनेगरी गाउँ डुल्दैछौँ”, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । कार्यक्रम विषेशगरी फरक क्षमता भएका, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका नागरिकलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको जानकारी उहाँले दिनुभयो ।
पालिकाले ज्येष्ठ नागरिक तथा विपन्न नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पुर्याउन निःशुल्क एम्बुलेन्स र औषधि उपलब्ध गराउँदै आएको छ । दीर्घरोगीलाई घरमा पुगेर स्वास्थ्य जाँच तथा औषधि उपचार गर्ने गरिएको छ । टोल–टोलमा स्वास्थ्य स्वयंसेविकामार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रमको उद्देश्य स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रेरित गर्ने रहेको पालिकाले जनाएको छ । प्रत्येक तीन–तीन महिनामा नागरिकका घरआँगनमा पुगेर सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य परीक्षण साथै परामर्श दिँदै आएको गाउँपालिकाले जनाएको छ ।
बेरोजगारी टहाउन फलफूल तथा जडीबुटीका बिरुवा वितरण
खोटाङ, ९ साउन I डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका दुई लाख ६७ हजार आठ सय ४६ वटा बिरुवा निःशुल्क वितरण गरेको छ । सामुदायिक तथा कबुलियती वनलाई आयमूलक बनाउँदै स्थानीय उपभोक्ताका लागि रोजगारी सिर्जना गर्न वन कार्यालयले फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरेको हो ।
जिल्लाका दश स्थानीय तहका स्थानीय बासिन्दालाई विभिन्न प्रजातिका फलफूल तथा जडीबुटीका बिरुवा निःशुल्क वितरण गरिएको डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बिरुवा हुर्काउने र गोडमेल गर्ने तथा त्यसबाट लाभ लिने जिम्मा उपभोक्ताको हो । यो जिल्लावासीका लागि आयआर्जनको माध्यम बन्ने अपेक्षा गरेका छौँ ।”
डिभिजन वन कार्यालयले जडीबुटी विकास कार्यक्रम, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रम, बिरुवा उत्पादन तथा वृक्षरोपण, कृषि वन कार्यक्रम, अर्गेली विस्तार कार्यक्रम, विद्यालय वातावरण सुधारलगायत कार्यक्रम सञ्चालन गरेको थियो । जडीबुटी विकास कार्यक्रमका लागि रु १८ लाख, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि रु तीन लाख, विद्यालय वातावरण सुधारका लागि रु पाँच लाख, अर्गेली विस्तार कार्यक्रमका लागि रु पाँच लाख, कृषि वन कार्यक्रमका लागि रु पाँच लाख, कबुलियती वन कार्यक्रमका लागि रु पाँच लाख, डिभिजन वन कार्यालयमा बिरुवा उत्पादनका लागि रु पाँच लाख तथा खयरका बिरुवा उत्पादनका लागि रु चार लाख बजेट विनियोजन भएको थियो ।
सामुदायिक तथा कबुलियती वन तथा स्थानीय बासिन्दाका लागि वितरण गर्न यस वर्ष ६५ हजार बिरुवा उत्पादन गरिएको वन कार्यालयका शाखा अधिकृत दीपेन्द्र मेहताले बताउनुभयो । अब ३० हजार बिरुवा वितरण गर्न बाँकी छ । वन कार्यालयले धुपी, ज्याकाराण्डा, कल्फी, तेजपत्ता, सल्ला, अमला, इपिल–इपिल, किम्बु, नेभारालगायत बिरुवा उत्पादन गरेको छ । विद्यालय वातावरण सुधारका लागि १० विद्यालयलाई पाँच सय बिरुवा वितरण गरिएको छ ।
वन कार्यालयका अनुसार खयरका बिरुवा उत्पादन कार्यक्रमअन्तर्गत ४० हजार बिरुवा उत्पादन गरेर हलेसी तुवाचुङ नगरपालिकाका सामुदायिक तथा कबुलियती वनलाई वितरण गरिएको छ । जडीबुटीजन्य वनस्पतीमा पर्ने खयरका बिरुवा पहिलोपटक परीक्षणका लागि उत्पादन गरिएकोे छ ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन कार्यक्रमका लागि ३५ हजार छ सय ३० बिरुवा वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत फलफूल तथा जडीबुटीका बिरुवा वितरण गरिएको छ ।
अर्गेली व्यवस्थापन कार्यक्रमअन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र ऐसेलुखर्क गाउँपालिकामा ७२ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कृषि वन कार्यक्रमअन्तर्गत जन्तेढुङ्गाको चिसापानीमा दाँते ओखर, चिराइतो, टिमुर, बन्दाकोभीको बीउ वितरण एक हजार आठ सय चार तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सुन्तला, कागती, नास्पाती, जुनार, भुइँकटहर, आँप, जापानिज हलुवावेद, टिमुरलगायत दुई हजार चार सय बिरुवा वितरण गरिएको कार्यालयले जनाएको छ ।
जडीबुटी व्यवस्थापन कार्यक्रमअन्तर्गत केपिलासगढी गाउँपालिका–१ फेदीमा लोठसल्ला, तेजपत्ता र टिमुरको बिरुवा तथा चिराइताको बीउ वितरण गरिएको छ । फेदीस्थित स्थानीय बासिन्दाको निजी जग्गामा रोप्न तीन हजार एक सय तथा सामुदायिक वनमा रोप्न छ हजार पाँच सय बिरुवा वितरण गरिएको छ । कबुलियती वनतर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकामा ३१ हजार २१ वटा बिरुवा वितरण गरिएको उक्त कार्यालयले जनाएको छ ।
बाढीले विद्यालय भवनमा क्षति
पर्वत, ९ साउन I जिल्लाको पैयुँ गाउँपालिका–५ को बानीडाँडा प्राथमिक विद्यालयमा बाढी पसेको छ । विद्यालय नजिकको टिउरीखोलाको लेदोसहितको बाढीले विद्यालयका कोठा गेग्रानले पुरिएका छन्भने अन्य भौतिक संरचनामा क्षति भएको छ ।
पैंयुँ गाउँपालिका–५ का वडाअध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार विद्यालय स्थानान्तरण गर्नुपर्ने अवस्था छ । “खोला नियन्त्रणका लागि तत्काल पूर्वाधार निर्माण नगरे विद्यालय नै स्थानान्तरण गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । भारी वर्षा हुँदा बाढीको जोखिम बढ्ने उहाँले बताउनुभयो । बाढीबाट भएको क्षतिको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल, उपाध्यक्ष यामकुमारी रानासहितका जनप्रतिनिधिले स्थलगत अवलोकन गर्नुभएको छ ।
यसैबीच, बाढीका कारण पैयुँ –५ को पियाखेतका दर्जनौँ परिवारको घरगोठमा पनि क्षति पुर्याएको छ भने सयौँ रोपनी खेतबारी बगरमा परिणत भएको छ । पैंयुँ गाउँपालिका–६ सरौँखोलामा रहेको लक्ष्मीभवन प्राविमा पनि क्षति भएको छ ।
कृषिमा रमाउँदै भोजपुरका दीपक, वार्षिक १५ लाख आम्दानी
भोजपुर, ९ साउन I कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आउनुभएको छ । दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उहाँले उदाहरणीय उद्यमीको परिचय बनाउनुभएको छ ।
स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लाग्नुभएका उहाँले भोजपुर नगरपालिका–१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक रु १५ देखि १८ लाखसम्म आम्दानी लिने गरेको बताउनुभयो । लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उहाँ बताउनुहुन्छ ।
उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहनुभएको छ ।व्यवसायका लागि हालसम्म रु एक करोड हाराहारीमा लगानी गरेको बताउनुभयो । कृषिलाई व्यवसायका रूपमा अँगाल्न गाउँका युवालाई प्रेरित गर्दै उहाँले सीप पनि सिकाउँदै आउनुभएको छ ।
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उहाँले बताउनुभयो । पहँुचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उहाँको बुझाई छ । कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उहाँको दुखेसो छ ।
आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उहाँले बताउनुभयो । भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उहाँले बताउनुभयो । यसलाई विस्तार गर्ने उहाँको लक्ष्य छ । हाल उहाँले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताउनुभयो ।
उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उहाँले सुनाउनुभयो । खेती विस्तारका लागि उहाँले २० रोपनी जग्गा भाडामा लिनुभएको छ । व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिनुभएको छ । “कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ । लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ ”, उहाँले भन्नुभयो ।
ट्रयाक खुलेको ३३ वर्षमा पनि पूरा भएन भानुमार्ग
तनहुँ, ९ साउन I आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन ।
विसं २०४९ मा कृषि उपज बजारसम्म पु¥याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।
स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ्घ सरकारसमक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गर्नुभयो ।
सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताउनुभयो । आठ वर्षअघि रु २३ करोड दुई लाख ८० हजार छ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएकामा उहाँ खिन्न हुनुहुन्छ ।
कर्णाली प्रदेशका केही स्थानमा आज राति अधिक वर्षा हुने
काठमाडौँ, ९ साउन I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।
मदन पुरस्कारका लागि पाँच कृति छनोटमा
काठमाडौँ, ८ साउन I मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।
ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता
गोरखा, ८ साउन I यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो । “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”
सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।
भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ । “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।