लाज शरणम्’को सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’
काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास गरेको हो ।
उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।
तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।
चलचित्र ‘११ : ५५’को गीत ‘रोक्ने छैन्’ सार्वजनिक
काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ११M५५ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन्’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन् ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । गीतको अडियो तथा भिडियोले दर्शकको मन जित्ने देखिन्छ । केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।
सिनेमाका मुख्य कलाकारहरु एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन् ।
अलल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।
व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्’
काठमाडौं । अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ’ताण्डवम्’ सेन्सर पास भएको छ ।
निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए ।
अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । सिनेमा अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि सिनेमाको हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पुरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।
‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए । काँटछाँट गरिएको सिनेमालाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिए । सेन्सरबाट राम्रो प्रतिक्रिया मिलेकाले दर्शक तथा समीक्षकलाई पनि ‘ताण्डवम्’ मन पर्ने विश्वास निर्देशकको छ ।
सिनेमाको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रबार फागुन ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।
‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिकन भिषाको सेरोफेरो
काठमाडौं । अमेरिकाको भिषा लागेको रेशम र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको ’फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ ।
राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक सिनेमाको ३ मिनेट ७ सेकेण्डको टिजरले सिनेमा हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।
ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको सिनेमाको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । सिनेमाले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।
हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना ट्रेलरले दिएको छ । संमग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झण्डै तीन दर्जनबढी पात्रको सेरोफेरोमा घुम्ने सिनेमाको परिस्थितजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलर देखाएको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन्
काठमाडौँ । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रूपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रूपमा मनाउने गरेका छन् ।
यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरू दिएर माया दर्साउने र आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ । विशेषगरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ । तर प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटासाट गर्ने अवसरका रूपमा लिने गरिएको मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठ बताउँछिन् ।
पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरू पनि धेरै आउने गरेको छ । तर श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरू भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताइन् ।
उनले भनिन्,‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन् । विभिन्न व्यावसायिक ब्राण्डहरूले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन् । भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनु भएको होला । अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरूसँग मनाउने होला । पार्टनर, श्रीमान, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ । कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ ।’
त्यस्तै नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउदैँ आइरहेको भन्दै प्रेम दिवसको नाममा विकृति भयो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन काशिस गर्नुपर्ने बताए । यदी प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उनी बताउँछन् ।
अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने बताउँछन् । झकिझकाउका साथ भ्यालेन्टाइन डे मनाउँदै गर्दा विकृति पैदा चाही नगर्न आग्रह गर्दै उनले भने,‘म प्रेम दिवस कहिले पनि मनाउने गरेको छैन् । मनाउनको लागि आवश्यक पनि लाग्दैन् । संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ । हामीले के चाही भुल्न हुँदैन् भने हामी भ्यालेन्टाइन डे झकिझकाउका साथ मनाउँछौँ । मनाउनुहोस् पनि तर कसरी मनाउने हो । प्रेम दिवको निहूमा विकृति पैदा चाही नगर्नुहोस् ।’
अभिनेत्री सरिना मगर पनि आफूले अहिलेसम्म प्रेम दिवस नमनाएको भन्दै माया गर्नको लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने बताइन् ।
उनले भनिन्,‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे मनाएको छैन् । यो हाम्रा लागि हो जस्तो नै लाग्दैन् । आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो । यसले खासै विकृति फैलिएको जस्तो चाही लाग्दैन् । आफ्नो इच्छाको कुरा पनि हो । कसैले हरेक दिन भ्यालेन्टाइन डे मनाइरहेके हुन्छ । नमनाउनेले कहिले पनि मनाउँदैनन् ।’
चीनको लालटिन पर्वमा नेपाली
एजेन्सी । चीनमा जारी नवौं एसियाली शीतकालीन खेलकुदको अवसरमा उत्तरपूर्वी हेइ–लोङ–जियाङ प्रान्तको सबैभन्दा ठूलो स्की रिसोर्ट याबुलीमा नेपाली खेलाडी स्थानीय परिकार र सांस्कृतिक परम्परामा रमाउँदै लालटिन महोत्सव मनाएका छन् ।
फेब्रअरी १२ तारिखमा हेइ–लोङ–जियाङ स्टेशनको संयोजकत्वमा ‘लालटिन पर्व मनाऔँ’ शीर्षकको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गतिविधि गरिएको थियो ।
एशियाका विभिन्न मुलुक र क्षेत्रका खेलाडी, प्रतिनिधि मण्डलका सदस्य बरफ शहरमा भेला चिनियाँ परम्परागत लालटिन पर्व मनाएका हुन् ।
छेवाङ मिङमार तामाङले पहिलो पटक उत्तरपूर्वी चीनमा सिग्नेचर डिशको स्वाद लिएको सुनाए । स्थानीय रैथाने परिकारको स्वाद लिंदा आफू मोहित भएको बताए ।
चिनियाँ चन्द्र पात्रोको पहिलो महिनाको १५ औं दिनमा मनाइने लालटेन महोत्सव यस वर्ष फेब्रुअरी १२ मा परेको थियो ।(सीसीटीभीप्लस)
चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं । चलचित्र ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा विपीन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्सअनुसार उनी बदलाको भावमा छन् ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ ।
पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।
यदि, निर्माणपक्षले गरेको दाबी र पोस्टरले गरेको संकेतअनुसार चलचित्र एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन् । यसले नै दर्शकमा रोमाञ्चकता थप्नेछ ।
‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीको निर्देशन गरिरहेका छन् । ‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ । यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ ।
मुकुन यो चलचित्रमा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।
बालेन शाहको गीत ‘नेपाल हाँसेको’ युट्युब ट्रेन्डिङको एक नम्बरमा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ । ‘नेपाल हाँसेको...’ बोलको गीतमा बालेनको शब्द, सँगीत, स्वर र ¥याप छ । गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ । बालेन मेयर भएपछि उनले गाएको गीत पहिलो पटक बजारमा आएको हो ।
यस्तै, चलचित्र ‘लाज शरणम्’को गीत युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ । ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ । यो गीतले चलचित्रको हाइप थप बढाएको छ ।
चलचित्र ‘लाज शरणम्’ले केही दिनअगाडि मात्रै ‘हेर्दा हेर्दैमा...’ बोलको गीत सार्वजनिक गरेको थियो । चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।
फागुन १४ गते महाशिवरात्रीको दिन रिलिज हुने ‘लाज शरणम्’ यो वर्षकै प्रतीक्षित मध्येको एक सिनेमा हो ।
‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित
काठमाडौं । निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।
पेपरक्लिप प्रालिको ब्यानरमा बनाउन लागेको यस चलचित्रमा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
यस चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।
यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शक माझ आउने अपेक्षा गरिएको छ ।
‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक
काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।
सिनेमाको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । सिनेमाको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो वर्षकै प्रतिक्षित मध्यको एक सिनेमा हो ।








