राष्ट्रपति महिला उत्थान कार्यक्रम : गर्भवती तथा सुत्केरीका लागि वरदान
काँक्रेविहार (सुर्खेत), ७ कात्तिकः दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको सेवा हुँदै आएको छ । कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ । यो कार्यक्रममार्फत १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंक रूपमा सेवा प्रवाह हुँदै आएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रम प्रश्रव समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो । उक्त आवमा २६ महिलाको उद्धार गरिएको थियो । आव २०७६÷७७ मा ८७, २०७७/७८ मा एक सय तीन, २०७८/७९ मा एक सय ६९ र २०७९/८० मा एक सय ६७, २०८०/८१ मा एक सय ६१ जना गरी हालसम्म सात सय १३ जनाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइले जनाएको छ ।
कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्ण रूपमा १८ जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आंशिक २९ जिल्लामा सञ्चालित छन् । कर्णाली प्रदेशमा आव २०८०/८१ मा कर्णालीबाट मात्र ३९ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ । जाजरकोटबाट सात जनाको अघिल्लो आवमा हवाई उद्धार गरिएको छ ।
डोल्पाबाट १२, हुम्लाबाट छ, रुकुमपश्चिमा तीन, दैलेखबाट तीन, कालिकोटबाट पाँच जनाको हवाई उद्धार गरिएको मन्त्रालयको हवाई उद्धार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले जानकारी दिनुभयो । उहाँले आव २०८१/८२ को पहिलो तीन महिनामा ४८ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको जानकारी दिनुभयो । हालसम्म सात सय ६१ जनाको उद्धार गरिएको उहाँले बताउनुुभयो ।
कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ । कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् ।
प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका छन् । कुल ७९ स्थानीय तहका जम्मा सात सय १८ वडा छन् । अठचालिस पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुनसकेको छैन । प्रदेश सरकारले सडकसँग जोडिएका १२ स्थानमा रणनीतिक अस्पताल निर्माण गर्ने योजना रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । जुम्लामा कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ५० शय्याको अस्पताल, सुर्खेतको मेहलकुनामा ५० शय्याको अस्पताल र प्रदेश अस्पताल छन् । अन्य जिल्लाका सदरमुकाममा १५ शय्याका अस्पताल छन् ।
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
धरान (सुनसरी), ७ कात्तिक : सङ्खुवासभाकी फुपुपोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।
“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो ।
सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नुभएको छ ।
उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।
उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ ।
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो ।
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो ।
पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ ।
उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।
रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !
फुङ्लिङ(ताप्लेजुङ), ३ कात्तिकः ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरणअभियानथाएिको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो ।
रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिनुभयो । उहाँका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ ।
रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ । फुङलिङ नगरपालिकाको फावाखोला, फुरुम्बू, काफ्लेपाटी, माथिल्लो फेदी, हाङदेवा र पाथीभरा याङवरक गाउँपालिकाको तिरिङगे, सिरिजङ्गाउँपालिकाको सिकैचा क्षेत्रका बस्तीमा बन्धाकरण साथै रेविजभ्याक्सिन कार्यक्रम सञ्चालन गरिएको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।
उहाँका अनुसार, यस कार्यममा करिब तीन सय ६८ कुकुर र बिरालोलाई रेविजविरुद्ध खोप दिइएको छ । यसका अतिरिक्त, जनावरको स्वास्थ्यका लागि भिटामिन, लुतोको औषधि, र जुम्राको औषधि पनि वितरण गरिएको छ ।कुकुर र बिरालोलाई रेविजविरुद्धको खोप लगाएपछि, रेडपाण्डासँग प्रत्यक्ष सम्पर्कमा आउँदा सम्भावित सङ्क्रमणबाट जोगाउन सकिने भएकाले विगत लामो समयदेखि कार्यक्रमलाई निरन्तरता दिँदै आएको मञ्चले जनाएको छ ।
मञ्चका सदस्य भिङमारे लिम्बूकाअनुसार यही कात्तिक अन्तिम सातादेखि मङसिर पहिलो सातासम्ममा फुरुम्बु क्षेत्रका बस्तीमा रहेका कुकुरका लागि बन्ध्याकरण शिविर सञ्चालन गर्ने योजना पनि बनाएको छ । कुकुरको सङ्ख्या व्यवस्थापन स्वस्थ राख्न कार्यक्रम गर्न लागेको उहाँले बताउनुभयो । बन्ध्याकरण कार्यक्रममार्फत कुकुरको सङ्ख्यालाई सन्तुलनमा राख्न सम्भव हुनेछ, जसले वातावरणमा थप सुरक्षा प्रदान गर्न मद्दत पु¥याउने मञ्चले जनाएको छ ।
रेडपाण्डा संरक्षणका चुनौती
मञ्चकाअनुसार ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा वासस्थान र चरीचर क्षेत्र पर्दछ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ –९, १० र ११ वडा अर्थ पाथीभरा क्षेत्र रेडपाण्डाको बासस्थान पर्दछ । यस क्षेत्रमा समय समयमा पाथीभरा दर्शन गर्न जाने तीर्थयात्रीले रेडपाण्डा देख्ने गरेका छन् ।
केहीवर्ष अघि पाथीभरा क्षेत्रमा रेडपाण्डा मरेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका आधारमा प्रारम्भिक निष्कर्षमा रेडपाण्डाको मृत्युपछि सम्भवतःकुनै हिंस्रक जनावर, जस्तै कुकुरको आक्रमणले गर्दा मरेको निष्कर्ष भयो । यसले हिमाली संरक्षण मञ्चलाई झनै सचेत बनाएको कार्यक्रम संयोजक राईले बताउनुभयो । रेडपाण्डाको प्रत्यक्ष सम्पर्कमा पुग्न सक्ने कुकुर र बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन दिने अभियानलाई निरन्तरता दिन थालिएको मञ्चले जनाएको छ ।
रेडपाण्डाको आवासीय क्षेत्रमा कुकुर र बिरालोका कारण सुरक्षा चुनौती सिर्जना भएकाले यो समस्या समाधान गर्न मञ्चले स्थानीय समुदायको सहयोगमा काम गरिरहेको छ । समुदायमा जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्दै, स्थानीयलाई रेडपाण्डा संरक्षणको महत्व र यसका चुनौतीबारे अवगत गराउँदै आएको राईले बताउनुभयो ।
मञ्चका अनुसार प्रत्येक शिविरमा स्थानीयलाई संलग्न गराएर जनचेतना काकार्यक्रम सञ्चाल गर्ने गरेको छ । जनावरसँग सम्बन्धित स्वास्थ्य कार्यक्रम, जनावरको जिम्मेवारीपूर्ण पालनपोषण र रेडपाण्डा जस्ता संरक्षणमा संवेदनशील वन्यजन्तुको सुरक्षाका लागि चेतनामूलक कार्यक्रमले रेडपाण्डा पाइने क्षेत्रका बासिन्दालाई आवश्यक जनचेतनाको विकास भएको छ । रेडपाण्डा संरक्षणमा स्थानीयको सहयोगबिना दीर्घकालीन सफलता सम्भव नहुने हिमाली संरक्षण मञ्चको विश्वास छ ।
रेडपाण्डा संरक्षणमा भइरहेको अभियानले रेडपाण्डाको सङ्ख्या वृद्धि गर्न र वातावरणमा स्थिरता कायम गर्न महत्वपूर्ण योगदान दिने हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि सुब्बा लिम्बूले बताउनुभयो ।
कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
त्रिवेणी (नवलपरासी), ३ कात्तिक : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जीप दुर्घटना उक्त हताहति भएको हो ।
अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ । घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पु¥याइएको छ । क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । मृतक तथा घाइतेको विवरण प्राप्त भएको छैन
लामिछानेलाई पोखरा ल्याइयो
गण्डकी, ३ कात्तिकः सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ ।
जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
टि–२०ः नेपालद्वारा अमेरिका पराजित
काठमाडौँ, २ कात्तिकः नेपालले पहिलो टि–२० मा अमेरिकालाई पराजित गरेको छ । डालसस्थित ग्राण्डप्रेरी रङ्गशालामा भएको खेलमा नेपाल १७ रनले विजयी भएको हो । एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रनमा समेटिएको थियो ।
अमेरिकाका लागि शायन जहानगिरले सर्वाधिक ६० रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र दई छक्काको सहायाताले ६० रन बनाएका हुन् । आन्द्रेस गौसले ३० रन बनाए भने मिलिन्ड कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । कप्तान मोनाङ्क पटेल र आरोन जोन्स तीन–तीन र सैतेजा मुक्कामल्ला दुई रनमा आउट भएका थिए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए भने करण केसी, रिजन ढकाल र गुल्सन झाले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ६४ रनको योगफल बनाएको थियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । उनले ३३ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४९ रन बनाएका हुन् । अर्का खेलाडी दीपेन्द्रले १७ बलमा दुई चौका र एक छक्कासहित २८ रन बनाए । आसिफ शेख र अनिल साहले समान २७–२७ रन बनाए भने गुल्सन झाले ११ तथा कुशल भुर्तेलले १० रन जोडेका थिए ।
अमेरिकाका हरम्रीत सिंह, सौरभ नेत्रवालकर र जसदीप सिंहले समान दुई विकेट लिए भने अली खान र नोष्थुश केङ्जिगेले एक–एक विकेट लिए । अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुनेछन् । त्यसपछि दुवै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा सहभागी हुनेछन् ।
मेची–महाकाली उद्धार यात्राः कोशी प्रदेशमा ४४ जनाको उद्धार
बनियानी (झापा), २ कात्तिकः मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार गरिएको छ ।
‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा भएको उद्धार यात्रामा कोशी प्रदेशबाट ३५ पुरुष र नौ महिला गरी ४४ जनाको उद्धार गरिएको हो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीका अनुसार उद्धार यात्राका क्रममा बिहीबार उदयपुरका विभिन्न स्थानबाट १६ जनाको उद्धार गरिएको उहाँले बताउनुभयो । उद्धार गरिएका आठ पुरुष र आठ महिलालाई बिहीबार नै मानव सेवा आश्रमको विराटनगर शाखामा लगिएको छ ।
असोज २८ गतेदेखि सुरु भएको उद्धार यात्रामा पहिलो दिन झापाबाट १२ जना, दोस्रो दिन मोरङबाट चार जना र तेस्रो दिन सुनसरीबाट १२ जना उद्धार गरिएको थियो । उद्धार यात्रामा गायिका आनीछोइङ डोल्मा र मानवसेवा आश्रमका अध्यक्ष अधिकारीसहित ४७ जना सहभागी हुनुहुन्छ । उद्धार यात्रा ३२ दिनपछि कात्तिक २६ गते सम्पन्न हुनेछ ।

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता
खोटाङ, १ कातिकः यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी जिल्ला अस्पताल पु¥याई बुबाको शव परीक्षण गराउनुभयो ।
जिल्ला अस्पतालदेखि खार्मीसम्मको दूरी १३ किलोमिटर छ । अन्य सामग्री ढुवानी गर्दा बढीमा रु नौ हजारमा ‘रिजर्भ’ गर्न पाइने ट्याक्टरले शव बोक्न दोब्बर भाडा लियो ।
सोही प्रकृतिबाट मृत्यु भएकी खोटेहाङ गाउँपालिका–४ बडकादियालेकी ५५ वर्षीया गङ्गामाया विश्वकर्माको शव परीक्षणका लागि पनि ट्याक्टर नै रिजर्भ गर्नुप¥यो । कमजोर आर्थिक अवस्था भएका मृतकका आफन्तले चन्दा सङ्कलन गरी रु ४५ हजारमा रिजर्भ गरी शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याए ।
प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी तथा आधारभूत अस्पताल इन्द्रेणीपोखरीमा कार्यरत डाक्टरहरु दसैँ बिदामा गएकाले ट्याक्टर रिजर्भ गरेर विश्वकर्माको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याउनुपरेको सो वडाका वडाध्यक्ष तिलकबहादुर बस्नेतले बताउनुभयो ।
दश स्थानीय तह रहेको जिल्लामा एउटा पनि शव वाहन नहुँदा आत्महत्या तथा भवितव्यमा परेर ज्यान गुमाउने मृतकका आफन्तले चर्को मूल्यमा ट्याक्टर रिजर्भ गरेर शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउनुपर्ने बाध्यता छ । स्थानीय तहले करोडौँ मूल्यका सवारीसाधन खरिद गरे पनि शव वाहन खरिद गरेका छैनन् । जसले गर्दा शव परीक्षण गर्नुपर्ने प्रकृतिका मृतकका आफन्तले ट्याक्टर रिजर्भ गर्नुपर्ने बाध्यता छ ।
शव परीक्षण गराउँदा समेत कार्यालय सहयोगीले रु दुई हजार मागेर लगेको वडाअध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निःशुल्क गरेको शव परीक्षणमा डाक्टरलाई सहयोग गर्ने कार्यालय सहयोगीले पैसा मागेर हैरान पार्दो रहेछ ।”
जिल्ला प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत साउन देखि असोज मसान्तसम्ममा जिल्लाका विभिन्न ठाउँमा १३ जनाले आत्महत्या गरेका छन् । ती सबैका परिवारले ट्याक्टरमै महङ्गो भाडा तिरेर शव बोकाउनुपरेको गुनासो मृतक परिवारका आफन्तले गरेका छन् । वर्षभरि हुने यस्ता प्रकृतिका घटनामा सयौँ सर्वसाधारण आर्थिक भारमा पर्दै आएका छन् ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड
काठमाडौँ, १ कात्तिकः प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गते सम्मको हो ।
कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिक सहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् ।
यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनी लगायत छन् ।
साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै
काठमाडौँ, १ कात्तिकः सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ ।
एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन्भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन् । प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुनेछ । भोलि शुक्रबार नेपाल भुटानसँग भिड्नेछ ।




























































