मुक्तकमैया पुनःस्थापनाको पर्खाइमा
भजनी (कैलाली), २ साउन I कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ । राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उहाँ बताउनुहुन्छ ।
“राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन । अरुकै सहारामा बाँच्नुपरेको छ”, चौधरी भन्नुहुन्छ, “पटकपटक आश्वासन पायौँ, सहारा कहिल्यै पाएनौँ ।”
शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताउनुभयो । “पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ ।”
शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उहाँलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । “हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो ।”
दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैयामात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् । “राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हँुदैनथ्यो”, स्थानीय छेदु चौधरीले भन्नुभयो, “जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जानसक्छौँ ।”
मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताउनुभयो । प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताउनुभयो ।
“राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुुपर्छ”, उहाँले भन्नुभयो । शैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ । कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् । मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति
काठमाडौँ, १ साउन I राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उहाँले भन्नुभयो ।
नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भन्नुभयो ।
“हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन् भन्नुभयो । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्यस अवसरमा संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताउनुभयो । उहाँले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवद्र्धनका सार्थ नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचानमा टेवा पुगेको बताउनुभयो ।
“गायक थापाका गीतले राष्ट्रभावका साथ नेपालको त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको छ । जसले विश्वभरका नेपालीहरूलाई समेटेको छ’’, मन्त्री पाण्डेले भन्नुभयो ।
उक्त अवसरमा वरिष्ठ साहित्यकार वैरागी काँईलाले गायक थापाले राष्ट्रभावलाई केन्द्रमा लोक गीत र लोक साहित्यको पहिचान र प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो ।
संस्कृतिविद् डा जगमान गुरुङले नेपाली समाज र संस्कृतिमा सामाजिक सद्भाव रहेको भन्दै नेपालको भाषा र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
प्रा डा प्राध्यापक अभि सुवेदीले लोक साहित्य र संस्कृतिलाई विश्वभर पु¥याउन महत्वपुर्ण योगदान रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले नेपाली वाङ्मयको उत्थान प्रवद्र्धनका साथै स्रष्टाको सम्मानमा प्रतिष्ठानले भूमिका खेल्दै आएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले रु ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काँइला र धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार एलपी जोशीलाई प्रदान गर्नुभयो ।
किराती समुदायले सिसेक्पा तङ्नाम पर्व मनाउँदै
फुङ्लिङ (ताप्लेजुङ), १ साउन I किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गर्छन् । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा रहिआएको छ ।
पूर्वी नेपालका विभिन्न क्षेत्रमा बसोबास गर्ने किराती सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वनजङ्गलतिर गई साउने सिसेक्पा तङ्नाम लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गर्दछन् । दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुण्ड्याउने परम्परा रहिआएको याक्थुङ चुम्लुङका अध्यक्ष इन्दिरा मान्याङबोले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै परिवार मिलेर अलि सबेरै आफ्नो घरमा भएको अन्न, फलफूल र अन्य परिकार बनाएर खानपिन गरी रमाइलो गर्दछन् । किरात याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाका अनुसार सिसेक्पा तङ्नामका दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन गरिसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुक पड्कन्छन् । थाल, झ्याम्टा, नाङ्लो र ढोल बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवायुवतीले घरमूली बूढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्री बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकाल्ने चलन रहेको छ ।
किसानका छोराछोरीले आफ्नै मातृभाषामा ‘सङ्क्रान्ति जाउ, मङ्क्रान्ति आउ, अनिकाल जाउ, सहकाल आउ’ भन्ने आदि भावमा अनिकाल वा दुःख–पीडालाई त्यसरी पर्वका रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् । यसैगरी उनीहरूले घरपरिवारमा रहेको बाझोजुझो, गाउँघरमा रहेको सामाजिक–सांस्कृतिक विकृति–विसङ्गति र सिङ्गो राष्ट्रमा व्याप्त राजनीतिक अस्थिरता, द्वन्द्व र अशान्ति आदिको अन्त्यको कामना र प्रार्थना गरेका शब्द भाव पनि प्रकट गर्दै सङ्क्रान्तिसँगै खेदाउन घरमूलीले आग्रह गरेका हुन्छन् अर्थात् अब त नयाँ अन्नबाली र फलफूल पाके । यसकारण, अब हामी कम्तीमा छ महिना माघे सङ्क्रान्तिसम्म बाँच्ने भयौँ भनेर रमाउने गरेको किरात धर्मका जनकारको भनाइ छ ।
आदिमकालदेखि बसिआएका विभिन्न आदिवासी-जनजाति पूर्वका किरात लिम्बू, राई तराईका थारूर पश्चिमका मगर, गुरुङ आदिले यो साउने सङ्क्रान्ति पर्वलाई सिसेक्पा तङनामको रूपमा मनाउँदै आएको याक्थुङ चुम्लुङका अध्यक्ष मान्याङबोले बताउनुभयो । किरातीले सिसेक्पा तङनाम (साउने सङ्क्रान्ति) र कक्फेक्वा तङनाम (माघे सङ्क्रान्ति)लाई महान् पर्वका रूपमा मनाउने जनाइएको छ ।
पौवादुङ्माको कृषि उत्पादन धरान लैजान कृषि एम्बुलेन्स सञ्चालन
भोजपुर, १ साउन I जिल्लाको पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । किसानले उत्पादन गरेको वस्तुको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेको हो ।
गाउँपालिकाले यहाँको भूगोलअनुसार खेती विस्तारमा ध्यान दिएसँगै किसानले उत्पादन गरेका कृषि उजपलाई बाह्य बजारसम्म लैजाने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । एम्बुलेन्स खरिद गर्न रु २८ लाख बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो ।
“किसानलाई लक्ष्यित गरेर कृषि एम्बुलेन्स सञ्चालनको तयारी थालेका छौँ”, उर्हाँले भन्नुभयो, “कृषि एम्बुलेन्समार्फत यहाँका कृषि उपजलाई बजारीकरणसँगै ढुवानीका लागि प्रयोगमा ल्याउने लक्ष्य छ ।” कृषि एम्बुलेन्स सञ्चालनपश्चात करिब चारदेखि पाँच घण्टामा पौवादुङ्माको कृषि उत्पादन धरान, इटहरी, विराटनगरलगायत ठूला सहरमा पुग्ने उहाँले बताउनुभयो । यहाँ धेरै उत्पादनयोग्य क्षेत्र रहेकाले भूगोलअनुसारको खेती विस्तारमा जोड दिइएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । गाउँपालिकाले वडा नं १ श्यामशिलामा किबी पकेट क्षेत्र, तिवारीभञ्याङ, बास्तिमलगायत क्षेत्रमा व्यावसायिक अकबरे खुर्सानीसँगै तरकारीखेतीका लागि आवश्यक प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष राईले बताउनुभयो ।
किसानलाई कृषिमा जोडेर आत्मानिर्भर बनाउने योजनाका साथ काम गरिरहेका छौँ । किसानले उत्पादन गरेको वस्तुलाई सहजत रूपमा बाह्य बजार पुर्याउने लक्ष्यले कृषि एम्बुलेन्स खरिद गर्न लागेको अध्यक्ष राईले बताउनुभयो ।
“हामीले विगतका वर्षहरूबाट नै कृषिको विकासमा योजनाबद्ध रूपमा काम गरिरहेका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “अहिले अकबरे खुर्सानी तथा किवीले राम्रो उत्पादन दिन थालेको अवस्था छ । यसबाट किसानले राम्रो आम्दानी लिँदै आएका छन् । उत्पादित वस्तुको सहज बजारीकरणका लागि हामी जुटेका छौँ ।”
गाउँपालिकालाई कृषि उत्पादनसँगै दूधमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम भइरहेको अध्यक्ष राई बताउनुहुन्छ । किसानलाई लक्ष्यित गरेर आगामी आर्थिक वर्षमा करिब दुई सयवटा गाईका बाच्छी वितरण गर्ने कार्यक्रम अघि सारेको अध्यक्ष राईले बताउनुभयो । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सक्ने सम्भवनालाई ख्यालमा राखेर यो कार्यक्रम सञ्चालनको तयारी थालिएको उहाँले बताउनुभयो ।
गाउँपालिकामा महिला विकास बोर्ड गठन गरेर महिलालाई उद्यमशीलतामा जोड्नका लागि कृषिको क्षेत्रमा काम गरिरहेको उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । गाउँपालिका उपाध्यक्षको संयोजकत्वमा यो कार्यक्रम सञ्चालन भइरहेको छ । यो कार्यक्रमअन्तर्गत छवटै वडामा कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘कुमोन सिकाइ विधि’नेपालमा
काठमाडौँ, १ साउन I जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ नेपालमा पनि लागू गर्न थालिएको छ । व्यक्तिपिच्छे सिक्ने क्षमता फरक–फरक हुन्छ भन्ने मान्यता बोक्ने यस विधिमा तालिमप्राप्त शिक्षकबिना नै विद्यार्थीले डिजिटल ट्याब्लेटका माध्यमबाट आफ्नै शैलीमा सिक्ने जनाइएको छ ।
उक्त विधिको आधिकारिक नेपाल प्रतिनिधि आइसिजी बिजनेस होल्डिङ प्रालिले ललितपुरको ग्वार्काे युनाइटेड र काठकाडौँको कलङ्कीस्थित एलआरआइ स्कुलका कक्षा ३ र ४ का करिब एक हजार पाँच सय विद्यार्थीलाई कुमोन पद्धतिको अभ्यास सञ्चालन गरेको हो । जापानको कुमोन एजुकेशन कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक कात्सुयुकी इनोउले सोमबार ती विद्यालयका सञ्चालित कुमोन अभ्यासको अवलोकनका साथै विद्यार्थीसँग अन्तक्र्रिया गर्नुभएको छ । उहाँले नेपालका धेरैभन्दा धेरै विद्यार्थीलाई स्वतन्त्र रूपले आफ्नो लयमा आफैँ सिक्ने सीपहरू बढाउन यो विधिले सोच्ने क्षमता अभिवृद्धि हुने बताउनुभयो । यो विधिबाट समस्या समाधान गर्ने क्षमताको विकास हुनाका साथै जीवन जिउने कलाको विकास गर्ने उहाँले जनाउनुभयो ।
एलआरआइ स्कुलका प्रिन्सिपल डा देवीकान्त जोशीले दैनिक ३० मिनेटको कुमोन विधिले विद्यार्थीहरूको अध्ययन गर्ने बानी र व्यवहारमा सकारात्मक परिवर्तन आएको बताउनुभयो । युनाइटेड स्कुलका प्रिन्सिपल मनोज विश्वकर्माले यो विधि एक अद्धितीय स्वयं सिकाइ र विद्यार्थीकेन्द्रित विधि भएकाले नेपालमा प्रभावकारी हुने बताउनुभयो ।
आइसिजी होल्डिङका अध्यक्ष गणेशमान लामाले शिक्षामा गुणस्तर बढाउने ध्येयले उक्त विधि नेपाल ल्याइएको बताउँदै शिक्षक तालिम, शिक्षा नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमा परिमार्जनका लागि बहस हुने गरे पनि विद्यार्थीको दिमागी तालिम र अभिवृद्धिका लागि सोचको विकास भइनसकेको बताउनुभयो ।
यस विधिले विद्यार्थीले ‘आइक्यु’स्तरमा सुधार गरेर ‘अपरेटिङ’ प्रणालीलाई छिटो गर्न मद्दत गर्ने अध्यक्ष लामाले जानकारी दिनुभयो । यसले विद्यार्थीको दैनिक क्रियाकलापको मूल्याङ्कन गर्छ भने विद्यार्थीको दिमागको कसरी प्रयोगको भइरहेको छ भन्नेबारेमा आइआए (कृत्रिम बुद्धिमत्ता)का माध्यमबाट कुमोनका कर्मचारीलाई सूचित हुन्छ । सोको प्रतिक्रिया विधिका प्रशिक्षकलाई पुग्ने र प्राप्त निर्देशनअुसार दिमागको प्रयोगमा सुधार गर्दै लगिनेछ ।यो पद्धति हाल संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य तथा युरोपका विभिन्न मुलुकमा सञ्चालन भइसकेको छ । आर्थिक रूपमा महँगो मानिने यो विधि नेपालमा सरल मूल्यमा उपलब्ध गराइएको छ ।
मन्त्रिपरिषद्को पहिलो निर्णयः कीर्तिपुरमा सुविधासम्पन्न खेलमैदान
काठमाडौँ, ३१ असार I नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता सम्पन्न आजको मन्त्रिपरिषद्को पहिलो बैठकले कीर्तिपुरमा सुविधासम्पन्न खेल मैदान बनाउने निर्णय गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज शपथ लिएपछि सिंहरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहालीपछि भएकोे बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
उक्त रङ्गशालामा दर्शक बस्न प्याराफिट, रात्रिकालीन खेलकुदका लागि फ्ल्ड लाइट र आवश्यक संरचना बनाउने निर्णय गरिएको छ । उक्त कामका लागि तीन सय दिनको समयसीमा निर्धारण गरिएको छ ।
बैठकले नेपाल सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई तोक्ने निर्णय गरेको छ ।
नेपाल पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक होः परराष्ट्र मन्त्री डा राणा
काठमाडौँ, ३१ असार I नव नियुक्त पररष्ट्र मन्त्री डा आरजु राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएको बताउनुभएको छ ।
आज मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाल भूपरिवेष्ठित र दुई ठूला छिमेकी मुलुकबीचमा रहेको उल्लेख गर्दै सबैसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्वजहरुको योगदानका कारण मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको छ, यसलाई अक्षुण्ण राख्नुपर्ने हामी सबैको दायित्व हो ।”
मुलुकको समृद्धिका लागि पनि परराष्ट्र मन्त्रालयको ठूलो भूमिका रहेको उल्लेख गर्दै उहाँले आर्थिक कूटनीतिमार्फत त्यसमा कसरी योगदान गर्ने भन्ने बारेमा काम गर्ने बताउनुभयो । नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।
नेपाल बाहिर बस्ने नेपालीका लागि धेरै काम गर्नुपर्ने आवश्यकता औल्याउँदै मन्त्री डा राणाले भन्नुभयो, “विदेशमा बस्ने नेपालीका लागि अझ राम्रो सेवा कसरी गर्ने भनेर थप काम गर्नेछौँ ।” उहाँले सुशासन कायम गर्न, नीतिको प्रभावकारी कार्यान्वयन गर्न र परिणाममुखी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
मन्त्री डा राणाले रुसी सेनामा भर्ना हुन गएका र अप्ठ्यारोमा परेका नेपाली युवाको उद्धार तथा इजरायलमा हमासको आक्रमणको क्रममा वेपत्ता भएका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारबाट यसअघि पनि पहल भएको र आफ्नो कार्यकालमा पनि थप पहल गर्ने बताउनुभयो ।
उहाँले पदबहालीका क्रममा विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।
पर्साबाट सङ्घीय सरकारमा तीनजना मन्त्री नियुक्त, जिल्लाको विकासले प्रथामिकता पाउने अपेक्षा
वीरगञ्ज (पर्सा), ३१ असार I यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीनजना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीनजना सांसद मन्त्री बन्नुभएसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति शसक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।
पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त हुुनुभएको छ । क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित हुनुभएका सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त हुनुभएको छ । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त पाउनुभएको हो ।
जिल्लामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बन्नुभएका तीनजना सङ्घीय सरकारको मन्त्री पदमा नियुक्त हुनुभएको छ । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्साबाट तीनजना मन्त्री हुनु जिल्लाको लागि उत्साहको विषय भएको बताउनुभयो । “यहाँका तीनवटै निर्वाचन क्षेत्रका माननीय सांसद मन्त्री बन्नुभएको छ । यो जिल्लाकै लागि गौरवको विषय हो । जिल्लाबाट एकै पटक तीनजना मन्त्री हुँदा यहाँका सडक, पुललगायत पूर्वाधार विकासका साथै विद्यमान समस्या समाधानमा प्रभावकारी योजना बनाएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा लिएका छौँ ।
अध्यक्ष अग्रवालले फरकफरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने मन्त्री यहाँबाट बनेसँगै औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जमा सकारात्मक ऊर्जा सञ्चार भएको बताउनुभयो ।
“तीनवटै पार्टीका सांसदले नागरिकसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आगामी दिनमा जिल्लासँगै मुलुकको विद्यमान समस्या समाधानमा केन्द्रित हुनुहुने विश्वास छ । यसले समग्र मधेस प्रदेशमा नै सकारात्मक सन्देश दिएको छ”, अध्यक्ष अग्रवालले भन्नुभयो । जिल्लाबाट नियुक्त तीनैजना मन्त्रीसँग निजीक्षेत्र हातेमालो गरेर अघि बढ्न चाहेको धारणा उहाँले राख्नुभयो ।
मधेस विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले पर्सा जिल्लाले तीनजना मन्त्री पाउनु सबैका लागि खुुसीको विषय भएको बताउनुभयो । “पर्सा सधैँ उपेक्षामा पर्दै आइरहेको थियो । सङ्घीय सरकारको बजेट र अन्य विकासका योजनामा पर्सा पछाडि नै हुन्थ्यो । तीन फरक पार्टीका शक्तिशाली नेताहरु मन्त्री हुनुभएकाले समग्र जिल्लाको विकासका लागि नयाँ योजना बनाएर प्रभाकारी कार्यान्वयन गर्नुहुन्छ भन्ने आशा र अपेक्षा राखेका छौंँ ।”
उपकुलपति शाक्यले सङ्घीय सरकारबाट पछिल्ला केही वर्षयता पर्सा जिल्लाका साथै वीरगञ्ज महानगरका लागि कम बजेट विनियोजन भइरहेकाले पूर्वाधार निर्माण तथा विकासका क्षेत्र प्रभावित भएका भन्दै अब सकारात्मक कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।
“यसअघि राजनीतिक पहुँच कम हुँदा विकास निर्माणका काम पनि कम भएका थिए । अहिले जिल्लाबाट तीनजना सङ्घीय सरकारमा सहभागी हुनुभएको छ । अब समग्र विकास निर्माणले गति लिने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो । उपकुलपति शाक्यले नारायणी अस्पताल, नारायणी रङ्गशाला, कोरिडोर, मधेस विश्वविद्यालयका लागि जग्गाको व्यवस्थालगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा तीनैजना मन्त्रीले सहयोगी भूमिका खेल्ने दाबी गर्नुभयो ।
दुई सातामा तरकारीको मूल्य तेब्बरले वृद्धि
उदयपुर (गाईघाट), ३१ असार I जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ । निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन् ।
ढुवानीको समस्या देखाउँदै व्यापारीले तेब्बरले मूल्यमा वृद्धि गरेपछि उपभोक्ताले अनुगमन नहुँदा व्यापारीको मनपरी दर कायम गरेर उपभोक्ता ठगेका गुनासो गरेका छन् ।
त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताउनुभयो । “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु ५० पर्नेमा अहिले रु एक सय पचास पर्छ”, उहाँले भन्नुभयो ।
स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताउनुभयो । “सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो”, उहाँले भन्नुभयो । असारको १५ गतेसम्म बोडी प्रतिकेजी रु ६० देखि सत्तरी रहेकामा अहिले रु एक सय ८० देखि दुई सय पर्ने गरेको छ ।
“दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु”, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गर्नुभयो ।
फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन् ।
कृष्णप्रसद खनालले भन्नुभयो, “बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन् । यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ ।” यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उहाँले बताउनुभयो । यस विषयमा सरोकारा भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन् ।
नवनियुक्त १९ मन्त्रीद्वारा शपथ ग्रहण
काठमाडौँ, ३१ असार I राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
नवनियुक्त मन्त्रीहरुले आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, परराष्ट्रमन्त्री डा आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । यसअघि सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । त्यसपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पु¥याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता थियो ।