महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
काठमाडौँ । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
जनकपुर आउँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीय सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।
अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो : मन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् ।शुक्रवार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।
‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडी जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ’उनले भने, व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ । परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको छ ।’
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट
काठमाडौँ । बिकिन जोशी र सर्मिला शाह राष्ट्रव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
नेपाली यूथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा शनिवार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।
खुल्ला पुरुष, महिला र जुनियर गरी ३ विधा अन्तर्गत ११ वटा तौल समूहलाई प्रतियोगितामा समावेश गरिएको थियो । पुरुष ६२ केजी तौल समूहमा निमेष चुकान पहिलो, दिनेश सिख्राकर दोस्रो र किरण सुवाल तेस्रो भए ।
पुरुष ६२ दशमलव १ केजीदेखि ६९ केजी तौल समूहमा बिकिन जोशी पहिलो, विक्रम थापा दोस्रो र निखिल तामाङ तेस्रो भए । पुरुषकै ६९ दशमलव १ केजीदेखि ७७ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, सहज रन्जित दोस्रो र दिपेश श्रेष्ठ तेस्रो बने । ७७ दशमलव १ केजीदेखि ८५ केजी तौल समूहमा ओजस जोशी पहिलो, राजिब श्रेष्ठ दोस्रो र उम्बल तामाङ तेस्रो भए भने ८५ केजी माथिको तौल समूहमा मनोज श्रेष्ठ पहिलो, सुजित अराले दोस्रो र युदिष्ठिर सिप्र घिमिरे तेस्रो भए ।
महिलातर्फ ५८ केजी तौल समूहमा सबिता ह्यान्जु पहिलो, तारा खाइनु दोस्रो र झरना योन्जन तेस्रो भइन् । महिला ५८ दशमलव १ केजीदेखि ६४ केजी तौल समूहमा ज्योती थापा पहिलो, पुनम बोम्जन दोस्रो र पुनम चौधरी तेस्रो भइन् । महिला ६४ केजीमाथिको तौल समूहमा सर्मिला शाह पहिलो, अल्बिना राजयना दोस्रो र कृपा रसाईली तेस्रो भइन् । जुनियर २१ वर्ष मुनिको उमेर समूहमा राजिव खड्का पहिलो, आकृत बाँनिया दोस्रो र दिपेश बोहराले तेस्रो स्थान हासिल गरे ।
पुरुष, महिला र जुनियर बिधामा पहिलो, दोस्रो र तेस्रो हुनेले ट्रफी, मेडल सहित क्रमश २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।
नेपाल यूथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक सुकदेव कार्कीको अध्यक्षतामा सञ्चालन भएको प्रतियोगिताको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गरेका थिए । नेपालमा पावरलिफ्टिङ खेलको उत्थान र विकासको उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको संस्थापक सुकदेव कार्कीले बताए ।
जलस्रोतको दोस्रो धनी देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले जलस्रोतको दोस्रो धनी देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् ।
आइतवार काठमाडौँमा आयोजित राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्ननीको जग निर्माण गर्ने भएतापनि अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा चुनौतीहरू रहेको बताए ।
उनले भने,‘नेपालको आर्थिक सामाजिक विकासमा खानेपानी र सरसफाइ क्षेत्रको महत्व हामी सबैलाई अवगत नै छ । सुरक्षित खानेपानी आपूर्ति र सरसफाइले आर्थिक उन्ननीको जग निर्माण गर्दछ । तर अझै खानेपानी तथा सरसफाइको क्षेत्रमा केही चुनौतीहरू यथावत् नै छ । जलस्रोतको धनी देश नेपाल भनेर गौरव गछौँ तर जनता पानीको लागि आन्दोलन गर्छन् ।’
उनले खानेपानी तथा सरसफाइको क्षेत्रमा नयाँ सोच र दृष्टिकोणकासाथ अगाडी बढ्ने मार्गचित्र महासंघले तयार गरिरहेकोमा धन्यवाद दिए ।
मन्त्रालय एक्लैले मात्र खानेपानीको समस्या समाधान गर्न नसक्ने भन्दै महासंघ र मन्त्रालयको सहकार्यमा खानेपानीको आपूर्ति गर्न सफल हुने उनको भनाई छ ।
आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस
काठमाडौँ । आज अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस । डिसेम्बर ८ मा हरेक वर्ष अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ ।
हरेक वर्ष झै यस वर्ष पनि 'Upholding Dignified Menstruation Fundamental to Sexual and Reproductive Health and Rights' (यौन र प्रजनन स्वास्थ्य र अधिकारको लागि मौलिक मासिक धर्मको पालना)भन्ने मूल नाराकासाथ विभिन्न कार्यक्रम आयोजना गरी महिनावारी दिवस मनाउन लागिएको छ ।
मर्यादित महिनावारी मानव अधिकारको आधार हो र यस दिवसले यौन या लैगिंक हिंसाको रूपमा महिनावारी भेदभावलाई व्याख्या गर्दै यसको अन्तका रूपमा आह्वान गर्दछ ।
वास्तवमा महिनावारी जीवनको प्राकृतिक तथ्य र प्रजनन उमेरका १.८ विलयन व्यक्तिहरूको लागि मासिक रूपमा घट्ने सामान्य प्रक्रियागत घट्ना भएतापनि विश्वभरि लाखौँले आफ्नो महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले व्यवस्थापन गर्ने अधिकारबाट वञ्चित छन्। यस कारण पनि महिनावारी धेरै सामान्य हो र लाज मान्नु पर्दैन भन्ने सन्देशका साथ यस दिवस मनाईन थालिएको हो ।
जसपा धरान नगर सदस्य सुप्तिहाङको निधन
धरान । जनता समाजवादी पार्टी (जसपा) धरान नगर समिति सदस्य जिवन सुप्तिहाङको निधन भएको छ ।
धरान ११ का स्थाई बासिन्दा सुप्तिहाङको मंसिर १२ गते राति हृदयघात भएपछि उनलाई गोल्डेन गेट हस्पिटल, विराटनगर पुर्याइएको थियो । उक्त हस्पिटलमा उपचार सम्भव नभए पछि नोबेल हस्पिटलमा पुनः भर्ना गरि उपचार भईरहेको अवस्था मा आज बिहान २ः ३० बजे नेता सुप्तिहाङको निधन भएको जसपा धरान समितिले बताएको हो ।
जसपा धरान नगर समिति सदस्य सुप्तिहाङको असामयिक निधन प्रश्चात समितिका पदाधिकारी सदस्यहरू अहिले नगर नेता सुप्तिहाङको मूलघर चौदण्डिगढी ४ बसाहामा पुगेका छन् ।
पार्टी स्रोतका अनुसार नेता सुप्तिहाङको अन्तिष्टी आज बिहान नै किरात राई समुदायको परम्परा अनुसार चौदण्डिगढी ४ बसाहा उदयपुरमा गरिएको छ ।
४१ वर्षीय नेता सुप्तिहाङको एक छोरा एक छोरी श्रीमती सहित धरान ११ मा बस्थे I उनी जसपा स्थापना देखी नै पार्टीमा सक्रिय थिए साथै सामाजिक र व्यावसायिक रूपमा पनि क्रियाशील व्यक्ति थिए ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलको स्वास्थ्य अवस्थाबारे त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्ज पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले आज जानकारी लिएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा आवश्यक सबै प्रबन्ध गर्न अस्पतालका सम्बन्धित अधिकारी र चिकित्सकलाई आग्रह गरे ।
प्रोस्टेटसम्बन्धी समस्याका कारण केही दिन देखि राष्ट्रपति पौडेलकोे अस्पतालमा उपचार भईरहेकोछ । राष्ट्रपति पौडेलको उपचारमा संलग्न चिकित्सकहरूसँग प्रधानमन्त्री ओलीले उपचारको सम्पूर्ण विवरणबारे जानकारी लिएका थिए ।
यही मङ्सिर १९ गते सो अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया गरिएको थियो भने हाल उनको अवस्था सुधारोन्मुख र सामान्य रहेको अस्पतालले जनाएको छ ।
राईको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पदमबहादुर राईको निधनमा शोक वक्तव्य जारी गरेको छ । आइतवार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य राईको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ ।
‘यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । उहाँ केही वर्ष यता पाकिन्सन्स रोगले बिरामी भई उपचारत हुनुहुन्थ्यो । कमरेड पदमबहादुर राईको जन्म २०२३ साल पुस १५ गते भोजपुर जिल्ला षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उहाँका दुई दाजु, १ भाई र ६ जना दिदीहरू हुनुहुन्छ। उहाँको श्रीमती जमुना राई, छोरा सन्देश राई र छोरी सामना राई हुनुहुन्छ । उहाँले विद्योदय मा.वि. भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय अन्तर्गत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गर्नुभएको थियो ।’ शोक वक्तव्यमा भनिएको छ ।
साथै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जारी गरेको शोक वक्तव्यमा राईको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौँको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुँदै तेह्रौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेको समेत जनाएको छ ।
राईले २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर–तेह्रथुम–संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भूमिका निर्वाह गरेका थिए ।
उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्रीसमेत भएका थिए ।
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने
काठमाडौँ । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ ।
आगामी माघ २२ गते देखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको कारण उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालय विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागेको हो । १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने सरकारको लक्ष्य रहेको छ ।
१८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरू परिचालित हुनेछन् ।
उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछ । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
गण्डकी प्रदेशकी सांसद गौचनको निधन
काठमाडौँ । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराति उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराति नै निधन भएको हो ।
डेङ्गु सङ्क्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।






























