निःशुल्क स्वास्थ्य शिविरबाट ज्येष्ठ नागरिक लाभान्वित
- रुपनी जि एम
जानकी (बाँके), ३१ असार I बाँकेको नरैनापुर गाउँपालिका–२ मझरेटियाकी समिरा पठानी दुबै आँखा देख्नुहुन्न । मोतिबिन्दुका कारण दुबै आँखाको ज्योति गुमेपछि उहाँका लागि संसार अन्धकार बनेको हो । गाउँमा निःशुल्क स्वास्थ्य शिविर बस्दै भन्ने तीन दिन पहिलै नै थाहा पाउनुभएकी समिरा लौरोको साहारामा बिहान ६ बजे नै शिविर बसेको ठाउँमा चिकित्सकहरुको पर्खाइमा बसिरहनु भएको थियो ।
राँझास्थित बज्रदल गणमा कार्यरत नेपाली सेनाले नरैनापुर गाउँपालिका–२ लक्षमनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा हालै आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा आँखाको ज्योति फर्किने आशामा समिरा त्याहाँ पुग्नुभएको थियो । “सहरको महँगो अस्पतालमा गएर आँखाको उपचार गराउन पैसा छैन । गाउँमै चिकित्सकहरुले परीक्षण गर्नुहुन्छ भन्ने सुनेर यहाँ आएकी हुँ ।”
उमेरले आठ दशक पार गरी सक्नुभएकी समिरालाई गाउँमै स्वास्थ्य शिविर बस्ने कुराले उत्साहित बनाएको थियो । “यसपटक त मैले आँखा देख्न पाउँछु कि भन्ने आशा छ”, उहाँले भन्नुभयो, “योभन्दा पहिला यस्तै शिविरमा धेरैले मलाई तिम्रो आँखाको शल्यक्रिया अस्पतालमा मात्रै सम्भव हुन्छ भन्ने गर्दथे तर मेरो आँखाको शल्यक्रिया निःशुल्क रुपमा यहीँ हुन्छ भन्नेमा मलाई विश्वास छ ।”
समिराका अुनसार प्रत्येक वर्ष गाउँमै सञ्चालित शिविरमा आँखाको जाँच गराउँदा दुबै आँखामा मोतिबिन्दु लागेको र तत्काल शल्यक्रिया गर्नु पर्ने चिकित्सकले उहाँलाई सुझाव दिएका थिए । उहाँले आफूसँग शल्यक्रिया गर्न चाहिले रकम नहुँदा शिविर बस्न थालेदेखि आफू शिविरमा आउने गरेको बताउनुभयो । आँखाको ज्योति फर्किने आशामा लौरो टेक्दै गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा बसेको शिविरमा पुग्नुभएकी समिरालाई यस पटक पनि चिकित्सकहरुले शल्यक्रिया नै गर्नुपर्ने सुझाव दिएपछि उहाँ निराश भएर घर फर्किनुभयो ।
गाउँमै शिविर बस्ने कुराले समिरा जस्तै जैतुना पठान पनि उत्साहित हुनुभयो । सोही गाउँपालिका–२ रोशनपुवामा बस्ने ८० वर्षीया जैतुनाका दुबै आँखाले राम्रो ठम्याउन सक्दैनन् । उहाँले मान्छे र दृश्य दुवै धमिलो देख्दै आउनुभएको चार वर्ष भएको छ । पन्ध्र वर्षअघि श्रीमान्को मृत्यु भएपछि जैतुना दुई छोरासँगै बस्दै आउनुभएको थियो । तर अहिले तीनै छोराहरु पनि अलगै बस्न थालेपछि उहाँ एक्लै बस्नुहुन्छ । आर्थिक अवस्था कमजोर भएकै कारण आँखाको उपचार गराउन नसकेको उहाँ बताउनुहुन्छ । समिरा जस्तै उहाँ पनि प्रत्येक वर्ष विभिन्न सङ्घसंस्थाले गाउँमै आयोजना गर्ने शिविरमा आँखा उपचारको आशामा जाने गरेको बताउनुहुन्छ ।
नेपाली सेनाले शिविरको आयोजना गरेको खबर सुन्नु भएकी जैतुनालाई यस वर्षको शिविरमा आफ्नो आँखा निको हुनेमा विश्वास लागेको बताउनुभयो । ‘‘हाम्रो गाउँमा पहिलोपटक सेनाले शिविरको आयोजना गरेको छ भन्ने सुनेर आएकी छु’’ आँखाबाट बगेको पानी पुच्छ्दै उहाँले भन्नुभयो,‘‘यसपटक भने मलाई मेरो आँखाको राम्रोसँग जाँच हुन्छ भन्नेमा पूर्ण विश्वास छ ।’’
गाउँमै शिविर बस्दैछ भन्ने थाहा पाएर तीन वर्ष पहिले उच्च रक्तचापले हानेर शरीरको दाहिने भाग नै नचल्ने हुनुभएका चेतबहादुर परियार पनि निको हुने आशामा उपचारका लागि शिविरमा पुग्नु भएको थियो । श्रीमती चित्रकुमारी र छोरा न्यूजनका साथ शिविरमा पुग्नु भएका उहाँलाई यस पटकको शिविरमा भने आफ्नो नचल्ने शरीरका भागहरु चल्ने कुरामा विश्वास लागेको बताउनुहुन्छ । शिविरबाट चेकजाँच गराएर बाहिरिंदै गर्दा उहाँले भन्नुभयो,‘‘मलाई सेनाको चिकित्सकले तपाईँको दाहिने हात र खुट्टा नचले पनि लौरोको सहारामा बिहान बेलुका सकेजति हिंड्नु निको हुन सक्नुहुन्छ भनेका छन्, जिब्रो लडबडिएर बोल्न समेत गाहे हुने चेतबहादुरले उत्साहित हुँदै भन्नुभयो ।
शिविरमा बाँकेको बैचहवा–२ नरैनापुरकी आमना जोलाही बलबल अस्पतालसम्म पुग्नु भएको थियो । आर्थिक अवस्था कमजोर भएकी आमना दुबै कानले राम्रोसँग सुन्न सक्नुहुन्न । तीन वर्षदेखि कानको समस्या झेल्दै आउनु भएकी ८० वर्षीया आमना ठूलो स्वरले बोल्दा मात्रै अलिअलि सुन्नुहुन्छ । राम्ररी कान सुन्न नसक्दा आफ्नै परिवारका सदस्यबाट अपहेलित भएको उहाँ बताउनुहुन्छ । ‘‘मैले दुई ओटै कान सुन्न सक्दिन’’, उहाँले भन्नुभयो, ‘‘अरुले बोलेको सुन्न नसक्दा धेरै गाह्रो हुँदो रहेछ ।’’ आमना पनि अरु जस्तै प्रत्येक वर्ष गाउँमा नै आएर चेकजाँच गराउने शिविरमा नियमित चेकजाँच गराउँदै आउनु भएको छ ।
सेनाले यस पालिकामा रहेका गरिब, असहाय, अशक्त र विपन्न वर्गको निःशुल्क स्वास्थ्य सेवा गर्ने उद्देश्यले शिविरको आयोजना गरेको थियो । नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले स्वास्थ्य शिविरबाट सहरका महँगा अस्पतालमा सेवा लिनबाट वञ्चित विरामीले गाउँमै निःशुल्क रूपमा स्वास्थ्य जाँच गराउन पाएको बताउनुभयो ।
बज्रदलका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अुनसार उक्त शिविरमा छ सय ७० जना बिरामीले स्वास्थ्य जाँच गराएका थिए । स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी रहेको प्रमुख सेनानी श्रेष्ठले बताउनुभयो । जिल्लाको दुर्गम भेगमा पर्ने यो पालिकाका अधिकांश बासिन्दाको आर्थिक अवस्था कमजोर हुँदा सहरका अस्पताल र निजी क्लिनिकहरुमा गई उपचार गराउन असमर्थ रहेकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको उहाँको भनाइ छ ।
सैनिक अस्पताल नेपालगन्ज, स्वास्थ्य कार्यालय बाँके, भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, नेपालगन्ज आँखा अस्पताल, एचसिआरसी अस्पताल नेपालगन्ज र शाही डेन्टल क्लिनिकको संयुक्त सहयोगमा सञ्चालित उक्त शिविरमा १६ जना विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । शिविरमा नशा तथा हाड जोर्नी, स्त्री रोग, प्रसूति तथा बाँझोपन, छालारोग, बालरोग, दन्तरोग, नाक, कान, घाँटी, आँखालगायतका रोगहरूको परीक्षण गरिएको थियो ।
साउन १ गते देउडा पर्व, कर्णाली प्रदेशमा सार्वजनिक बिदा
कर्णाली, ३१ असार I ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।
हतुवागढीले प्रशासनिक भवन बनाउँदै
भोजपुर, ३१ असार I भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको छ । भवन नहुँदा नागरिकलाई सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै यहाँ करिव रु सात करोड ५२ लाख लागतमा प्रशासनिक भवन निर्माणको काम थालिएको हो । भवन निर्माण सुरु भएको सात महिना करिब ३६ प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । प्रशासनिक भवन गाउँपालिकाको ४० प्रतिशत र सङ्घ सरकारको ६० प्रतिशत लगानीमा निर्माण भइरहेको उहाँको भनाइ छ ।
“सेवा प्रवाहमा देखिएको समस्यालाई ध्यानमा राख्दै प्रशासनिक भवन निर्माण गरिरहेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “हालसम्म करिब ३६ प्रतिशत काम सम्पन्न भएको अवस्था छ । भवन निर्माण सम्पन्न भएपश्चात् नागरिकलाई दिने सेवा प्रवाहमा थप सहजता हुनेछ ।” निर्माण सुरु भएको सात महिनाको अवधिमा हालसम्म दुई तला ढलानको काम सम्पन्न भइसकेको प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । लिफ्टसहित चार तलाको बन्ने भवन २४ महिनाभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ । गाउँपालिकाको आफ्नो भवन नहुँदा विगतको प्राथमिक स्वास्थ्य चौकीको पुरानो कच्ची भवनबाट सेवा प्रवाह भइरहेको छ । जनतालाई सेवा दिने व्यवस्थित भवन हुँदा भोग्नुपरेको समस्यालाई ध्यानमा राखेर सङ्घ सरकारसँगको लागत साझेदारीमा प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । भवन निर्माणपश्चात् सेवा प्रवाहमा सहजता हुने अध्यक्ष राईको भनाइ छ । भवन निर्माणको कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
“गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ”, अध्यक्ष राईले भन्नुभयो, “भवन अभावमा एकै स्थानबाट सेवा दिन नसकिरहेको अवस्था छ । जसको कारण नागरिकलाई लिन गर्न कठिन छ । एउटा व्यवस्थित प्रशासनिक भवनको आवश्यकता महसुस गरेर सङ्घ सरकारसँगको लागत साझेदारीमा भवन निर्माण थालेका हौँ ।”
भवन निर्माणको काम तोकिएको अवधिभन्दा अघिनै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको निर्माण कम्पनीका इन्जिनियर सुनिल जानलाले बताउनुभयो । हालसम्म भवन निर्माणको काम ३६ प्रतिशतको हारहारीमा सम्पन्न भएको कम्पनीको दाबी छ । भवन निर्माणको लागि हालसम्म गाउँपालिकाको तर्फबाट रु दुई करोड ५० लाख र सङ्घ सरकारको रु १२ लाख गरी कूल रु दुई करोड ६२ लाख भुक्तानी गरिएको गाउँपालिकाले जनाएको छ । आगामी आवको लागि रु डेढ करोड विनियोजन गरिएको जनाइएको छ । भवन निर्माणको काम २०८० पुस महिनाबाट सुरु भएको थियो ।
भोजपुरका नौवटा स्थानीय तहमध्ये भोजपुर नगरपालिकाको मात्र आफ्नै प्रशासनिक भवन रहेको भने अन्य आठ वटा स्थानीय तह भने पुराना सरकारी भवन तथा भाँडाको घरबाट सञ्चालन भइरहेका छन् । यसको कारण सेवा प्रवाहमा समस्या रहँदै आएको छ । पौवादुङमा गाउँपालिका, रामप्रसादराई गाउँपालिका, षडानन्द नगरपालिकाले पनि भवन निर्माण थालेका छन् ।
चार महिनामा आशा जगाउने काम गरेको छु: अर्थमन्त्री पुन
काठमाडौँ, ३० असार I अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताउनुभएको छ । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आज आयोजित विदाइ कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएकोसमेत दाबी गर्नुभयो ।
उहाँले चार महिने कार्यकालमा आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ आउने मन्त्रीसँग सहकार्य हुने उहाँले बताउनुभयो । आगामी आवको बजेटमार्फत विद्यमान शिथिल अर्थतन्त्रमा सुधार तथा निजी क्षेत्र र युवा वर्गमा आशा जगाउने खालका कार्यक्रम ल्याइएको उहाँले जिकिर गर्नुभयो ।
बाह्र वर्षअघि पहिलोपटक १८ महिना अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा दुई आर्थिक वर्षमा पुरक बजेट ल्याएको स्मरण गर्दै उहाँले यसपटक संसद्बाट पूर्ण बजेट ल्याउने मौका पाएकामा खुसी व्यक्त गर्नुभयो । “केही आशा जगाउने गरी बजेट ल्याएको छु । चार महिना एक साताको कार्यकालबाट म सन्तुष्ट छु”, अर्थमन्त्री पुनले भन्नुभयो, “मलाई अर्थ मन्त्रालय परिवार र नेपाल राष्ट्र बैंकका गभर्नरसहित सम्वद्ध सबैबाट राम्रो सहयोग मिल्यो ।”
आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रियालाई सहभागितात्मक बनाइएकाले विगतको तुलनामा यसपटकको बजेटको स्वामित्व धेरैले लिएको उहाँको भनाइ थियो । सरकारको नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा तालमेल नहुँदा मुलकको समग्र अर्थतन्त्रमा त्यसको नकारात्मक प्रभाव पर्ने गरेको विगतबाट सिकेर योपटक बढीभन्दा बढी निकाय र सरोकारवालाको सहभागितामा बजेट निर्माण गरिएको अर्थमन्त्री पुनको भनाइ छ ।
“एक वर्ष बसे पनि, चार महिना बसे पनि अर्थमन्त्रीले गर्ने मुख्य काम बजेट ल्याउनु नै हो । जहिले पनि बजेट विवादमा आउने र कसैले स्वामित्व नलिने अवस्था रहँदै आयो । प्रधानमन्त्री कार्यालयमा बन्ने नीति तथा कार्यक्रम एक खालको, अर्थ मन्त्रालयमा बन्ने बजेट अर्को खालको र राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अर्कै खालको हुने गरेको थियो”, उहाँले भन्नुभयो, “राज्यका नीतिहरु समन्वयात्मक ढङ्गले आउनुपर्छ भनेर यसपटक बजेट निर्माणमा सुरुदेखि नै बजेट बनाउँदा योजना आयोगका, उपाध्यक्ष, राष्ट्रबैंकका गर्भनर र मुख्यसचिवलाई सुरुदेखि नै सहभागी गराइयो ।”
मलुकु आर्थिक शिथिलताबाट माथि उठ्दै गर्दा तयार पारिएको बजेटले आशा जगाएको अर्थमन्त्री पुनको भनाइ छ । विगतमा जस्तो यसपटक बजेट महत्वाकांक्षी नरहेकाले कार्यान्वयन हुनेमा शङ्का नरहेको उहाँले उल्लेख गर्नुभयो ।
मुलुकको भू–अवस्थितिअनुसार आर्थिक विकासको अवधारणा र रुपान्तरणकारी योजना बनाउनुपर्ने विषयलाई ध्यान दिएर यसपटक विगतमा जस्तै कृषि, जलविद्युत, पर्यटन र उत्पादममुलक उद्योगमा जोड दिइए पनि सूचना प्रविधि क्षेत्रलाई महत्वका साथ समावेश गरिएको चर्चा मन्त्री पुनले गर्नुभयो । “सूचना प्रविधिमा हाम्रो प्रतिस्पर्धी क्षमता छ । भू–अवस्थितिका कारणले पनि त्यो क्षेत्रमा विश्वव्यापी प्रतिस्पर्धी क्षमता बन्न सक्छ भन्ने मेरो विश्वास हो”, उहाँले भन्नुभयो ।
दुई छिमेकी मुलुक भारत र चीनको विकसित र सुदृढ अर्थतन्त्रबाट प्रत्यक्ष लाभ लिने गरी बजेटमार्फत् योजना अघि सारिएको पुनको दाबी छ । “विगतमा बजेट छरियो, आकार ठूलो भयो, महत्वाकांक्षी भयो, कार्यान्वयन हुँदैन भन्ने गरिन्थ्यो । धेरैको अपेक्षाविपरीत हामीले सही आकारको र यथार्थपरक बजेट प्रस्तुत गरेका छौं”, उहाँले भन्नुभयो, “विश्व आर्थिक केन्द्र बन्दै गइरहेको दुवै छिमेकका विकसित अर्थतन्त्रबाट फाइदा लिनुपर्छ भनेर योजना र कार्यक्रम ल्याएका छौं ।”
बढ्दो वैदेशिक मुद्रा सञ्चितिलाई मुलुकको प्राथमिकता क्षेत्रमा खर्च गर्न बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’को अवधारणा अघि सारिएको अर्थमन्त्री पुनले उल्लेख गर्नुभयो । “वैदेशिक मुद्राको सञ्चितिलाई मुलुकको विकासमा सदुपयोग गर्नका लागि बजेटमार्फत ‘सोभरेन्ट वेल फण्ड’का रुपमा लानुपर्छ भन्ने नयाँ बहस अघि सारेका छौं”, उहाँले भन्नुभयो, “यो अवधारणाले हामीलाई विदेशी मुद्राको सञ्चितिलाई मुलुकको प्राथमिकता निर्धारण गरेर प्रयोग गर्ने सुविधा दिन्छ ।”
अर्थमन्त्री पुनले बजेटमार्फत् करका दर फेरफेर गर्दा यसपटक धेरै विवाद नभएकोसमते जिकिर गर्नुभयो । बजेट निर्माणको सुरुको चरणदेखि नै आफू त्यसबारे सचेत रहेको भन्दै उहाँले एक्लै नभई मन्त्रालयका दुवै सचिव, राजश्व महाशाखा प्रमुख, भन्सार र राजश्वका महानिर्देशक र बजेट लेखन समितिका सदस्यबीच लामो छलफलपछि मात्र करका दरहरुमा हेरफेर भएको बताउनुभयो ।
“अर्थमन्त्रीले अन्तिम रात आफूखुसी बिना तर्क, बिना तथ्य एक्लो तजबिजमा राजश्व र भन्सारका दरमा हेरफेर गरिन्थ्यो । यसपटक मन्त्रालयको पूरै टिमले विज्ञ, सरोकारवाला र उद्योगी व्यवसायीका संगठनले संस्थागत रुपमा दिएका संस्थागत सुझावसमेत समेटेर तथ्यमा आधारित रहेर राजश्व र भन्सारका दर हेरफेर गरेका छौं । त्यसमा पनि एकदमै कम चलाएका छौँ”, पुनले भन्नुभयो ।
सरकारले विकासका ढाँचा बनाउँदा केही ठाउँमा विकास गर्ने र त्यसलाई विस्तार गर्ने गरी नीति लिनुपर्ने भन्दै उहाँले बजेटले नयाँ कार्यक्रमका रुपमा पोखरा, बुटवल र नारायणगढ तीन ठूला सहरलाई जोेडर आर्थिक त्रिभुजको अवधारणा अघि सारेको उल्लेख गर्नुभयो । सरकारले यातायातसहित पूर्वधार निर्माण तथा नीतिगत क्षेत्रमा काम गर्ने र निजी क्षेत्रको सहकार्यमा त्रिभुज कार्यान्वयन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमार्फत नयाँ चरणको आर्थिक सुधारको घोषणा गरिएको भन्दै अर्थमन्त्री पुनले त्यसले समाजवादतर्फको बाटो निर्माण गर्ने धारणा राख्नुभयो । संविधानले मुलुकलाई समाजवाद उन्मुख भनेकाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय पुँजी समाजवादतर्फ उन्मुख गराउन उक्त नीति अघि सारिएको उहाँको भनाइ छ ।
“संविधानले निर्दिष्ट गरेको र राज्य प्रणालीले अपेक्षा गरेअनुसार नयाँ चरणाको आर्थिक सुधारको अवधारणा अगाडि सारिएको छ । यस वर्षको बजेटको प्राथमिकता पनि त्यसकै वरिपरिबाट निर्धारण गरिएको हो”, अर्थमन्त्री पुनले भन्नुभयो ।
अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले एक अर्काका प्रतिस्पर्धी नभई समन्वयमा काम गर्नुपर्ने भएपनि विगतमा विविध कारणले त्यसो हुन नसकेको अनुभव यसपटक आफूले गर्नुनपरेको पुनले अनुभव सुनाउनुभयो ।
अर्थमन्त्री पुनले कर्मचारीतन्त्रको मनोबल खस्किएको भन्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभयो । असल नियतका साथ काम गर्दा तत्काल कुनै आरोप लागे पनि इतिहासले सही मूल्याङ्कन गर्ने भएकाले निडर भएर कार्यसम्पादन गर्न उहाँको सुझाव थियो । आफू जिम्मेवारीका हिसाबले जहाँ रहे पनि कर्मचारीतन्त्रको मनोबल उठाउने काममा लाग्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो
धरान (सुनसरी), ३० असार I धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ । साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।
इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उहाँले बताउनुभयो ।
भाकल पूरा गर्न झापाबाट धरान आउनुभएका अञ्जा कार्र्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।”
दश वर्ष अघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो । विस्तारै यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो ।
बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् । यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ । मन्दिर नजिकै फूलमाला बेच्दै आउनुभएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउनुहुन्छ । उहाँले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनी भिडभाड हुने गरेको बताउनुभयो ।
असारको अन्तिम शनिबार हिजो र आज सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताउनुभयो । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए । साउनभर धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ । साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् ।
नेप्से परिसूचक ५२ अङ्कले बढ्यो
काठमाडौँ, ३० असार I यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धिसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर दुई हजार दुई सय ५७ दशमलव ५९ को विन्दुमा कायम भएको छ ।
आज तीन सय नौ कम्पनीको दुई करोड २० लाख ४७ हजार तीन सय २७ कित्ता शेयर ९६ हजार दुई सय ७४ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ६२ करोड चार लाख ९८ हजार पाँच सय २० बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै बैङ्किङ तीन दशमलव ७४ र जलविद्युत् समूह तीन दशमलव ३० प्रतिशतले बढेको छ ।
विकास बैङ्क एक दशमलव २०, वित्त एक दशमलव ३३, होटल तथा पर्यटन एक दशमलव ०७, लगानी एक दशमलव ३० र जीवन बीमा समूह दुई दशमलव ०५ प्रतिशतले बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन दुई दशमलव ६६, लघुवित्त शून्य दशमलव ८२, म्युचुअल फन्ड एक दशमलव ७४, निर्जीवन बीमा एक दशमलव २६, व्यापार दुई दशमलव २१ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले बढेको छ ।
रिदी पावर कम्पनी लिमिटेड र माण्डु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव १२ प्रतिशतको गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै जानकी फाइनान्स लिमिटेडको रु २४ करोड २७ लाख ५८ हजार पाँच सय ७२ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै ग्लोबल आइएमई लिमिटेड प्रमोटर शेयर २० लाख ७५ हजार एक सय दुई कित्ता शेयर किनबेच भएको छ ।
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
भरतपुर, ३० असार I गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताउनुभएको छ । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित यहाँ आउनुभएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिनुभयो ।
उहाँले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताउनुभयो । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारुकता दिन सकिन्छ भनेर लागेका छौँ,” उहाँले भन्नुभयो, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।”
उहाँले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताउनुभयो । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आजै दुर्घटनास्थलको स्थलगत निरीक्षण गर्ने जनाइएको छ ।
यही असार २८ गते बिहान ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका–२९ नारायगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नंको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख००१ नंको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थिए । नदीमा बेपत्ता ६५ यात्रुमध्ये अहिलेसम्म पाँचजनाको मात्र शव फेला परेको छ ।
त्रिभुवन विश्वविद्यालय सभा स्थगित
काठमाडौँ, ३० असार I सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिनुभयो ।
यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो ।
यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गर्नुभएको थियो ।
मोरङमा बढ्दो वन, यस वर्ष रोपियो ५७ हजार बिरुवा
बेलबारी (मोरङ), ३० असार I जिल्लास्थित डिभिजन वन कार्यालयले यस वर्ष ३६ हेक्टर बाँझो जमिनमा ५७ हजार छ सय बिरुवा रोपेको छ । ‘जहाँ बाँझो त्यहाँ वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन’ भन्ने नाराका साथ सरकारले सुरु गरेको वृक्षरोपण अभियानलाई सफल बनाउन कार्यालयले विभिन्न प्रजातिका ५७ हजार छ सय बिरुवा रोपेको हो ।
जिल्लाको कूल एक लाख ८५ हजार पाँच सय ५० क्षेत्रफलमध्ये हाल ४४ हजार पाँच सय ४० हेक्टर जमिनमा वन रहेको कार्यालयका सूचना अधिकृत रामलखन ठाकुरले जानकारी दिनुभयो । एक सय ३७ सामुदायिक, चार साझेदारी, १२ धार्मिक र छ सय १८ वटा निजी वन रहेका छन् ।
नदी उकास क्षेत्रमा खयर र बाँस, चुरे महाभारत क्षेत्रमा तेजपाल, टिमुर, हर्रो, बर्रो, सहरी क्षेत्रमा कल्की, अशोक, अमला र अम्बक, सामुदायिक वनमा साल, सतिसाल, कर्मा र किसानको निजी वनमा मसला, टिक, टाँकीलगायत बिरुवा लगाइएको सूचना अधिकृत ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार वनको विकास र विस्तार गर्न मोरङमा २२ स्थानमा उत्पादन गरिएका बिरुवा वितरण गरी लगाइएको हो ।
वनले ९० प्रजातिका बिरुवा उत्पादन गरेको छ । लक्ष्मी सामुदायिक वन उपभोक्ता समिति बेलबारीद्वारा बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा पाँच दशमलव पाँच हेक्टर जग्गामा विभिन्न प्रजातिका आठ हजार बिरुवा रोपिएको समितिका अध्यक्ष सुजय गौतमले जानकारी दिनुभयो ।
जिल्लामा ९६ प्रतिशत वन पूर्वपश्चिम राजमार्गदेखि उत्तरतर्फ छ । राजमार्गको दक्षिणी क्षेत्रमा वन क्षेत्र बढाउन वृक्षरोपण गर्नुपर्ने आवश्यकता भएकाले मठमन्दिर, नदी किनार, गौचरन र सार्वजनिक एवं खाली जग्गामा वृक्षरोपण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताउनुभयो । “जिल्लामा पछिल्लो चार वर्ष क्रमशः उत्पादित काठको बिक्री घटेको तथ्याङ्क रहको छ”, उहाँले भन्नुभयो ।
आर्थिक वर्ष २०७७/७८ मा एक लाख ५४ हजार दुई सय ३८ घनफिट काठ बिक्री भएको थियो । आव २०७८/७९ मा ९८ हजार पाँच सय २५ घनफिट, २०७९/८० मा ६६ हजार ६१ घनफिट र २०८०/८१ मा अनुमानित ३५ हजार चार सय घनफिट काठ बिक्री भएको तथ्याङ्क रहेको वन कार्यालयका वन अधिकृत घनश्यामकुमार यादवले जानकारी दिनुभयो । काठको उत्पादनमा वार्षिक रुपमा कमी आएकाले बिक्री घटेको उहाँले बताउनुभयो ।
वनजङ्गलमा देखिएको निकै पुराना रूखले गर्दा नयाँ बिरुवा हुर्कन नसक्ने र पछि जङ्गल पातलिने भएकाले वनलाई घना बनाई व्यवस्थित गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरेको थियो । विसं २०७७ माघदेखि उक्त कार्यक्रम बन्द भएको छ । उक्त कार्यक्रम बन्द भएपश्चात् क्रमशः काठको उत्पादन घटेको वन अधिकृत यादवले बताउनुभयो ।
वर्षमा तीनपटकसम्म काठ बिक्रीका लागि निवेदन माग गर्दा विगतका वर्षहरुमा तीन सयभन्दा बढी निवेदन आउने गरेकामा पछिल्लो समय ५० को हाराहारीमा मात्र निवेदन पर्ने गरेको वन अधिकृत यादवले जानकारी दिनुभयो । उहाँको अनुसार ‘ए’ ग्रेडको सालको मूल्य रु एक हजार दुई सय ५० प्रतिघनमिटर, ‘बी’ ग्रेडको रु एक हजार, ‘सी’ ग्रेडको रु ६ सय र ‘डी’ ग्रेडको रु तीन सय ५० प्रतिघनमिटरका साथै भ्याट शुल्क, सङ्कलन बापतको शुल्क र प्रतिघनमिटरको रु सात प्रदेश सेवा शुल्क जोडेर बिक्री हुने गरेको छ ।
हाल करिब ९० हजार घनमिटर काठ घाटगद्दीमा भण्डारणमा रहेको भन्दै काठको उत्पादन घटेसँगै माग नबढेको वन प्रमुख घिमिरेले बताउनुभयो । “उपभोक्ताबाट काठको मागमा कमी आएको छ । नयाँ घर निर्माणमा कमी, वैकल्पिक निर्माण सामग्रीको प्रयोगलगायत कारणले माग घटेको हुनसक्छ”, उहाँले भन्नुभयो
मानवबेचबिखन विरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला
राँझा (बाँके), ३० असार I जिल्लाको जानकी गाउँपालिकाका महिला मानवबेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँबस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।
जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताउनुभयो । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भन्नुभयो, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”
स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताउनुभयो ।
आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनामार्फत गठित स्वावलम्बन समूहमा महिला दिदीबहिनीले गाउँटोलका सामाजिक समस्या र मानवबेचबिखन, महिला हिंसालगायत विषयमा छलफल गर्दै आउनुभएको छ ।
जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताउनुभयो । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको माग छ ।
“पढेलेखेका, जानेबुझेका महिला दिदीबहिनी नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उहाँले भन्नुभयो, “लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपाटीले बाहिर आउन सकेको
छैन ।” जानकीको साईगाउँ, खजुराखुद्र्ध र गनापुरमा गठन भएका ३० स्वावलम्बन समूहमा आबद्ध करिब तीन सय महिलाले अहिले गाउँ समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजलाई सचेत बनाउन लागिपर्नुभएको छ । जानकी गाउँपालिका–६ गनापुर निवासी सञ्जु गडरियाले समूहमा आबद्ध भएपछि अहिले मानव बेचविखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसाका बारेमा जान्ने बुझ्ने अवसर पाएको बताउनुभयो ।
जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ ।”
आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भन्नुभयो ।