मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K50CZFRPQY0P99TQ4WMRGGZ5.jpeg

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरेका छन् । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति तोकेका छन् । 

जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धन सरकार ढलेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई प्राप्त गरेको छ । 

राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति पौडेल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी अभियानका प्रतिनिधिलगायत सरोकारवालासँगको संवादपछि देशले नयाँ प्रधानमन्त्री पाएको हो ।

प्रकाशित मितिः शनिबार, २८ भदौ २०८२
https://jawaaf.com/storage/01K4Z612FQEA50ZTQFRETY97CR.jpeg

अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई, राति ९ बजे शपथ

काठमाडौं I अन्तरिम सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आजै राति उनलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शपथग्रहण समारोह राष्ट्रपति निवास शीतल निवासमा राति ९ बजे हुने भएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, “प्रधानमन्त्री पदका लागि सुशीला कार्कीलाई आजै राष्ट्रपति समक्ष शपथ गराइनेछ।”

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय राजनीतिक सहमतिको आधारमा गरिएको हो। 

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4Z3ZFA37PQAJSX6DVZ26R56.jpeg

जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका चार युवाहरूको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु भएका युवाहरूको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
आन्दोलनको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको चार जना युवाहरुको परिवारले शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरूले उनीहरूको अन्तिम बिदाइ गरेका हुन् ।
गत सोमबार र मंगल भएको प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ ।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4YXZE0YC6ET3RH7Y5F04CRN.jpg

धरानको भाटभटेनीमा चार जलेका शव फेला

धरान । जेनजी आन्दोलनका क्रममा आगजनी भएको धरानस्थित भाटभटेनी सुपरमार्केटभित्र चार जनाको शव फेला परेको छ ।

आन्दोलनको दोस्रो दिन मंगलबार लागेको आगो नियन्त्रणमा आएपछि शुक्रबार दिउँसो निरीक्षण गर्ने क्रममा दोस्रो तल्लामा एक र तेस्रो तल्लामा तीन जनाको जलेको शव भेटिएको प्रहरीले जनाएको छ।

शवहरू पूर्णरूपमा जलेका कारण पहिचान खुल्न सकेको छैन भने लिंग छुट्याउन समेत कठिन भएको प्रहरीले जनाएको छ। मंगलबार राति तोडफोड र लुटपाटका क्रममा भित्र केही व्यक्ति फसेको हल्ला चलेको थियो, जसको पुष्टि अहिले शव भेटिएपछि भएको हो।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4YV92KBYG2QYKE5VZKJNDKG.avif

जेन–जी आन्दोलनमा वीरगन्जका असाहव आलमको मृत्यु

वीरगन्ज । जेन–जी आन्दोलनका क्रममा वीरगन्ज महानगर–१२ का २२ वर्षीय असाहव आलम ठकुराईको मृत्यु भएको पुष्टि भएको छ ।

आन्दोलनकै क्रममा छातीमा गोली लागेर आलमले ज्यान गुमाएको उनका परिवारले बताएका छन्। हाल शव काठमाडौंस्थित टीचिङ अस्पतालमा रहेको र वीरगन्ज ल्याउने तयारी भइरहेको छ।

नवविवाहित आलम काठमाडौंमा होटल म्यानेजमेन्ट अध्ययन गर्दै पठाओमा काम गर्दै आएका थिए। दुई महिनाअघि मात्र विवाह गरेका उनको निधनले परिवार र स्थानीय समुदायमा गहिरो शोक छाएको छ।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4YEBS975WHA5M0RZYQVRRR8.avif

अन्तरिम सरकारबारे शितलनिवास छलफलको तयारी

काठमाडौं । शुक्रबार बिहान ९ बजे काठमाडौंस्थित राष्ट्रपति भवन शितलनिवासमा हुने भनिएको उच्चस्तरीय राजनीतिक बैठक दिउँसो २ बजे बस्दैछ । विगत केही दिनदेखि संघर्षरत जेनजी समूहसहितको सहभागितामा बन्न लागेको सरकारका बारे छलफल गर्न बैठकमा नेपालका सेना प्रमुख अशोकराज सिग्देल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र विभिन्न राजनीतिक दलका वरिष्ठ नेताहरू सहभागि हुने जनाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल पनि बैठकमा सहभागी हुने सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि देशमा देखिएको राजनीतिक अनिश्चितता र जेनजी नेतृत्वमा जारी विरोध प्रदर्शनको बीचमा यो भेला हुन लागेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । 

बैठकको प्रमुख एजेन्डाहरूमा अन्तरिम सरकार गठन र अन्तरिम प्रधानमन्त्रीको रूपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको सम्भावित नियुक्तिको बारेमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4Y45P0PX0KYCG3EX2BA6E90.png

भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाको अनुरोध

काठमाडौं । भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न नेपाली सेनाले अनुरोध गरेको छ । शुक्रबार नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले सूचना जारी गर्दै नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने भन्दै झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा आग्रह गरेको हो । 

‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी, धारणा र विश्लेषणहरु सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरु नियमित रुपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको छ । तसर्थ, भ्रामक र झुट्टा समाचारहरुमा विश्वास नगर्न आम सर्वसाधारणहरुमा नेपाली सेना आग्रह गर्दछ,’सूचनामा उल्लेख छ । 

साथै, नेपाली सेना सम्बन्धी सूचना आदान प्रदानको लागि जनसम्पर्क तथा सूचना निर्देशनालय लगायत स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरुसँग समन्वय गर्न सकिने बताइएको छ । 

स्थानीय स्तरमा रहेका पृतना हेडक्वार्टरहरु:

पूर्वी क्षेत्र (ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ्ग, सुनसरी, खोटाङ्ग, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा)– ९८५२०८१७०४

मध्य पूर्वी क्षेत्र (सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, रामेछाप र दोलखा) – ९८५४०२०७७२

मध्य क्षेत्र (रसुवा, नुवाकोट, मकवानपुर, धादिङ्ग, चितवन)– ९८६३०२८८८४

पश्चिम क्षेत्र (गोरखा, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, मनाङ्ग, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र मुस्ताङ्ग)–९८५६०११४३९

मध्य पश्चिम क्षेत्र (नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, पाल्पा, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, दाङ्ग, प्युठान, रोल्पा, सल्यान, रुकुम पूर्व र रुकुम पश्चिम)–९८६३०२९१३७

उत्तर पश्चिम क्षेत्र (बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, जुम्ला, डोल्पा, मुगु र हुम्ला) – ९८६३०२९१७७

सुदूर पश्चिम क्षेत्र (कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरा, बैतडी, दार्चुला, बझाङ्ग)– ९७६२३०६५६१

उपत्यका क्षेत्र ( काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक) – ९८६०११३६२२

 

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4XVE56S13JQT4W3C76BW3K9.jpeg

अन्तरिम सरकार गठनबारे आज पनि निर्णायक छलफल, सुशीला कार्कीको नेतृत्वमा सहमति नजिक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा शुक्रबार पनि छलफल हुने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा पूर्वप्रधानन्यायाधीश कार्की र संविधानविद्हरुको उपस्थितिमा विहीबार दिनभर र रातभर लामो बैठक गरेका थिए। तर संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति नजुटेपछि छलफल निष्कर्षमा पुग्न सकेन ।

आज शुक्रबार बिहान ९ बजेदेखि पुनः बैठक बस्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

यद्यपि, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने प्रमुख दलबीच प्रारम्भिक सहमति भइसकेको बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, २७ भदौ २०८२
https://jawaaf.com/storage/01K4WFB4G17WS5PPGB8RPTRRMS.jpg

सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने

काठमाडौं । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले प्रधानन्यायधीश प्रकाशमान सिंह राउतले भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने निर्णय गरेको छ । 

बिहिबार एक विज्ञप्ती जारी गर्दै आकस्मिक पूर्ण बैठकको निर्णयानुसार भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने निर्णय सर्वसाधारण सबैको जानकारी गराएको हो ।

विज्ञप्तीमा उल्लिखित घटनाको कारण आगजनी र नष्ट हुनबाट जोगिएका जनताको सम्पत्तिको रुपमा रहेका अदालतका मिसिल कागजातहरु र भौतिक श्रोतसाधनको संरक्षणमा खट्नु हुने न्यायाधीशहरू, कर्मचारीहरु, कानून व्यवसायीहरु, कानूनका विद्यार्थीहरु, सुरक्षाकर्मीहरु एवं सर्वसाधारण नागरिकहरुप्रति हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा समेत निरन्तर सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरिएको छ । 

साथै प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतले २४ गते सर्वोच्च अदालत लगायत देशका अन्य अदालतहरुमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनहरुमा पुग्न गएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । 

उनले नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकहरुका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको भन्दै नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु पनि करिब करिब नष्ट हुन गएको बताए । 

उनले यस्तो विषम परिस्थितिमा पनि सार्वभौमसत्ता, संविधानवाद, विधिको शासन र मौलिक हकको प्रत्याभूति तथा न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हकको सम्मान गर्दै जे जस्तो अवस्था र परिस्थिति भएपनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै यथाशीघ्र अदालतहरु संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । 

प्रकाशित मितिः बिहिबार, २६ भदौ २०८२
https://jawaaf.com/storage/01K4W9NMJXX2BSBCZDNS647VAQ.jpg

छिमेकीले बिन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु पौडेल

काठमाडौँ । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैँकका गर्भनर विश्वनाथ पौडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् ।

मंगलबार जेनजी आन्दोलनकारीहरूले भैंसेपाटीको प्रहरी कार्यालयमा आगजनीपछि विष्णु पौडेलको घरतिर मोडिए । उनको घरमा तोडफोड र आगजनी गरे । मुख्य निशानामा रहेका पौडेलको घर क्षणभरमै दनदनी बलेको प्रत्यक्षदर्शीहरू बताउँछन् । उक्त घर जलिसक्दासम्म गर्भनर पौडेलको घर सुरक्षित थियो । 

उनको घर जोगाउन छिमेकीहरूले अधिकतम प्रयास गरे । जब आन्दोलनकारी घरमा छिरे पौडेलको फोटो भेटाए अनि तोडफोडमा उत्रिए । धमाधम सामान निकालेर आगो लगाउन थालेको स्थानीयले बताए ।

छिमेकीहरू भेला भएर ‘उहाँ सोझो र निष्ठावान् हुनुहुन्छ । उहाँ भ्रष्ट होइन, छाडिदिनुहोस’ भन्दाभन्दै पनि आगो दन्काएको स्थानीय एक छिमेकीले कुराकानीमा भने ।

उक्त घर दनदनी आगो बलिरहेको भिडियो सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,‘यो चाहिँ मेरो भैसेपाटीको घर जल्दै गरेको भिडियो हो । मैँले योजना आयोगको उपाध्यक्ष हुनु अघिनै छात्रवृत्ति र देश विदेशमा काम गरेर साढे पाँच आना जग्गामा बनाएको घर हो । श्रीमती र मेरी नौँ वर्षकी छोरीलाई यो घर धेरै मनपर्ने भएकोले गभर्नर भएपछि पनि यही बस्थ्यौ । गाडि पार्क गर्न मिल्ने जमिन पनि नभएको भनेर स्टाफहरूको पहिलो खेपको कमेन्ट आएको थियो । 

भित्र यसको बनावट सुन्दर थियो। माथिल्लो तल्लामा किताबैकिताब, मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जादा किनेर ल्याएका कलाकृति थिए। देवीदेवताका मुर्ति, भियतनामि सिल्क पेन्टिङ देखि लिएर माओत्सेतुङ सम्मका मुर्ति थिए।जम्मा ५०० प्रति छापिएको जङ्गबहादुरको गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही थियो। छोरीको अत्यन्त मनपर्ने कोठा पनि त्यही थियो ।

अस्ति यो घर जल्नु दुई घन्टा अघिनै यो घर जलेको खबर एक प्रख्यात अनलाइनमा आयो। मैले बुझ्दा घरमा केही भएको थिएन। पछि भने घर भित्र मानिस गए। बा आमाको फोटो, मेरी छोरीको सानो छदाको फोटो लात्ताले कुल्चेर फुटाए र सबैमा आगो लगाए। छोरीलाई कपन गुम्बाको गुरु रिम्पोछेले दिनुभएको यौटा मन्त्रेको खेलौना थियो, ऊ राती नतर्सियोस भनेर च्यापेर सुत्न दिन्थ्यौँ। त्यो खेलौना पनि कुल्चिए र आगो लगाइदिए।

राती मेरी छोरी र श्रीमती नजिकको यौटा घर गएर सुते। म परको अर्को ठाउँमा। मेरा साथिहरूलाई थाहा छ, छोरी सुताउनुपर्छ भनेर म सधै चाडै घर आउछु र कतै डिनर खाने गर्दीन।त्यो दिन हामी सबै ‘शरणार्थी’ भयौँ । किताब र कपडाहरू धेरै भएकोले ढिलो सम्म नै घर जलिरह्यो। राति पनि केही व्यक्तिले आएर बेलाबेलामा ढुँगा हानेर र सामान चोरेर गैराख्थे भनेर छिमेकीहरूले सुनाए।

धेरै साथीहरूले मलाई फोन गरेर सोध्दा मैले ठिकै छ भन्ने जवाफ दिएको छु। हिजो राति म भन्दा पनि पिडामा परेका व्यक्तिहरूको बारेमा पढेँ। त्यसैले सबैलाई सूचना होस भनेर जल्दै गरेको मेरो घरको भिडियो पोस्ट गरेको छु। अब यसबारेमा अरू छलफल के नै गर्नुपर्ला र।

नयाँ सरकार बन्दै छ। कसैलाई मैले दुई पैसा कसैको खाएको या मागेको खबर भए रिपोर्ट गरे हुन्छ। यो गभर्नरको पद पनि कस्तो अवस्थामा लिएको थिएँ भन्ने सबैलाई थाहै छ।’

प्रकाशित मितिः बिहिबार, २६ भदौ २०८२