बुधबार, २७ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3AD6Y5GR3WK7DRJSNETA76D.jpg

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ, ६ असार I यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम रु १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।   
  
आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव ८० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ८६, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ५१, होटल तथा पर्यटन चार दशमलव २१, जलविद्युत् एक दशमलव ३७ र लगानी समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ ।   
  
उत्पादन तथा प्रशोधन दुई दशमलव ९७, लघुवित्त एक दशमलव ६१, म्युचुअल फन्ड एक दशमलव ५२, निर्जीवन बीमा शून्य दशमलव ६५ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।   
  
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3A69TW0TTXX2Z6C7MMBV7JT.jpg

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

काठमाडौँ, ६ साउन I बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् ।     
     
यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो ।     
     
आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।     
     
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।     
     
परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिनुभयो । साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उहाँले निर्देशन दिनुभयो ।     
     
परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।     
     
यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ ।     
     
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो । 

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39V2JYT4M8CB73FM364FPAZ.jpg

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

भोजपुर, ६   साउन I जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो ।     
     
वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । “ अवरूद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ । खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ । खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”     
     
राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा समस्या भएको उहाँले जानकारी दिनुभयो । करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताउनुभयो । वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।     
     
यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन् । सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताउनुभयो ।     
     
हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो”, उहाँले भन्नुभयो, “सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ । राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ ।” स्थानीयको सक्रियतामा मात्र सडक सञ्चालन गर्न निकै कठिन हुने उहाँ बताउनुहुन्छ ।     

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39MNGNA4571PC43Q2WX7BW0.jpg

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ ६ साउन I एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो । 

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J385SEY10Q9A9778DV69RN5Q.jpg

सुनुवारको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पित

काठमाडौँ, ५ साउन I लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।   
  
नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा नवराज लम्साल र समालोचक डा अशोक थापालगायतले आज यहाँ आयोजित समारोहमा उक्त कृति लोकार्पण गर्नुभयो ।   
  
मुलुकमा सशस्त्र युद्धपछि कल्पना गरिएको रोल्पा जिल्लामा जति रुपान्तरण हुनुपर्ने थियो त्यति नभएको बरु युद्धको स्मृति दिलाउने रोग, भोक, गरिबी र समस्याबाट अझ ग्रसित भएको विम्ब पुस्तकमा समेटिएको छ । लेखकले रोल्पाबाटै किन माओवादीले दशवर्षे जनयुद्धको जग बसालेको होला भन्ने प्रश्न गर्दै अहिले युद्ध बैठान भइसक्दा समेत के साँच्चै रोल्पाली जनता खुसी छन् त भनी प्रतिप्रश्न गर्नुभएको छ ।   
  
रोल्पालाई फन्को मार्दा लेखकले समुदायमा देखेको, भोगेको, सुनेको विषयवस्तु समेटिएको कृतिमा त्यहाँका महिलालाई युद्धले गराएको परिवर्तन, चेतनाको स्तरसमेत वर्णन गरिएको छ ।   
  
त्यस कृतिमा एउटै जिल्लामा एक हजार चार सयभन्दा बढी नागरिक बेपत्ता भएको, द्वन्द्वका नाममा नौ सय ४६ जना मारिएका, ३३ जना बेपत्ता भएका, दुई सय एकजना अपहरणमा परेको तीन सय २३ महिलाको सिउँदो पुछिएको मार्मिक विषय र तथ्य–तथ्याङ्क प्रस्तुत छ ।   
  
धेरैजना अपाङ्ग भई वैशाखी र ह्वील चियरको सहायतमा जीवन बिताउनुपरेको तथा एक सय ८० जना बालबालिकाले बाबुआमा दुवै गुमाएर अभिभावकविहीन बन्नुपरेको तथा घरपरिवार नै छाड्न बाध्य भएका घटनासम्बन्धी विषयवस्तु समावेश छ ।   
  
सङ्ग्रहमा शिक्षा, स्वास्थ्य तथा भैतिक पूर्वाधारको क्षेत्रमा समेत ठूलो नोक्सानी भएको विगतको सशस्त्र द्वन्द्वको फाइदा टाठाबाठाले लिन सफल भए पनि गरिब र निमुखा भने अहिले पनि मारमै रहेको घटना उल्लेख छ । द्वन्द्वको चुरो कुरोदेखि त्यो इतिहास र यो जनयुद्ध, सबैले पाएको कष्ठ उस्तै, विवाहको महत्त्व थाहै नपाई विधवा भइयो, सहिदमार्गको नालीबेली, केही नयाँ छैन भन्नेलगायतका शीर्षकमा विविध विषय समेटिएको छ ।   
  
सङ्ग्रहका लेखक सुनुवारले रोल्पामा महिला, बालबालिकाले युद्धमा के भोगे र अहिले के भयो भन्ने विषयवस्तुको सेरोफेरोमा रही कृति लेखिएको जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J37WT1E0KMQ5JC5JH4DD0P0J.jpg

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

काठमाडौँ, ५ साउन I  नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । 

‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा मुक्ति रिजालले लेख्नुभएको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सुमना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभयो । 

पुस्तकमा माओवादी आन्दोलनमा डा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् । 

सो अवसरमा डा भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताउनुभयो । 

“म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो”, अध्यक्ष डा भट्टराई भन्नुभयो, “मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।” वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।  

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहनुभएको बताउँदै उहाँद्वारा उठाइएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताउनुभयो ।

नेपालका राजनीतिक दल इमान्दार हुने हो भने मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै संसद्का दुई ठूला दल सम्मिलित सरकारले जनताका समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“राज्य स्रोतको दोहन नगर्ने र दलाल पुँजीवादबाट मुक्त पार्टी बनाऔँ,” महासचिव भुसालले भन्नुभयो, “त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा अघि बढाउन सक्छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री श्रेष्ठले आफ्नो पार्टी नयाँ सोचका साथ अघि बढ्ने बताउनुभयो । 

अङ्ग्रेजी भाषमा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ । उक्त पुस्तकको मूल्य रु तीन सय ५५ तोकिएको छ । 

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J37MAMRZ6VQNB14H0WNSBGXD.png

छैनन् मैथली भाषाका स्वदेशी चलचित्र

काठमाडौँ, ५ साउन I नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको बाहुल्यता भएका दर्शक माँझ मात्र प्रदर्शन भइरहेका छन् । यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै चलचित्र निर्माण रोकिएको झैँ छ ।   
  
तराईमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा छ । तराईमा बोलिने मैथली भाषामा चलचित्र निर्माण नभएपछि ती चलचित्र भवनमा फाट्टफुट्ट नेपाली भाषाका चलचित्र प्रदर्शन हुन्छन् । मैथली भाषामा बन्ने चलचित्र, लघुचलचित्रको सङ्ख्या निक कम छ ।   
  
मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले केही समय अगाडि जनकपुरधाममा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका चलचित्र, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ प्रदर्शन भएका चलचित्रमा नेपालबाट बनेको कुनै मैथली भाषाको चलचित्र थिएन । स्वदेशी मैथली भाषाको चलचित्र नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताउनुभयो ।   
  
“छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन्, तर हामी आशावादी छौँ, किनकि अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन्, वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्”, झाले भन्नुभयो ।   
  
उहाँ निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हरेक वर्ष आयोजना गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार अहिले निर्माण हुने ससाना चलचित्र रहरिया (रहर गर्ने) ले तयार गरेका छन् । अभिनेता तथा निर्देशक नीर शाहले चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव चलचित्रमा परेको विश्लेषण गर्नुभयो । उहाँले विविधतायुक्त देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।   
  
“अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ, तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ, त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन, यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ, नत्र हाम्रो कथालाई विदेशीले विदेशी भाषामा तयार गर्नेछन् र हामी हेर्न बाध्य हुनेछौँ, यो अवस्था नआउला भन्न सकिन्न्”, अभिनेता शाहले भन्नुभयो ।   
  
‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको चलचित्र नै अहिले पनि तराईमा स्मरण गरिन्छ । त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही चलचित्र उपलब्ध छन् । यद्यपि जनकपुर लगायतका तराईमा चलचित्र भवनमै प्रदर्शन गरिने चलचित्र लगभग छैन ।   
  
मैथली चलचित्रमा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ । विदेशमा मैथली भाषामा बनिरहेका चलचित्र हेर्नुका साथै ती चलचित्रकर्मीसँग संवाद गरेर उहाँ आफैँ पनि नयाँ चलचित्रको तयारीमा हुनुहुन्छ । उहाँ ‘लेवर’ नामक चलचित्र मैथली भाषामा तयार गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गराउने तयारीमा हुनुहुन्छ । यसले नेपालमै छरिएको बजारमा एउटै चलचित्रमार्फत पुग्न सकिने उहाँको बुझाइ छ ।   
  
“लगानीकर्ताले सुनिश्चित्ता चाहेका छन्, यहाँ उत्पादन भएका जनशक्ति बाहिरका चलचित्र उद्योगमा काम गरिरहेका छन्, हामीले गर्ने महोत्सवलगायत गतिविधिले मैथली चलचित्रकर्मीलाई जोड्ने काम गरिरहेका छौँ, यसले आगामी दिनमा संयुक्त रुपमा चलचित्र निर्माण गर्न प्रेरणा दिन्छ, आउँदो समय विस्तारै राम्रो हुन्छ भन्नेमा पूर्ण आशावादी छु”, निर्देशक झाले भन्नुभयो ।   
  
तराईमा विशेषत कोशी र मधेस प्रदेशमा मैथिली चलचित्रको राम्रो बजार बन्न सक्ने जानकारहरुको बुझाइ छ । किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ चलचित्रले गरेको व्यापारको चर्चा आज पनि हुन्छ । पछिल्लो समय चलचित्रसँगै गीतसङ्गीत, छोटा चलचित्रस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन् । यसले गर्दा पनि मैथली भाषामा चलचित्र नबनेको धेरै समय भइसकेको छ ।  

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J376PG787R6KDJBCC6CZEXZM.jpg

सेनाद्वारा एक हजार चार सय किलोमिटर सडक निर्माण

काठमाडौँ, ५ साउन I नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोलेको छ । सो अवधिमा जडान गरिएका ३८ बेलिबृज र सडक विभागलाई हस्तान्तरण गरिएको छ । 

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताउनुभयो । हाल नेपाली सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईवटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माण कार्यमा संलग्न छ । त्यसको कूल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर लम्बाइ छ । त्यसमध्ये रणनीतिक महत्वका चारवटा उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन् ।

हाल निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किमी, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किमी, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमी र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमी हुन् । मुलुकको सर्वाधिक महत्वको काठमाडौँ–तराई–मधेस दु्रतमार्ग आयोजना (७०.९७७ किमी पनि नेपाली सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताउनुभयो ।
 
सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किमी, बेनी–जोमसोम ९१ किमी, छिञ्चु–जाजरकोट ४५ किमी, बेंसीसहर–चामे ६५ किमी, नाग्मा–गमगढी ९४ किमी सडकको ट्र्याक खोलेको थियो । काठमाडौँ–तराई–मधेस दु्रतमार्गको सुरु पाइलट ट्र्याक ८० किमी, मैलुङ–स्याफ्रुबेंसी १७ किमी, जाजरकोट–डोल्प दुनै ११७ किमी, कालीगण्डकी करिडोर(गुल्मी–बागलुङ खण्ड ७५ किमी र कडाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड १२२ किमी पनि नेपाली सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन् ।

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J35FVQP5QGNTHMC4R9WJYP7Y.jpg

नेपालले युएईलाई हरायो

काठमाडौँ, ४ साउन I नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । 

श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्‍यो । 

नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे ।

बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन ।  

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे । 

नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ । 

प्रकाशित मितिः शुक्रबार, ०४ साउन २०८१
https://jawaaf.com/storage/01J35E8XGR4NTXJ8D2F5NNF0ZT.jpg

बङ्गलादेशमा कुनै सहयोग आवश्यक परे नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह

काठमाडौँ, ४ साउन I नेपाल सरकारले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा त्यहाँ रहेका नेपालीलाई ढाकास्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्तिमार्फत तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले राजदूतावासका योजना बम्जन, द्वितीय सचिवलाई +८८०१८८०६९१०१३ र रिया क्षेत्रीलाई +८८०१७४५४०७९५८ नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सकिने जनाएको छ ।

मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ साउन २०८१