स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल
टक्सार (भोजपुर), १४ असार I भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट राम्रो आम्दानी हुने भएकाले पछिल्लो समय यहाँका किसान जग्गा भाडामा लिएर पनि खेती गर्न थालेका छन् । त्यसमध्येका एक हुन्, भोजपुर नगरपालिका–८, दुम्सिका कमल भुजेल । उहाँले दुई रोपनी जग्गामा व्यवसायीक स्ट्रबेरी खेती सुरु गर्नुभएको छ । नुवाकोटको ककनीबाट दुई हजार बिरुवा ल्याई आफूले व्यवसायीकरुपमा खेती सुरु गरेको उहाँले बताउनुभयो ।
राम्रो उत्पादन र आम्दानी हुने गरेको जानकारी पाएपछि यस खेतीमा आकर्षित भएका भुजेलले हाल दैनिकजसो १० देखि २५ किलोग्राम (केजी) सम्म स्ट्रबेरीको कारोबार गर्ने गरेको बताउनुभयो । आफ्नो उत्पादनले माग धान्न नसकेपछि उहाँले खेती विस्तार गरी १० हजार बिरुवा थप्ने योजना बनाइरहेको सुनाउनुभयो । “ग्राहकको माग बढ्न थालेको छ । स्थानीयस्तरमै कुनै विषादी प्रयोग नगरी उत्पादन भएकाले पनि ग्राहकको माग बढ्न थालेको हो”, भुजेलले भन्नुभयो,“यसले निकै उत्साहित भएको छु । त्यसैले खेती विस्तार गर्ने योजना बनाइरहेको छु ।”
उहाँको उत्पादन र माग देखेर जिल्लाका अन्य किसान पनि कृषिखेती गर्ने योजनामा छन् । सरकारले उत्पादित स्ट्रबेरीको बजारीकरण र प्याकेजिङका लागि सहुलियतमा यन्त्र खरिद गर्न सहयोग गरेमा यहाँका धेरै किसान यसतर्फ आकर्षित हुने भुजेलले बताउनुभयो । “मेरो उत्पादन देखेर अन्य किसानले पनि दिनहुँ यसको खेती गर्नेबारे राय सुझाव लिइरहनुभएको छ । मैले पनि लगनका साथ लाग्ने हो भनेर राम्रो आम्दानी हुन्छ गर्नुस् भनेर यहाँ आउनेहरुलाई सल्लाह दिने गरेको छु”, उहाँले भन्नुभयो ।
विशेषगरी पर्याप्त घाम लाग्ने जमिनमा उत्पादन हुने स्ट्रबेरीका लागि पहाडी जिल्ला भोजपुर उपयुक्त हुने जानकारहरु बताउँछन् । हाल यहाँ प्रति केजी रु पाँच सयका दरमा स्ट्रबेरी बिक्री हुने गरेको छ ।
कोशीमा १४ प्रतिशत रोपियो धान
बेलबारी (मोरङ), १४ असार I अन्नको भण्डार मानिने कोशी प्रदेशमा हालसम्म १४ प्रतिशत मात्र धान रोपाइँ भएको छ । यहाँ दुई लाख ७६ हजार तीन सय ८३ दशमलव ७२ हेक्टर जमिनमा धान रोपिने भए पनि हालसम्म ३७ हजार आठ सय ८० दशमलव ३५ हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको कोशी प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । कोशीमा गतवर्ष असार १४ गतेसम्म १६ दशमलव ९६ प्रतिशतमा धान रोपाइँ गरिएको थियो ।
प्रदेशका १४ जिल्लामध्ये सबैधन्दा धेरै झापामा र सबैभन्दा कम सोलुखुम्बुमा धान रोपिने गरेको निर्देशनालयकी सूचना अधिकृत पूर्णमाया गुरुङले जानकारी दिनुभयो । झापामा सबैधन्दा धेरै ७५ हजार सात सय ५९ दशमलव १८४ हेक्टरमा र सोलुखुम्बुमा सबैभन्दा कम एक हजार दुई सय २५ हेक्टरमा धान रोपिने गरेको उहाँले बताउनुभयो । हालसम्म झापामा ११ दशमलव ३५ प्रतिशत, मोरङमा १०, सुनसरीमा ११, ताप्लेजुङमा २९ दशमलव ४०, सङ्खुवासभामा सात प्रतिशत, सोलुखुम्बुमा ३५, पाँचथरमा २९, इलाममा ३०, भोजपुरमा २७, तेह्रथुममा २५, धनकुटामा १२, उदयपुरमा १५ दशमलव २५ प्रतिशत, ओखलढुङ्गामा १२ दशमलव २५ प्रतिशत र खोटाङमा १३ दशमलव ४० प्रतिशत रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ ।
असार १५ गते ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २१औँ राष्ट्रिय धान दिवस मनाइने तयारी रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिनुभयो । विगतका तुलनामा कम रोपाइँ भए पनि यसवर्ष धानमा हाल्ने रासायनिक मलको भने अभाव नरहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय धान दिवसको अवसरमा मोरङको जहदा गाउँपालिकास्थित कृषि ज्ञान केन्द्र मोरङको आयोजनामा धान रोपाइँ कार्यक्रम राखिएको कृषि ज्ञान केन्द्र मोरङका प्रमुख रामदेव सिंहले जानकारी दिनुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतको सहभागिता रहने प्रमुख सिंहले बताउनुभयो ।
जापानस्थित नेपाली विद्यालयबाट जाम्बियाका छात्र एसइई उत्तीर्ण
काठमाडौँ, १४ असार I जापानको टोकियोस्थित नेपाली विद्यालयबाट जाम्बियाका एक विद्यार्थीले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका छन् । टोकियोको मध्यभागमा रहेको एभरेष्ट इन्टरनेशनल विद्यालयमा अध्ययनरत छात्र चिसा टाइरिस कावेजाले २.९५ जिपिए प्राप्त गरेका विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टले राससलाई जानकारी दिनुभयो ।
सो विद्यालयबाट यस वर्ष नौ छात्र र १४ छात्रा गरी २३ जनाले एसइई परीक्षा दिएकामा शतप्रतिशत उत्तीर्ण भएका छन् । उक्त विद्यालयबाट एसइई परीक्षा दिएका अधिकांश विद्यार्थीले ३.८ जिपिएभन्दा माथि नतिजा ल्याएका उहाँले जानकारी दिनुभयो । “शतप्रतिशत विद्यार्थी उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन्”, प्राचार्य भट्टले भन्नुभयो ।
राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित २०८० को एसइर्ई परीक्षामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन् । कूल परीक्षार्थीमध्ये ४७.८६ प्रतिशत मात्रै उत्तीर्ण भएका बेला प्रवासमा रहेको त्यस विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनुलाई सकारात्मकरुपमा हेरिएको छ ।
सन् २०१३ मा स्थापना भएको विद्यालयबाट यस वर्ष चौथो समूहले परीक्षा दिएको थियो । स्थापनाकालमा १६ जना विद्यार्थीबाट सुरु भएको उक्त विद्यालयमा हाल नेपाली र विदेशी गरी चार सय ५० विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा छ जना जापानी विद्यार्थी पनि अध्ययनरत छन् ।
नेपाली पाठ्यक्रमअनुसार पढाइ हुँदै आएको सो विद्यालयलाई जापान सरकारले अन्तर्राष्ट्रियस्तरको विद्यालयका रुपमा मान्यता प्रदान गरेको छ । त्यस विद्यालयमा सञ्चालित एसइई परीक्षाको अनुगमन टोकियोस्थित नेपाली दूतावासले गर्दै आएको छ ।
सो विद्यालयमा नेपाल, जापान, भारत, फिलिपिन्स, अमेरिकालगायत मुलुकका ६२ शिक्षक प्राध्यापनरत छन् । उक्त विद्यालय नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रममा सञ्चालित एक मात्र माध्यामिक विद्यालय भएको प्रधानाध्यापक भट्ट बताउनुहुन्छ ।
प्रश्न पत्रको ढाँचा परिवर्तन भएका कारण पनि एसइई परीक्षाको समग्र नतिजा केही फरकपन देखिएको प्रतिक्रिया दिँदै उहाँ भन्नुहुन्छ, “पहिलो घोकन्ते खालको थियो, यसपटक विद्यार्थीले पाठ्यक्रमलाई बुझेर उत्तर दिनुपर्ने खालका प्रश्न आएका छन्, यो राम्रो पक्ष हो ।”
प्रश्नको ढाँचा परिवर्तन भएसँगै शिक्षकलाई पनि सूचना प्रविधिसम्बन्धी अभिमुखीकरण आवश्यक रहेको उहाँको भनाइ छ । पूर्वाधार तयार नहुँदासम्म पुराना र नयाँको बीचको प्रश्नपत्रबाट सुरु गरेर विस्तारै आधुनिकीकरणतर्फ लैजान उहाँ सुझाव दिनुहुन्छ । विश्वव्यापीरुपमा विद्यार्थीलाई परीक्षामा अनुत्तीर्ण गर्ने अभ्यास नरहेको दृष्टान्त दिँदै प्रधानाध्यापक भट्टले माध्यामिक परीक्षामा उत्तीर्ण सङ्ख्या बढाएर लैजानुपर्ने सुझाव दिनुभयो ।
सो विद्यालयले शिक्षामार्फत नेपालीपन, नेपाली मन, भूगोल, संस्कार र संस्कृति तथा वेषभूषा, रहनसहन, गीतरसङ्गीत जापानलगायत अन्तर्राष्ट्रिय समुदायमा पु¥याउने काम गर्दै आएको टोकियोस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी बताउनहुन्छ ।
बाह्र वर्षअघि जापानमा नेपाली नागरिक अध्ययनका अतिरिक्त विभिन्न पेसा व्यवसायसँग जोडिएर पुग्नेक्रम देखिएपछि सन्तानको शिक्षाका लागि परिवार छाड्न नपरोस् भनी गैरनाफामूलक संस्थाका रुपमा त्यहाँको नेपाली समाजको अगुवाइमा उक्त विद्यालय स्थापना गरिएको हो । अध्ययनसहित विभिन्न पेसा व्यवसाय गरी हाल जापानमा एक लाख ७५ हजारभन्दा बढी सङ्ख्यामा नेपाली बस्दै आएका छन् ।
कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी
काठमाडौँ, १४ असार I कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ । नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुङ्गाबाट सृजना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिनुभयो ।
प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए । त्यस अवसरमा इजिप्टका सांसद डा माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।
इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरेकामा फोटोग्राफर र कलाकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताउनुभयो । साथै उहाँले सहभागी कलाकारलाई कदरपत्र प्रदान गर्नुभयो ।
प्रदर्शनीमा सहभागी फोटोपत्रकार अशरफ तलत र यासेर अलाले आफूहरूको नेपाल भ्रमणबारे वर्णन गर्दै दुई देशबीच जनस्तरमा भ्रमण आदानप्रदान बढ्दै गएको बताउनुभयो ।
प्रदर्शनीमा कलाकार गलाल गोमाको तार मूर्तिकलाका साथै फौजी मोर्सी, खालेद अल मार्सफी, खालेद सलाह, शिमा शफेई, अहमद गेसा, मारवा इब्राहिम, नौरा मकराम, सफिया याह्या, हानी हसन अब्देलगा, हनी हसन अब्देलगाको क्यारिकेचर कलाको विविध सङ्ग्रह प्रदर्शन गरिएको थियो ।
प्रदर्शनीमा व्यङ्ग्य चित्रकारहरूद्वारा सृजना गरिएका राजर्षि जनक, पासाङल्हामु शेर्पा र सन्दुक रुइतलगायत १५ जनाभन्दा बढी नेपालीप्रति समर्पित ‘क्यारिकेचर’ समावेश गरिएको थियो । कायरोस्थित युनाइटेड ओइल कम्पनीमा कार्यरत नेपाली वैज्ञानिक डा प्रकाश अधिकारीले विदेशमा नेपालबारे प्रचारप्रसार गर्न आयोजित यस्ता प्रदर्शनीले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा कलाकार तथा कलाप्रेमी, कूटनीतिज्ञ, स्थानीय पत्रकार, विद्यार्थी, नेपाली समुदायका सदस्यसहित एक सय जनाको सहभागिता थियो ।
कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा धेरै पानी पर्ने पूर्वानुमान, सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, १४ असार I हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।
साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाका साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी–पहिरोको जोखिमबाट बच्न तथा त्यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
‘बजेटमा राखिएका सुझाव सम्बोधन भएनन’
काठमाडौँ, १३ असार I राष्ट्रियसभाका सदस्यहरुले बजेटपछिको विनियोजन विधेयकमाथि भएको छलफलमा दुबै सदनका सांसदले दिएको सुझावलाई सामावेश नगरिएको भन्दै आपत्ति जनाएका छन् । आज बसेको राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री वर्षमान पुनद्वारा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८१ माथि बिचार गरियोस्’ भन्ने प्रस्तावको छलफलको क्रममा उनीहरुले गुनासो गरेका हुन् ।
राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको र प्रतिनिधिसभाबाट सन्देशसहित आएको विनियोजन विधेयकमा अर्थ मन्त्रालयले सिधैँ रकम रकामन्तरण गर्ने प्रावधान रहेकाले यसलाई मन्त्रिपरिषद्ले रकमान्तरण गनुपर्ने सुझाव दिनुभयो ।
सांसद उर्मिला अर्यालले विनियोजन विधेयकमा बजेट कार्यन्वयनका लागि सहजीकरण गर्न वियेध आएको उल्लेख गर्दै खर्च व्यवस्थित गर्न आएको विधेयक आवश्यक र सान्दर्भिक रहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले बजेटको विषयमा दुबै सदनमा छलफल गर्ने र पास हुने भएकाले सांसदले जनताको भावना बुझेर विचार राखे पनि त्यो छलफलमा नसमेटिएको बताउनुभयो ।
“संसद्प्रति जनताको विश्वास बढेको छैन, यो प्रक्रिया बदल्नुपर्छ, सांसदको सुझाव समेट्नु पर्छ,” उहाँले भन्नुभयो, “कति सांसदले बजेट अघि प्रस्ताव गर्नुभएको योजना पर्छ उहाँहरु खुसी हुनुहुन्छ तर कतिपय सांसदले प्रस्ताव गर्नुभएको योजना पास हुँदै निराश हुनुहुन्छ, प्रथामिकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।”
राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले आयोजना कार्यान्वयनका लागि स्रोत परिचालनको आधार रहेको भन्दै कार्यान्वयन गर्ने पक्षमा विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रियसभा सदस्य श्रीकृष्णप्रसाद अधिकारीले अर्थतन्त्रका सम्भावना र चुनौतीकाबीच आएको विनियोजन विधेयकको समर्थन गर्नुभएको छ । राष्ट्रियसभा सदस्य गोपाल भट्टराईले छलफलमा उठेका विषयमा संशोधन गर्नुहुन्न भन्ने चलन अन्त्य हुनुपर्ने बताउनुभयो ।
राष्ट्रियसभा सदस्य विष्णुकुमारी सापकोटाले पनि विनियोजन विधेयकमा सांसदले दिएको सुझाव समावेश नहुने गरेको भन्दै आपत्ति जनाउनुभयो ।
राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले सेवा प्रदायकलाई सहज बनाउन आएको विधेयकमा टिप्पणी गर्दै बजेट विनियोजन गर्ने क्रममा सन्तुलित रुपमा बजेट विनियोजन हुन नसकेको बताउनुभयो । राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले सन्तुलित रुपमा बजेट विनियोजन भएको भन्दै विधेयकको स्वागत गर्नुभयो ।
डेङ्गु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा कामपा
काठमाडौँ, १३ असार I काठमाडौँ महानगरपालिका स्वास्थ्य विभाग डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टेको बासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायमा सचेतना बढाउने अभियानमा जुटेको छ । नियमित पानी पर्न थालेसँगै यो रोगको जोखिम बढ्न सक्ने भन्दै कामपाले यही असार ९ गतेदेखि सबै वडामा उक्त कार्यक्रम सञ्चालन गरिरहेको छ । डेङ्गु नियन्त्रण्क ‘फोकलपर्सन’ ऋषि भुसालका अनुसार यस अभियानमा ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ ।
“रोग सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्छन्, त्यसैले अभियान सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।
भुसालका अनुसार पानी जमेका खाल्डा पुर्ने, पानीका भाँडा, टायर तथा अन्य स्थानमा जमेको पानी हटाउने, यसमा लामखुट्टेको प्रजनन प्रणाली र रोग फैलिन सक्ने अवस्थाका बारेमा सर्वसाधारणलाई बुझाउने काम अभियानमा क्रममा भइरहेका छन् ।
रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो । “पानी परेको समयमा सडक र सडक किनाराका खाल्डाखुल्डीमा फोहर पानी जम्मा हुन्छ । यस्तो पानीमा लामुखट्टेको सङ्ख्या वृद्धि हुन्छ । लार्भा खोज्ने तथा नष्ट गर्दा यस्ता ठाउँलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो ।
लार्भा नष्ट गर्न लार्भिसाइड औषधिको प्रयोग गरिएको जनाउँदै भुसालले यो जैविक औषधि रहेको बताउनुभयो । “यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादी होइन । औषधिलाई पानीको माथिलो भागमा छर्किने गरिन्छ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ”, उहाँले भन्नुभयो ।
डेङ्गुको सङ्क्रमणका बारेमा परामर्श दिनका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबीसै घण्टा सञ्चालनमा राखेको जनाएको छ । अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । एक्कासी उच्च ज्वरो आउनु डेङ्गुको मुख्य लक्षण हो । यससँगै धेरै टाउको दुख्ने, आँखाको गेडी दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा बिमिरा आउनेलगायत यसका मुख्य लक्षण रहेका छन् ।
मन्त्रीले सांसद पर्खनुपर्दा ...
काठमाडौं, १३ असार I प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका गणपूरक सदस्यहरु निर्धारित समयमा उपस्थित नहुँदा आजको बैठक एक घण्टापछि सुरु भयो । बैठकका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने ठिक समय (बिहान ७ः३०) बजे समितिको सभाकक्ष, सिंहदरबारमा उपस्थित हुनुभएको थियो ।
निर्धारित समयमा २४ सदस्यीय समितिका सभापति अम्बरबहादुर थापासहित छ सांसद मात्रै उपस्थित भएपछि बैठक सुरु हुनसकेन । ‘नेपाल विश्वविद्यालय सम्बन्धमा व्यवस्था गरेको विधेयक’माथिको छलफलका लागि राखिएको बैठकमा १०ः३० बजेपछि समितिका लागि शिक्षामन्त्री श्रेष्ठले आफ्नो अन्यत्र बैठक रहेकाले जान अनुमति माग्दा सभापति थापाले मन्त्री र सांसदहरुको समय मिलाउन आफूलाई हम्मेहम्मे पर्ने गरेको दुःखेसो गर्नुभयो ।
“म यो विधेयक छिटो पारित गरेर विद्यालय शिक्षासम्बन्धी विधेयकमा छलफलमा जाउँ भन्ने सोचेको हो तर सोचे जस्तो भइरहेको छैन ।’’, सभापति थापाले भन्नुभयो, “समयप्रति सबैले उत्तिकै चासो र गम्भीरता देखाउन आवश्यक छ ।’’ समितिको आजको बैठकमा उक्त प्रस्तावित विश्वविद्यालयका लागि कुलपति प्रधानमन्त्री राख्ने नराख्ने, उपकुलपतिका अधिकार कसरी व्यवस्थित गर्ने भन्ने लगायत विवाद भएको थियो । उक्त विवादलाई आपसी छलफल गरेर सहमतिको खाका पेस गर्न समितिले सदस्य विद्या भट्टराईलाई जिम्मेवारी दिएको छ । राष्ट्रियसभाबाट पारित सो विधेयकको दफा २८ सम्म छलफल भएको छ ।
दिक्तेल–साप्सुखोला सडकमा श्रमदान
खोटाङ, १३ असार I दिक्तेल–साप्सुखोला सडकमा यातायातका साधन सञ्चालनमा समस्या भएपछि साकेला गाउँपालिकाका बासिन्दाले श्रमदान गरेका छन् । साकेलाका स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ को लफ्याङ खण्डमा मर्मत गरेका हुन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट साप्सुखोला हुँदै साकेला गाउँपालिकाको मानेभञ्ज्याङ–पाँचधारे तथा दिप्रुङ चुइचुम्मा हुँदै तराईका जिल्ला जोड्ने सडकअन्तर्गत लफ्याङ क्षेत्रको केही भागमा वर्षायाममा समस्या भएपछि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, कर्मचारी, स्थानीय व्यवसायी र नागरिक समाजका एक सय ५ जनाभन्दा बढी सदस्यले श्रमदान गरेका हुन्
दिक्तेल–साप्सुखोला दश किलोमिटर सडकलाई असार अगावै मर्मत गरेर नियमित रूपमा यातायातका साधन सञ्चालन हुने वातावरण तयार गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले प्रतिबद्धता जनाउनुभएको छ ।
यसैबीच, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङको दुबेचिवा (तीन किलोमिटर) र दुबेचिवा–साप्सुखोला (चार किलोमिटर)सडक स्तरोन्नतिको काम पूरा नहुँदै सडक विभागले योजना कटौती गरेको छ ।
मुन्दुम पदमार्गको थप विकासमा जोड दिँदै टेम्केमैयुङ
भोजपुर, १२ असार I सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल भोजपुरको मुन्दुम पदमार्गमा रु एकरोड ९० लाख बढीको लागतमा विभिन्न संरचना निर्माण हुने भएको छ । टेम्केमैयुङ गाउँपालिका, स्वीस सरकार, प्रदेश र सङ्घ सरकारको रु एक करोड ९० लाख ५० हजार लगानीमा पदमार्गको थप विकास गर्न लागिएको हो ।
स्वीस सरकारसँगै तीनवटै तहका सरकारले विकासमा जोड दिएको यस क्षेत्रमा पदमार्ग विस्तार तथा पुनःनिर्माण, स्थानीय वस्तुकला, सूचना बोर्ड, खानेपानी, शौचालयलगायत संरचना निर्माण गरिने टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाको रु ४५ लाख, प्रदेश सरकारको रु ५२ लाख १५ हजार, सङ्घीय सरकारको रु १० लाख ५० हजार र स्वीस सरकारको रु ४२ लाख ५० हजार बजेट लगानी हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । बजेटबाट पदमार्ग घुम्न आउने पर्यटकलाई लक्षित गरेर थप संरचना निर्माण हुने उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग देशकै स्थापित पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “पछिल्लो समय यो पदमार्ग पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । यो बजेटबाट यसको थप विस्तार र विकास हुनेछ ।”
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले आगामी आर्थिक वर्षका लागि प्राप्त भएको बजेटबाट पर्यटन प्रवर्द्धनका लागि थप काम गरिने बताउनुभयो । मुन्दुम पदमार्गमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर गाउँपालिका र प्रदेश सरकारको लगानीमा चखेवामा पर्यटन सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उपाध्यक्ष राईले जानकारी दिनुभयो । “हाम्रो गाउँपालिका कृषि र पर्यटनको राम्रो सम्भावना बोकेको स्थानीय तह भएकाले त्यसलाई लक्षित गरेर योजनाबद्ध विकासमा जुटेका छौँ । मुन्दुम पदमार्ग पर्यटकको प्राथमिकतामा पर्ने गन्तव्यका रुपमा स्थापित हुँदै गएकाले यसको थप विस्तार र व्यवस्थापन गर्नुपर्ने आवश्यकता महसुस गरेर थप लगानी सुनिश्चितता गरिएको छ”, उहाँले भन्नुभयो ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गको बृहत्तर विकास गरेर गाउँपालिकाको दिगो आम्दानीको स्रोत स्थापित गर्ने योजनाको साथ काम गरिरहेको बताउनुभयो । यो पदमार्गबाट अग्ला हिमशृङ्खला, अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले छोटो समयमा नै पर्यटकको रोजाइमा पर्न थालेको र त्यसलाई थप व्यवस्थित गर्न आफूहरुले जोड दिइरहेको उहाँले बताउनुभयो । “मुन्दुम पदमार्ग सरकारको घुम्नैपर्ने सय गन्तव्यभित्र पर्न सफल पर्यटकीय क्षेत्र हो”, अध्यक्ष बस्नेतले भन्नुभयो, “यो पदमार्गको थप विकासका लागि हामीले योजनाबद्धरुपमा काम गरिरहेका छौँ । यसलाई गाउँपालिकाको दिगो आम्दानीको स्रोतकारुपमा स्थापित गराउने लक्ष्य छ ।”
मुन्दुम पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किरात राईहरुको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चाँैरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गरेका छन् ।