रचना रिमालको ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समिक्षा
काठमाडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यती माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
भिडियोमा मोडलद्धय प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ । भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ । निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिन्छन् ।
उनका आधा दुःख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घामलगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।
सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।
लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस्:
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/W4GPuBm4FCo?si=_itfR3y_0A5FNZqz" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु
पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिवार) बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मच्चन हुनेछन् ।
महोत्सवको उद्घाटन गर्दै पोखराका नगर प्रमुख धनराज आचार्यले मुनामदन नाटकको मदनको एउटा संवाद उद्घाटनका क्रममा सुनाए । समारोहमा बोल्दै अघिल्लो पुस्ताले सुरु गरेकोे विरासतलाई जोगाउदै नया पुस्ता अगाडि बढेको पनि बताए । उनले भने,‘नेचर, कल्चर र एड्भेन्चरको सहर पोखरामा कल्चर भित्रको विभिन्न विधाहरू मध्ये नाटक पोखराको अन्तर्वस्तु हो । पोखरामा बस्न सफल छ । नाटक भन्ने बित्तिकै थुप्रै कुराहरूको अनुमान गर्न सक्छौ । अघिल्लो पुस्ताले सुरु गरेको विरासतलाई जोगाउँदै अगाडि बढ्ने सन्दर्भमा अहिले पोखरामा अनूप बरालजीको हंसध्वनीसहित थुप्रै कामहरू हुदैछन् ।’
पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा नेपालसँगै विदेशी कलाकारहरूको पनि उपस्थिति रहने छ ।
महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
सुगम बन्दै शैलुङ
रामेछाप । धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा मनोरम शैलुङ बिस्तारै सुगम बन्दै गएको छ । कुनै बेला निक्कै दुर्गमको यात्रा मानिने शैलुङ अहिले सुगम सहजको गन्तव्य स्थल बनेको हो ।
केही वर्ष अगाडिसम्म शैलुङ पुग्न न सडक थियो, न शैलुङमा पुगेर बास बस्ने राम्रो ठाउँ थियो, न इन्टरनेटकै सुविधा थियो । शैलुङ राम्रो थियो, तर दुर्गम थियो । त्यसैले जो कोहीले शैलुङसम्म पुग्ने आँट नै गर्दैन थियो । धेरैको लागि शैलुङ सपनाको संसार थियो ।
अहिले पूर्वाधार बनेसँगै शैलुङ सुगम बनेको छ । शैलुङ अब सबैको सहज गन्तव्य बनेको छ ।
अहिले शैलुङसम्म पुग्ने दुईतर्फी सडक बनेका छन् । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ पुग्न रामेछाप र दोलखा दुवै तर्फबाट सडक बनेका छन् ।
रामेछापको दोरम्बाबाट खोलाखर्कसम्म सडक बनेको छ । जसले गर्दा रामेछापको सदरमुकाम मन्थली वा काभ्रेको चौँरी, बिपी राजमार्गको सित्खाबाट गाल्पा निस्किएर दोरम्बा हुँदै शैलुङ पुग्न सकिने भएको छ ।
त्यस्तै दोलखाको कालापानी हुँदै शैलुङ आउने सडक पनि खुलेको शैलुङ दोहोरो सडक सञ्जालमा जोडिएको छ । ‘शैलुङ अब सुगम भयो, जो कोही पनि सहजै शैलुङ पुग्न सक्छन्, त्यहाँको आनन्द लिन सक्छन्’, रामेछापको दोरम्बाका सामाजिक अभियन्ता मिलन घिसिङ भन्छन् ।
शैलुङ पुग्ने सडक मात्र होइन, शैलुङमा अन्य पूर्वाधार पनि विकास भएका छन् । शैलुङ पुग्ने पर्यटकलाई बस्नको लागि पनि रामेछाप र दोलखा दुवै तर्फ सुविधा सम्पन्न होटेल बनेका छन् ।
‘अब शैलुङ जाने पर्यटकहरूले शैलुङ पुग्ने बित्तिकै फर्कन पर्दैन, रामेछापको खोलाखर्क र दोलखाको कालापानी क्षेत्र जता पनि बास बस्ने राम्रा होटेल छन्’, स्थानीय होटेल व्यवसायी दावासाङबु शेर्पा भन्छन् ।
खोलाखर्कका होटेलमा इन्टरनेट सेवा पनि सञ्चालनमा आएको छ । नेपाल टेलिकमले फोरजी सेवाको टावर र निर्माण गरेपछि सहज रूपमा मोबाइल र इन्टरनेट सेवा चल्न लागेको छ । भर्खरै मात्र खोलाखर्कमा अल्ट्रा नेट कम्पनीले फाइबर नेट सेवा पनि सञ्चालनमा ल्याए पछि शैलुङमा सञ्चारको पनि राम्रो सुविधा पुगेको शेर्पाले बताए ।
समुन्द्र सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको शैलुङ प्रकृति र अध्यात्मका संगमस्थल हो । हिउँदमा हिउँले ढाक्ने शैलुङ, चैत, बैशाखमा विभिन्न जातका गुराँसले ढकमक्क भएको छ ।
वर्षमा विभिन्न फूल र हरियो दुवो छापेको जस्तै देखिने शैलुङ अहिले दुवोको गलैँचा ओछ्याए जस्तै छ । यहाँबाट हिमाल लगायतका दृश्यावलोकन पनि निक्कै रमणीय देखिन्छ ।
शैलुङमा जनपूर्णिमा, तिज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा गुराँस हेर्ने मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । ‘त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ पनि हुँदैन’, व्यवसायी शेर्पाले भने ।
शैलुङ हिन्दु र बौद्धधर्मालम्बिको पनि पवित्र भूमि हो । हिन्दु धर्म मान्नेले यसलाई शिवको तपोभूमिमा मान्दछन् भने बुद्धधर्मालम्बिले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्दछन् ।
सय लुङ अर्थात् सयवटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन् । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ ।
हिउँदमा हिउँ पर्ने शैलुङमा वर्षामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।
पाँचपोखरी तीनजुरे: यात्राको उत्कृष्ट गन्तव्य (तस्बिरसहित)
तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा स्थित पाँचपोखरी तीनजुरे, पर्यटकीय दृष्टिकोणबाट एक उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ। यहाँको शान्तिपूर्ण वातावरण र प्राकृतिक सौन्दर्यले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पाँचपोखरी तीनजुरेमा अवस्थित तीन पोखरीहरूको रमणीय दृश्य र आसपासको हरियालीले यात्रुलाई अनौठो अनुभव दिन्छ। यो स्थलको अद्भुत प्राकृतिक वातावरण र सांस्कृतिक महत्त्वले यसलाई तेह्रथुमको एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणको प्रयासले यस क्षेत्रलाई थप समृद्ध बनाएको छ। पाँचपोखरी तीनजुरे, अब यात्राको उत्कृष्ट गन्तव्यको रूपमा विकसित भइरहेको छ, जसले पर्यटकीय क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको छ। तस्बिरहरू : टार्जन लिम्बु
आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रँगहरूको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावले मनाउने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको पौराणिक कथा यो पर्वसँग जोडिएको छ । यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भईन । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।
त्यसवेलादेखी शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका र राक्षसी पुतना मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको छ ।
हिन्दु धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराब प्रवृत्तिको अन्य हुने र असल प्रवृत्तिको विजय प्रतीकका रूपमा होली पर्वलाई लिइन्छ ।
आज सुशान्त केसीको कन्सर्ट हुदैँ
काठमाडौं । गायक सुशान्त केसीको आज शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् ।
नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा र्याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको छ । चर्चित व्यक्तिहरू आउने आशासहित कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको आयोजक टिमले लिएको छ ।
कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए ।
आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताएका छन् । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्ने तयारीमा छन् । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक गीत सुन्न पाउनेछन् ।
एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कन्सर्टलाई भव्य अनि सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने टिमले बताउँदै आएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’को नयाँ रेकर्ड
काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए ।
फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
‘अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,’ उनले भने ।
अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको थियो । “विश्वभर एकै दिन सुबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,” वितरक सुवेदीले भने ।
‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । ‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।
‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’
काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।
कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।
गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।
‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ । यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।
चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ । कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ । वितरकका अनुसार, पहिलो दिन मात्र चलचित्रले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।
फिल्म ‘कुस्ती’ को छायाङ्कन सुरू
काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।
‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक योञ्जनले भने ।
उनले काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिए । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।
आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउँदैछ ।’
फिल्ममा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ । डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।
आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’ मा देख्न पाइनेछ । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।
‘फेरि रेशम फिलिली’ को टिकेट बुकिङ र बिक्री सुरू
काठमाडौँ । आउँदो शिवरात्रि अर्थात् फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’ को अनलाइन टिकेट बुकिङ र बिक्री सुरू भएको छ ।
‘रेशम फिलिली’ को सफलतापछि नौ वर्षपछि तयार भएको दोस्रो सिरिजमा उस्तै कमेडी र समसामयिकता रहेको लेखक तथा निर्देशक निरोज महर्जनले बताएका छन् ।
फिल्मले सुरुआती समयमा देशभर ८६ शो प्राप्त गरिसकेको छ । फिल्मको सार्वजनिक प्रचार सामग्री र गीतको प्रभावका कारण प्रतीक्षित बनेको फिल्मको लोकप्रियता ‘वर्ड अफ माउथ’ ले बढाउनेमा निर्माण टिम विश्वस्त छ । काठमाडौँ उपत्यकामा ४६ शो र मोफसलमा ४० शो पाएको फिल्मलाई पछिल्लो समय ‘फेरी जालमा’ गीतले चर्चामा ल्याएको छ ।
फिल्मको शो बुधवारसम्म अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ । विसं २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो । तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै फिल्मको प्रशंसा गरिएको थियो।
करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेल सम्पादन गरेका छन् ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन्।

















