बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JRD9VC063FYVZPDVARJC5Y6K.avif

१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री

इटहरी । कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो ।

तेह्रथुम र सङ्खुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको उद्घाटनका लागि मङ्गलवार दिउँसो पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।

विराटनगरमा आयोजना गरिएको पर्यटन वर्ष समेत लक्षित प्रदेश समन्वय समितिको बैठकमा अध्यक्षता गरिरहेका कार्कीले भनेका थिए, ‘भोलिबाट सुरु हुने कोशीको पर्यटन वर्ष २०८२ लाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्नुहुने छ । यस्तै विशिष्ट अतिथिका रूपमा उपप्रधानमन्त्री प्रकाशमान सिंह आउनुहुने छ ।’

तर प्रधानमन्त्री आउँने भनी महिनौँ तयारी गरेको र निमन्त्रणामा समेत प्रधानमन्त्री आउने चर्चा गरिएको समारोहमा नै भने अनुसारको काम नभएपछि सरकारले लिएको लक्ष्य कसरी पुरा होला भन्ने संका पैदा भएको छ ।

यद्यपि कोशी सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन उप–प्रधान एवं सहरी विकाशमन्त्री प्रकाशमान सिंहले गरेका छन् । प्रधानमन्त्री आउने भनेर पुगेका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयलाई खिन्नता छाएको छ ।

एक जना स्थानीय तहका जनप्रतिनिधिले भने, ‘प्रधानमन्त्री आउने भनेर भनिएको थियो तर ढाँट गरेजस्तै भएपछि म पनि गइन ।’

किन आएनन् प्रधानमन्त्री ?

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी अधिकारीहरू भने प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन् । उद्घाटन समारोहमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन ।’

तर उनले भनेजस्तो वस्तुस्थिति भने देख्न सकिँदैन । महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन ।

खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो ।

पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो । विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो । तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फुल्न सकेको छैन ।

गुराँसलाई फुलाउनका लागि केही दिन अघि त्यहाँ दमकल लगायतको प्रयोगले पानी समेत गुराँसका बोटहरूमा हालिएको थियो । त्यस बेला प्रधानमन्त्री आउने भएपछि गुराँसमा पानी हालिएको भन्दै तीव्र आलोचना समेत भयो ।

प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि उनीहरूले पनि सहभागिता जनाउन सकेनन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन् । जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ ।’

वातावरण सम्बन्धी जानकारहरू वातावरण सम्बन्धी जानकारहरू जलवायु परिवर्तनका कारण यस प्रकारका असरहरू परिरहेको जनाउँदछन् । कार्यक्रमका सम्बन्धमा आलोचना भइरहेको र समारोह समेत उत्साहजनक नहुने भएपछि प्रधानमन्त्री नआएको कतिपयले तर्क गरेका छन् ।

कहाँ गए प्रधानमन्त्री ?

कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली भने अर्घाखाँची पुगेका छन् । उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे ।

के छ पर्यटन वर्षको लक्ष्य ?

बुधवार आलोचना र बिस्मातका साथ उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ को लक्ष्य भने प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने छ । रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।

पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://jawaaf.com/storage/01JRD3S2D7QZDTMQCXJXXBD5JS.avif

‘वसन्त’को गीत ‘मोटर’ / स्पेशल स्क्रिनिङ

कामठाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ । 

यसैबिच, सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रूपमा प्रस्तुत गरिएको छ ।

मंगलबार सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुतकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ । सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक तथा गायक सपुतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।

यता, सिनेमाको निर्माण टिमले सोमवार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो । जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका सिनेमाकमी र पत्रकारले स्पेशल स्क्रिनिङमा सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यथार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए ।

वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौं, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरू व्याप्त रहेको बताइन् । ‘समयले धेरै कोल्टे फेरि सक्यो । हामीले धेरै चिज देखी सक्यौँ । अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहिँ वर्गीय हिसाबले होस्, जातीय हिसाबले होस्, अन्य अरू हिसाबले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन् । वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन् ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ । यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो ।

गत चैत्र २२ गते शुक्रवारबाट नेपाल र विदेशमा एक साथ रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://jawaaf.com/storage/01JRAMBWQPN8NCP86Z7HQBQCF9.avif

कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी गराए । उनका अनुसार प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री प्रकाशमान सिंह विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम रहेको छ ।

Bantawa Hardware.gif 828.52 KB

मङ्गलवार प्रदेश समन्वय परिषद्को सातौँ बैठकमा मुख्यमन्त्री कार्कीले भने, ‘हामीले २०८२ लाई भ्रमण वर्ष मनाइरहँदा आफ्ना स्थानीय तहको पर्यटन प्रवर्धनमा तपाईँहरू लाग्नुपर्ने हुन्छ । पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना गर्न सक्छौँ ।’

पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । रमणीय कोशीको नाराका साथ मनाइने पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राइने लक्ष्य राखिएको छ ।

NOW.gif 152.32 KB

पर्यटनका माध्यमबाट कोशीलाई सम्पन्न बनाउन सकिने यस क्षेत्रका जानकारहरू बताउदछन । पर्यटन वर्षको पूर्व सन्ध्यामा ‘लोकतन्त्र र पर्यावरण’ शीर्षकमा अन्तरक्रिया समेत गरिएको छ ।

मुख्यमन्त्री कार्की प्रदेशको अर्थतन्त्र समेतलाई चलायमान बनाउनका लागि वर्ष महत्त्वपूर्ण साबित हुनेमा समेत विश्वस्त देखिएका छन् ।  पर्यटन वर्षको उद्घाटनका लागि प्रदेशको सम्पूर्ण मन्त्रीपरिषद्का साथै संयन्त्र समेत तीनजुरे प्रस्थान गर्दै छ ।

ad_news_shatyashisu.gif 688.4 KB

प्रकाशित मितिः मङ्गलबार, २६ चैत २०८१
https://jawaaf.com/storage/01JR50PCNW98G9YVM6K6965NQ5.jpg

‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।

सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।

निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।

‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ ।’

असोसियट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ मा हामी सबै नेपालीको कथा रहेको बताए । ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,’ उनले भने ।

यस्तै, अभिनेता मैनालीले चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए ।

निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।

चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।

थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१
https://jawaaf.com/storage/01JR1TMQSQRSZF7WWME98VVZFS.jpg

रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे

रामेछाप । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् । 

बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू शुक्रबार दिउँसो केही बेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन् । मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थली रोकिएका थिए ।

शुक्रबार मध्यान्ह मन्थलीमा रोकिएको पर्यटकहरूलाई हेलिकप्टर र प्लेनबाट फाप्ला र लुक्ला पठाएको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले जानकारी दिए । 

शुक्रबार  दिउँसो ७ वटा विमान उडान भएकामा १ सय १० जना पर्यटक फाप्ला पुगेका छन् । त्यस्तै हेलिकोप्टरको ५० वटा उडान मार्फत २ सय ५० पर्यटक लुक्ला पुगेका छन् । शुक्रबार केही बेर खुलेको मौसम फेरी खराब हुँदा आज बिहान पनि जहाज उड्न सकेका छैनन् । 

सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थली सम्म गाडीमा आउने गर्दछन् भने रामेछापको मन्थली विमान स्थलबाट जहाजमा लुक्ला जाने र आउने गर्दछन् । यो विमानस्थलबाट मौसम सफा हुँदा दैनिक ६० वटा भन्दा बढी उडान सोलुको लागि हुने गर्दछ ।

प्रकाशित मितिः शनिबार, २३ चैत २०८१
https://jawaaf.com/storage/01JQNG67WSXSFPA6TDYSQF1KB3.jpg

चलचित्र ‘कर्मा’ को गीतमा दुर्गेश थापाको स्वर

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।

केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।

दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।

यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको  ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।

गायक केसीले ‘कर्मा’मार्फत पाश्र्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ । हम्मेसी अरूका लागि गीत गाउँदैनन् । उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन् । उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्यूज गएका छन् ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१
https://jawaaf.com/storage/01JQJJEM9H48H2YR9755TET4Z5.avif

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक क्रेज

धरान । नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते देखि रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न चलचित्र हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहेकी छिन् ।


शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।


धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन् । एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गरिन् ।

Pathivara_Adv..gif 182.28 KB

धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ’अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।


एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्। निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

Bantawa Hardware.gif 828.52 KB

यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, १७ चैत २०८१
https://jawaaf.com/storage/01JQ6H6D9G7SCQ93T8X9ZDH1XH.avif

मेलबर्नमा गुन्जियो नेपथ्य

मेलबर्न । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा ।

कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहो¥याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए । उनले थप्दै लगे– ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो । अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे । भुइँ थर्किन थाल्यो ।

काठ ठोकिएको जमिन केही बेरै हल्लिरहँदा छेउमै उभिएका पाकिस्तानी मूलका सुरक्षाकर्मी हास्मे अहमदको अनुहारमा चिन्ता छाएको देखिन्थ्यो ।
घरी अर्काको काँधमाथि चढेर नाच्न खोज्नेलाई उतार्ने त घरी हलभित्र भेपको धुवाँ उडाउनेलाई रोक्ने काममा खटिँदा लखतरान देखिएका दुई ज्यान अग्ला हास्मे भुइँसमेत हल्लिन थाल्दा आत्तिएका थिए ।

‘आफ्नै छिमेकी देशको कार्यक्रम यस्तो भव्य हुन्छ भन्ने सोचेको पनि थिइनँ,’ उनी भनिरहेका थिए, ‘मैले भाषा नबुझे पनि यस ब्यान्डलाई दर्शकले असाध्यै मन पराएको पाएँ ।’  मेलबर्नमा नेपथ्यले यसअघि दुई हजार दर्शक क्षमताको हल ‘फोरम’ प्रयोग गरेको थियो । यसपाला भने त्योभन्दा बढी क्षमताको भव्य एवं ऐतिहासिक ‘फेस्टिभल हल’ चयन गरिएको थियो ।
कन्सर्ट सुरु हुनुभन्दा झन्डै आधा घण्टाअगावै हल भरिभराउ भइसकेको थियो । घडीको सुईले बेलुकीको ठीक साढे ८ देखाउनासाथ पर्दामा ‘सा कर्णाली’ गीतको म्युजिक भिडियो बज्न सुरु भयो । विश्वमै तहल्का मच्चाइरहेको बेला ‘बिटल्स’ जस्तो ब्यान्डको कन्सर्ट अनि सन् १९५६ को ओलम्पिकमा कुस्ती प्रतियोगिता भएको यस हलमा दर्शकको भीडले सोमबार साँझ नृत्य गर्दा सुरुवातैदेखि भुइँ नराम्ररी थर्किन थालेको थियो ।  

म्युजिक भिडियो लगत्तै मञ्चमा उपस्थित मुख्य गायक अमृतले ‘कोशीको पानी, यो जिन्दगानी’ बाट प्रस्तुति थालनी गरे । तेस्रो प्रस्तुति ‘छेक्यो छेक्यो’ पछि उनले दर्शकसँग संवाद सुरु गरे । त्यस क्रममा उनले नेपाली जता गए पनि मिलेर बस्नुपर्ने, देश र आफन्तलाई भेट्ने क्रम टुटाउन नहुने अनि भावी पुस्तामा पनि भाषाको विस्तार गर्नुपर्नेजस्ता सन्देश प्रवाह गरे ।
‘यो जिन्दगानी’ गीत सुनाएपछि आफूले जस्तो पढ्ने अवसर नपाएका नेपाली केटाकेटीलाई सक्दो सहयोग गरिदिन आह्वान पनि गरे । कार्यक्रमले दर्शकको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई बलियो बनाउने उद्देश्यलाई पनि पछ्याइरह्यो ।

कन्सर्टको अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ सम्म पुग्दा तिरिमिरी बत्तीका बीच सिंगै हल नाचिरहेको जस्तो देखिन्थ्यो । नाच्नेहरूको त्यही भीडमा भेटिइन् केट ह्यान्सन । नेपाली युवकसँगै बिहे गरेकी उनले यसअघि पनि मेलबर्नमा ‘कन्दरा’ र ‘कबवेब’ ब्यान्डको कन्सर्ट हेरेको सुनाइन् ।
‘नेपालमा मैले असाध्यै प्रतिभाशाली कलाकारहरू रहेको पाएँ,’ आफू पनि कुनै समय गायिका रहेको बताउने उनले थपिन्, ‘नेपथ्यले नेपालका गाउँघरको आवाज संकलन गरेर ल्याउँछ भन्ने जानकारी मेरा पतिबाट पाएपछि झनै बढी मन पर्न थालेको छ ।’

केटले दुई वर्षअघि मेलबर्नमै आयोजित नेपथ्यको कन्सर्ट पनि हेरेकी रहिछन् । ‘आफ्नो संस्कृतिसँग जोडिएको संगीत असाध्यै स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मेरो विचारमा आफ्नो मौलिक पहिचान अघि बढाउन सामूहिक प्रयास प्रभावकारी हुन्छ ।’  

नेपथ्यलाई मेलबर्नमा भव्य रूपले प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजक आशिफ कार्कीले उल्लेख गरे । ‘नेपाली कार्यक्रमका लागि मेलबर्नको कुनै हलभित्र तीन हजार दर्शक जम्मा भएको यो पहिलो पटक हो,’ उनले थपे, ‘दर्शक कार्यक्रममा अन्तिमसम्मै रमाएको देख्दा खुसी झनै बढेको छ ।’

मेलबर्नपछि अब ब्यान्ड, व्यवस्थापक लगायतको १४ सदस्यीय टोली अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै भोलिपल्टका लागि शो थपिएको हो । साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ मा प्रस्तुति सकेलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।
सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत् जानकारी पाउन सक्नेछन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ61J0FXJ7CA4JN19QGF7W79.avif

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । ‘हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ ।’अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौं ।’ निर्माता विनोद पौडेलले भने 
उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

Pathivara_Adv..gif 182.28 KB


सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ । चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।


यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ’बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए । यो चलचित्रमा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ1CEVZWMGWBA1Z7YXTPYZ2V.avif

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्‍याएको छ ।

फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।

एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।

चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा सुरुको दृष्यहरूले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।

हुन त कोमल मन भएका दर्शकहरू साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरू छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँसु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरू एकाएक आँसु बग्छ ।

Pathivara_Adv..gif 182.28 KB

आखिर कथा कस्तो छ ?

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथावस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको इच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरूलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।

चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरूलाई सरल ढंगले प्रस्तुत गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरू पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।

फिल्मको उत्कृष्ट पक्ष

असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्‍याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।

सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।

‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

कमजोरीहरू र चुनौतीहरू

फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।

पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।

Bantawa Hardware.gif 828.52 KB

कलाकारहरूको प्रदर्शन

दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।

एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।

काठमाडौंको संघर्ष

एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रूपमा एपीएफमा आबद्ध हुन एन्जिलालाई त्यति सहज भएन ।

काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो ।  यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।

यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।

चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरू चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।

निष्कर्ष

समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।

चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१