बाह्रै महिना विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्छ : मन्त्री खड्का
काठमाडौँ, ४ साउन I ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
प्राधिकरणका अध्यक्षसमेत रहनुभएका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उहाँले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिनुभयो ।
“किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ ?, हिँउद याममा बिजुली पु¥याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ”, ऊर्जामन्त्री खड्काले भन्नुभयो । प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
‘डेडिकेटेड’ र ‘ट्रङक लाइन’ का विषयमा देखिएको विवादका बारेमा ऊर्जामन्त्री खड्काले भन्नुभयो, “व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन ।” सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पु¥याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उहाँले उल्लेख गर्नुभयो ।
ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिनुभयो ।
जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताउनुभयो । बिजुली जाँदैन भन्ने विश्वास आमनागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरुरी रहेकामा उहाँले जोड दिनुभयो । सचिव शर्माले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेकाले सोहीअनुसार प्राधिकरणले काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर तीन हजार एक सय ५७ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षमा चार सय ६३ मेगावाट बिजुली थपिएको छ । उहाँले पछिल्लो समय प्रत्येक वर्ष नेपाल विद्युत् प्राधिकरण १० देखि १२ अर्ब नाफामा जाने गरेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणलाई अगाडि बढाई देशको आर्थिक विकास गर्नका लागि यहाँभित्रका कर्मचारीको समस्या समाधान हुनुपर्ने बताउनुभएको थियो ।
वर्षाले सडक बन्द भएपछि सुनसान बने घरबास
ढोरपाटन (बागलुङ), ४ साउन I वर्षाले बाटो बन्द हुँदा बागलुङमा सञ्चालित घरबास (होमस्टे) सुनसान बनेका छन् । असार दोस्रो सातापछिको निरन्तर वर्षाका कारण ग्रामीण सडक अवरुद्ध भएसँगै घरबासमा पाहुनको आगमन नहुँदा सुनसान बनेका हुन् ।
हिउँदको समयमा बढी चहलपहल हुने घरबासमा यति बेला पाहुनाको सङ्ख्या शून्य छ । जिल्लाका ग्रामीण क्षेत्रमा घरबास बढी सञ्चालनमा छन् । अधिकांश घरबासमा पुग्ने सडक बाढी र पहिरोले ठप्प भएका छन् । वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक असोज पछाडि मात्रै खुल्छन् ।
अधिकांश सडक कच्ची भएको हुँदा यात्रा गर्नसमेत असहज हुने हुँदा पाहुन घरबासमा पुग्न चाहँदैनन् । वर्षाले सडक तथा पदमार्ग हिलाम्मे बन्दा घरबाससँगै पर्यटकीयस्थल सुनसान भएका बागलुङ नगरपालिका–१० भकुण्डेका अतिथी सत्कार होमस्टे सञ्चालक यामबहादुर थापा मगरले बताउनुभयो ।
“जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको भकुण्डेमा पनि पर्यटक पुग्न सकेका छैनन् । घरबासमा पाहुन आउनछोडेपछि सञ्चालक खेतबारीको काममा व्यस्त छन् । सडक नियमित सञ्चालन नहुँदासम्म गाउँमा पाहुन आउने अवस्था रहँदैन”, उहाँले भन्नुभयो ।
जेठ अन्तिम सातासम्म फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले शून्य भएको मगरले बताउनुभयो । आन्तरिकसँगै विदेशी पर्यटकसम्म यहाँ आउने गरेका सुजनउन्दै वर्षाले सडक बिगारेपछि अहिले कोही पनि नआएका उहाँको भनाइ छ ।
हिउँदमा मासिक करिब दुई हजारदेखि तीन हजारसम्मको सङ्ख्यामा पाहुन भकुण्डे पुग्ने गरेका थापाले जानकारी दिनुभयो । “वर्खामा गाउँसम्म पुग्ने बाटो ठाउँठाउँमा अवरुद्ध हुने गरेको छ । करिब दुई÷तीन महिना यहाँका घरबास र पर्यटकीय क्षेत्र खाली हुन्छन् । पदमार्ग र पूर्वाधारको अवस्थाका कारण असार लागेपछि पाहुनको सङ्ख्या शून्य भएको हो”, उहाँले भन्नुभयो ।
काठेखोला गाउँपालिका–३ धम्जास्थित बेलढुङ्गा सामुदायिक घरबासमा पनि असार लागेपछि पाहुना पुग्न छोडेका छन् । बागलुङ बजारबाट पश्चिममा पर्ने यो घरबासमा हिउँदका बेला मासिक दुई हजारदेखि तीन हजारसम्म पाहुन आउने गरेकामा अहिले सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासकी सचिव माया घर्ती पुनले बताउनुभयो । असोज लागेपछि मात्रै पर्यटकको आगमन बढ्ने उहाँले उल्लेख गर्नुभयो ।
वर्षाका कारण बेलढुङ्गासम्म पुग्ने सडकको विभिन्न स्थानमा पहिरो जाँदा गाडी सञ्चालन हुन नसकेको घर्तीले बताउनुभयो । पर्यटक आउन छोडेपछि अधिकांश अहिले आलु खन्ने, कोदो रोप्ने र पशुपालनमा व्यस्त रहेका छन् ।
“यो ‘अफसिजन’ भयो, सडकको अवस्था गतिलो छैन, बजारबाट आउँदा पनि धेरै ठाउँमा गाडी अड्किने, ठाउँ–ठाउँमा फस्ने हुँदा यहाँ आउन चाहने पनि बीच बाटोबाटै फर्किनु हुन्छ, राज्यले कम्तिमा गाउँमा आउने सडकस्तरीय बनाइदिए बाह्रै महिना पाहुन भित्र्याउन सक्थ्यौँ”, उहाँले भन्नुभयो, “अब आउन दसैँतिहारको बेला पहुना आउनुहुन्छ ।”
राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ, ४ साउन I राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातयात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो ।
त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गर्नुभएका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिनुभयो । सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गर्नुभएका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरित भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेडर्कबाट हटाउन माग गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ ।
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, ४ साउन I राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिनुभयो ।
सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गर्नुभयो ।
खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
मन्त्रिपरिषद् समितिमा पाँच सदस्य तोकिए
काठमाडौँ, ४ साउनः सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।
प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ ।
बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ ।
पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै
गण्डकी, ४ साउन I पोखरा विश्वविद्यालयको नयाँभवन बन्ने भएको छ । विश्वविद्यालयमा नयाँ कार्यक्रम थपिएसँगै विश्वविद्यालय अनुदान आयोग, विभिन्न दातृ निकायको अनुदान सहयोग एवं आफ्नै स्रोेत परिचालन गरी नयाँ भवन निर्माण हुन लागेको हो ।
यही साउन १५ गतेदेखि निर्माण सुरू भई ३० महिनाभित्र सम्पन्न हुने भवनको लागत रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको विश्वविद्यालायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो ।
नयाँ भवन निर्माण गर्नेसम्बन्धी सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । प्रस्तावित भवन सात तलाको भवनमा ६६ भवन हुनेछन् । सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा. दीपकबहादुर भण्डारी र निर्माण व्यवसायीका तर्फबाट सन्तोष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
एक वर्षको अवधिमा तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण
म्याग्दी, ४ साउन I एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।
आव २०७९/८० मा २९ हजार तीन सय २८ र २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।
छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अष्टे«लिया, नेदरल्याण्डका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।
अघिल्लो वर्षको हाराहारीमा पर्यटक आए पनि अपेक्षाकृत नभएको उहाँले बताउनुभयो । सबैभन्दा बढी २०८० को चैतमा पाँच हजार आठ सय ४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । विसं २०८० साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८, कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७, फागुनमा दुई हजार चार सय ४४, २०८१ वैशाखमा चार हजार एक सय ७५, जेठमा ८६ र असारमा तीन सय ८८ जना पर्यटक आएका छन् ।
आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आग सय ३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
खोटाङ, ४ साउन I यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताउनुभएको छ । “जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।”
जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।
लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।
समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसदहरुको जोड
काठमाडौँ, ३ साउन I संविधानको मर्मअनुरुप समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसद तथा सरोकारवालाहरुको जोड रहेको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा उहाँहरुले समानुपातिक समावेशीताको स्तर कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
बैठकमा ‘राज्यको मूलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले खेल्दै आएको भूमिका’ विषयक छलफल भएको थियो । उक्त छलफलमा आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाबारे चर्चा गरिएको थियो ।
समितिका सभापति किरणकुमार साहले राज्यलाई समावेशी बनाउन सधैँ एकमत रहेको बताउँदै आदिवासी जनजाति आयोगको अहम भूमिका रहने बताउनुभयो । आयोगले सरकार समक्ष सिफारिस गर्ने मात्रै नभई कार्यान्वयनसमेत गर्न जोड दिनुपर्ने उहाँले बताउनुभयो । बैठकमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको काम कारबाहीबारे प्रकाश पारिएको थियो । आयोगका सचिव नुरहरि खतिवडाले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिष्ठानका योजना अधिकृत दिवस राईले प्रतिष्ठानको कार्य प्रगतिबारे जानकारी गराउनुभयो ।
आयोगका अध्यक्ष रामबहादुर थापाले विसं २०६३ देखि २०७९ सम्मको निर्वाचन समीक्षा गर्दा समानुपातिक समावेशीताको स्तर आरोलो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि विसं २०७४ को निर्वाचनपछि तीन प्रतिशतले समावेशीता घटेको उल्लेख छ ।
“समावेशी भए जस्तो देखिन्छ, वास्तवमा तथ्याङ्क नियाल्ने हो भने पछिल्लो समय घट्दै गएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका योजना अधिकृत राईले आदिवासी जनजातिको अवस्था उकास्न राज्यले अंश बनाएर पर्याप्त स्रोत नदिएको गुनासो गर्नुभयो ।
उहाँले सीमित स्रोतसाधनमा जनजाति समुदायको आर्थिक, सामाजिक, संस्कृति जोगाउन अर्थपूर्ण कार्यसम्पादन गरेको जिकिर गर्नुभयो । “आदिवासी जनजातिको जीवित सङ्ग्रहालय बनाउन प्रतिष्ठान लागि परेको छ”, उहाँले भन्नुभयो, “भाषा, कला र साहित्य संस्कृति जर्गेनामा लगानी गरेको छ ।” प्रतिष्ठानको अनुसन्धान तथ्याङ्कअनुसार राना थारु ६० र हुम्लीको सङ्ख्या ६१ पुगेको छ ।
थप लोपोन्मुख जनजाति समुदायको खोजी र अनुसन्धान गर्न बाँकी रहेको राईले बताउनुभयो । आयोग र प्रतिष्ठानमा पर्याप्त बजेट अभावका कारण अनुसन्धानमूलक कार्य गर्न कठिन भएको उहाँको भनाइ थियो । आयोगले आदिवासी जनजातिको समस्या सम्बोधन गर्न आदिवासी जनजाति मन्त्रालय हुनुपर्ने मागसमेत राख्दै आएको छ ।
बैठकमा सांसदहरु माया राई, कल्पना मिया, सरस्वती बजिमय, ईश्वरबहादुर रिजाल, हर्कमाया विश्वकर्मा, शान्ती श्रेष्ठ, शोभा ज्ञवालीलगायतले आदिवासी जनजातिको उत्थानका विषयमा र समानुपातिक समावेशी राज्य बनाउने कुरामा जोड दिनुभएको थियो ।
पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल
काठमाडौँ, ३ साउन I नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताउनुभएको छ । उहाँले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताउनुभयो ।
“पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उहाँले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिनुभयो ।
महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गर्नुभएको थियो । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता हुनुभएको थियोे ।