बाजुरामा पनि जेन–जी पुस्ताको आन्दोलन सुरु
बाजुरा । बाजुरा जिल्लामा पनि जेन–जी पुस्ताले आन्दोलनको सुरुवात गरेका छन्। मंगलबार बिहान ११ बजेदेखि सदरमुकाम मार्तडीसहित जिल्लाको पूर्वी–उत्तरी भेगमा रहेका कोल्टी, पिलिचौरलगायत स्थानमा प्रदर्शन सुरु भएको हो।
सदरमुकाम मार्तडी, बुढिगंगा नगरपालिकाको बाम्का बजार, बुढिनन्दा नगरपालिकाको कोल्टी र जगन्नाथ गाउँपालिकाको पिलिचौरलगायतका प्रमुख व्यापारिक केन्द्रहरूमा आजदेखि जेन–जी आन्दोलन हुने जनाइएको छ।
आन्दोलन चर्किएसँगै जिल्लामा सुरक्षालाई कडा पारिएको छ। युवापुस्ताले धमाधम सडकमा उत्रन थालेपछि जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
खानेपानीमन्त्री यादवले गरे राजीनामाको घोषणा
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ ।
हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गरेका छन् । सोमबार भएको जेनजीहरुको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आव्हान गरेका छन् ।
उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संवद्ध पक्षसँग संवादमा रहेको पनि दाबी गरेका छन् । कुनैपनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने उनले बताए ।
रौतहटमा पनि जेनजी युवाहरुले टायर बाले
रौतहट । रौतहटको विभिन्न स्थानमा मंगलवारबिहानदेखि नै जेनजी युवाहरुले टायर बालेर प्रदर्शनगरेका छन ।
जेनजी युवा पुस्ताले भ्रष्टाचार सहितका बेथितीकाविरुद्ध गरिरहेको प्रदर्शनमा सोमबार भएको सरकारीदमनका विरुद्ध प्रदर्शन गरिएको हो ।
चन्द्रपुर, गौर ,गरुडा सहितका क्षेत्रमा भेला भएकाउनीहरूले सरकार र प्रहरी प्रशासन विरुद्ध चर्कोनाराबाजी गरिरहेका छन ।
जेनजी आन्दोलनका कारण राजमार्गको यातायातपनि प्रभावित भएको छ । जेनजी प्रदर्शनलाईमध्यनजर गर्दै रौतहट प्रहरीले सुरक्षा व्यवस्था कडाबनाइएको छ ।
यहाँको मुख्य चोक चोकमा बक्लो संख्यामासुरक्षाकर्मी परिचालन गरिएको छ । जेनजीकोप्रदर्शन छिटफुट वाहेक कुनै किसिमको अप्रिय घटनानभएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएकोछ ।
संसद भवन बाहिर आजपनि आक्रोशित युवाहरु
काठमाडौं । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् ।
मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् ।
संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरुलाई यो भन्छु कि छोराहरुको बलिदान सम्झिनु पर्यो ।’
जेनजी आन्दोलन : राष्ट्रिय ट्रमा सेन्टरमा आठ जनाको मृत्यु
काठमाडौं । जेनजीको प्रदर्शनमा घाइते भइ राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुमध्ये हालसम्म पाँच जनाको पहिचान खुलेको ट्रमा सेन्टरले जानकारी दिएको छ ।
सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाडौँ कीर्तिपुरका बुद्धि तामाङ, काठमाडौँ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो।
सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डण्ट डा. बद्री रिजालका अनुसार ट्रमा सेन्टरमा उपचारका लागि ५६ जना घाइते पुगेका थिए।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो भने ४२१ जना घाइते भएका छन्।
काठमाडौंको सिभिल अस्पतालमा तीन, ट्रमा सेन्टरमा आठ, एभरेष्ट अस्पतालमा तीन, केएमसीमा दुई, त्रिवी शिक्षण अस्पतालमा एक, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जनाको निधन भएको थियो।
देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशभर आंशिकदेखि साधारण बदली छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। अन्य पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
स्नातक दोस्रो वर्षको आंशिक परीक्षा स्थगित
काठमाडौँ । चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित भएको छ ।
त्रिभुवन विश्वविद्यालयले सूचना जारी गर्दै चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको हो ।
विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।
जेन जीले गरेको आन्दोलनका कारण देशैभर तनावग्रस्त अवस्था भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने छन् ।
जेनजीको आन्दोलनले हिंसात्मक बन्यो कोशी प्रदेश
कोशी । सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न स्थानहरू अशान्त बनेका छन् ।
प्रदर्शन अराजक बन्दा प्रहरीले ठाउँ ठाउँका गोली समेत चलाएको अवस्था रहेको छ । सुनसरीको इटहरीमा २ जनाको ज्यान नै गएको छ ।
प्रर्दशनकारीहरुले इटहरी उपमहानगरपालिका भवनमा आगजनी गरेका थिए । जस क्रममा प्रहरीले गोली चलाएको हो । सुनसरी जिल्ला प्रशासन कार्यालय इटहरीमा कफ्र्यु आदेश जारी गरिसकेको छ ।
यस्तै प्रधानमन्त्री केपी सर्मा ओलीको गृह नगर झापाको दमकका साथै बिर्तामोडमा समेत प्रहरीले गोली चलाएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरको पदेश सभा भवन अगाडिका साथै सुनसरीको सदरमुकाम इनरुवा समेत आन्दोलनकारीहरू सडकमा आएका थिए ।
प्रदेश सभा भवन अगाडि निषेधित क्षेत्र हो । तर प्रदर्शनकारीले कुनै प्रवाह नगरी आन्दोलन गरेका हुन् ।
पहाडी जिल्ला इलाम, खोटाङ सहितका जिल्लामा समेत जेनजी पुस्ता आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनका क्रमका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति बढी आक्रोशित देखिएको छ । प्रदर्शन जारी रहेको छ ।
गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् ।
जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् ।
कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारमा आफू पदमा बस्न नसक्ने जानकारी गराएका थिए । सोही लगतै प्रधानमन्त्री ओलीलाई उनले राजीनामा पत्र बुझाए ।
आन्दोलनले उघ्र रुप लिएपछि विभिन्न राजनीतिक दलले गृहमन्त्रीसँगै प्रधानमन्त्रीको पनि राजीनामा माग गरिरहेका छन् ।