इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु
सुनसरी । सुनसरीको इटहरीमा प्रहरीले चलाएको गोली लागेर २ जनाको मृत्यु भएको छ । जेनजी आन्दोलनको क्रममा प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए भने तीमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकको पहिचान खुल्न नसकेपनि उनीहरू अन्दाजी २५ र ३० वर्षका रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पुर्याइएपछि चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन् ।
नयाँ बानेश्वर घटनापछि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ । राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
काठमाडौं । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्द विरुद्ध काठमाडौंमा जेनजी पुस्ताको जारी प्रदर्शनले उग्ररुप लिएसँगै काठमाडौं जिल्ला प्रशासनले सिंहदरबार परिसर, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरवार संग्रहालय क्षेत्रमा समेत कर्फयू थपेको छ ।
प्रशासनले दिउँसो १ बजेदेखि राति १० बजे सम्मका लागि उक्त क्षेत्रमा कर्फुय आदेश जारी गरेको सुचना निकालेको छ । यस अघि प्रशासनले बानेश्वर क्षेत्रमा अपरान्ह १२ः३० देखि राती १० बजे सम्म कर्फयु आदेश समेत जारी गरेको छ ।
प्रदर्शनका क्रममा जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र समेत तोडेर बानेश्वरस्थित संसद भवन प्रवेश गरेका छन भने संसद भवनको १ र २ नम्बर गेटमा आगजनी समेत गरेका छन् ।
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो
काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधीत क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।
जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता
काठमाडौं । उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन जनाएका छन् ।
सामाजिक संजालमा पोष्ट गर्दै उनले सरकारले सामाजिक संजाल बन्द गर्न गरेको निर्णयको विरोध गरेका हुन् । उनले उक्त निर्णयको विरोधमा जेन जी पुस्ताले निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको ऐक्यबद्धता रहेको पनि जनाए ।
हालै खाडी मुलुकहरु, युरोप र अमेरिकाको भ्रमण गरेर नेपाल फर्किएका कुलमानले नेपालमा बत्तीको उज्यालो मात्रै नभई सबै क्षेत्रमा सुशासन र समृद्धिको उज्यालो ल्याउन उज्यालो नेपाल अभियान सुरु गरिएको बताएका थिए । उनले लाखौं युवा विदेश पठाएर देशले उन्नति गर्न नसक्ने भन्दै स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए । उनले देशमा निराशा व्याप्त रहेकोमा अब स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा जगाउन पनि उज्यालो नेपाल अभियान सुरु गरिएको जनाएका थिए ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा कार्यकाल पुरा हुन चार महिना मात्रै बाँकी रहंदा पदबाट बर्खास्त गरिएपछि विदेश भ्रमणमा निस्किएका कुलमानलाई प्रवासी नेपालीका संघसंस्थाहरुले नागरिक अभिनन्दन तथा सम्मान गर्दै नेपालको रुपान्तरणमा अगाडी बढ्न आग्रह गरेका थिए ।
कोशीका सहरमा पनि जेनजीको आन्दोलन
कोशी । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, धरान, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ ।
सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सुनसारीमाइस्थान देखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ ।
जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए । जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन् ।
प्रचण्डको सामाजिक सञ्जालबारे स्टाटसमा मेयर बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक सञ्जालमै स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र प्रतिक्रिया जनाएका छन्।
प्रचण्डले फेसबुकमा लेखेका थिए, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ।”
उनकै स्टाटसमाथि प्रत्यक्ष प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगत सम्झाउँदै कटाक्ष गरे। उनले कमेण्टमा लेखे, “एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे।”
बालेनको टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ। कतिपयले यसलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागका रूपमा व्याख्या गरेका छन् भने अरूले राजनीतिक तहमा खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन्।
हालै सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध काठमाडौंसहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। यो विषय राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोको केन्द्र बनेको छ।
सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजे देखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।
जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावाद विरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।
जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन् ।
ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ
वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन् ।
क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो ।
‘जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,’प्रमुख यादवले बताए ।
त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ ।
पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ । पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, ‘क्याम्पस प्रशासनबाट बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।’
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।
सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित कार्यपत्रहरू प्रस्तुत गरिनेछ । सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।
कार्यक्रममा सरकारी वकीलहरूको पेशागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिनेछ भने घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ ।
सम्मेलनको उद्घाटन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहनेछिन् । साथै सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, राष्ट्रिय महिला आयोग, महान्यायाधिवक्ता कार्यालय, नेपाल न्याय सेवा, नेपाल बार एसोसिएसन, र विभिन्न अदालतहरूमा कार्यरत महिला न्यायाधीशहरूको पनि उपस्थिति रहनेछ ।
यस्तै, सम्मेलनको समापन समारोहमा न्यायाधीश धारणा सुवेदी प्रमुख अतिथि रहने कार्यक्रम छ ।
महान्यायाधिवक्ताको कार्यालयले यो सम्मेलनलाई महिला सरकारी वकीलहरूको आवाज राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ ।