जेनजीहरुबीच नै एकआपसमा लफडा, कुटपिटमै उत्रिए
काठमाडौं । सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।
अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो ।
अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ ।
कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।
नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध
काठमाडौं । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ ।
बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो।
‘नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा टोल फ्रि नं. १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नं. ९८५१२९३४५९ मा सम्पर्क गरी फिर्ता बुझाउँन हुन अनुरोध गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।
साथै सूचना मार्फत नेपाल प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।
‘आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले नियन्त्रणमा लिएको प्रहरीको पोशाकहरु दुरुपयोग नगर्न हुन र सो सँग सम्बन्धित सूचनाहरू समेत उपलब्ध गराउन सर्वसाधारणहरूलाई नेपाल प्रहरी अनुरोध गर्दछ,’सूचनामा भनिएको छ ।
शान्ति र स्थिरताको पक्षमा सहकार्य गर्ने उद्योग वाणिज्य संघको प्रतिबद्धता
काठमाडौं । सामाजिक सञ्जाल निषेध र भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधन र राष्ट्रिय सम्पत्तिको क्षतिप्रति नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अध्यक्ष दिनेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
विज्ञप्तिमा युवा पुस्ताले उठाएका मागप्रति संवेदनशील रहँदै देशमा शान्ति–सुरक्षा, नागरिक सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, भ्रष्टाचारमुक्त प्रणाली, लगानी तथा रोजगारी प्रवद्र्धनका लागि सबै सरोकारवालालाई एकताबद्ध हुन आह्वान गरिएको छ ।
संघले देशको शान्ति, स्थिरता र आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाली सेनाको नेतृत्व र संयोजनमा अगाडि बढ्ने समन्वयात्मक कार्यमा सहयोग गर्ने जनाएको छ ।
यस कठिन परिस्थितिमा उत्पादन, रोजगारी, लगानी र बजार सन्तुलनलाई प्राथमिकता दिँदै देशको अर्थतन्त्रलाई पुनः गतिशील बनाउन नेपाली सेना, निजी क्षेत्र, उद्योगी व्यवसायी तथा नागरिक समाजसँग मिलेर काम गर्ने संघको प्रतिबद्धता समेत विज्ञप्तिमा व्यक्त गरिएको छ ।
चाँडो अन्तरिम सरकार गठन गर्न शान्ति समाजको आग्रह
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले चाँडो अन्तरिम सरकार गठन गर्न आग्रह गरेको छ। बिहीबार सभापति रेनुका पौडेलद्वारा जारी विज्ञप्तिमा भ्रष्टाचारविरोधी आन्दोलनको सफलतापछि देशमा देखिएको शून्यता घातक हुनसक्ने भन्दै तत्काल अन्तरिम सरकार गठनको आवश्यकता औंल्याइएको छ।
समाजले आन्दोलनका क्रममा भएको जनहानि र सम्पत्ति क्षतिप्रति दुःख व्यक्त गर्दै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति रोक्नुपर्नेमा जोड दिएको छ। साथै अन्तरिम सरकारको प्रमुख दायित्व कानुन र व्यवस्थाको पुनर्स्थापना, सम्पत्ति सुरक्षा, पुनर्निर्माण र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुने उल्लेख गरेको छ।
संविधान संशोधनको बहसलाई सार्थक रूपमा अघि बढाउने जिम्मेवारी अब जेन–जी पुस्तामा आएको भए पनि संशोधनको औपचारिक दायित्व नयाँ संसद्को हुने समाजले स्पष्ट पारेको छ।
प्रतिगमनले अस्थिरता निम्त्याउँछ, संविधानभित्रै समाधान खोजौं : जसपा अध्यक्ष राई
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या संविधानभित्रबाटै समाधान गर्नुपर्ने बताएका छन्।
उनका अनुसार संविधानलाई अग्रगामी ढंगले सुधार गर्दै अघि बढ्न सकेमात्र मुलुकमा शान्ति, स्थिरता, सुशासन र समृद्धि कायम हुन्छ।
बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत राईले भने, “मुलुकभित्र शान्ति, स्थिरता, सुशासन र समृद्धि ल्याउन संविधानभित्रबाट नै संविधानलाई अग्रगामी सुधार गर्ने गरी समाधान खोजिनुपर्छ। श्रमजीवी वर्ग र उत्पीडित समुदायको भावना तथा समस्यालाई सम्बोधन नगरेर प्रतिगमनतर्फ जाने हो भने यसले प्रतिरोध र अस्थिरता जन्माउँछ।”
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जीवन्त राख्दै अगाडि बढ्नुपर्ने पनि बताए।
जेन–जी आन्दोलनले उन्नत लोकतन्त्रको माग गरेको छ : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेन–जी आन्दोलनका एजेण्डाहरू यथास्थितिवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रतर्फ केन्द्रित रहेको बताएका छन्।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हुने स्पष्ट पारे। उनले जेन–जी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध रहेको न संसद् विघटनको पक्षमा रहेको दाबी गरे।
“जेन–जी आन्दोलनका माग संविधान र संसदीय प्रक्रियाभित्रै पूरा हुनसक्छन् भन्नेमा हामी विश्वस्त छौं,” विज्ञप्तिमा भनिएको छ।
उनले कमजोरीका बाबजुद अहिलेको संविधान सामाजिक न्याय र समावेशिताका दृष्टिले तुलनात्मक रूपमा उत्कृष्ट रहेको बताए। संविधानमै टेकेर संक्रमणकालीन अवस्थाको समाधान खोज्नुपर्ने उनको धारणा छ।
प्रचण्डले समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने प्रणालीतर्फ संविधान संशोधन गर्न सके मात्रै समुन्नत लोकतन्त्रको विकास सम्भव हुने उल्लेख गरे।
“संविधान कार्यान्वयनका चुनौतीहरूको गम्भीर समीक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीतर्फ संशोधन हुनुपर्छ। यही बाटो समुन्नत लोकतन्त्रको विकासको आधार बन्नेछ,” उनले भने।
त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ ।
बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो ।
मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।
सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।
आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुदैँ
काठमाडौं । आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो ।
हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन ।
विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो ।
जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् ।
यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रधानसेनापति अशोकराज सिग्लेलसँग भावी सरकार गठनको विषयमा छलफल गर्न भन्दै साम्पाङ सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए ।
आज निषेधाज्ञा र कर्फ्यू आंशिक रूपमा खुकुलो बनाइने
काठमाडौं । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कर्फ्यू आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ ।
बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ ।
विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ ।
आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा यथावत रहने विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, भदौ २६ गते बेलुकी ७ बजेदेखि भदौ २७ गते बिहान ५ बजेसम्म उपत्यकाभर कफ्र्यु आदेश लागू हुने सेनाले जानकारी दिएको छ ।
नागरिकको जनधनको सुरक्षा प्रमुख प्राथमिकता भएकाले कफ्र्यु आदेश र निषेधाज्ञा पालना गर्न सेनाले सबैलाई आग्रह समेत गरेको छ ।
जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३०, १ हजारभन्दा बढी घाइते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो ।
हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ ।
बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहका रहेको बताइएको छ ।
आन्दोलनका क्रममा मृत्यु हुने ३ प्रहरीबाहेक अरुको नाम प्रहरीले आधिकारीक रुपमा सार्वजनिक गरेको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार आन्दोलनका क्रममा १०३३ जना प्रदर्शनको क्रममा घाइते भएका छन् । त्यस्तै ७१३ जना डिस्चार्जपछि घर फर्किएका छन् भने २५३ जना भने अहिले पनि उपचारत रहेको मन्त्रालयले जानकारी दिएको छ ।