घाँटीको क्यान्सरबाट पीडित बालकलाई सहयोग याचना
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–१३, लुम गाँउका १२ वर्षीय एक बालकको घाँटीमा क्यान्सर भएपछि उपचारमा समस्या भएको छ । उपचार गर्न आर्थिक अभाव भएपछि उनी भरतपुर अस्पतालको शय्यामा छटपटाइ रहेका छन् ।
बुबा राज बहादुर खड्का र आमा उजेली खड्काका एक मात्र छोरा बिग्नेश खड्काको अहिले घाँटीमा क्यान्सर भएको पत्ता लागेको हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनको बेड नम्बर २९९मा भर्ना भएका उनलाई उपचार खर्चको अभाव भएको अभिभावकहरूले बताएका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएको र केही आफ्नो सम्पत्ति विक्री गरेको रकम पनि सकिएकाले सहयोगको याचना गरिएको हो ।
‘सबै पैसा सकियो । अहिले बिहान बेलुका खानसम्म समस्या भएको छ । थप उपचार गर्न धेरै रुपैयाँ खर्च हुने रहेछ । दुई हप्ता देखि औषधि गर्ने रुपैयाँ नहुदा अहिले बच्चा बेडमा छटपटाई रहेको छ । सबैबाट सहयोगको खाँचो छ,’ बुबा राजबहादुरले भने ।
मनकारी सहयोगी मनहरूलाई आर्थिक सहयोग गरी दिन समाजसेवी मनकृष्ण बढुवाल र बिरश बढुवालले समेत आग्रह गरेका छन् ।
सहयोगका लागि : ९८६८२२२३१३१, नाम : उजेली खड्का (आमा), खाता नं : १३१०१०००६३७०७०१०, राष्ट्रिय वाणिज्य बैँक
सम्पर्क नंः– ९७६६२१११८२
बाल गायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी
काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्ज स्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधवार अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।
भाइरल बाल गायकका रूपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा चर्चित छन् । उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ ।
‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाले’लगायत उनका रुचाइएका गीत हुन्। भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
सचिनलाई सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठमाडौँ ल्याएका थिए ।
पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय, सञ्चारमाध्यमले ठूलो सहयोग गरेता पनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्तत टिचिमा अन्तिम श्वास फेरेका छन् । एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए ।
क्यान्सर पीडित गायिका गोलेलाई पोर्चुगलबाट आर्थिक सहयोग
लिस्बन । क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलले रकम सङ्कलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो ।
घेदुङले पोर्चुगलमा सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत सङ्कलित दुई हजार तीन सय ४५ यूरो अर्थात् रु.तीन लाख ३२ हजार पाँच सय ७९ नगद रकम पीडित गोलेलाई उपलब्ध गराएको हो ।
सहयोग रकम ‘इन्दिरा गोले बचाउ अभियान’ का संयोजक योगेश लामा र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तेनमार्फत गोलेलाई हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए । पीडित गोलेको आर्थिक अवस्था कमजोर रहेको र उनको उपचारमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले आर्थिक सङ्कलन गरेर सहयोग रकम नेपाल पठाइएको तामाङले बताए ।
पीडित गोलेको उपचार सहयोगार्थ नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा ‘इन्दिरा गोले बचाउ अभियान’ सञ्चालन गरेर स्वदेश तथा विदेशमा आर्थिक सहयोग सङ्कलन गरिएको थियो । विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गोले हाल उपचाररत छिन् ।
लामो समयदेखि साङ्गीतिक क्षेत्रमा समर्पित रहँदै आएकी गायिका गोलेले तामाङ सेलो र नेपाली लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी छन् ।
खोटाङमा नव दृष्टि आँखा अस्पतालको निःशुल्क आँखा शिविर
इटहरी । इटहरीमा रहेको नव दृष्टि आँखा अस्पतालले खोटाङको दिक्तेलमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । पुस १२, १३ र १४ गते फेमेली केयर हस्पिटल, दिक्तेल बजारमा अस्पतालले शिविर आयोजना गरेको हो ।
नव दृष्टि आँखा हस्पिटल र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय (दिक्तेल)को संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर आयोजना भएको हो । शिविरमा ६ सय जनाले आँखा परीक्षण गराएका छन् ।
जसमा मोतियाविन्दु भएका ४५ जना र आँखामा मासु पलाएका एक जना बिरामीको निःशुल्क आँखा अप्रेसन गरिएको छ । अप्रेसनपश्चात् बिरामीहरूलाई निःशुल्क औषधि र कालो चस्मा वितरण गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
साथै, अप्रेसन आवश्यकता नपर्ने अन्य बिरामीहरूलाई पनि निःशुल्क औषधि वितरण गरिएको अस्पतालले जनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविर आयोजना गरेको अस्पतालले जनाउँदै आएको छ ।
बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
सर्लाही । सर्लाहीमा बसको ठक्करबाट सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । रौतहटको बडहर्वा बाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिदा सर्लाहीको छटौना सशस्त्र बेस क्याम्पमा कार्यरत रहेका ४० वर्षीय सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रबीन्द्रबहादुर सिंहका अनुसार काठमाडौँका लागि छुटेका बा–प्रदेश–०१००६ख २००४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिदा सशस्त्र प्रहरी निरीक्षक तुलाधर गम्भीर घाइते भएका हुन ।
गम्भीर घाइते तुलाधरलाई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।फिल्ड गस्तीबाट क्याम्प तर्फ फर्किदै गरेको अवस्थामा गएको बेलुका करिब ८ बजे बेस क्याम्प अगाडी नै बसले ठक्कर दिएको उनले बताए ।
ठक्कर दिने बसका सहचालक सर्लाही धनकौल गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय विकास कुमार बैठा, बलरा नपा १० का १९ वर्षीय अजित बैठा र बलरा १० कै २३ वर्षीय प्रेम शङ्कर यादवलाई नियन्त्रण लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
काठमाडौँ महानगरपालिका निवासी तुलाधरको शवलाई प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
हेटौँडा अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले थाले अभियान
हेटौँडा । ६५ वर्षको इतिहास बोकेको मकवानपुर जिल्लाको एकमात्र सरकारी अस्पताललाई मास्न खोजिएको भन्दै सरोकारवालाहरूले अभियान सुरु गरेका छन् ।
हेटौँडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान भन्दा धेरै पुरानो हेटौँडा अस्पताललाई नै घुमाउरो बाटोबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत राखेर सबै चल अचल सम्पति हत्याउन खोजेको आरोप सरोकारवालाहरूले लगाएका छन् ।
आज हेटौँडामा पत्रकार सम्मलेन गरेर २०७६ सालको ऐन नं १४ वमोजिम ऐनको परिच्छेद–६ को दफा १५ को उपदफा १ मा अस्पतालको स्थापना गर्नेछ भनिएकोमा सोही दफाको उपदफा २ ले चोर बाटोबाट प्रचलित कानुन बमोजिम स्थापित भई सञ्चालन भैरहेको हेटौँडा अस्पताललाई नै उपदफा बमोजिम स्थापना भएको मानिनेछ भनेर भनेकाले हेटौँडा अस्पताल मास्ने योजना अनुसार ऐन आएको भन्दै सरोकारवालाहरू आन्दोलित बनेका छन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपदफा खारेज गरी हेटौँडाको एकमात्र सरकारी अस्पताललाई जीवित राख्नुपर्ने पत्रकार सम्मेलनमा बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ , ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐनको परिच्छेद–२ को दफा ४ को उपदफा ३ बमोजिम प्रतिष्ठानले व्यक्ति सरह चल अचल सम्पति उपभोग गर्न र बेचबिखन गर्न सक्ने व्यवस्था भएकोले जुनसुकै बेला यो सरकारी सम्पति व्यक्तिसरह बेचेर अस्पतालको नामोनिसान मेटाउन सक्ने भएकाले सरकारी सम्पति जोगाउनु सबैको कर्तव्य हो ।’
अस्पतालको ‘चल अचल सम्पति सरकारी सम्पति रहेको र सो सम्पति कुनै संस्था वा प्रतिष्ठानलाई दिनुपर्ने भएमा संघीय मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर मालपोत कार्यालय मार्फत सो संस्थाको नाममा पास हुनुपर्ने हुन्छ । हालसम्म पनि सो सरकारी सम्पति सरकारकै नाममा रहेकोले प्रतिष्ठानको कुनै दाबी लाग्दैन तर विस्तारै प्रतिष्ठानले आफूखुसी बेच्न सक्ने दाबी सरोकारवालाको छ ।
प्रतिष्ठानको रजिस्ट्रार नै अस्पतालको अध्यक्ष हुने प्रावधान भएकाले हेटौँडा अस्पतालको अध्यक्ष पनि रजिस्ट्रार हुने हुँदा अस्पतालको विकास भन्दा पनि राजनीतिक स्वार्थमा लागेर हेटौँडा अस्पताल धराशायी बनाउने तयारी भएको हेटौँडा अस्पतालका पूर्वअध्यक्ष प्रकाश पौडेलले बताए ।
उनले भने,‘हेटौँडा अस्पताल प्रतिष्ठान अन्तर्गत रहँदा जिल्लामा निःशुल्क खोप निःशुल्क प्रसूति सेवा निःशुल्क औषधी निःशुल्क स्वास्थ्य सेवा जस्ता आवश्यक सरकारी स्वास्थ्य सेवाका कार्यक्रमहरू सञ्चालन नहुने अवस्था आउछ । विभिन्न स्वास्थ्य समस्याको जाँच तथा उपचारमा सरकारी कार्यक्रम र बजेट नहुँदा जिल्लाका जनताले सरकारी स्वास्थ्य कार्यक्रमबाट बच्चित हुनुपर्ने स्थिति रहन्छ ।’
मुगुमा याक तथा चौरीहरू अज्ञात रोगबाट मर्दै : सम्बन्धित निकायको ध्यान नगएको स्थानीयको गुनासो
मुगु ।हिमाली जिल्ला मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा.न २ मुगु गाउँमा चौरी तथा याकहरु केही सातायता अज्ञात रोगले धमा धम मर्न थालेपछि कृषकहरु निकै चिन्तामा छन् ।
हिमाली क्षेत्रका स्थानीय नागरीकहरूको आय आर्जनको स्रोत तथा मुगु गाउँका स्थानिय नागरिकहरुको यातायातको साधन दैनिक जीवनमा प्रयोग गरिने खाद्यान्न, ढुवानि गर्ने मुख्य साधन नै चौरी र याक भएको हुनाले पनि कृषकहरू बढि चिन्तामा छन् ।
चौरी र याकमा शुरुमा मुखबाट र्याल निकाल्ने, पातलो हरियो रङ्गको दिशा गर्ने, दिशामा हल्का रगत देखिने, घाँटी घ्यार घ्यार गर्ने, टाउको सुनिने, घाटी सुनिने एक ठाँउमा बसेको बसेई हुने जस्ता लक्षण देखिने २४ घण्टा भित्रमा याक तथा चौरिहरुको मृत्यु हुने गरेको छ ।
स्थानीय नजिकको सरकार मुगुम कार्मारोङ्ख गाउँपालिकाको पशु शाखाबाट कर्मचारी आए पनि कुनै प्रकारको औषधी उपलब्ध नभएको र अन्य सरोकारवाला निकायहरुबाट पनि चौरीको उपचारको लागी पहल नभएको देखिन्छ ।
यही रफ्तारमा याक र चौरीहरु मर्ने हो भने मुगालीहरूको घरवाहार विहीन हुने देखिन्छ । अहिलेको बजारमा प्रति ठूलो चौरी, याकको मूल्य १ लाख २० हजारसम्म पर्छ । यो पटकको अज्ञात रोगले मुगुको मुगुगाँउका चौरी कृषकको ठूलो क्षति भएको मुगुम कामारोङ्ख २ मुगु गाउँका छोर्तेन लामाले बताएका छन् ।
स्थानियहरूले दुध खाने, मालसामान ढुवानि गर्ने यी चौरी र याक हुन सबै मरेपछि गाँउलेलाई ठूलो क्षेति हुने देखिन्छ प्रतेक घरका ४, ५ याक मर्ने गरेका छन् । अहिलेसम्म उपचार र औषधीका लागी स्थानीय सरकार गाउँपालिका र जिल्लामा रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालयमा खवर गर्दा पनि कुनै निकायबाट सुनुवाइ नभएको गुनासो मुगुम कार्मारोङ्ख मुगुगाँउका कार्मा छिरीङ्ख लामाले बताएका छन् ।
गाउँपालिकासँग भएको जनशक्ति र औषधिले मात्र समस्या समाधान नहुने अवस्था छ । चौरीहरूको स्वाप सङ्कलन गरि ल्याब परीक्षणमा पठाउनु पर्ने भएकाले त्यसको लागि आवश्यक उपकरण जनशक्ति गाउँपालिकामा नभएकाले जिल्ला भेटनरी तथा पशु अस्पताल गमगढी र प्रदेशलाई सहयोग आग्रह गर्दै पत्र पठाएको मुगुम कार्मारोङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलले बताए ।
पालिकाको पत्र पाउनासाथ घटना स्थल तर्फ हिडेको भेटनरी तथा पशु अस्पतालको चिकित्सक सहितको टोलि सिरानी चौरमा पुगिसकेको र माध्यमिक विधालय माग्रीमा पशु स्वास्थ्य प्राविधिक शिक्षा अध्यापन गराउने २ जना पशु चिकित्सक पनि पालिकाको आग्रह तथा समन्वयमा घट्ना स्थल तर्फ गएको छ ।
तीन तिरबाट गरि अहिले मुगु गाउँ तर्फ ७ सदस्यको चिकित्सक तथा प्राविधिक टोलि औषधि सहित गैसकेको छ चौरी हिमाल तिर रहने र गाउँमा नझरेकाले हिउँ पाटनहरुमा कति चौरी, याकहरु मरेका हुन एकिन डाटा आएको छैन् ।
अहिले सम्म अन्दाजि १ सय भन्दा बढी अज्ञात रोकबाट मरेको मौखिक खबर आएको हुदा अहिले घटना स्थाल तिर लागेको टोलीले एकिन डाटा र मर्नुको कारण पत्ता लगाउने पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका पशुपंछी विकास तथा उत्पादन शाखा मुगुका प्रमुख धन बहादुर बानियाँ बताएका छन् ।
सामाजिक अभियन्ता सुनिता दनुवारको निधन
काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । आज बिहान ५ बजे जोरपाटीस्थित निवासमा सुतेकै स्थानमा उनी अचेत अवस्थामा फेला फेला परेकी हुन् ।
अचेत अवस्थामा फेला परेकी उनलाई नेपाल मेडिकल कलेज जोरपाटी पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको मृत्युको कारण खुल्न भने बाँकी छ ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता)को सूचीमा राखेको थियो । दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो ।
काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन भएको छ । पूर्वमन्त्रीसमेत रहेका ८५ वर्षीय सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए ।
२०४९ मा स्थानीय निर्वाचन जितेर उनी तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बनेका थिए । पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयर हुन् । सिंहको निधनमा काठमाडौं महानगरले शोक विदा दिएको छ ।
महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
काठमाडौँ । महोत्तरीमा बस अनियन्त्रित भई पल्टिँदा २२ जना घाइते भएका छन् । भिठामोडबाट जनकपुर आउँदै गरेको ना ४ ख १०६९ नम्बरको बस हुलाकी राजमार्गस्थित जलेश्वर नगरपालिका– ६ रातोपुलमा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
जनकपुर आउँदै गरेको बस एक्कासि नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो । जसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जयसवारले घाइतेमध्ये भारत परिहारकी २२ वर्षीय सरिता यादव र कोमल राउत गम्भीर घाइते छन् ।
अन्य घाइतेको प्रादेशिक अस्पताल जलेश्वरमै उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।





















