कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै
बेलबारी(मोरङ), १८ असार I ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ ।
प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताउनुभयो । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय हुनुहुन्छ । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्नुभएको छ । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहनुभएको छ ।
खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उहाँको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उहाँले बताउनुभयो । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिनुभयो ।
बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उहाँले बताउनुभयो । उहाँले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गर्नुभएको थियो । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उहाँको भनाइ छ ।
कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लाग्नुभएका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताउनुहुन्छ । तत्कालीन समयमा ठूलो जोखिम लिएर रु एक करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेका बताउनुभयो ।
उहाँको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिनुहुन्छ । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाउनुभएको छ । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उहाँको भनाइ छ ।
एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उहाँले बताउनुभयो । सुरु थोकमा प्रतिकेज रु तीन सय ५० मा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी रु तीन सयका दरले बिक्री भइरहेको उहाँको भनाइ छ । राईले भन्नुभयो, “ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।
मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताउनुभयो । उहाँका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ ।
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
गलेश्वर (म्याग्दी) १७ असार I म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रु २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।
म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुरखेतीमा आकर्षित भएका उहाँको भनाइ छ ।
जिल्लामा २० समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुरखेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।
टिम्मुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।
जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रु १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताउनुभयो ।
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।
म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रु एक हजार छ सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।
‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’
काठमाडौँ, १७ असार I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो ।
“शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन”, उहाँले भन्नुभयो, “संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ ।
शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको छ ।” शिक्षा क्षेत्रको रुपान्तरणका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको जिम्मेवारी हुने मन्त्री श्रेष्ठले दोहो¥याउनुभयो ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको जानकारी दिँदै शिक्षामन्त्रीले हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) को निर्मम समीक्षा गर्नुपर्ने बताउनुभयो ।
शिक्षालाई श्रम बजारसँग जोड्नेगरी ‘समाजसँग पाठ्यक्रम’ कार्यक्रम ल्याइएको र विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम बनाउँदा पनि रोजगारसँग जोड्नेगरी बनाउन निर्देशन दिएको उहाँको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति कसरी गठन भएको छ भनेर अध्ययन भइरहेको, विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेकोलगायत सुधारका काम भएका उहाँले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा एक हजार कक्षाकोठा थप्ने गरी योजना तर्जुमा गरिएको तथा त्यो मानव सुचकाङ्कमा पछाडि परेका दुई सय ४० वटा पालिकामा विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणसम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनअनुसार निर्णय हुने उहाँले जानकारी दिनुभयो ।
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
गलकोट (बागलुङ), १७ असार I जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु चार लाख बचत गरिरहनुभएको छ ।मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको हो । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आउनुभएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताउनुभयो । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उहाँले सबै खर्च कटाएर वार्षिक रु चार लाख बचत भइरहेको जानकारी दिनुभयो ।
चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उहाँले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । “आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ”, उहाँले भन्नुभयो । अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताउनुभयो । “लगानी नहँुदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु”, उहाँले भन्नुभयो ।
एक वर्षभित्रै दुई सय बाख्रा पु¥याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिनुभयो । “आधुनिक खोर निर्माणमा रु १० लाख लगानी भइसक्यो”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट खर्च कटाएर वार्षिक रु चार लाख बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।” एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताउनुभयो ।
पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताउनुभयो । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उहाँको भनाइ छ ।
“बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ”, मनरुपाले भन्नुभयो, “परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।” उहाँका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ । बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रु एक लाख १९ हजार र जैमिनी नगरपालिकाले रु २३ हजार अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिनुभयो । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उहाँको भनाइ छ ।
बिहीबारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध
काठमाडौँ, १७ असार I देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग-सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही असार २० गतेसम्म आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मनसुन अवधिमा देशभर साधारणतयादेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । सो अवधिमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानम तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मनसुन सक्रिय रहेको अवधिभर कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, र ओखलढुङ्गा बाढी पहिरोको उच्च जोखिममा छन् ।
यस्तै बागमती प्रदेशका मकवानपुर, चितवन, सिन्धुपाल्चोक र दोलखा तथा गण्डकीका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङजा, तनहुँ, नवलपरासीपूर्व र लमजुङ पनि उच्च जोखिममा रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ ।
यसैगरी लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, प्युठान, नवलपसारी पश्चिम, रोल्पा र रुकुमपूर्व पनि बाढी पहिरोको उच्च जोखिममा छन् । मधेश प्रदेश र सुदुरपश्चिममा भने सो अवधिमा उच्च जोखिम छैन ।
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
झापा, १७ असार I घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो ।
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन् । सबै सर्प विषालु हुँदैनन् । तर विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन् ।
पूर्वी इलामको सूर्योदय नगरपालिका–१ पशुपतिनगरका ३९ वर्षीय दिनेश तामाङलाई आइतबार बिहान घाँस काट्ने क्रममा गुर्बे सर्पले दाहिने हातमा डस्यो । गाउँका मानिसले झारफुक गर्ने धामीको सम्पर्कमा उहाँलाई पु-याए । सिरु र खरानी दलेर धामीले झारफुक गर्दा ठीक नभएपछि उहाँलाई चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।
नेपाली सेनाको प्राविधिक सहयोगमा समुदायले सञ्चालन गरेको उक्त केन्द्रमा उपचार गराएपछि बल्ल उहाँको स्वास्थ्यमा सुधार आएको छ । तराईमा गोमन र करेत सर्प बढी विषालु छन् । पहाडी क्षेत्रमा गुर्बे र हरेउ विषालु सर्प मानिन्छन् । बर्खा याममा मानिसलाई डस्ने मुख्य सर्प यिनै हुन् ।
मेचीनगर–१५ बिचार्नीका ५१ वर्षीय जुपुइ हेमरम सोही सर्पदंश उपचार केन्द्रमा उपचाररत हुनुहुन्छ । उहाँको देब्रे औँलामा आइतबार बिहान ओछ्यानमै सर्पले डस्यो । सन्थाल समुदायमा सर्पको विष झार्न झारफुक गर्ने परम्परागत प्रचलन छ । आधा घण्टाभन्दा बढी समय तन्त्रमन्त्र प्रयोग गरेर विष झार्दा पनि सुधार नभएपछि उहाँलाई मोटरसाइकलमा चढाएर चारआलीको सर्पदंश उपचार केन्द्र पु-याइयो ।
सर्पले डसेपछि धेरैजसो पीडित डरले सिकिस्त हुने गरेका छन् । कोहीले जिउँदो सर्प समातेर चिकित्सकलाई प्रमाण देखाउन अस्पताल पु-याउने गर्छन् । इलामको माइजोगमाई–१ का १५ वर्षीय विनोद राईले घाँस काट्दा देब्रे हातको औँलामा डस्ने विषालु हरेउ सर्प जिउँदै समातेर चारआलीको सर्पदंश उपचार केन्द्रमा पु-याए । अहिले राईको उपचार भइरहेको छ ।
मेचीनगर–६ का ३२ वर्षीय मुन्ना कार्की प्रख्यात सर्प उद्धारकको रुपमा चिनिनुहन्छ । उहाँले विगत ११ वर्षमा एक हजारभन्दा बढी सर्प मानिसका घरबाट उद्धार गरेर जङ्गलमा पु-याइसक्नु भएको छ । तीन दिन अघि छिमेकीको घरमा उद्धार गर्ने क्रममा विषालु गोमनले डस्दा उहाँ आफै घाइते हुनुभएको छ । उद्धार गरेर ल्याएको कालो गोमनलाई बट्टामा राखिरहेका बेला उहाँलाई डसेको थियो । उहाँको स्वास्थ्य सुधार भइरहेको छ ।
सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । जसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पु-याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदमन गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउनुुहुन्छ । सर्पदंश उपचार केन्द्र चारआलीमा मुख्य प्राविधिक रहनुभएका उहाँ पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी र हिमाली भेगमासमेत सर्पको बिगबिगी बढ्न थालेको बताउनुहुन्छ ।
चारआलीको उपचार केन्द्रमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र भारतको दार्जिलिङ एवं विहारका जिल्लाबाट सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेको उहाँले जानकारी दिनुभयो । “पहाडमा गुर्बे, हरेउ र तराईमा गोमन र करेत प्राणघातक सर्प हुन्”, उहाँले भन्न्ुभयो, “हामीकहाँ उपचारका लागि आउने अधिकांश बिरामीले तिनै सर्पले डस्यो भन्ने गर्नुभएको छ । बर्खाको चार पाँच महिना त सर्पको डसाइको प्रकोप नै हुने गरेको छ ।”
केन्द्रको सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका बिरामीले उपचार पाएको बताउनुभयो ।
केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि (एन्टी स्नेक भेनम सिरम)को रु एक हजार पाँच हजार र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।
विपन्न र असहाय बिरामीका लागि निःशुल्कसमेत उपचार गर्दै आएको अध्यक्ष भट्टराईले बताउनुभयो । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उहाँले भन्नुभयो । बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१ जना, जेठमा एक सय २३ जना र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय ७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा १३ वटा सर्पदंश उपचार केन्द्र छन् । झापामा मात्रै चारवटा छन् । चारआलीस्थित नेपाली सेनाको व्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो । नेपाल रेडक्रस सोसाइटीले दमक र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले कनकाई र कचनकबल गाउँपालिकाले बनियानीमा आफ्नै लगानीमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् ।
सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक संस्थाले सर्पदंश उपचार केन्द्र सञ्चालन गर्दै आएका छन् । देशभर ८८ उपचार केन्द्र रहेकोमा २२ वटा नेपाली सेनाको प्रत्यक्ष प्राविधिक सहयोगमा सञ्चालित छन् ।
प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित
काठमाडौँ, १६ असार I प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।
विधेयकमाथिको दफावार छलफलमा सांसद राजेन्द्रकुमार केसी र प्रेम सुवालले भाग लिनुभएको थियो । बैठकले सांसद सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि अर्थमन्त्री पुनले उक्त विधेयकलाई सदनमा दफावार छलफल गरियोस् भनी राख्नुभएको प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते बिहान ११ बजे बस्नेछ ।
पाहुना चरालाई वार्षिक ५० लाखको माछा खुवाउँदै रुपाताल
गण्डकी, १६ असार I पर्यटकीय राजधानी पोखरा केबल मानव समुदाय घुम्ने पर्यटकीय गन्तव्य मात्रै होइन यो त स्वदेश एवं विदेशका चरा पनि घुम्ने र विचरण गर्ने स्थल हो । तालैतालको सहरको उपमा पाएको पोखरामा नौ ताल रामसार सूचीमा समेत सूचीकृत भइसकेका छन् । यिनै तालतलैयाका कारण पोखरा चरा पर्यटनका लागि पनि आकर्षक गन्तव्य बनेको छ । पोखराका तालतलैयामा बर्सेनि झण्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेको पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुुभयो ।
प्रत्येक वर्षको हिउँद र वर्षात्का समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुुभयो । “विशेषगरी हिउँदको समयमा सिकारी प्रजातिका चरा पोखराका तालतलैयामा देख्न सकिन्छ, वर्षात्को समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ”, उहाँले भन्नुुभयो, “साइवेरियालगायत टाढाटाढा विदेशी मुलुकबाट आएका चरा केही समय बिताएर फर्कने गरेका छन् ।”
पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रुपाताल पनि हो । सुन्दा अचम्म लाग्न सक्छला तर, रुपातालले बर्सेनि झण्डै रु ५० लाख बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ । साविक लेखनाथ नगरपालिका–१०, ११ र १४ का केही भागले छोएको यस तालमा प्रत्येक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले रु ५० लाखभन्दा बढीको माछा खाएर जाने गरेको रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुुभयो ।
“विशेषगरी पुस माघको समयमा करिब तीन महिना साइबेरियालगायत स्थानबाट रुपातालमा आउने करिब दुई सय ५० सङ्ख्याका जलेवाको आहारा माछा नै हो”, उहाँले भन्नुुभयो, “सामान्यतः एउटा जलेवाले दिनभरिमा आधा किलोसम्म माछा खाने गर्दछ ।”
रातको समयमा ताल आसपासको जङ्गलमा बस्ने जलेवा बिहान सूर्योदयदेखि सूर्यास्तसम्म तालमा नै रहने र माछा खाने गरेको उहाँले जानकारी दिनुुभयो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरी माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आइएको उहाँले जानकारी दिनुुभयो ।
सहकारी सञ्चालनमा आएसँगै यसका माध्यमबाट तालको संरक्षण र उपयोगमा जोड दिइएको बताउँदै उहाँले हाल सहकारीमा एक हजार ३० जना आबद्ध भइसकेको बताउनुुभयो । सहकारीअन्तर्गत माछा मार्न, चौकीदार, बैंकिङ कारोबार आदिका लागि २४ जनालाई रोजगारी दिन सकिएको सहकारीले जनाएको छ ।
सहकारीले वार्षिक करिब रु दुई करोड बराबरको माछा उत्पादन गर्न सफल बनेको जनाउँदै उहाँले तालमा रहु, नैनी, कमन, सिल्भर कार्प, तिलापियालगायत जातका माछा उत्पादन हुने गरेको बताउनुुभयो । उहाँका अनुसार तालमा करिब २४÷२५ स्थानीय जातका माछा रहेका छन् । रुपाताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशाला जस्तै बनेको जनाउँदै उहाँले वर्षेनी करिब २५ राष्ट्रबाट अध्ययन अनुसन्धानकर्ता आउने गरेको जानकारी दिनुुभयो ।
रुपातालमा उत्पादित माछाको बजारका लागि कुनै समस्या नरहेको सहकारीका कर्मचारी रामजी अधिकारीले बताउनुुभयो । रुपातालको माछाको माग बढिरहेको जनाउँदै अधिकारीले मागबमोजिम पु¥याउन धौधौ हुने गरेको अनुभव सुनाउनुुभयो ।
तालको संरक्षण र विकासका लागि रुपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत पूर्वाधार विकासका काम भइरहेका छन् । परियोजना लक्षित काम सम्पन्न भएसँगै तालको संरक्षण, पर्यटकीय विकास हुँदै स्थानीयको जीवनस्तर बढ्ने विश्वास लिइएको छ ।
चरणबद्ध अघि बढ्ने परियोजनाको लागत रु चार अर्ब ५२ करोड ८८ लाख रहेको परियोजनाका सूचना अधिकारी इञ्जिनियर कृष्णबहादुर विकले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाअन्तर्गत जग्गा अधिग्रहणका लागि नौ सय ९५ रोपनी जग्गाको सूचना निकालिएकामा हालसम्म नौ सय ८७ रोपनी क्षेत्रको मुआब्जा वितरण गरिसकिएको छ ।
मुआब्जा वितरणका साथै तालबेंसीको पुल निर्माण भइसकेको छ भने सडक निर्माण पनि सम्पन्न भइसकेको छ । हाल बाँध निर्माणको काम अघि बढेको उहाँले जानकारी दिनुुभयो । बाँध निर्माण भएपछि हाल रहेको पानी सतह छ सय २० मिटरबाट बढेर छ सय २४ मिटर हुने र तालको क्षेत्रफल हालको एक सय २२ हेक्टरबाट बढेर एक सय ८३ पुग्ने उहाँले जानकारी दिनुभयो ।
लक्षित योजनाअनुसारको परियोजना सम्पन्न भएसँगै त्यसले तालको संरक्षण र यससँग जोडिएका जैविक विविधता, जलमा आश्रित जीवजन्तुको संरक्षण आदिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
रुपातालको जलाधार क्षेत्र आसपासका जङ्गललाई समेटेर खुला चिडियाखाना सञ्चालनमा आउनुले पनि यस क्षेत्रको संरक्षण र विकासमा थप योगदान पुग्ने देखिएको छ । पचभैया प्राणी उद्यान केन्द्रका रुपमा सञ्चालित चिडियाखाना बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रुपमा साविक लेखनाथ नगरपालिकाका वडा नं ११, १२ र १४ मा रहेका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर बनाइएको हो । यहाँको एक सय ३४ हेक्टर क्षेत्रफललाई समेटेर पूर्वाधार विकासका कार्यक्रम अघि बढाइएको छ ।
चिडियाखाना परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा तीन सय ६१ प्रजातिका वनस्पति, एक सय ७५ प्रजातिका जडीबुटी पाइन्छन् । त्यस्तै रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चराका साथै जङ्गल क्षेत्रमा बाघ, मृग, अजिङ्गरजस्ता जनावर पाइन्छन् ।
यहाँ आउने पर्यटकले यहाँबाट रुपातालको मनोरम दृश्यसँगै चिडियाखानामा चितुवा, नीलगाई, चित्तल, रतुवा मृग, चरी बाघ, अजिङ्गर, सेतो गिद्ध, हिमाली गिद्ध, कछुवा आदिको अवलोकन गर्न पाउँछन् ।
रुपा तालमा मोती उत्पादनको पनि सम्भावना देखिएको छ । यसअघि लामो समयको प्रयाससँगै बेगनासस्थित मत्स्य अनुसन्धान केन्द्रले यहाँका तालमा मोती उत्पादनको सम्भावनालाई प्रमाणित गरेसँगै रुपातालमा पनि मोति उत्पादन गर्ने सोच अघि बढाइएको सहकारीका अध्यक्ष अधिकारीले बताउनुुभयो । उक्त विषयलाई हाल परीक्षणका रुपमा अघि बढाइएको बताउँदै उहाँले परीक्षण सफल भएसँगै मोतिखेतीसमेत गरिने जानकारी दिनुुभयो ।-रासस
‘कला, साहित्यमा मदन भण्डारी’ विमोचित
काठमाडाँै, १६ असार I राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल र मकालु प्रकाशन गृहले जननेता मदनकुमार भण्डारीको ७३औँ जन्मजयन्तीका अवसरमा ‘कला साहित्यमा मदन भण्डारी’ ग्रन्थ प्रकाशनमा ल्याएको छ । महासङ्घद्वारा शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले उक्त कृति विमोचन गर्नुभएको हो ।
बहुआयामित व्यक्तित्व भण्डारीका रचना तथा कला साहित्यमा उहाँले दिएका सिर्जना र योगदालाई समेटेर विज्ञ एवं समालोचकहरूबाट लिखित अनुसन्धानमूलक सामग्री उक्त ग्रन्थमा राखिएका छन् । सोही अवसरमा महासङ्घद्वारा प्रकाशित ‘मदन’ शोककाव्यको दोस्रो संस्करणको लोकार्पण पनि गरिएको थियो ।
नेता ज्ञवालीले आवश्यक परेमा पद होइन, जीवन नै बलिदान गर्ने उद्घोष गर्ने नेपाली राजनीतिका अत्यन्त सुस्पष्ट वक्ताको छवि मदन भण्डारीले निर्माण गरेको र छोटो जीवन बाँचेका कारण कला, साहित्य र संस्कृतिका बारेमा उहाँले थोरै तर महत्त्वपूर्ण एवं रुपान्तरणकारी रचना पस्किएको बताउनुभयो ।
एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले ‘माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने विचारका प्रणेता, वर्गीय र जनमुखी प्रजातन्त्रका पक्षधर र नेपाल राष्ट्रले खोजेको नेताका रूपमा विश्वमा परिचित स्वर्गीय भण्डारीले कला साहित्यमा पनि उत्तिकै योगदान दिएको बताउनुभयो ।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले आगामी दिनमा ‘जबज र समृद्ध नेपाल सुखी नेपाली’ शीर्षकमा बृहत्तर ग्रन्थ प्रकाशन गर्नेसमेतको सोच रहेको जानकारी दिनुभयो ।
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
झापा, १६ असार I पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो ।
सामुदायिक वनको सात सय ४९ हेक्टर क्षेत्रफलमध्ये प्राकृतिक पोखरीसमेत रहेको दमार र गैडे आहाल क्षेत्रको ११ हेक्टरमा बिरुवा रोपिएका वन समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो । ‘एक उपभोक्ता एक बिरुवा’ अभियानअन्तर्गत दुई दिनमा सयौँ उपभोक्ताले आँप, केरा, बाँस, उखु, भुइँकटहर, बडहरलगायत फलका बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको उत्तरी भेगमा जङ्गली क्षेत्र छ । जहाँ भारतबाट बर्सेनि आउने सयौँ हात्ती विचरण गरेर फर्किने गरेका छन् भने दुई दर्जनको सङ्ख्यामा रहेको रैथाने जङ्गली हात्तीले यही जङ्गललाई बासस्थान बनाउने गरेका छन् । हात्तीबाहेक जङ्गलमा बस्ने बाँदरबाट पनि जङ्गल नजिकका बासिन्दा पिरोलिँदै आएका छन् । अहिले रोपिएका फलफूलका बिरुवा हुर्किएपछि बाँदर पनि आहारको खोजीमा गाउँ नआउने स्थानीयवासीले ठानेका छन् ।
जङ्गली जनावर जङ्गलमै रमाउन् र उनीहरूलाई आहारको कमी नहोस् भन्ने सोचका साथ फलफूलका बिरुवा रोपिएको हो । आगामी वर्ष २० हजार बिरुवा रोप्ने योजना रहेको उहाँले बताउनुभयो । हाल जङ्गलमा हात्ती र बाँदरका खानलायक बोटबिरुवा मासिइसकेका कारण समस्या भएको छ ।
दिउँसो जुकेखाडी जङ्गलमा बस्ने भोका हात्ती राति आहारको खोजीमा गाउँ आउँदा मानव–हात्ती द्वन्द्व हुने भएकाले ती बिरुवाले हात्तीलाई जङ्गलमै अल्मल्याउने जुकेखाडी सामुदायिक वन समितिका उपभोक्ता दिपीन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “आहारको खोजीमा बस्तीमा पसेर हात्तीले दुःख दिने गरेका छन् । जङ्गलमा नै आहार पाएपछि ती गाउँ पस्न छाड्छन्, यसो हुँदा मानव–हात्ती द्वन्द्व घटाउन सहयोग पुग्छ ।”
समितिका अध्यक्ष श्रेष्ठका अनुसार सामुदायिक वनमा तीन हजार पाँच सय ५८ उपभोक्ता छन् । जङ्गलमा बिरुवा रोप्न सामुदायिक वनका उपभोक्ता आफैँले घरबाट बिरुवा सङ्कलन गरेका थिए । जिल्ला डिभिजन वन कार्यालयले थप तीन हजार बिरुवा दिने भएको समितिले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख मेघराज राईले जिल्लाका सबै सामुदायिक वनले आ–आफ्ना क्षेत्रमा हात्तीलाई मनपर्ने केरा, बासँलगायत बिरुवा रोप्ने गरेका जानकारी दिनुभयो । वन कार्यालयको पनि उनीहरूलाई बिरुवा उपलब्ध गराएर सहयोग गर्ने नीति रहेको उहाँले बताउनुभयो ।