विद्यादेवीको भावुक सन्देश : पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय
काठमाडौं । पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीले आफूमाथि पार्टीले कुठाराघात गरेको गुनासो गरेकी छन् । आजबाट सुरु हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका प्रतिनिधिहरुलाई पत्र लेख्दै भण्डारीले गुनासो पोखेकी छन् ।
उनले आफूलाई पार्टीले निर्णय गरेर राष्ट्रपति हुन पठाएको र आफूले निष्ठापूर्वक काम गरेर फर्किँदा काममा बन्देज लगाइएको भन्दै आफूले उठाउँदै गरेको आवाज आफ्नो लागि मात्र नभएको बताइन् ।
‘म अहिले एउटा यस्तो परिवेशमा उभिएको छु, मैले २०३७ सालमा प्राप्त गरेको पार्टी सदस्यता जो मेरो गहिरो आस्था र विश्वासको प्रतीक समेत हो, त्यसमा कुठाराघात गर्ने प्रयास गरिएको छ,’उनले भनेकी छन्, ‘पार्टीले विशेष निर्णय गरेर देशको राष्ट्रपति हुन पठाएपछि कुशलतापूर्वक सो अभिभारा पूरा गरेर फर्किएँ र अब पार्टीमा नै संलग्न भएर अगाडि बढ्न चाहन्छु भन्दा पार्टी सदस्य हुनबाट रोक्ने प्रयास ज्यादै दुःखको विषय हो । यस्तो प्रश्न मेरा निम्ति मात्र होइन कुनै पनि पार्टी सदस्यले भोग्नु हुँदैन भन्ने मेरो अडान हो ।’
साथै उनले आफ्नो जीवनको लामो समय देश, जनता र पार्टीका निम्ति अर्पण गरेको भन्दै भण्डारीले अनेकौँ संघर्ष, कठिनाइ र चुनौतीसँग आफूले कहिल्यै हार नमानेको पत्रमा लेखेकी छन् ।
‘आज मेरो सदस्यतामाथि उठाइएको प्रश्न मेरा निम्ति गम्भीर रूपमा खडा भएको छ । यो पत्र मेरो आत्मरक्षाका लागि होइन, बरु यो हाम्रो पार्टीको उज्ज्वल भविष्यका लागि हो । त्यसैले, तपाईंहरूले यस पत्रलाई आफ्नो अधिकारको रक्षा, पार्टीको सबलता, सुदृढ एवम् दिगो एकताको रूपमा बुझ्नुहुनेछ भन्ने गहिरो विश्वास लिएको छु’, भण्डारीले पत्रमा लेखेकी छन् ।
नेपाल टेलिकम र एनसेलले बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जालहरु
काठमाडौं । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभइ सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ । टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो ।
‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२÷०५÷१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’टेलिकमले भनेको छ ।
टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ ।
यसैगरी मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले पनि आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्न सक्ने असुविधाप्रति क्षमा समेत मागेको छ ।
सरकारले सूचीकृत हुन नआएका २६ वटा सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई रोक लगाउने निर्णय गरेको हो । एनसेलले सरकारको निर्देशन बमोजिम सञ्जालहरू नचल्ने जानकारी गराएको हो ।
देशभर मनसुनको प्रभाव, केही स्थानमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ । शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको छ ।
दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार राति पनि देशभर साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । यस अवधिमा कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।
झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप, चार दिनमै तीन कैदीबन्दीको मृत्यु
इटहरी । सुनसरीस्थित झुम्का कारागारमा भाइरल ज्वरोको प्रकोप फैलिँदा चार दिनको अवधिमा तीन कैदीबन्दीको मृत्यु भएको छ । कारागारमा रहेका १ हजार ७ सय ९५ कैदीमध्ये हाल ४ सय भन्दा बढी ज्वरोबाट प्रभावित भएको कारागार प्रशासनले जनाएको छ ।
बुधबार साँझ सप्तरी, राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको मृत्यु भएको हो । जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका यादवलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल इनरुवामा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको कारागारका निमित्त जेलर राम निरौलाले जानकारी दिए ।
यसअघि भदौ १५ गते रामदेव उराउ र भदौ १६ गते सागर राईको मृत्यु भएको थियो । कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका उराउलाई उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि निधन भएको हो भने लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका राई शरीर नचल्ने समस्या देखिएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहँदा मृत्यु भएको हो ।
हाल १९ जना कैदी उपचारका लागि अस्पताल भर्ना छन् । सुरुमा ६ जना मात्र बाहिर उपचारमा पठाइएको भए पनि बुधबार राति स्वास्थ्यकर्मीको टोली कारागार पुगेपछि थप १३ जनालाई अस्पताल लगिएको जेल प्रशासनले जनाएको छ ।
निमित्त जेलर निरौलाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीसँग सहकार्य गरेर कारागारमै स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
महोत्तरीमा दिवा खाजामा छेपारो फेला परेको दावी, दर्जनौं विद्यार्थी विरामी
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ स्थित आदर्श माध्यमिक विद्यालय रतौलीका दर्जनौं विद्यार्थी अस्पताल भर्ना भएका छन् ।
बिहीबार दिउँसो १ बजे विद्यालयमा दिवा खाजा खुवाउने क्रममा विद्यार्थीहरुलाई दिइएको सुजीको हलुवामा मरेको छेपोरो भेटिएको थियो ।
मरेको छेपारोको विभिन्न शरीरका अंगहरु अलग अलग विद्यार्थीका खाजामा फेला परेपछि विद्यार्थीहरुले खाजा बनाएर दिने विद्यालयका महिला कर्मचारीलाई बताएपछि उल्टै हप्काएको विद्यार्थीहरुको भनाई छ ।
विद्यार्थीहरुले खाजामा छेपारो भेटेको गाउँका व्यक्तिहरुलाई अवगत गराएपछि विद्यार्थीका अभिभावकसहित गाउँवासी विद्यालय पुगेका थिए । सो क्रममा उनीहरुले प्रधानाध्यापक दिनेश दासमाथि आक्रोश पोख्नुका साथै चप्पल प्रहार गरेका थिए ।
आक्रोसित अभिभावकले विद्यालयका कुर्सी, टेबुल, ढोका तोडफोड पनि गरेका छन् । स्थिति तनावपूर्ण बनेपछि नजिकको प्रहरी चौकीका प्रहरी अधिकारीहरु विद्यालय पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
यता, दर्जनौ विद्यार्थीलाई बेहोस हुन थालेपछि अभिभावकहरुले आफ्ना बच्चाहरुलाई प्रादेशिक अस्पताल जनकपुर ल्याएर उपचार गराइरहेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पस स्ववियू सह–सचिवमा सुलभ लिम्बु
धरान । धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) सह–सचिवमा सुलभ लिम्बु चयन भएका छन् ।
समाजवादी विद्यार्थी युनियन क्याम्पस समितिको सिफारिसमा समानुपातिकतर्फ स्ववियू सदस्य बनेका लिम्बुलाई शुक्रवार बसेको स्ववियू बैठकले आवश्यक बहुमतका आधारमा सह–सचिवमा चयन गरेको हो । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियू मिश्रित निर्वाचन प्रणालीअनुसार समानुपातिकतर्फ निर्वाचित सदस्यहरू मध्ये बाट सहमति वा बहुमतका आधारमा उपाध्यक्ष र सह–सचिव चयन गर्ने व्यवस्था गरिएको छ । सोही व्यवस्था अन्तर्गत बहुमतीय आधारमा लिम्बु सहसचिव चयन भएकाहुन ।
०८१ चैत ५ गते सम्पन्न स्ववियू निर्वाचनमा समानुपातिकतर्फ मुइङ्हाङ लावती निर्वाचित भएका थिए । तर कार्यकालकै बीचमा नेपाल प्रहरी सहायक निरीक्षकमा उत्तीर्ण भएपछि उनले पद त्याग गरेका थिए । त्यसपछि समाजवादी विद्यार्थी युनियन क्याम्पस समितिका अध्यक्ष संयोगिता राई र सचिव अभिनाष कुमारको सिफारिसमा लिम्बुलाई स्ववियू सदस्यमा पठाइएको हो । सोही सिफारिसपछि स्ववियू बैठकले उनलाई सह–सचिवमा चयन गरेको छ ।
चैत ५ को उक्त निर्वाचनमार्फत क्याम्पसको स्ववियू अध्यक्षमा स्वतन्त्र उम्मेदवार पेशल राज कार्की र कोषाध्यक्षमा नाम्छाहाङ राई विजयी भएका थिए भने बाँकी सदस्यहरू विभिन्न दलगत संगठनबाट निर्वाचित भएका थिए ।
सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय पार्न दूरसञ्चार प्राधिकरणलाई सरकारको निर्देशन
काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले मन्त्रालयमा सूचीकृत भएका बाहेक सम्पूर्ण सामाजिक सञ्जाल प्ल्याटफर्महरू क्रमशः निष्क्रिय गर्ने प्रक्रिया सुरु गर्ने भएको छ ।
यसका लागि मन्त्रालयले दूरसञ्चार तथा इन्टरनेट सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइसकेकोछ ।
आज बिहिवार मन्त्रालयमा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार नेपालमा शुचिकरण हुन नआएका सामाजिक सञ्जाल प्लयाटफर्महरूलाई तत्काल निष्क्रिय बनाउने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको आदेश र मन्त्रीपरिषद्को भदौ ९ गते निर्णयको कार्यान्वयन गर्न मन्त्रालय यस्तो प्रक्रिया थालेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।
उनले भने, ‘सर्वोच्च अदालतको प्रधानन्यायाधिश सहितको इजलासले अदालतको अपहेलना सम्बन्धी मुद्धा नं २०८० सिइएफ ००१२मा स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जालहरूलाई अनिवार्य रूपमा सम्बन्धित निकायमा सूचिकरण गराउने नेपाल सरकारले आदेश दिएको छ । उक्त आदेश पालना गर्नको लागि नेपाल सरकार मन्त्रीपरिषद्ले २०८२ भदौ ९ मा गरेको निर्णय अनुसार नेपालमा सामाजिक सञ्जाल प्ल्याटफर्महरू सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नेपाल सरकारले जारी गरेको सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्ने निर्देशिका २०८० बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आफ्नो प्लेटफार्मको सूचिकरणको लागि तोकिएका कागजातसहित सात दिनभित्र निवेदन दिनुपर्ने छ ।’
मन्त्रीका अनुसार सरकारकाले पटक पटक सूचना जारी गरि जानकारी गराउदा पनि प्लाटफर्महरूले आँटेरी गरेको हुँदा यस्तो बाध्यात्मक अवस्था आएको हो ।
‘सूचिकरण गर्न एक पैसा पनि लाग्दैँन् । हाम्रो उदेश्य सधैँलाई बन्द गर्न खोजिएको होइन । उनीहरू सम्पर्कमा आउना साथ पुन सुचारु हुनेछ । सूचीकृत भइसकेका र प्रक्रियामा रहेकालाई बन्द गरिएको छैन । समय लाग्ला भनेर स्वनियमनको लागि हामीले सूचना जारी गरेका थियौँ । पहिला महिना, दोस्रो महिना, तेस्रो महिना कोही आएन त्यसपछि फेरि कूटनीतिक माध्यमबाट कुराकानी गर्ने प्रयास गरेका थियौँ । त्यसमा पनि उनीहरू सहमत भएन, उनीहरूले नेपालको संविधान, नीति नमान्ने जस्तो ठूला ठूला कुरा पनि गरे, यो कुराहरू पनि हामी सहेकै थियौँ । अत्ति भईसके पछि हामीले यो निर्णय गरेका हौँ ।’
साथै, मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठकुरले हाल सम्म टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको जानकारी दिए ।
उनले भने, ‘मन्त्रालयले गरेको एक अध्ययन अनुसार नेपालमा हाल २५ वटा जति सामाजिक सञ्जाल प्ल्याट फर्महरु बढी सक्रिय रूपमा प्रयोग भएका छन् । तर, कति वटा बन्द हुन्छ यकिन छैन, हजारौँ प्ल्याटफर्म बन्द हुन सक्छन् । त्यसमा टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ सूचीकृत भइसकेको र टेलिग्राम र ग्लोबल डाइरी सूचीकृत हुने प्रक्रियामा रहेको छ ।’
दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ
काठमाडौं । नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् ।
बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा धर्नामा बस्ने कार्यक्रमको अन्तिम चरणमा रहेको बताएका हुन् ।
अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभए दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गरी कडा आन्दोलन गर्ने बताए ।
‘आज धर्नाको कार्यक्रम अन्त्य हुन्छ । भोलि हामी बैठक बस्दैछौ । बैठकपछि दोस्रो चरणका कार्यक्रमको सार्वजनिक गर्छौ । विस्तारै आन्दोलनले गति समात्दैछ । हिजो ०८१÷०८२ मा भएको भन्दा कडा आन्दोलन हामी गर्छौ,’उनले भने ।
उनले धर्नामार्फत राजनीतिक दलका नेताहरुलाई प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट शिक्षकहरुको समस्याको समाधान गरिदिन ध्यानाकर्षण पत्र बुझाएको बताए ।
उनले भने,‘हाम्रो मुल मुद्दाहरु प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट समाधान गरिदिनुपर्छ भन्नलाई आएका हौं । ध्यानाकर्षण पत्र पनि पेस गरेका छौ । प्रतिनिधि सभा र राष्ट्रिय सभाले कुन ढङगले काम गर्छ त्यो अनुसार हाम्रो आन्दोलनको रुप अगाडि आउँछ । यदी ऐन जारी हुने दिशातिर गयो भने अबको लडाई संशोधनको हुन्छ ।’
उनले महासंघको बैठक भोलि(शुक्रबार) बसी नयाँ कार्यक्रमहरुको सार्वजानिक गर्ने जानकारी समेत दिए ।
नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक आईजीपी चन्द्र कुवेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।
दर्ज्यानी चिह्न ग्रहणन पछि आईजीपी खापुङले गृहमन्त्रालयले सुम्पिएको जिम्मेवारी निष्ठा,पेसागत अनुशासन र पारदर्शिता भावकासाथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘नेपाल सरकार, गृहमन्त्रालयले मलाई सुम्पिएको यो जिम्मेवारी मेरो निष्ठा,पेसागत अनुशासन,पारदर्शिता भावकासाथ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त चाहन्छु ।’
उनले प्रहरी जस्तो पवित्र सेवालाई आफ्नो स्वेच्छाले रोजेर प्रारम्भ गरेको आफ्नो तीन दशक लामो संघर्षको स्मरण समेत गरे । उनले आजै प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी छ।
सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो। हालका प्रहरी महानिरीक्षक दीपक थापा हिजोदेखि नै अनिवार्य अवकाशमा गएका छन् ।
आईजीपी खापुङको प्रतिबद्धता : निष्ठा, अनुशासन र पारदर्शितासाथ जिम्मेवारी निर्वाह गर्ने
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/-vXAp9z8o84?si=HZSxzcl8CE2o6TEf" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
‘प्रधानमन्त्रीको चीन भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गरेको छ’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणले अन्तर्राष्ट्रियजगतमा नेपालको प्रतिष्ठालाई थप अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको बताएका छन् । जनवादी गणतन्त्र चीनको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधवार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र सचिव अमृतबहादुर राईले यस्तो बताएका हुन् ।
चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली भदौ १४ मा त्यसतर्फ प्रस्थान गरेका थिए ।
सचिव राईले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति एवं उपराष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता तथा अन्य विभिन्न राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटवार्ता भएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीको भ्रमणको मूल उद्देश्य चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिई सो सङ्गठनमा नेपालको सहभागिताको स्तर अभिवृद्धि गर्नाका साथै त्यसमार्फत नेपालको राष्ट्रिय हित प्रवर्धन गर्नु रहेको थियो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भदौ १४ गते चीनका राष्ट्रपति सीसँग थियानजिनमा भेट गरी द्विपक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा खुला र हार्दिकतापूर्ण छलफल गरेको मन्त्रालयले जनाएको छ ।
सचिव राईका अनुसार शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्ध समस्यारहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकास प्रयासमा निरन्तर सहयोगका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गरेको बताए ।
प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबिच हालै भएको समझदारीप्रति आपत्ति जनाउँदै उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गरेको सचिव राईले जानकारी गराए ।