बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
झापा, १७ असार I घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन् ।
पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पु-याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।
नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।
मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पु-याइयो ।
सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पु-याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पु-याए । अहिले राईको उपचार भइरहेको छ ।
मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पु-याइसक्नु भएको छ । तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफै घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ ।
सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पु-याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ ।
चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्न्ुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।”
केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो ।
केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।
विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।
प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित
काठमाडौँ, १६ असार I प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
गण्डकी, १६ असार I पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुुभयो ।
प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुुभयो । “विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उहाँले भन्नुुभयो, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”
पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै रु ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले रु ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुुभयो ।
“विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो”, उहाँले भन्नुुभयो, “सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।”
रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उहाँले जानकारी दिनुुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले जानकारी दिनुुभयो ।
सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उहाँले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताउनुुभयो । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ ।
सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताउनुुभयो । उहाँका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उहाँले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिनुुभयो ।
रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताउनुुभयो । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पु¥याउन धौधौ हुने गरेको अनुभव सुनाउनुुभयो ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणबद्ध अघि बढ्ने परियोजनाको लागत रु चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ ।
मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उहाँले जानकारी दिनुुभयो । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उहाँले जानकारी दिनुभयो ।
लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।
चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।
यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।
रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताउनुुभयो । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिनुुभयो ।-रासस
‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित
काठमाडाँै, १६ असार I राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो ।
बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन् । सोही अवसरमा महासङ्घद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण पनि गरिएको थियो ।
नेता ज्ञवालीले आवश्यक परेमा पद होइन, जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरेको र छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उहाँले थोरै तर महत्त्वपूर्ण एवं रुपान्तरणकारी रचना पस्किएको बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको नेताका रूपमा विश्वमा परिचित स्वर्गीय भण्डारीले कला साहित्यमा पनि उत्तिकै योगदान दिएको बताउनुभयो ।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले आगामी दिनमा ‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको सोच रहेको जानकारी दिनुभयो ।
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
झापा, १६ असार I पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।
जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।”
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिनुभयो । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।
भारतले जित्यो विश्वकपको उपाधि
काठमाडौँ, १६ असार I दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो ।
वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।
भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।
‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’
काठमाडौँ, १६ असार I संसद्लाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।
संसद् दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेका बताउनुभएको छ ।
सन्देशमा उहाँले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ । अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने बताउनु भएको छ ।
संसद् दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उहाँले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनस¬ङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका महान् सहिदहरूप्रर्ति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । साथै सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उहाँले सम्मान व्यक्त गर्नुभएको छ ।
नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।
विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।
कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
काठमाडौँ, १६ असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
युवालाई कृषि पेसामा आकर्षित गर्नुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, १५ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले कृषि पेसाप्रति युवापुस्ताको आकर्षण वृद्धि गर्न विशेष जोड दिएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–३ मा आज आयोजित २१औँ राष्ट्रिय धान दिवस कार्यक्रममा उहाँले युवाका लागि तालिम, अनुदान, कृषिमा आधुनिक प्रविधि, व्यावसायिकता र बजारीकरणमा विशेष ध्यान दिने नीति प्रदेश सरकारले लिएको छ भन्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशलाई कृषिउपजमा आत्मनिर्भर बनाउन विशेष योजनाका कार्य सुरु गरेको जानकारी दिँदै उत्पादकत्व वृद्धि गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने धारणा राख्नुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “जलवायु परिवर्तनको असरका कारण कृषि उत्पादन घटेकाले यसबाट मानव जीवन कष्टकर बन्दै गएको छ । यसतर्फ हामी सबैले ध्यान दिनु जरूरी छ ।” सो अवसरमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहालले कृषि उत्पादन वृद्धि गर्न उन्नत जातको बीउ उत्पादन वृद्धि हुने विचार राख्नुभयो । कृषि विकास निर्देशनालय विराटनगरका प्रमुख प्रकाशकुमार डाँगी र जहदा गाउँपालिकाका अध्यक्ष जीतेन्द्र साहले कृषिमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुभयो ।
शीतल निवासमा धान रोपाइँ
काठमाडौँ, १५ असार I एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति कार्यालयद्वारा आज आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सविता पौडेललगायत सहभागी हुनुहुन्थ्यो । रोपाइँ शुभारम्भ गर्नुहुँर्दै राष्ट्रपति पौडेलले कृषि पेसा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताउनुभयो ।
“पहिला देशमा फलफूल तरकारीभन्दा धान बढी उत्पादन हुन्थ्यो । पहिला धानको मात्र उपयोगले खानामा पोषणतत्वको कमी भइरहेको थियो । पछि जब करेसाबारी बढ्न थाल्यो, धान बाहिरबाट आयात गर्न थालिएको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “यसले पनि असन्तुलन भयो । त्यही भएर अब सन्तुलित खानपीनका लागि फेरि धानको उत्पादन, कृषि पेसा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतीकात्मक रुपमा रोपाइँमा सहभागी भएको हुँ ।”