वेइझाउ टापुमा ब्राइडका ह्वेलहरू हेर्नेको भीड
एजेन्सी । पर्यटक आकर्षित गर्ने अनेक माध्यमहरू छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको वेइझाउ टापुमा ह्वेलहरूले पर्यटक आकर्षित गरिरहेको छ ।
वेइझाउ टापुको पानीमा रहेका ब्राइडका ह्वेलहरूले वैज्ञानिक र पर्यटकहरूलाई आकर्षित गरिरहेका छन् । हिउँदको आहारका लागि देखिएका संरक्षित ह्वेल हेर्न मानिसहरू झुम्मिने गरेका छन् ।
शिकारका लागि बाहिर उत्रिने क्रममा देखिने गरेका ह्वेलहरू हेर्न धेरै मानिसहरू उक्त टापुमा पुग्ने गरेका छन् ।
ब्राइडका ह्वेलहरू शिकार गर्दा पानीबाट ठाडो रूपमा बाहिर निस्कने गरेका छन् । यिनीहरूको यस्तो सक्रिय अवधि सामान्यतया डिसेम्बर देखि अप्रिलसम्म रहने गर्छ ।
गुआङ्सी एकेडेमी अफ साइन्सेजको तथ्याङ्कअनुसार यस क्षेत्रमा पहिचान गर्न सकिने ब्रायड ह्वेलको सङ्ख्या सन् २०१८ मा ६ वटा मात्र थियो । त्यसको सङ्ख्या बढेर २०२४ मा ६० पुगेको छ ।
चलचित्र ‘कार्साङ’ले ग¥यो दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन
काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ I गत शुक्रबारबाट रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।
सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ ।
बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ । चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
सिनेमाका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।
चलचित्र ‘लाज शरणम्’को निर्माण टिमद्वारा ‘स्टार स्किम’को विशेष अफर सार्वजनिक
काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।
निर्माण पक्षका अनुसार, सहभागीहरूले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरूले चलचित्र ‘लाज शरणम्’को इमेल laajsharanammoviefalgun14@gmail.com मा पठाउन सक्ने छन् ।
प्रतियोगिहरूले तयार पारेका भिडियोहरू ‘लाज शरणम्’को आधिकारिक टिकटक एकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ । यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ ।
‘लाज शरणम्’ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाएको थियो। अन्य सामाग्री नआउँदै चर्चा पाएको छ । जसले अब आउने टिजर र ट्रेलर लगाएताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।
वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।
चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।
‘लाज शरणम्’ले मनोरञ्जनसँगै सामाजिक र गम्भीर सन्देश दिने संकेत गरेको छ। यो चलचित्रले दर्शकको ठूलो प्रतीक्षा बटुल्न सफल भएको छ ।
मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ : मन्त्री पाण्डे
भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त समभावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।
मुन्धुम पदमार्ग प्रदेश नं १ को पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ ।’ यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, संवर्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ’ यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’
झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’मा उल्लिखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ’मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे ।
भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरु हुने पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरी सम्म पुग्छ। मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ ।
फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको सङ्ख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।
‘वसन्त’को गीत ’साँझ पर्यो झमक्क’ युट्युबको ट्रेन्डिङमा
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत दुई दिनअघि रिलिज गरेका थिए । सिनेमाको पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो ।
हाल यो गीत युट्युबको ट्रेन्डिङ अन्र्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शिर्ष स्थान तर्फ आफ्नो पाइला बढाइरहेको छ ।
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ ।
गीतको कमेन्टबक्समा दीपक विश्वकर्मा नामका दर्शकले लेखेका छन्, ‘प्रकाश सपुतको यो कलालाई उच्च सम्मान छ । यो सिनेमा ‘वसन्त’ सुपरहिट बन्न सफल बनोस् । शुभकामना ।’ यता अर्का दर्शक अनिलले लेखेका छन्, ‘म त प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर अचम्मै पर्छु । भगवान छन भने र भगवानले मान्छे बनाउछन भने साच्चिकै फुर्सदमा धेरै समय खर्चेर बनाएको मान्छे जस्तो । आहा कति प्रतिभाशाली ।’
यस्तै अर्का दर्शक दीपक बस्नेतले लेखेका छन्, ‘हाम्रो पुरानो सव्यता संस्कृति जोगाउने अहिलेको एकमात्र पुरुष प्रकाश सपूत । तिमी साचिँकै सपूत हौं ।’ उनीसँगै गीतको कमेन्टबक्समा अर्का दर्शक हिमाल सागर हिङमाङ्गले लेखेका छन्, ‘बिस्तारै नयाँ पिढीँहरु यसैगरी नेपाली मौलिक लोक गीतहरुमा भिज्दै गइरहेको देखिन्छ यो सबै कथावस्तुको प्रभावले हो । जो प्रकाश दाईले आफ्ना प्रस्तुतीहरु मौलिकपन एकपछि अर्को गर्दै दिइरहनु भएको छ । सिनेमा ‘वसन्त’को सम्पुर्ण टिमलाई उच्च सफलताको कामना गर्दछु ।’
सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको वृहत्तर कार्ययोजना आवश्यक
काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारस्थित समिति सभाकक्षमा बसेको पर्यटन समितिको बैठकले संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय गरेको सभापति राजकिशोर यादवले जानकारी दिए ।
उने भने,‘संस्कृति पर्यटन र नागरिक उड्डयन तीनै क्षेत्रको वृहत्तर विकासको लागि मन्त्रालयको समग्र नीतिगत संरचनागत र व्यवस्थापकीय सुधार गर्न, त्यसको कार्यान्वयन गर्न योग्य कार्ययोजना यथाशीघ्र निर्माण गरी सो को जानकारी समितिलाई गराउने निर्णय भएको छ ।’
यस्तै,उनले विभिद जाती भाषा धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तीव्रता दिइ पर्यटन प्रवर्धनमा जोड दिने र मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारीताबारे अध्ययन गरी सो को जानकारी समितिलाई जानकारी गराउने निर्णय भएको पनि जानकारी दिए ।
उनले भने,‘विभेद जाति, भाषा, धर्म र सांस्कृतिक सम्पदाहरूको संरक्षण गर्न नेपालमा जातीय र धार्मिक संग्रालयहरूको निर्माण कार्यलाई तीव्रता दिई पर्यटन प्रवर्धनमा जोड दिने । मन्त्रालय अन्तर्गत सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित विभिन्न आयोजना एवम् निकायहरूको उपलब्धि र प्रभावकारीताबारे अध्ययन गरी सो को जानकारी समितिलाई जानकारी गराउने पनि निर्णय भएको छ ।
त्यस्तै उनका अनुसार पुरातात्त्विक सम्पदा उत्खननको कामलाई नियमित परिणाममुखी बनाई कार्य सम्पादनमा जोड दिने पनि निर्णय भएको छ ।
‘कार्साङ’को अग्रिम बुकिङ खुला
काठमाडौं । पुस २६ गते रिलिज हुने चलचित्र ‘कार्साङ’को अग्रिम बुकिङ खुला भएको छ । क्यूएफएक्स चेनलगायत केही मल्टिप्लेक्सले ‘कार्साङ’को अग्रिम टिकट बुकिङ खुला गरेका हुन् ।
देशभरका हलहरूले सुखद शो दिँदै बुकिङ खुलाएसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा यो चलचित्रले काठमाडौँ उपत्यकाका आउटलेटमा २५ शो पाएको छ । काठमाडौँ बाहिरका स्टेशनमा पनि ‘कार्साङ’लाई क्यूएफएक्सले समान २८ शो उपलब्ध गराएको छ । ‘कार्साङ’ले पाएको शो राम्रो हो । वर्ड अफ माउथ बलियो बन्दै जाँदा शो थपिँदै जाने हो ।
यसै गरी दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना तीनवटा आउटलेटमा १५ शो दिएको छ ।
त्यसैगरि, एफ क्युब सिनेमाजले र विएसआर मुभिजले सम्मान ६–६ शो उपलब्ध गराएका छन् । बिग मुभिजले, वान सिनेमाजमा भने बुकिङ खुला हुन बाँकी छ ।
चलचित्र ‘कार्साङ’मा यम शेर्पाको लेखन तथा निर्देशन रहेको छ । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक शेर्पाले बताएका छन् ।
२ घन्टा ५ मिनेटको ’कार्साङ’ ले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन् ।
अभिनेता दयाहाङ राईको नयाँ चलचित्र ६ महिनाको अन्तरालपछि हलमा लाग्दैछ ।
शैलुङमा यस वर्षको पहिलो हिमपात
रामेछाप । रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यस पटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्य भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् ।
हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान समेत खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसानहरू बताउँछन् ।
‘एक जोर जुत्ता’ कथामा बन्यो लघुचलचित्र
काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ मा श्रमिक लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गरेका हुन् ।
कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गरेका छन् । छायाङ्कनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन् ।
लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरूमा पनि नाटक प्रशिक्षण गर्दै आईरहेका छन् ।
अहिले विद्यालयहरूमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरूका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको लघुचलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्ड समेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उनले लघुचलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको चलचित्र निर्माणको तयारीमा लागेका छन् ।
कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुँदै
हेटौँडा । तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ । आइतवार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ८ वटा टिमहरू सहभागी हुने जानकारी गराएको छ।
कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा लिलामी कार्यक्रम भएको हो ।
हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ । कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य यज्ञबहादुर रायको पनि उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहने प्रतियोगितामा कमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटा टिमको सहभागिता रहनेछ ।
खेलाडी लिलामी कार्यक्रममा सहभागी भएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ । क्लबले जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएका ८ जना खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन लागेको छ ।
लिलामी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष थापाले वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने बहानामा युवा विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि खेलकुदमा सहभागी गराएर राष्ट्रियस्तरमा र्पुयाउन आवश्यक रहेको उनले औँल्याए । प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा वडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए ।
कमानेभित्रका खेलाडीहरूको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबिच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि क्लबले प्रतियोगितालाई निरन्तरता दिन लागेको अध्यक्ष खत्रीले बताए । उनका अनुसार प्रतियोगिताका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओप्नर उत्सव सिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ । उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाट मात्र थाहा पाएको भन्दै पुरस्कार सौजन्य गर्ने निर्णय गरेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो ।

































