बङ्गुर, बाख्रा र कुखुरापालनबाट आकर्षक आर्जन
तुलसीपुर (दाङ), ३० असार I तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक हुनुहुन्छ । उहाँ २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहनुभएको छ ।
उहाँले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गर्नुभएको छ । करिब रु १० लाख लागतमा उहाँले व्यवसाय सुरु गर्नुभएको हो ।
स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले काम प्रारम्भ गरेको बताउनुभयो । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भन्नुभयो । उहाँले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताउनुभयो ।
बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा सेवा गर्नुभएका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उहाँ भन्नुहुन्छ “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उहाँले भन्नुभयो, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, ३० असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा मेघगर्जन र चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।
प्रदेश खेलकुद विकास बोर्डले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने
मोरङ, २९ असार I कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।
बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा असार ३० गते अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गर्ने जानकारी दिइयो ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले आफूले नेतृत्व पाएको दुई महिनामा १० वटा प्रदेशस्तरीय खेलकुद विभिन्न जिल्लामा सम्पन्न गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्ष खेलकुदको वार्षिक पात्रोअनुसार नियमित खेलकुद प्रतियोगिता आयोजना गर्नुका साथै ३० वटा खेलकुद प्रतियोगिता प्रदेशका विभिन्न जिल्लामा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत
कास्की, २९ असार I गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो ।
चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन् ।
खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यसचिव श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो ।
पुरस्कृत हुने खेलाडीमध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु सात हजार, पाँच हजार र रु तीन हजारका दरले पुरस्कृत गरिएको हो । यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो ।
त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ, खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो,“खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनका विषयमा थुप्रै प्रश्नहरू छन् । खेलाडीले खेल खेलेर जीवन धान्ने अवस्था बनाउन सबैको प्रयत्न आवश्यक छ, यसमा प्रदेश सरकारले योगदान गर्छ ।”
सामाजिक तथा स्वास्थ्यमन्त्री थापाले खेलकुदमा भविष्य छ भन्ने सुनिश्चित गर्न तीनै तहका सरकार खेलकुद विकासमा अघि बढेको बताउनुभयो । “खेलकुद अनुशासित क्षेत्र हो । यसले सौहार्दताका साथै राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मन्त्रालय खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकासका लागि थप प्रतिबद्ध भएर लाग्नेछ”, उहाँले भन्नुभयो ।
सही सूचना नपाउँदा प्रवेश परीक्षाबाट बञ्चित भए विद्यार्थी
काठमाडौँ, २९ असार I माइतीघरस्थित सेन्ट जेभियर्स कलेजले दुई वटा सूचना प्रकाशित गरेपछि कक्षा ११ को प्रवेश परीक्षाबाट केही विद्यार्थी बञ्चित भएका छन् ।
कलेजको सुरुमा प्रकाशित गरेको सूचनाका आधारमा विद्यार्थीहरु आज बिहान ७ः१५ बजे कलेज परिसर पुगेका थिए । तर कलेजले उक्त परीक्षा शुक्रबार नै सम्पन्न भइसकेको जानकारी गराएको थियो ।
कञ्चनपुरबाट प्रवेश परीक्षा दिन आएका आर्थिक रानाका पिता कृपाराम रानाले भन्नुभयो, “प्रवेश परीक्षा लिन भनेर हामीसँग रु एक सय ५० का दरले रकम उठाइएको थियो तर अहिले आएर परीक्षा दिनबाट बञ्चित गराइयो ।” विद्यार्थी प्रियङ्का ओझाका पिता विपिन ओझाले पनि उक्त कलेजको लापरबाहीका कारण आफूहरुले दुःख पाएको गुनासो गर्नुभयो ।
कलेजले कक्षा ११ मा भर्नाका लागि विभिन्न १० स्थानका लागि आवेदन मागेकामा करिब साढे दुई लाख विद्यार्थीले फाराम भरेका थिए । कलेजले सुरुको सूचनामा पाँच स्थानमा शुक्रबार र पाँच स्थानमा शनिबार परीक्षा सञ्चालन हुने उल्लेख गरेको थियो । तर पछि तालिका परिवर्तन गरेकाले शनिबारका लागि तयारी गरेका विद्यार्थी परीक्षा दिनबाट बञ्चित भएका हुन् ।
दार्चुलाका विद्यार्थी रश्मी साउदले काठमाडौँ आएर पनि परीक्षा दिन नपाउँदा दुःख लागेको बताउनुभयो । कलेजका प्रिन्सिपल फादर डा अगुस्टिन थोमस एसजेसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले कलेजको फरक–फरक सूचनाका कारण विद्यार्थीहरु प्रवेश परीक्षाबाट वञ्चित भएका हुन् भने दुःखद् भएको र यसबारे कलेज जवाफदेहिता हुनुपर्ने तर्क गर्नुभयो ।
प्रसूति केन्द्र बन्द भएपछि स्थानीयलाई समस्या
बैतडी, २९ असार I बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर (प्रसूति केन्द्र) बन्द हुँदा स्थानीयलाई समस्या भएको छ । पालिकाले बजेट अभावको कारण देखाउँदै यहाँका आम्चोरा, रोडीदेवल र वडा नं १ मा गरी चारवटा केन्द्र बन्द गरेपछि समस्या भएको हो ।
स्वास्थ्यचौकीबाट टाढा रहेका बस्तीलाई लक्षित गरी सञ्चालन गरिएका केन्द्र बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् । स्वास्थ्यजस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद् भएको स्थानीय कलावती चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमै सुविधासम्पन्न प्रसूति सेवा विस्तार गर्नुपर्ने हो तर भएकै सेवा पनि बन्द गराउनु दुःखको कुरा हो । यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने प्रष्ट हुन्छ ।”
गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताउनुभयो । सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उहाँले भन्नुभयो । “गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ । अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती केन्द्र बन्द गर्न भनिएको हो”, अध्यक्ष चन्दले भन्नुभयो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर शाहले पनि बजेट अभावका कारण ती केन्द्र बन्द गरिएका जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “एउटा केन्द्रमा दुई अनमी र एक सहयोगी राख्नुपर्ने भएकाले बजेट अभाव हुँदा समस्या भयो । त्यसैमा स्वास्थ्यतर्फको बजेट रु ३३ लाखबाट घटाएर रु २० लाखमात्र विनियोजन गरिएकाले ती केन्द्र बन्द गर्न बाध्य भएका हौँ ।”
यहाँ छवटा स्वास्थ्यचौकीबाहेक थप चार स्थानबाट प्रसूति सेवा प्रदान हुँदै आएको थियो । गाउँपालिकाका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले अब गर्भवती महिलालाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याएर प्रसूति सेवा दिइने योजना रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहले बताउनुभयो ।
‘ज्यान बच्यो, अन्नपात जोगिएन’
दोधारा चाँदनी (कञ्चनपुर), २९ असार I जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् ।
अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।
घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरु बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताउनुभयो । “भाँडाकँुडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझबिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ”, उहाँले भन्नुभयो, “खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।”
दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको साहारा बस्नुपरेको उहाँले बताउनुभयो । “बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो”, उहाँले भन्नुभयो, “दराज र सोफा लेदोले पुरिएको थियो ।घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।”
टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् ।
रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताउनुभयो । “राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्”, उहाँले भन्नुभयो, “ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।” उहाँले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताउनुभयो ।
बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए । उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
धनुषा जिल्लामा ४५ प्रतिशत भन्दा बढी धान रोपाइँ, धानखेती गर्ने जमिन घट्दै
जनकपुरधाम ,२९ असार I धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ । यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ । विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ । वागतवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ पानीका अभावमा किसानले ढिलो गरी ब्याड राखेकोले रोपाइँ गर्न पनि केही ढिलो भएको हो । ”
अधिकृत यादवका अनुसार जिल्लामा नहरलगायत विभिन्न माध्यमबाट ३५ हजार हेक्टर जमिनमा मात्र सिँचाइ सुविधा पुगेको छ । यसैगरी अझै जिल्लाका ६५ प्रतिशत खेतमा आकाशे पानीको भरमा धानखेती हुँदै आएको बताइएको छ ।
विगतका तुलनामा धानखेती अहिले महँगो भएको छ । ट्याक्टरबाट खेत जोत्नका लागि प्रति घण्टा रु दुई हजार पाँच सय लिने गरेको छ भने पानीको अभाव पूरा गर्नका लागि ट्याङ्करबाट खेतमा पानी हाल्न प्रतिघण्टाको रु पाँच सय तथा प्रतिकामदार रु चार सय र १० किलो धान दिनुपर्ने गरेको छ । यसमा रासायनिक मलको थप मूल्य तिर्नुपर्ने हुन्छ । धानखेती महँगो भए पनि लागतअनुसार धान उत्पादनको बजार मूल्य नपाएको किसानको गुनासो छ ।
गत आव २०८०/८१ मा जिल्लामा ४२ हजार हेक्टर जमिनमा गरिएको धानखेतीमा एक लाख १७ हजार छ सय मेट्रिकटन धान उत्पादन भएको सो केन्द्रद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । अघिल्लो वर्षका तुलनामा २८ हजार छ सय ८० मेटिकट्रन कम धान उत्पादन भएको बताइएको छ ।
जिल्लामा करिब सात लाख जनसङ्ख्या रहेको मा ७० प्रतिशत किसान धानखेतीमा संलग्न रहेका छन् । कृषि जनगणना २०७८ अनुसार जिल्लामा विस्तारै धानखेती घट्दै गएकाले उत्पादनमा कमी आएको जनाइएको छ । अहिले ४२ हजार हेक्टर जमिनमा धान खेती भइरहको सो गणनामा उल्लेख गरिएको छ ।
आव २०७९/८० मा झापा स्थित मेची भन्सार नाकाबाट रु ५८ करोड ७३ लाख २९ हजार मूल्य बराबरको ९७ लाख ६५ हजार केजी चामल नेपाल भित्रिएको तथा त्यसबाट जलेश्वर भन्सार कार्यालयलाई रु छ करोड ९० लाख भन्सार राजस्व सङ्कलन भएको भंसार अधिकृत सुमित गुप्ताले जानकरी दिनुभयो ।
मधेस प्रदेश सरकारले कृषिमा आकर्षक नारा लगाए पनि किसानको समस्या समाधान हुन सकेको छैन ।
चीनद्वारा बालबालिका लक्षित हानिकारक’ सामग्रीमाथि अनलाइन कारबाही सुरु
बेइजिङ, २९ असार I चिनले शनिबार बालबालिकाका लागि हानिकारक मानिने सामग्री ,भिडियो एप र सामाजिक सञ्जाल प्लेटफर्मलाई लक्षित गर्दै आफ्नो कडा नियन्त्रित इन्टरनेटमा नयाँ कारबाहीको घोषणा गरेको छ । सत्तारूढ कम्युनिस्ट पार्टीले घरेलु वेबलाई कडाइका साथ नियमन गरी अश्लील, तथा राजनीतिक रूपमा विध्वंसक मानिने सामग्रीलाई सेन्सर गर्ने भएको छ ।
यसले समय–समयमा अनलाइन प्रभावकर्ता देखि गेमिङ र सपिङ प्लेटफर्मसम्मका विशिष्ट क्षेत्रहरूमा कडाई गरेको छ । शनिबार एक विज्ञप्तिमा, देशको इन्टरनेट वाचडगले इन्टरनेटमा नाबालिगको सुरक्षालाई प्रभावकारी रूपमा सुदृढ पार्न र स्वस्थ, सुरक्षित अनलाइन वातावरण सिर्जना गर्न दुई महिनाको “क्लियर एन्ड ब्राइट“ अभियान सुरु गरिरहेको बताएको छ ।
यस कदमले छोटो–भिडियो र लाइभ स्ट्रिमिङ प्लेटफर्महरू, सामाजिक मिडिया साइटहरू, अनलाइन सपिङ प्लेटफर्महरू, एप स्टोरहरू, बच्चाहरूका लागि स्मार्ट उपकरणहरू र नाबालिगहरूका लागि अनलाइन नियन्त्रणसँग सम्बन्धित “प्रमुख समस्याहरू समाधान गर्ने चीनको साइबरस्पेस प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसले विद्यालय बदमाशीलाई प्रोत्सान गर्ने भिडियोहरू प्रसारण गर्ने, क्लासिक बच्चाहरूको कार्टुन र गीतहरूमा “हिंसात्मक र घृणित“ सामग्री थप्ने, र कम उमेरका “इन्टरनेट सेलिब्रेटी बच्चाहरू“ बाट नाफा कमाउने जस्ता विविध व्यवहारलाई लक्षित गर्दछ ।
यसले ई–कमर्स प्लेटफर्मबाट अश्लील र यौन सूचक उत्पादनहरू उन्मूलन गर्ने लक्ष्य सहित बच्चाहरूलाई “हानिकारक मित्रता“ मार्फत दुर्भावनापूर्ण रूपमा बनाइएको अनलाइन शब्दजाल र अश्लील तर्फ आकर्षित गर्ने जानकारी पनि दिन्छ । नाबालिगहरूका लागि विशेष समस्याको नयाँ अभिव्यक्तिमा नजिकबाट ध्यान दिई संयुक्त रूपमा राम्रो अनलाइन इकोलोजीलाई समर्थन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ ।
चिनियाँ बालबालिकाहरूले गर्मीको स्कुलको छुट्टी सुरु गर्दा र हालैका वर्षहरूमा यस्तै थुप्रै अभियानहरू पछ्याउँदा पछिल्लो अभियान आएको हो । सेन्सरहरूले अप्रिलमा अर्को “क्लियर एन्ड ब्राइट“ अभियान सुरु गरेपछि धेरै प्रसिद्ध प्रभावकर्तालाई अवरुद्ध गरेका छन् जसले आकर्षक व्यक्तित्वहरूले जानाजानी पैसाले भरिएको असाधारण जीवनशैली प्रदर्शन गर्दछ ।
सरकारले १८ वर्ष मुनिका बालबालिकाहरूले अनलाइन गेम खेल्ने समय पनि गम्भीर रूपमा कटौती गरेको छ । पहिले ई–कमर्स प्लेटफर्महरूमा आफूले अवांछनीय ठानेका उत्पादनबाट बेच्ने प्रशिक्षण दिएको छ, जस्तै सफ्टवेयर जसले आधिकारिक इन्टरनेट नियन्त्रणहरू स्कार्ट गर्दछ ।-रासस/एएफपी
महानगरले पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने
पाटन (ललितपुर), २९ असार I ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरभित्रका पुरातात्विक सम्पदा निर्माण गर्दा सङ्घीय सरकारसँग आर्थिक सहयोग नलिने बताउनुभएको छ ।
ललितपुरको सुनाकोठीस्थित भृङ्गारेश्वर महादेव मन्दिर प्राङ्गणमा भृङ्गारेश्वर धाम निर्माण गर्न आगामी कात्तिक ६ गतेदेखि १३ गतेसम्म हुने श्रीमद्भागवत् ज्ञान महायज्ञ(आध्यात्मिक महोत्सव)को सङ्कल्पसभाको उद्घाटन गर्दै प्रमुख महर्जनले मठमन्दिर, देवालय, शिवालयलगायत पुरातात्विक सम्पदा बनाउँदा महानगरको आन्तरिक स्रोतबाट खर्च गरिने जानकारी दिनुभयो ।
“सङ्घीय सरकारसँग खर्च लिएर पुरातात्विक शैलीको मठमन्दिर, देवालय, शिवालय निर्माण गर्दा प्रक्रिया लामो हुन्छ । ठेकेदारले पनि लिच्छविकालीन, मल्लकालीन मठमन्दिर, सम्पदाहरु पुरानै शैलीमा निर्माण गर्दैनन्”, उहाँले भन्नुभयो, “पाटन दरबारको भीमसेन मन्दिर, देगु तलेजु, बालकुमारीको बालकुमारी मन्दिर महानगरले उत्कृष्ट तरिकाले निर्माण गरेको छ । कुनै समस्या भएको छैन ।”
मठमन्दिर, देवालय, शिवालय निर्माणमा नेतृत्व राम्रो भयो भने खर्च अभाव नहुने भन्दै महर्जनले काम गर्ने जोशजाँगर र इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो । सुनाकोठीमा सञ्चालन हुने महायज्ञले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय महत्वको प्रचारप्रसार गर्नुका साथै आर्थिक सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँको भनाइ छ ।
महायज्ञ सम्पन्न भएपछि मात्रै निर्माण सुरु हुनेगरी तालिका सार्वजनिक गर्नुपर्ने बताउँदै महानगर प्रमुख महर्जनले पुनःनिर्माणका लागि खर्च अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यो ठाउँ मुलुकको भ्रमण गर्नैपर्ने ठाउँ हो भनेर प्रचारप्रसार गर्न जरुरी छ । प्रभावकारी निर्माणका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो ।
महायज्ञका कथा वाचक प्रविण पण्डित दीनबन्दु पोखरेलले आध्यात्मिक साधन गर्न नेपाल सर्वाेच्चस्थल हो भन्नुहुँदै विश्वलाई आध्यात्मिकवादमार्फत शान्तिको सन्देश दिन यहाँका धार्मिक, ऐतिहासिक स्थलको विश्वमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।
“आध्यात्मिक साधनाका लागि नेपाल सर्वाेच्चस्थल हो । यहाँ विश्वले भ्रमण गर्नैपर्ने स्थान छन् । सांस्कृतिक हिसाबले ललितपुर उत्कृष्ट छ, सुनाकोठीको यो भृङ्गारेश्वर क्षेत्रलाई आध्यात्मिक पर्यटकीय नगरीका रुपमा अन्तर्राष्ट्रियरुपमा विकास गराउनुपर्छ । महायज्ञका लागि विश्वासगरी शुभअवसर प्रदान गर्नुभएकामा गौरवान्वित छु”, पण्डित पोखरेलले भन्नुभयो ।
ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले सुनाकोठीको महायज्ञ सञ्चालनबाट पहिचान उजागर हुने तथा ऐतिहासिक महत्व अझै बढी प्रचारप्रसार हुने धारणा राख्दै यसका लागि सबैले आवश्यक सहयोग, समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो ।
प्राचीनकालमा निर्मित भृङ्गारेश्वर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । उक्त मन्दिरलाई पुरानै शैलीमा निर्माण गर्न महानगरको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) प्रक्रिया अघि बढेको छ ।
ऐतिहासिक सम्पदाका रुपमा रहेको भृङ्गारेश्वर महादेव मन्दिरको पुनःनिर्माण गरेर यहाँका पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा बुद्धसेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताउनुभयो । उहाँका अनुसार यहाँ बालकुमारी त्रिपुरासुन्दरी, जगन्नाथ, गणेश र भृङ्गारेश्वर महादेव मन्दिरलगायत ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।