अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै
काठमाडौँ । कीर्तिपुर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ ।
सोमवार अस्पतालले विज्ञप्ति जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो ।
अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केही दिन थप उपचार हुने जानकारी गराएको छ ।
साथै, मेयरज्यूलाई हुने भेटघाट पनि सङ्क्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।
सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा, युरोपियन युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ २३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ ४९ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९३ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १० पैसा र बिक्रीदर नौ रुपैयाँ १४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्री दर ३१ रुपैयाँ ३९ पैसा कायम भएको छ ।
बन्धकहरू रिहा हुनेक्रम जारी, सम्झौता कार्यान्वयन भएकोमा खुसी
एजेन्सी । प्यालेस्टिनी लडाकु समूहहरूले शनिवार गाजामा राखिएका थप तीन इजरायली बन्धकहरूलाई रिहा गरेका छन् । तर त्यसको बदलामा ३६९ प्यालेस्टिनी कैदी र बन्दीहरूको मुक्त गरेका छन् ।
रिहा गरिएका इजरायली बन्धकहरू २९ वर्षीय इजरायली र रुसी नागरिक अलेक्जेन्डर साशा ट्रोफानोभ, ३६ वर्षीय इजरायली–अमेरिकी नागरिक सागुई डेकेल चेन र ४६ वर्षीय इजरायली–अमेरिकी नागरिक इयर होन रहेका छन् । उनीहरू सन् २०२३ अक्टोबरमा हमास नेतृत्वको हमलामा दक्षिण इजरायलबाट अपहरणमा परेका हुन् ।
ट्रोफानोभलाई उनकी आमा, हजुरआमा र पार्टनरका साथ अपहरण गरिएको थियो । र तीनै जना महिलाहरूलाई सन् २०२३ को नोभेम्बरमा भएको अघिल्लो बन्धक सम्झौतामा रिहा गरिएको थियो । उनका पिता अपहरण गरिएको दिन मारिएका थिए ।
शनिवार रिहा भएका प्यालेस्टाइनमध्ये ३६ जना आजीवन कारावासको सजाय भोगिरहेका थिए र अक्टोबर ७ मा भएको हमलापछि इजरायलले गाजा पट्टीबाट पक्राउ गरेका ३३३ जना बन्दी थिए।
हमासले सुरुमा इजरायलले सम्झौताको उल्लङ्घन गरेको भन्दै निर्धारित बन्धक रिहाइमा ढिलाइ गर्ने योजना बनाएको थियो। जवाफमा इजरायलले शनिवार दिउँसोसम्म बन्धकहरूलाई रिहा नगरे गाजामा फेरि आक्रमण गर्ने धम्की दिएको छ।
बिहीबार, हमासले इजिप्ट र कतारी अधिकारीहरूसँगको वार्तापछि थप बन्धकहरूलाई रिहा गर्न अगाडि बढ्ने बताएको थियो। समूहले भन्यो कि मध्यस्थहरूले इजरायलले गाजामा थप पाल, चिकित्सा आपूर्ति र अन्य अत्यावश्यक वस्तुहरू अनुमति दिने सुनिश्चित गर्न ‘सबै अवरोधहरू हटाउन’ वाचा गरेका थिए।
गाजाबाट हालसम्म १९ इजरायली बन्धक र पाँच थाईलाई रिहा गरिएको छ भने इजरायली अधिकारीहरूले १,००० भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेका छन्।
इजरायली प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भने कि हमासले पछि हटेको छ र बन्धक रिहाइ जारी राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि गाजामा बन्धकहरूलाई शनिवार दिउँसोसम्म रिहा गरिएन भने, युद्धविराम खारेज गरिने चेतावनी दिएका थिए ।
द्वन्द्वका दुबै पक्षले बन्दीहरूको नयाँ समूहको आदानप्रदान पूरा गरेपछि, गाजाका धेरै बासिन्दाहरू युद्धविराम सम्झौता कार्यान्वयनमा जारी रहेकोमा खुसी छन्।(सीसीटीभीप्लस)
केवलकार निर्माणको समर्थन गर्ने पदम माबोलाई कालोमोसो
धरान । मुकुम्लुङ केवलकार निर्माण पक्षका पदम चेन्जी माबोलाई धरानमा कालो मोसो लगाइएको छ । आइतवार उनलाइ नो केवलकार पक्षका कार्यकर्ताहरूले धरानको पुतली लाइनमा कालोमोसो दलेका हुन् ।
माबोले केवलकार निर्माणको समर्थन गरेको र केवलकार निर्माण विरोध पक्षधरलाई सार्वजनिक रूपमा गाली गलौज गरेको भनी उनिहरूले कालोमोसो दलेका हुन ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम,जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव विष्णु थाम्देन र पहिचानवादी मोर्चाका नेता जेन्टल लावति लगायतको उपस्थितिमा उनलाई कालो मोसो दलिएको हो ।
केवलकारको चौतर्फी विरोध भएपछी सरकार पक्षले सरोकारवाला संग वार्ता गराउदा तत्काल निर्माण कार्य रोकिने बताए पनि पुनः निर्माण पक्षले निर्माणको काम थालेपछी मुकुम्लुङ बचाउ सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको छ।
माबोले आफूलाई दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न कालो मोसो दल्ने विरुद्ध कारबाहीका लागि प्रहरीमा किटानी जाहेरी दिने बताए।
वर्षमानलाई प्रधानमन्त्रीको जवाफ : आफू अर्थमन्त्री हुँदाको अवस्था स्मरण गर्नुहोला
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनलाई अर्थतन्त्रको चिन्ता लिनुअघि आफू अर्थमन्त्री हुँदा कस्तो अवस्था थियो भनेर स्मरण गर्न आग्रह गर्दै जवाफ फर्काएका छन् ।
देशको अर्थतन्त्र झन कमजोर भएको र सरकार अध्यादेशमै रमाइरहेको भन्दै पुनले प्रधानमन्त्रीसँग जवाफ माग गरेका थिए ।
पुनको प्रश्नको जवाफमा ओलीले सातमहिना अघि आफैँ प्रधानमन्त्री हुँदाको अवस्था हेर्न आग्रह गरे ।
उनले भने, ‘देशको अर्थतन्त्रका चिन्ता गर्नुभएकोमा यस अघिका अर्थमन्त्रीलाई सातमहिना अघि तपाईं आफैं अर्थमन्त्री हुनुहुन्थ्यो । त्यससमय अगाडि र त्यसयताको मूल्य वृद्धिको अनुपात हेर्न म यहाँलाई आग्रह गर्दछु । हाम्रो पुँजीगत खर्च कम छ । तर माननीयज्यू अर्थमन्त्री भएको तुलनामा भने अलि बढी नै छ ।’
उनले आफू नेतृत्वको सरकार आएपछि अर्थतन्त्रको सुधारको लागि गम्भीर काम गरिरहेको र सुधारका नतिजा देखिन थालेको पनि दाबी गरे।
‘असारमा धान नरोपेपछि नै हो मंसिरमा धान नफल्ने, अघिल्लो सरकारका नीति, खर्चका प्राथमिकतालाई अलग्गै राखेर अहिले अर्थतन्त्र सुध्रेन भन्नु राम्रो हुँदैन । तर, अहिले हामी कानुनमा भएका अप्ठ्याराहरूलाई पनि हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने, उत्पादन बढाउने काम गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो देशको सार्वभौम साख मूल्याङ्कन आएको छ । यसको अर्थ के हो ? अन्तर्राष्ट्रिय जगतले नेपाललाई लगानीयोग्य, सुरक्षित देशको रूपमा हेर्न थालेको छ । कर तथा भन्सार प्रणालीलाई डिजिटल बनाउँदै, महसुल भुक्तानी सहज पारिएको छ । नेपाल राष्ट्र बैंकले ब्याजदरलाई घटाउने नीति ल्याएपछि बैंकहरूको ब्याजदर एकल अंकमा झरिसकेको छ । अब उद्योग, व्यापार, र स्टार्टअपहरूका लागि राम्रो अवसर छ ।’
पुनले सरकारले संसद् छलेर अध्यादेश ल्याएर संसद्लाई होच्याउने काम किन गरिएको भनेर प्रश्न गरेका थिए ।
ओलीले यसमा आफूले जवाफ दिइरहनु नपर्ने बताए । ’अध्यादेश ल्याएर संसद्लाई किन होच्याएको भन्ने माननीयज्यूको प्रश्नको मैले जवाफ दिइरहनु पर्दैन, किनभने म सम्माननीय सभामुख मार्फत २०८० वैशाख २० गतेको दिन सम्झन उहाँलाई आग्रह गर्दछु,’उनले भने, ’त्यस दिन उहाँ आफैँ सम्मिलित सरकारले संसद् सुरु हुनु भन्दा चार दिन अघि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा। तर आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउन सक्ने व्यवस्था संविधानले नै गरेको छ। हामीले नागरिकलाई सेवा प्रवाहमा छरितोपन ल्याउन, लगानीको वातावरण बनाउन र अर्थतन्त्रका समस्या हटाएर सुधार तर्फ लैजान अध्यादेश ल्याउनु परेको थियो, जुन संसद्मा दर्ता भइसकेका छन्। प्रक्रियाबाट नै यी पारित पनि हुन्छन्।
अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटन पूर्ण रूपमा बन्द
काठमाडौँ । शनिवार पोखराबाट जलनको घटनामा घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
अस्पतालले आइतवार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि सङ्क्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
प्रा.डा.वि.डी.झाडा प्रवीण गिरीलगायतका सघन उपचार कक्षको टोली ,प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली डा.निजीना ताम्रकार मेडिकल डाइरेक्टर लगायत उपचारमा संलग्न रहेका छन् ।
विद्यार्थीले सुरु देखिनै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत
जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विद्यार्थीहरूलाई विद्यार्थीकाल देखिनै राजनीतिमा लाग्न आग्रह गरेका छन् । उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आबद्ध हुन सुझाव दिएका हुन् ।
विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे। उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए ।
उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो । मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन । अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन । पूरा दिलबाट लाग्नुस् । अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ ।’
अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औँल्याए । उनले अखाडामा उत्रिने पहलमानले पिठ्युँमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे ।
उनले चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमी आदि निहुँ बनाएर जितबाट पन्छिनु नमिल्ने भन्दै कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए ।
उनले भने, ‘हामी नयाँ छौँ । अरु पूराना छन् । तिनीहरूसँग कसरी सक्ने भन्ने मानसिकता त्याग्नुस् । तिनीहरू पुराना भएर पनि केही गर्न नसकेको र तिनीहरूलाई हेरिसकिएको अवस्थामा पुराना भएको स्थितिलाई नस्वीकारनुस् । आफ्ना दृष्टि, गर्नुपर्ने कामका विवरण र विकृति सुधारका योजना नयाँ प्रविधिसमेतको प्रयोग गरी प्रसार गर्नुस् । नयाँ हुनुको फाइदा हामीसँग छ । नयाँ मोबाइल पुरानाभन्दा उन्नत हुन्छ ।’
प्रतिनिधिसभा बैठक बस्दै, आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर
काठमाडौँ । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
पोखरा घट्ना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम
काठमाडौँ । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिवार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।
समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।
उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए ।
प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अत्ति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा आगो बलेको थियो ।
मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति–प्रज्वलनशील हाइड्रोजन भरिएको बेलनको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन राख्दा घट्ना भएको अनुमान गरिएको छ ।
भ्रमण वर्षको लोगो झुन्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन विस्फोट भएपछि कार्यक्रम स्थलमा होहल्ला भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।
विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमका बारेमा ख्याल नगर्दा साथै सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयरलगायत अन्य व्यक्तिहरू घाइते भएका थिए ।
आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्याइएका थिए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो ।
पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई कीर्तिपुरमा उपचार भइरहेको छ ।
चिकित्सकहरूका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, सङ्क्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।
आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने?
१ सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ ।
२ तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ ।
३ पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन ।
४ गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ ।
५ पोलाइ गहिराइ छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । अस्पताल नै जानुपर्छ ।
जलनको प्राथमिक उपचार के हुन्छ ?
१. सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराइ र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ ।
२. छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ ।
३. तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ ।
४. आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र सङ्क्रमण हुने समभावना बढ्छ ।
५. पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ ।
पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरू के–के छन् ?
१ सतहमा रातो मात्र भएको छ की पानीको फोको नै आएको छ भनेर हेर्नुपर्छ ।
२ पोलाइको गहिराइ जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ ।
३ पानीको फोका आएर छालाको एक तह गयो भने सङ्क्रमण हुने समभावना हुन्छ ।
४ पोलेको गहिराइ र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।
लोसपाको असहमतिका कारण भूमि सम्बन्धी अध्यादेशमा पछि हट्यो सरकार
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको बिमती पछि सरकारले भूमि सम्बन्धी नेपाल ऐन संशोधन गर्न सरकारले ल्याएको अध्यादेशमा समेटिएको त्रुटिपूर्ण कुराहरू सच्याउन कार्यदल गठन गर्ने भएको छ ।
पार्टीका महासचिव डा.सुरेन्द्र झाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै अध्यक्ष महन्थ ठाकुरको अडान, विश्वसनीयता एवम् प्रभावकारी नेतृत्वले अध्यादेशमा समेटिएको त्रुटिहरू सच्याउन कार्यदल बनाउने र अन्य पाँचवटा अध्यादेश अगाडि बढाउने निर्णय भएको जानकारी गराएका हुन् ।
उनले सत्ता गठबन्धन अध्यादेशलगायत सम्पूर्ण चुनौती एक ढिक्का भइ सामना गर्न सहमत भएको बताए ।
यसको साथै, उनले लोसपा नेपालले उठाएको महत्वपूर्ण विषयहरू खासमा मधेसमा रहेको भूमिहीन नागरिकहरू मुसहर, डोम, हलखोर, चमार, दुसाध, संथार, राजवंशी, राणा थारू लगायतको भूमि तथा आवासको सुनिश्चितता, सार्वजनिक जग्गाको संरक्षण, वन क्षेत्रको संरक्षण, चूरे संरक्षण, जैविक विविधताको जगेर्नालगायतको कुराहरूलाई कार्यदलले समेट्ने कुरामा विश्वस्त भएर नै सरकारले भूमि सम्बन्धी अध्यादेश तत्काल अगाडि नबढाउने निर्णय सत्ता गठबन्धनले गरेको कुरा समेत जानकारी गराए ।

