नेपाल आइपुगेका विद्यार्थीले दिए प्रकृतिको आत्महत्याको घट्नाबारे विस्तृत जानकारी
काठमाडौँ । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्याको घटनाले बारे छानबिन गर्न र न्यायको माग गर्दै विभिन्न संघ, संस्थालगायत विद्यार्थीहरू आन्दोलित अवस्थामा छन् ।
विश्वविद्यालयमा पनि नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि नेपाली विद्यार्थीमाथि विश्वविद्यालयमा प्रतिबन्ध लगाउने, होस्टलबाट निकालेर रेल्वे स्टेसन पुर्याउने, कुटपिट गर्ने जस्ता घटना सार्वजनिक भएको छ ।
सोही विश्वविद्यालयको एयरोस्पेस संकाय तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी बेदानन्द मण्डलले उक्त घटना बारे विस्तृत जानकारी दिदैँ घटनापश्चात गल्स होस्टलका सबै केटीहरुलाई ताला लगाएर भित्रै थुनेको र लम्सालको मोबाइल, ल्यापटपमा छेड्खानी भएको बताएका छन् ।
उनले भने, ‘त्यसपछि गल्स होस्टलमा सबै केटीहरूलाई बाधेर राखेको छ भन्ने कुरा आयो किनभने बाहिर निस्कियो भने सबै कुरा बाहिर आउछ भनेर गेटमा ताला लगाएर भित्रै थुनेर राख्ने काम भएको थियो । हामीले पछि नारा लगाउन थाले पछि हामी सबैलाई लगेर २ घण्टा जतिको मिटिङ् जस्तो भयो र त्यो समयमा प्रकृति लम्सालको मोबाइल, ल्यापटपमा छेडखानी भएको छ । कोठाको सामानहरू सबै मिलाउने काम भएको रहेछ ।’
यसको साथै, उनले ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रीवास्तव एमेलेको छोरा भएको कारण कलेज प्रशासनले बचाउने प्रयास गरेको पनि बताए ।
उनले भने, ‘हामी घटना भएको ठाउँमा पुगेर ह्यारेसमेन्ट गर्ने केटा आड्भिक श्रीवास्तव कहाँ छ भनेर सोधपुछ गरेका थियौँ । आड्भिक श्रीवास्तव एमेलेको छोरा हो, मुख्य कुरा नै यही हो । त्यसको विरुद्धमा प्रकृतिले दुई पटकसम्म लिखित उजुरी र त्यो भन्दा बढि प्रशासनमा गएर उजुरी गरेको थियो । यसमा केही याक्सन भएको थिएन् । हामीले त्यो केटाको खोजी गर्दा उनीहरू पक्राउ परिसकेका छन् भन्ने कुरा आयो ।’
यसको साथै अर्को विद्यार्थी अमिश पाण्डेले पनि सामानहरूको छेडखानी पुलिसको सहभागितामा कलेज प्रशासनबाट भएको बताए ।
यसको साथै, उनले ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरूलाई कुटपिट गरेको भन्दै के हामी आतंकवादीहरू थियौं भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘त्यहाँ आन्दोलन गर्ने नेपाली विद्यार्थीहरूलाई कलेज प्रशासनले कुटपिट गरेको थियो । त्यसको भोलि पल्ट कलेजबाट नोटिस आयो, कलेजमा भएका जति पनि नेपाली विद्यार्थीहरू छन् उनीहरूलाई अर्को नोटिस नआएसम्मको लागि सस्पेन्ड गरिएको छ भनेर त्यसपछि होस्टल पनि छोडेर जाउ भनेर भन्नु भयो । ल ठिक छ भनेर हामी घर आउने तयारी गर्ने क्रममा ओडिसाको पुलिस, कलेजको डिन, प्रशासनका मान्छे, होस्टलको डाइरेक्टर सबैको अगाडि विद्यार्थीहरूलाई कुटपिट भईरहेको छ । बसमा राखेर पनि कुटि रहेको छ के हामी आतङ्कवादीहरू थियौँ ।’
जथाभाबी रूपमा विद्यार्थीहरूलाई बसमा चढाएर रेल स्टेसनमा अलपत्र छोडेको पनि उनीहरूको भनाई छ।
समाजवादी विद्यार्थी युनियनको आवाज जस्टिस फर प्रकृति लम्साल
धरान । भारतको उडिसा राज्य स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा अध्यायनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको संकास्पद मृत्यु भएको घटना प्रति समाजवादी विद्यार्थी युनियनले विरोध जनाएको छ ।
मङ्गलवार समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस समिति धरानले क्याम्पसको मेनगेटमा आयोजना गरेको श्रद्धाञ्जली सभामा मृतक लम्सालको न्यायको माग गरेको हो ।
नेपाली विद्यार्थीहरू गुणस्तरीय शिक्षा प्राप्तिको सिलसिलामा अन्यत्र जानु परेको अवस्थाको परिणाम आज प्रकृति लम्साल जस्ता धेरै नेपाली विद्यार्थीहरूले अकालमा मृत्युहुने अवस्थाहरू दोहोरीरहेको छ विदेश पढ्न कमाउन गएका विपिन जोशीहरू आज सम्म बेपत्ता भएको कारण हामी पिडामा नै छौँ फेरी थप पिडितहुनु पर्ने अवस्था भएकोछ यस प्रकारको घटना दोहोरिन नदिन सरकार गम्भीरहुन आवश्यक छ समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस अध्यक्ष बिजय राईले भने । नेपालको शैक्षिक स्थिति प्रति गुनासो राख्दै अबको दिनमा यो प्रकारको घटना दोहोरिन नदिनको लागि राज्यलाई ध्यानाकर्षण समेत उनले गरे ।
कार्यक्रममा समाजवादी युवा संघ प्रदेश सचिव रन्जित राई, जसपा धरान उपमहानगर कार्यकारिणी समिति सदस्य कौशिला चेमजोङ लगायतले बोलेका थिए ।
जस्टिस फर प्रकृति लम्साल,शैक्षिक माफिया होसियार,नेपाली विद्यार्थी माथिको दुर्व्यवहार बन्द गर लगायतको प्लेकार्ड सहितको नारा लगाएका थिए । उनिहरूले प्रकृति लम्सालको सम्झना गर्दै सामूहिक रूपमा मैनबत्ती बालेर शोक व्यक्त गरे ।
आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिने छ ।
प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारले प्रजातन्त्र दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
प्रधानमन्त्रीलाई संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदन हस्तान्तरण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल संस्कृत विश्वविद्यालयको जग्गा खोजबिन समितिले आज आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा सो समितिका संयोजक शेखरप्रसाद पौडेलले विश्वविद्यालयको विद्यमान जग्गाहरुको उपयोग, अतिक्रमणको अवस्था र अतिक्रमण हटाउन चालिनुपर्ने कदमका विषयमा सुझावसहितको प्रतिवेदन कुलपति ओलीलाई बुझाएको हो ।
नेपाल सरकार (मन्त्रिपरिषद्) को गत असार २० गतेको निर्णयबाट उच्च अदालतका पूर्व न्यायाधीश पौडेलको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोजबिन समिति गठन गरिएको थियो ।
समितिले दाङमा रहेको विश्वविद्यालयको कूल एक हजार छ सय ६२ बिगाहा जग्गा रहेको र देउखुरी क्षेत्रमा एक हजार तीन सय ३६ बिगाहामध्ये नौ सय १० बिगाहा अतिक्रमण भई २०५९ देखि ती जग्गाबाट विश्वविद्यालयले कुनै आम्दानी प्राप्त नगरेको पाइएको बताए । सोही क्षेत्रमा विश्वविद्यालयको दुई सय बिगाहा जमिन राप्ती नदीले कटान गरेको पाइएको छ ।
संयोजक पौडेलले जग्गालाई उपयोगमा ल्याउन लिजमा दिन सकिने र अतिक्रमण हटाउन सरकार र राजनीतिक दलको सहयोग आवश्यक हुने सुझाव दिए ।
प्रधानमन्त्री ओलीले प्रतिवेदन ग्रहण गर्दै अध्ययन र छलफल गरेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास दिलाउँदै विश्वविद्यालयहरुमा तालाबन्दी र अतिक्रमणजस्ता अवाञ्छित क्रियाकलाप रोकिनुपर्नेमा जोड दिए । प्रतिवेदन हस्तान्तरणका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई पनि सहभागी थिए ।
‘सरकारले सदनप्रति देखाएको अनुत्तरदायी व्यवहारले लज्जावोध भयो’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सरकारले सदनप्रति देखाएको अनुत्तरदायी र जवाफहीन व्यवहारले लज्जावोध भइरहेको बताएकी छिन् । सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आज भन्दा पाँच महिना अगाडि साउन २१ मा सदनमा नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषयमा सरकारसँग जवाफ माग गरेको तर आजसम्म पनि त्यसको जवाफ नआएकोमा आपत्ति जनाइन् ।
उनले भनिन्,‘आज मलाई यो सरकारले सदनप्रति देखाएको अनुत्तरदायी जवाफहिन व्यवहार देखेर जज्जावोध भइरहेको छ । आज भन्दा पाँच महिना अगाडि साउन २१ २०८१ मा यही सदनमा उभिएर मैले नेपाल रेडक्रस सोसाइटीमा भएको चरम भ्रष्टाचारको विषय उठाएको थिए । महिला बालबालिका मन्त्रालय,समाज कल्याण परिषद् अन्तर्गत भएको १७ औं छानबिनको १७ औं प्रतिवेदन सार्वजनिक गरियोस् । दोषीलाई कारबाही गरियोस् भनेर माग गरे । टेन्डर खरिद गर्दा चलखेलको विषय र केन्द्रीय कार्यसमितिको बैद्यानिकताको विषयमा सरकारसँग जवाफ मागेको थिए । तर न प्रतिवेदन सार्वजनिक भयो । न सरकारले जवाफ दियो । न सरकार संवेदनशील देखियो र त संसद नै ।’
सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पारित गर्न मिल्दैन् : डा. कोइराला
काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक जस्ताको त्यस्तै पास हुने हो भने अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा उनले नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नपाउने कुरामा दुई मत नभएको भन्दै विधेयक फिर्ता गरेर सामाजिक सञ्जाल प्रयोग गर्नेहरूसँग बसेर छलफल गर्नुपर्ने बताए ।
उनले भने, ‘सामाजिक सञ्जाल विधेयक भर्खर संसदमा गएको छ, छलफल हुन बाँकी नै छ । जसरी यो विधेयक आएको छ र जस्ताको त्यस्तै पास भयो भने मानिसको अभिव्यक्ति स्वतन्त्रतामाथि नै आघात पुग्छ । नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न पाइदैँन् भन्ने कुरामा दुई मत छैन् । कुनै पनि हालतमा विधेयक फिर्ता गरेर स्टेक होल्डर र अन्य सामाजिक सञ्जालको प्रयोग गर्नेहरूसँग बसेर छलफल गरेर मात्र विधेयक ल्याउन जरुरी छ ।’
सरकारले ल्याएका अध्यादेशहरु विचौलिया पोस्ने खालका छन् : राजेन्द्र महतो
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले संसदमा पेश विधेयक एवं अध्यादेशहरू औपनिवेशिकताको निरन्तरता भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष राजेन्द्र महतोले विज्ञप्ति जारी गर्दै सरकारले ल्याएको अध्यादेश र विधेयक जनविरोधी भएको आरोप लगाएका छन् । ‘भूमि सम्बन्धी अध्यादेशले सार्वजनिक जग्गा, खोला, वन, निकुञ्ज, गौचर, हाटघाट, सडक छेउको जग्गा र बुट्यान क्षेत्रलाई अतिक्रमण गर्नेहरूलाई प्रोत्साहन गर्न खोजेको प्रष्ट छ । भ्रष्टाचार गर्न, कमिसन खान, सरकार नजिकका व्यक्तिहरू एवं ठूला रियल स्टेट व्यापारीहरूलाई फाइदा पुर्याउने उद्देश्यले ल्याएको यो अध्यादेश आइ एल ओ–१६९, युएनड्रिप विपरीत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सहकारीसम्बन्धी अध्यादेशले सहकारी संस्थाहरूको स्वायत्तता कम गरी सरकारी नियन्त्रण बढाउन केन्द्रित रहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सहकारी ठगीमा संलग्न आफ्ना व्यक्तिहरूलाई चोख्याउने, उन्मुक्ति दिने कुत्सित नियत झनै खतरनाक छ । सुशासन सम्बन्धी अध्यादेशले सरकारी कर्मचारीहरूको नियुक्ति, स्थानान्तरण, पदोन्नतिमा पारदर्शिता कम गरी राजनीतिक हस्तक्षेप बढाउन केन्द्रित छ ।’
आर्थिक तथा व्यवसायिकसम्बन्धि अध्यादेशले पर्यावरणीय मानकहरूलाई कमजोर पारी प्राकृतिक स्रोतहरूको दोहन बढाउन केन्द्रित रहेको उल्लेख छ ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक आलोचनात्मक आवाजहरूलाई दबाउन केन्द्रित रहेको भन्दै कठोर सजाय वा जरिवानासहित अस्पष्ट भाषामा लेखिएको कानुनले नियन्त्रण बढाउने, सत्ताधारी पार्टीको स्वेच्छाचारिता हुने तथा बोलेकै, लेखेकै वा अरू कसैको पोस्ट लाइक वा शेयर गरेकै भरमा कसैलाई थुन्ने वा कारबाही गर्ने कानुन ल्याउनु भनेको सरकारले सामाजिक सञ्जाललाई दमनकारी औजारको रूपमा प्रयोग गर्न खोजेको उल्लेख छ ।
सरकारले ल्याएको अध्यादेश आफ्ना विचौलिया पोस्ने, कमिसन खानेतर्फ मात्र होइन अन्यत्रैबाट बसाइसराइ वृद्धि गराई त्यहाँका स्वदेशी (मधेशी, थारु, आदिवासी) लाई विस्थापन गर्न, लखेट्न केन्द्रित रहेको आरोप छ
प्रलिशाले जितिन् ‘मिस नेवाः ११४५’ को उपाधि
काठमाडौँ । ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को उपाधि जितेकी छिन् । नेप्लीज फेसन होमले कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको समारोहमा आफ्ना १९ जना प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै प्रलिशाले आकर्षक क्राउनसहित उपाधि जितेकी हुन् ।
‘मिस नेवाः ११४५’ को उपाधिसहित प्रलिशाले नगद एक लाख रुपैयाँ तथा अन्य विभिन्न उपहारहरू प्राप्त गरिन् । नाथम कलेजबाट पर्यटन विषयमा स्नातक उत्तीर्ण गरेकी प्रलिशा अहिले नेपाल दर्शन कम्प्लिट टुरिजम प्रालिमा कार्यरत छिन् ।
मञ्जु बज्राचार्य तथा प्रदिप शाक्यकी सुपुत्री प्रलिशा पाँच फिट तीन इन्च अग्ली छिन् । नेप्लीज फेसन होमले नै सन् २०१३ मा आयोजना गरेको मिस लिटिल नेवाः ११३३ मा पनि प्रलिशा मुख्य उपाधि नै जितेकी थिइन् ।
प्रलिशा पछिल्लो एक दशकदेखि सञ्चार माध्यममा पनि आबद्ध छिन् । यो प्रतियोगितामा प्रलिशाले बेस्ट नेपाल भाषाको टाइटल अवार्डसमेत जित्न सफल भएकी छिन् । काठमाडौँ उपत्यकाका विभिन्न नगरपालिका तथा जिल्लाबाट आएका २० जना प्रतिस्पर्धिहरुबिचको यो प्रतियोगितामा चन्द्रागिरी नगरपालिका, नैकापकी लूनिभा मानन्धरले फस्ट रनर्सअपको उपाधि जितिन् भने चमती, काठमाडौँकी लुमना महर्जनले सेकेन्ड रनर्सअपको उपाधिमा जित्न सफल भइन् ।
उनीहरूले क्रमशः २५ हजार रुपैयाँ तथा १५ हजार रुपैयाँसहित विभिन्न उपहारहरू प्राप्त गरे । प्रतियोगिताका अन्य विजेताहरूतर्फ श्रद्धा महर्जनले मिस ट्यालेन्टका साथमा सोसल वेलफेयर सेकेन्ड रनर्सअपको उपाधि पनि जितिन् भने अनुश्री शाक्यले मिस ट्यालेन्ट फस्ट रनर्सअप तथा श्रीया मानन्धरले मिस ट्यालेन्ट सेकेण्ड रनर्सअपको उपाधि जितिन् ।
प्रतियोगितामा रोनिशा महर्जनले सोसल वेलफेयर एम्बासडर चिफको उपाधि जितिन् भने डिबिना डंगोलले सोसल वेलफेयर एम्बासडर फस्ट रनर्सअपको उपाधि जितिन् । प्रतियोगितामा प्रसिद्धि शाक्यले मिस डिसिप्लिनको उपाधि जितिन् भने अल्पा महर्जनले मिस पब्लिक च्वाइसको अवार्ड जितिन् ।
प्रतियोगिताका अन्य अवार्डहरूमध्ये प्राश्ना श्रेष्ठले बेस्ट ड्रेस, रितिशा बज्राचार्यले मिस कल्चर, संस्कृति श्रेष्ठले मिस कन्फिडेन्ट, सुभेक्षा श्रेष्ठले मिस पर्सनालिटी, रिम्षा श्रेष्ठले बेस्ट हेयर, रमुना बज्राचार्यले बेस्ट स्किन, कुन्ता श्रेष्ठले मिस फोटोजेनिक, अनुषा बज्राचार्यले बेस्ट स्माइल, शुवास्ना श्रेष्ठले मिस चार्मिङ तथा रुजी शाक्यले मिस फ्रेण्डशीपको उपाधि जित्न सफल भए । प्रतियोगितामा सरस्वती मल्टिपल क्याम्पसका प्रमुख दिव्या लक्ष्मी बज्राचार्य मुख्य निर्णायकको रूपमा रहेकी थिइन् ।
नेपाल नागरिकता दोस्रो संशोधन विधेयक स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमवार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।
अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए । आइतवार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।
यसैगरी प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९÷०८० र सातौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०÷०८१ सदन समक्ष पेस गरेका हुन् ।
आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल
काठमाडौंः बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।
विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्र्तगत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने संगठनले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।
‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका छौं, मन्त्री पौडेलले सन्देशमा भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।’
मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे ।
प्राप्त औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
’बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधीले महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीज्यूको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्वपूर्ण निर्णय हो ।’





