तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
ह्वासियोङ, दक्षिण कोरिया, २४ असार I दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।
सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताउनुभयो ।
सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।
सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ ।
नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले एएफपीसँग भन्नुभयो, “आजदेखि हडताल सुरु भएको छ । आजको आमहडताल त सुरुवात मात्र हो ।”
“हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,” उहाँले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भन्नुभयो ।
युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । युनियनका उपाध्यक्ष ली ह्युन कुकले भन्नुभयो, “के उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?”
करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।
श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो ।
यससम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ ।
सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भन्नुभयो, “जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् ।
“समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ । -रासस/एएफपी
पुरानै शैलीमा पुनःनिर्माण हुँदै लमजुङ दरबार
गण्डकी, २४ असार I चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले दुई वर्षअघि पुनःनिर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनःनिर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
“स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उहाँले भन्नुभयो, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनःनिर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपिएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएस÷ विष्णु जेभी’ले दरबार पुनःनिर्माणको जिम्मा पाएको हो ।
इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरुपमा दरबारको पुनःनिर्माण भइरहेको बताउनुभयो । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनःनिर्माण पनि सँगसँगै भइरहेको उहाँको भनाइ छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिनुभयो ।
“परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनःनिर्माणको काम भइरहको छ, पुरातात्विक महत्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ”, उहाँले भन्नुभयो, “मौलिक शैली र स्वरुपमा दरबार बन्छ ।” दोस्रो तलाको गारो र झ्याल–ढोका राख्ने काम भइसकेको उहाँले बताउनुभयो ।
उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्व विभागले पुनःनिर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनःनिर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताउनुभयो ।
“अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आउँदो वर्ष पनि दरबार पुनःनिर्माण पूरा हुने देखिन्न”, उहाँले भन्नुभयो, “पुरातत्व विभागले पुनःनिर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ ।” एतिहासिक धरोहरको रुपमा रहेको दरबार पुनःनिर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उहाँको भनाइ छ ।
लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रुपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनःनिर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताउनुभयो ।
“छिटो पुनःनिर्माण पूरा गर्न सकिएमा दरबारलाई पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सकिन्छ, यसबाट सिङ्गै लमजुङ जिल्लाको पहिचान र चिनारी देश विदेशमा फैलिन्छ”, उहाँले भन्नुभयो । गाउँसहरका भीमबहादुर गुरुङले पहिले झिङ्गटीले छाएको दरबार रहेको सुनाउनुभयो । पछिल्लो समय दरबारको छानो ढुङ्गाले छाइएको थियो ।
“बाउबाजेका पालादेखि नै यहाँ दरबार थियो, बडादसैँ र चैतेदसैँमा यहाँ विशेष पूजाआजा हुन्छ, टाढाटाढाबाट मानिस दरबार हेर्न गाउँसहर आउँछन्”, ७० वर्षीय गुरुङले भन्नुभयो, “दरबार पुरानो भएर छानो पनि चुहिने भएको थियो, अब नयाँ बन्न लागेको छ, हामी खुसी छौँ ।” विसं १५५० मा राजा यशोबह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् ।
दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोबह्मको अर्थकदको सालिकसमेत बनाइएको छ । समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ । पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिनुभयो ।
यस्तो छ लमजुङ दरबारको इतिहास
चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ ।
राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ ।
राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ । कास्कीकोटबाट आएका यशोबह्मले विसं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए । राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए ।
विसं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे । प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पथ्र्यो ।
पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले । विसं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ ।-रासस
किसानलाई हल गोरु वितरण
भोजपुर, २४ असार I भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
पशुपन्छी तथा कृषि विकासका लागि रु ५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । किसानलाई गोरु वितरणको लागि रु तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उहाँको भनाइ छ ।
“हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रमअघि सारेका छौँ”, प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरु समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरुलाई केही राहत पुग्नेछ ।”
किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउँदै उनीहरुलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय किसानमा गोरु पाल्ने चलन हराउँदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।
“पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउँदै गएको अवस्था छ”, उहाँले भन्नुभयो, “गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमूत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उहाँको भनाइ छ ।
किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना, मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भइरहेको उहाँको भनाइ छ ।
“गाउँपालिकाका किसानको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ”, अध्यक्ष राईले भन्नुभयो, “किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।” किसानलाई लक्षित गरेर उन्नत जातको भैँसी वितरण, गोठ सुधारलगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्र्याक्टरलगायतका आधुनिक उपकरणसमेत वितरण भइरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।
‘उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण
विराटनगर, २३ असार I विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राकृतिक प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मानवीय सेवामा स्काउट सधँै समर्पित रहने कुरामा जोड दिनुभयो । स्थानीय स्काउट परिषद्का संरक्षक रहनुभएका प्रमुख कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाइ स्काउट रक्तदान, बाढीपहिरो र डुबान पीडितको उद्धारलगायतमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
नेपालको इतिहासमा स्काउटको लामो इतिहास रहेको चर्चा गर्दै कोरोनाकालमा राहत वितरणसँगै नागरिकलाई सचेतना फैलाउन पनि स्काउटले खेलेको भूमिकाको प्रमुख कोइरालाले प्रशंसा गर्नुभयो । इमान्दारिता, अनुशासन, परोपकारी, राष्ट्र र शान्ति स्काउटको मूल सिद्धान्त र नियम रहेको स्काउटको संरक्षक कोइरालालाई राष्ट्रिय प्रशिक्षक तथा राष्ट्रिय कार्यकारी समितिका सदस्य (आयुक्त) नवलप्रसाद उपाध्यायले दीक्षित गराउनुभएको थियो ।
कोशी प्रदेश लोकसेवा आयोगको अध्यक्षमा गुरागाईं
मोरङ, २३ असार I कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईंलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसअनुसार आज तेह्रथुमका गुरागाईंलाई अध्यक्ष नियुक्त गर्नुभएको थियो ।
उहाँलाई आजै विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
शपथग्रहण समारोहमा प्रदेश प्रमुख खापुङ, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका मन्त्रीहरू, सुरक्षा प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, विभिन्न मन्त्रालयका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।
किरिया बसेकै अवस्थामा गाउँपालिकाको काम गर्दै घिमिरे
लमजुङ, २३ असार । लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ ।
घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको काम कारबाहीमा कुनै असर नपरोस् भन्ने ध्येयले घरमा किरिया बसेकै कोठाबाट काममा गरिरहनुभएको छ ।
यही असार १९ गते उहाँका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । उहाँले भन्नुभयो, “बुबाको यही १९ गते निधन भयो, आमाको पाँच महिनाअघि हृदयघातका कारण मृत्यु भइसकेको छ । यसहिसाबले पीडा छ तर आर्थिक वर्षको अन्तिमतिर भएकाले गाउँपालिकाको काम रोक्नु त भएन, त्यसैले किरिया बसेकै अवस्थामा काम गरिरहेको छु ।”
बुवाको निधन भएको भोलिपल्टै २० गतेदेखि नै आफूँले कार्यालयको काम गरिरहेको लेखा अधिकृत घिमिरेले बताउनुभयो । “पालिकामा लेखापाल पद रिक्त छ, त्यसैले लेखाको काम म एक्लैले गर्नुपर्ने बाध्यता छ । कार्मचारी नहुँदा काम भएन भनेर किन पार्नु ! वित्तीय अनुशासन र आर्थिक दृष्टिकोणले समेत उचित नहुने ठानेर पीडा भुलेर यसरी काम गरिरहेको छु”, उहाँले भन्नुभयो ।
उहाँले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलाई भनेर आवश्यक कागजात, ल्यापटपलगायत सामग्री घरमै मगाएर काम गरिरहनुभएको छ । नेपाल सरकारको नियमानुसार क्रिया बिदा १५ दिन बस्न पाइन्छ ।
गाउँपालिका अध्यक्ष धनप्रसाद गुरुङले बुबाको निधनको पीडा हुँदा पनि घिमिरेले कार्यालयको काम गरिरहेका भन्दै प्रशंसा गर्नुभयो । घिमिरेले काम गर्छु भनेपछि आफूहरूले सोहीअनुसार सहजीकरण तथा सहयोग गरिरहेका उहाँले बताउनुभयो ।
धनपालथान संरक्षणको पर्खाइमा
बेलबारी (मोरङ), २३ असार I जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ । राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो ।
धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा झण्डै चार बिघाह क्षेत्रफलमा फैलिएको छ ।
पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताउनुभयो ।
रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मुर्तिसमेत टुटेर जीर्ण बनेको उहाँले बताउनुभयो । ।
समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मुर्ति भेटिएका छन् । विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मुर्ति भेट्नुभएको थियो । उक्त मुर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।
“२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तनलगायतका विभिन्न सामग्रि भेटिएपनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्”, अध्यक्ष सिंहले भन्नुभयो ।
धनपालथान–७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चाँैडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताउनुभयो । “यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन् । यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताउनुभयो । “प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ”, उहाँले भन्नुभयो ।
पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनुपर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताउनुभयो । धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर मनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मुर्ति स्थापना गरिने उहाँले जानकारी दिनुभयो ।
अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताउनुभयो । उहाँले प्रदेश र सङ्घ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिनुभयो । उहाँले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताउनुभयो ।
मधेश प्रदेशमा एचआईभी सङ्क्रमित चार हजार भन्दा बढी
जनकपुर, २३ असार I मधेश प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।
मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवम् वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिनुभयो ।
उहाँले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उहाँको भनाइ छ ।
मधेश प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्रनारायण साह रहनुभएको थियो । मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।
जसपा धरान उपमहानगर समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न
धरान (सुनसरी), २३ असार । जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेकोछ । हिजो असार २२ गते आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाको २० नं. वडामा पर्ने बुढाहाङ्ग पार्क परिसरमा वृक्षरोपण कार्यक्रम गरेको हो ।
सो स्थानको वातावरणमा हुर्किन सक्ने एक सय पचास भन्दा बढि बोटबिरुवाका प्रजातिहरू वृक्षरोपण कार्यक्रममा रोपिएको जसपा नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले बताउनु भयो । अविरल वर्षाबाट हुन सक्ने प्राकृतिक क्षति र त्यस बाट मानव वस्तिहरूलाई आउने दिनहरूमा पार्ने असर कम गर्नका लागि वृक्षरोपण कार्यक्रम गरिएको नगर अध्यक्ष लिम्बुले बताउनु भयो ।
वृक्षरोपण कार्यक्रममा जसपा केन्द्रीय सदस्य भीम राई, प्रदेश नं.१ का पार्टी सचिव राम माण्डुपा राई लगायत पार्टीमा आबद्ध युवा र विद्यार्थीहरूको पनि उपस्थितिरहेको थियो ।
वृक्षरोपण समापन कार्यक्रमलाई सम्बोधन गदै केन्द्रीय सदस्य राईले धरान उपमहानगरपालिकाको वडाहरू मध्ये २० नंं वडा बढि प्राकृतिक प्रकोपको जोखिममा रहेको वडा हो । र, आजको वृक्षरोपण कार्यक्रमले यस क्षेत्रमा भविष्यमा प्राकृतिक प्रकोपबाट हुने क्षति रोक्न धेरै सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो साथै पर्यावरणलाई सकारात्मक सहयोग पुग्ने यस्ता कार्यक्रमलाई अभियानकै रूपमा निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो ।
खिजीदेम्बाभित्रका विद्यालयमा पत्रुखाना प्रतिबन्ध
ओखलढुङ्गा, २२ असार I यहाँको खिजीदेम्बा गाउँपालिकाले विद्यालयमा पत्रुखाना (जङ्कफुड) प्रतिबन्ध लगाएको छ । विद्यार्थी र शिक्षकले विद्यालयमा पत्रुखाना प्रयोग गर्न थालेपछि गाउँपालिकाले प्रतिबन्ध लगाउने नीति लिएको हो ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले अर्गानिक उत्पादनको प्रयोगलाई बढवा दिन विद्यालय एवं विद्यालय परिसरमा जङ्कफुड प्रयोगमा प्रतिबन्ध लगाउने नीति कार्यान्वयन गर्न लागेको बताउनुभयो । उहाँले आयातीत मदिरा प्रयोगमा निषेध गर्दै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने नीति गाउँपालिकाले लिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले विद्यार्थीलाई पोषणयुक्त खाजा खुवाउने भएको छ । गाउँपालिकाका चार विद्यालयमा पोषणयुक्त खाजा कार्यक्रम लागू भएको हो । विद्यालय खुल्न छ दिन नै फरकफरक विषयसूची बनाइ गाउँमै उत्पादित अर्गानिक खाजा विद्यार्थीले खान पाउनेछन् । यस वर्षको विद्यार्थी दिवा खाजा कार्यक्रमका लागि पालिकाले रु १५ लाख ३० हजार रकम विनियोजन गरेको छ ।
नर्वदेश्वर मावि रगनी, चण्डेश्वरी मावि पोल्थली, फूलमती मावि खिजीफलाटे र कुण्डली मावि खिजीकातीका सबै विद्यार्थीलाई गाउँमै फलेको अन्नको परिकार बनाएर पोषिलो खाजा खुवाइने छ । कार्यक्रमले शैक्षिक विकास र गुणस्तर सुधारम टेवा पुग्ने र स्थानीय उत्पादनको बजारीकरणका साथै नागरिक स्वस्थ बनाउने अभियान पनि सार्थक हुने गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो । सुरुआती चरणमा माध्यमिक तह सञ्चालित विद्यालयमा कार्यक्रम सञ्चालन हुने र क्रमशः सबै विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।
विद्यालयमा दिवा खाजासँगै छात्रवृत्ति वितरण सुरुआत पनि गरिएको छ । पहिलो चरणमा पाँच माध्यमिक तह सञ्चालित विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण थालिएको हो ।
पालिकाभित्र माध्यमिक तह सञ्चालित सातमध्ये पाँच वटा विद्यालयका २४ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको संस्थाका अध्यक्ष साङडोमा शेर्पाले बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार छात्रवृत्तिवापतको ५० प्रतिशत रकम विद्यार्थीले तत्कालै सदुपयोग गर्न पाउने गरी हातमा र ५० प्रतिशत उनीहरुको भविष्यप्रति मध्यनजर राखिँदै विद्यालयको खातामा जम्मा गरिएको छ ।
