सेना प्रमुखलगायतको संयुक्त अपिल : संयमित हुनुहोला
काठमाडौं । सोमबारदेखि काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको भन्दै सुरक्षा निकायका प्रमुखहरुले संयमित हुन आग्रह गरेका छन् ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै मुख्य सचिव, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, गृह सचिव, अनुसन्धान विभागका प्रमुखहरुले संयुक्त अपिल गर्दै संयमित हुन आग्रह गरेका हुन् । उनीहरुल्े प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको र थप जनधनको क्षति हुन नदिन अपिल गरेको हो ।
अपिल पत्रमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको राजीनामा स्वीकृत समेत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक आग्रह गर्दछौं ।’
विषम परिस्थितीमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा अपिल समेत गरेको हो ।
रवि लामिछानेलाई आन्दोलनकारीले कारागारमुक्त गरे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेन–जी आन्दोलनकारीहरूले मंगलबार कारागारमुक्त गरेका छन्। ललितपुरस्थित नख्खु कारागारमा पुगेका प्रदर्शनकारीहरूले दबाव दिएपछि उनलाई थुनामुक्त गरिएको हो। आन्दोलनकारीहरूले कारागारभित्रै प्रवेश गरी लामिछानेलाई बाहिर निकालेका थिए।
देउवा दम्पत्तीमाथि निवासमै पुगेर हातपात
काठमाडौं । जेनजीको आन्दोलनमा सहभागि प्रदर्शनकारीहरुले देउवा निवासमा गएर शेरबहादुर देउवा र डा.आरजु राणा देउवामाथि हातपात गरेको छ ।
मंगलबार भएको जेनजी आन्दोलनकारीहरु विहान निवासमै पुगेर देउवा दम्पत्तीमाथि नै हातपात गरेको हो ।
हिजो सोमबारदेखि चलेको जेनजी आन्दोलनले आज झन् उग्र रुप लिएको छ । उनीहरुले देउवा, ओली र प्रचण्डलगायत ठूला ठूला नेताहरुको घर र पार्टी कार्यालयमा आगजनीसहित तोडफोड पनि गरेका छन् ।
कोशी प्रदेश मुख्यमन्त्री कार्यालयमा आगजनी
कोशी । कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयमा आगजनी गरिएको छ । जेनजी आन्दोलनकारीले मंगलबार दिउँसो कोशी प्रदेशसभा भवनमा आगजनीपछि मुख्यमन्त्री कार्यालयमा पनि आगजनी गरेका हुन् । आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय मोरङमा पनि आगजनी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नजिकै रहेको हुलाक निर्देशनालयमा पनि आगजनी गरेका छन् । आन्दोलनमा उत्रिएको समूहले सरकारी कार्यालय खोजीखोजी आगजनी गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी
काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसदभवनमा आगजनी गरेका छन् । प्रदर्शनकारी उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीबेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो ।
जेनजीहरुले आज सिंहदरबारमा समेत आगजनी गरेका छन् । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।
रास्वपा सांसदद्वारा सामूहिक राजीनामाको घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले सामूहिक राजीनामा दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गरेको र दर्जनौं युवाको ज्यान लिएको भन्दै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् ।
वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको भन्दै प्रधानमन्त्रीको तत्काल राजीनामा, घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार, प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।
संसदीय दलको कार्यवाहक सभापति तथा पूर्वनेता डोल प्रसाद अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा दलका नेता रवि लामिछाने, उपनेता विराजभक्त श्रेष्ठ, डा. स्वर्णिम वाग्ले, डा. तोसिमा कार्की, शिशिर खनाल, सुमना श्रेष्ठ, सोबिता गौतमलगायतका सांसदको नाम समावेश गरिएको छ ।
वर्तमान संघीय संसदले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षमा पुग्दै आगामी निकासका लागि शिघ्र अन्तरिम नागरिक सरकार गठनको प्रस्ताव गर्दै, सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको शिघ्र एवं निःशुल्क उपचारको पक्षमा रहँदै, देशको मुख्य सम्पति जेनजीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरु (साँसदहरु) ले सामूहिक राजीनामा दिएको हो ।
आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी
काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् ।
काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् ।
कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी
कोशी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीको घरमा मंगलबार प्रदर्शनकारीले तोडफोड गरेका छन्।
कर्फ्युको अवज्ञा गर्दै सडकमा उत्रिएका आक्रोशित प्रदर्शनकारीले इटहरीस्थित भण्डारीको घरको सिसा र अगाडिको गेट तोडेका हुन्। भीडले घरमा आगजनी गर्न खोजे पनि त्यहाँ अन्य भाडामा बस्ने परिवार रहेको भन्दै केही प्रदर्शनकारीले विरोध गरेपछि आगो लगाउने प्रयास रोकिएको प्रहरी स्रोतले जनाएको छ।
यसअघि, आन्दोलनकारीहरूले नेकपा (एमाले) इटहरी पार्टी कार्यालयमा प्रवेश गरी फर्निचर तोडफोड गर्दै आगजनी गरेका थिए। कार्यालयमा पुगेको भीडले कुर्सी, टेबललगायत सामग्रीमा आगो लगाएको थियो। एमाले कार्यालयमा आगजनी गरेपछि भीड मन्त्री भण्डारीको घरतर्फ मोडिएको हो।
‘गोली हान्नेलाई कारबाही गर’ भन्दै नाराबाजीसँगै भएको तोडफोड र आगजनीका कारण इटहरीमा जारी कर्फ्युबीच स्थिति अझै तनावपूर्ण बनेको छ। विराटनगरलगायत कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा समेत अवस्था तनावग्रस्त रहेको जनाइएको छ।
सुर्खेतमा एमाले र काँग्रेसको पार्टी कार्यालय जलाइयो
सुर्खेत । जेनजी पुस्ताको प्रदर्शनकारीले सुर्खेतमा सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसको पार्टी कार्यालय जलाएका छन् ।
मंगलबार प्रदर्शनकारीले पार्टी कार्यालयहरुमा तोडफोड गर्नका साथै आगजनी गरेका हुन्
प्रदर्शन नियन्त्रणणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेर प्रदर्शनकारीलाई तितरबितर पारेको छ ।
प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरस्थित बालकोट निवासमा आगजनी भएको छ। ओलीको निवासतर्फ पुगेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीको गोली चलेपछि आक्रोशित भीडले निवासमा आगो लगाएको जनाइएको छ। प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।
आगो लगाइएपछि ओली निवास क्षेत्रबाट बाक्लो धुँवा निस्किएको छ भने त्यहाँको अवस्था नियन्त्रणबाहिर गएको बताइएको छ।