कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने
विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो ।
सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।
दोलखामा मोटरसाइकल दुर्घटना : स्ववियु सभापति सहित दुई युवाको मृत्यु
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित लामोसाँघु–जिरी सडकखण्डमा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । बस्नेत गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति हुन् भने दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई राति ९ बजे उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ ।
काठमाडौँबाट चरिकोटतर्फ आउँदै गरेको शिरिष बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आएको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दाहालसँगै सवार बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुबि हत्या : पासवानले गरे हत्याको स्वीकार
रौतहट । रौतहट प्रहरीले पक्राउ गरेका लक्ष्मण पासवानले रुबि साहको हत्या गरेको स्वीकार गरेका छन । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान आत्मदाह गर्नु अघि बनाइएको भिडियोमा स्वीकार गरेको पाइएको हो । उनले करीब ९ मिनेटको भिडियोमा रुवीसँगको प्रेम सम्बन्धबारेमा धेरै कुराहरु खुलाएका छन् । विद्यालय समयकाल देखि नै हामी बीच सम्बन्ध थियो उनले भने,‘अदालतमा गएर विवाह पनि गरेका हौं । आफू गरिब भएकाले पारिवारिक तनावका कारण रुबीको हत्या गरेको उनले बनाइएको भिडियोमा स्वीकार गरेको पाइन्छ । रुबीलाई हत्या गरेदेखि आफ्नो हात काँपिरहेको बताएका उनले रुबी मरिसकेपछि आफू बाँचेर के गर्नु भन्ने लागेको बताएका छन् ।
उनले भिडियोमा भनेका छन,‘मेरो जान मरिसकेकी छ ,“म बाँचेर के गर्नु । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पासवानलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । यस विषयमा थप अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
अशोक राई : जनसम्पर्क निरन्तर, विकास कार्यको स्थलगत अनुगमन
बराहक्षेत्र । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य अशोक कुमार राईले आफ्नो निर्वाचन क्षेत्र सुनसरी–१ मा विभिन्न विकास तथा निर्माण कार्यको स्थलगत अनुगमन गरेका छन् । यस क्रममा उनले राजनीतिक संवाददेखि शैक्षिक, स्वास्थ्य, धार्मिक तथा पूर्वाधार विकासका विषयमा सरोकारवालासँग प्रत्यक्ष छलफल गरेका थिए । सुनसरी निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा १ र २ तर्फका प्रदेशसभा सदस्यहरू रमेश कुमार बस्नेत र विजय कुमार राईसँग समेत राजनीतिक र विकाससम्बन्धी विषयमा विचार–विनिमय भएको राईको सचिवालयले जनाएको छ ।
शैक्षिक क्षेत्रमा उनले धरान–४ स्थित हर्दिया माध्यमिक विद्यालय, धरान–११ को ज्ञानोदय माध्यमिक विद्यालय र धरान–१४ को पिण्डेश्वर माध्यमिक विद्यालयमा बजेट विनियोजनअनुसार बनेका नयाँ भवन र छात्रावासको स्थलगत अनुगमन गरे । वडाध्यक्ष, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुसँग विद्यालयको अवस्था तथा आगामी आवश्यकताबारे समेत छलफल गरिएको सचिवालयले जनाएको छ।
सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा उनले धरान – ११ को एकता टोल, धरान–१७ इन्द्रेणी मार्गका उपभोक्ता, दिपेन्द्र आवि समिति, क्रिश्चियन पास्टर समाज तथा बुद्धिजीवीहरुसँग सामाजिक समन्वय र विकासबारे विचार–विनिमय गरे। साथै, धरान–५ देउराली मार्गमा ३ करोड रुपैयाँ बजेट विनियोजन भएको सडक कालोपत्रे कार्यको समेत स्थलगत अनुगमन गरिएको हो।
बराहक्षेत्र क्षेत्रमा उनले चतरा अस्पतालको स्तरोन्नति, १८ करोड रुपैयाँ लागतमा बन्ने नयाँ अस्पताल भवन, बराह आदर्श क्याम्पसको नयाँ भवन, सरस्वती माध्यमिक विद्यालय, बाङ्गेबजार सडक स्तरोन्नति, इक्राइ समावेशी टोलमा बनेको कालोपत्रे सडक, खानेपानी तथा सरसफाइ योजनासहितका आयोजना स्थलगत अनुगमन गरेका छन्।
यससँगै उनले आगामी आ.व. २०८२/०८३ मा बजेट विनियोजन भएका योजनाहरूको समेत स्थल अनुगमन गरे । लालबस्तीमा डेनसहितको सडक स्तरोन्नति, सूर्यकुण्ड आधारभूत विद्यालय भवन निर्माण, बाङ्गेबजार सडक स्तरोन्नति, खानेपानी ट्याङ्की निर्माण, बाङ्गे नडाह हुँदै धरान–१७ जोड्ने सडक, आहाले सडक, पोखरीया–रामझोडा सडक, चतरा धाम स्तरोन्नति, बराह धाम स्तरोन्नति तथा सौन्दर्यकरण, बराह मन्दिर संरक्षणका लागि सप्तकोशीमा तत्बन्धन लगायतका योजनाको अवलोकन गरिएको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार निर्वाचन क्षेत्रमा भइरहेका विकास–निर्माणलाई प्रभावकारी बनाउन, स्थानीयवासीको राय–सुझाव लिन र जनताको समस्या प्रत्यक्ष बुझ्न राईले निरन्तर भेटघाट तथा अनुगमन अभियान सञ्चालन गरेका छन् । सम्पूर्ण कार्यक्रम सम्पन्न गरी उनी बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको पनि सचिवालयले जनाएको छ ।
अखाद्य वस्तु भेटिएपछि ‘मुस्ताङ गोल्ड’ मदिरा उत्पादकमाथि कारबाही, २ लाख जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले धनुषा डिस्टिलरी प्रा. लि.द्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको छ । सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको हो ।
भदौ ४ मा उपभोक्ता स्वयम आफै आएर महानगर प्रहरी बलमा मदिरामा झिँगा भेटिएको गुनासो गरेका थिए । विभागले उक्त मदिराको नमुना सङ्कलन गरी भौतिक जाँच गरेको थियो । जाँचका क्रममा सिलबन्दी बोतलभित्र अखाद्य तत्व फेला परेको पुष्टि भएको छ । काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७५ को दफा १०(३)(ढ) अनुसार यो कार्य अनुचित व्यापारिक गतिविधि मानिएको छ। साथै, ऐनको दफा २९(घ) र दफा ३०(१)(ख) बमोजिम धनुषा डिस्टिलरी प्रा. लि.ले कानुन उल्लङ्घन गरेको ठहर गरिएको विभागले जनाएको छ ।
महानगरको कृषि तथा पशुपक्षी विभागका अनुसार, जरिवाना रकम काठमाडौं महानगरपालिकाको राजस्व खातामा जम्मा गरिसकेपछि सोको जानकारी विभागमा पेस गर्नुपर्नेछ । काठमाडौं महानगरपालिकाले बजारमा बिक्री हुने खाद्य तथा पेय पदार्थको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमन र कडा कारबाहीको नीति अवलम्बन गरेको जनाएको छ ।
महानगरले उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै बजारमा बिक्री वितरण हुने सबै खाद्य तथा पेय पदार्थको गुणस्तर जाँचलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
सुटकेस शव : पक्राउ परेका पासवान अस्पताल भर्ना
रौतहट । रौतहट प्रहरीले रुबि साहको हत्या प्रकरणमा एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी साहको हत्या संलग्न रहेको आरोपमा प्रहरीले लक्ष्मण पासवानले आज बिहान पक्राउ गरेको हो । प्रहरीले पासवानलाई घाइते अवस्थामा पक्राउ गरेको हो । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब ८ बजे पासवानले आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले बताए । उनका अनुसार आत्महत्याको प्रयास गरेको बुझिएपछि उनलाई नियन्त्रणमा लिई उपचारका लागि गरुडास्थित बेटर अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि प्रहरीले रुबीको शवलाई ई–रिक्सामा राखी उक्त सडक खण्डसम्म पु¥याएको आरोपमा रिक्सा चालक लक्ष्मण महरालाई पनि पक्राउ गरिसकेको छ ।
गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि यस प्रकरणमा पासवानको नै मुख्य संलग्नताको प्रहरी अनुसन्धानमा खुलेको थियो ।
पक्राउ परेका पासवानले आफ्ना हातमा "My Heart Rubi Kumari" लेखी टैटू बनाएको र छातीमा समेत रुबिको फोटो सहितको टैटू बनाएको पाइएको छ। यस विषयमा थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आज विश्व ताल दिवस मनाइँद
काठमाडौं । आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज ताल दिवस मनाउन लागिएको हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् ।
राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन् भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ ।
भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै
काठमाडौं । आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ।
सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ ।
यस दिन हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको छ ।
नेवार समुदायले यो पर्वलाई चथाः नामले मनाउने गर्दछन् ।
बालबालिकालाई ‘छुस्यामुस्या बाँड्ने चलन नेवार समुदायमा छ। विसं २०६५ देखि यस पर्वका अवसरमा चतुर्थीको भोलिपल्ट राजधानीलगायत मुख्य सहरमा गणेश रथयात्रा गरिन्छ। विसं २०६४ मा यसै दिन राष्ट्रिय धर्मसभाको स्थापना भएको थियो। यसैले यसदिन धर्मसभाको स्थापना दिवसका रुपमा पनि मनाउने गरिन्छ।
प्रविधिको विकाससँगै परम्परागत पानीघट्ट संकटमा
बाजुरा । बाजुरामा परम्परागत पानीघट्ट हराउँदै जाने क्रम तीव्र बनेको छ । प्रविधिको विकाससँगै गाउँघरमा सहजरुपमा कुटानी–पिसानी गर्ने मिल र अन्य विद्युतीय उपकरण आएपछि पानीको सहायताले चल्ने घट्ट लोपोन्मुख अवस्थामा पुगेका हुन् ।
पहिल्यैदेखि गाउँघरमा दैनिक अन्न पिस्नका लागि प्रयोग हुने पानीघट्ट अहिले भने विरलै मात्र देखिन थालिएको छ । मानिसहरू व्यस्त र विलासी जीवनमा निर्भर बन्दै गएसँगै सजिलो र छिटो हुने प्रविधियुक्त मिलको प्रयोग बढेपछि परम्परागत प्रविधि हराउँदै गएको हो ।
बडीमालिका नगरपालिका–७ का घट्ट चालक कञ्जरे लुहारका अनुसार, पानीघट्टमा बढी मेहनत लाग्ने तर मिलजस्ता आधुनिक उपकरणमा छिटो पिस्न सकिने भएकाले घट्टप्रतिको आकर्षण हराउँदै गएको छ । “पहिले गाउँघरभरि दर्जनौँ घट्ट सञ्चालनमा थिए, तर अहिले प्रायः सबै बन्द भएका छन्,” उनले भने ।
त्यस्तै, स्थानीय आदीचन्द्र पाध्यायका अनुसार प्रविधिको विकासले पानीघट्ट मात्र नभई ढिकी, जातो, निगालोका उपकरणलगायतका परम्परागत प्रविधिहरू पनि हराउँदै गएका छन् । “पानीघट्टमा पिसिएको पिठोबाट बनेको ढिँडो स्वादिलो मात्र नभई पौष्टिक पनि मानिन्थ्यो, तर अहिले सबै विद्युत् मिलमै निर्भर हुने चलन बढेको छ,” उनले बताए ।
हाल जिल्लाका सबै ९ वटै पालिकामा विद्युतीय मिल सञ्चालनमा आएपछि पानीघट्ट झन् संकटमा परेको देखिन्छ । परम्परागत सीप झल्काउने यी घट्ट लोपिँदै जाँदा तिनको अस्तित्वसमेत संकटमा परेको स्थानीयको चिन्ता छ ।
पूर्वराष्ट्रपति भण्डारी र रास्वपाका प्रवक्ता झा बीच भेटघाट
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाबीच मंगलबार बिहान राजनीतिक भेटवार्ता भएको छ । भण्डारीको निवासमा भएको भेटलाई कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवातका रूपमा लिइएको झाले जानकारी दिएका छन् । उनका अनुसार मुलुकको वर्तमान असाधारण राजनीतिक अवस्था र यसको समाधानका लागि आवश्यक पहलबारे छलफल भएको थियो ।
भेटमा पूर्वराष्ट्रपति भण्डारीले सहकारीको विषयलाई समाधान गर्नुको साटो अनावश्यक रूपमा राजनीतिक मुद्दा बनाइएकोप्रति चिन्ता व्यक्त गरेकी थिइन् । उनले रास्वपाका सभापति रवि लामिछानेप्रति पनि सद्भाव रहेको उल्लेख गरेकी थिइन् ।
नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक भएको बताउँदै भण्डारीले त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू सधैँ तयार रहेको धारणा व्यक्त गरेकी छन् ।