गुगल म्यापद्वारा एआईमा आधारित ‘आस्क म्याप’ सार्वजनिक
काठमाडौं । गुगलले आफ्नो नेभिगेसन सेवा गुगल म्यापमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आधारित नयाँ सुविधाहरू सार्वजनिक गरेको छ । एक दशकभन्दा बढी समयपछि गरिएको यो ठूलो अपडेटले नेभिगेसन र यात्रा योजना अझ सहज, संवादात्मक र यथार्थपरक बनाउने कम्पनीको लक्ष्य रहेको छ ।
यो अपडेटको केन्द्रमा ‘आस्क म्याप’ नामक नयाँ सुविधा रहेको छ, जसलाई गुगलको नवीनतम जेमिनाइ एआई मोडेलले सञ्चालन गर्छ । यस सुविधामार्फत प्रयोगकर्ताले म्याप एपभित्रै प्राकृतिक भाषामा जटिल प्रश्न सोधेर स्थान, यात्रा योजना वा मार्गसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् । यो सुविधा हाल अमेरिका र भारतमा एन्ड्रोइड तथा आईओएस उपकरणमा सुरु गरिएको छ ।
गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पछाईले सामाजिक सञ्जाल एक्स मार्फत यस अपडेटबारे जानकारी दिँदै यसलाई अझ बुद्धिमान नेभिगेसन उपकरणतर्फको महत्वपूर्ण कदम बताएका छन् । ‘आस्क म्याप’ सुविधामार्फत प्रयोगकर्ताले “परिवारसँग तीन घण्टाको हाइकिङका लागि उपयुक्त स्थान कहाँ छ ?”, “नजिकै फोन चार्ज गर्ने ठाउँ कहाँ छ ?” वा “राति खेल्न मिल्ने सार्वजनिक टेनिस कोर्ट कहाँ छ ?” जस्ता प्रश्न सोधेर जानकारी पाउन सक्छन् ।
गुगलका अनुसार यो सुविधा विश्वभरका ३० करोडभन्दा बढी स्थानसम्बन्धी तथ्यांक र ५० करोडभन्दा बढी योगदानकर्ताबाट प्राप्त जानकारीमा आधारित छ । यसले प्रयोगकर्तालाई व्यक्तिगत सुझाव दिनुका साथै नक्सामै ती स्थानहरू देखाउने गर्छ । यससँगै गुगलले ‘इमर्सीभ नेभिगेसन’ नामक अर्को सुविधा पनि सार्वजनिक गरेको छ, जसलाई पछिल्लो दशकको सबैभन्दा ठूलो नेभिगेसन अपडेट भनिएको छ ।
जेमिनाई मोडेलको सहयोगमा यो सुविधाले सडक, भवन, चोक, ट्राफिक बत्ती र अन्य संरचनाहरूलाई यथार्थपरक ३डी दृश्यमा प्रस्तुत गर्छ । यसले चालकलाई सडक बारे स्पष्ट जानकारी दिने, लेन गाइड देखाउने, मोड वा निकासबारे पहिले नै तयारी गर्न सहयोग गर्ने लगायत सुविधा प्रदान गर्ने बताइएको छ ।
गुगलका अनुसार एआई प्रविधिसँग म्यापिङ डेटा संयोजन गरेर डिजिटल नक्सालाई अझ उपयोगी बनाउने प्रयास गरिएको हो । कम्पनीले यस अपडेटलाई एआई आधारित नेभिगेसनको नयाँ युगको सुरुआतका रूपमा व्याख्या गरेको छ । एएनआई
नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५ र ६ गते काठमाडौंमा
काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौंमा हुने भएको छ । महासंघले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको उद्घाटन समारोह चैत ५ गते दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने तय गरिएको जानकारी गराएको हो ।
उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम रहेको महासंघले जनाएको छ । त्यसअघि सोही दिन बिहान राजधानीको भृकुटीमण्डपबाट आदिवासी जनजाति समुदायका विभिन्न जातीय पोशाक, सांस्कृतिक झाँकी, नाचगान तथा र्यालीसहितको विशाल नगर परिक्रमा गरिनेछ ।
नगर परिक्रमा भृकुटीमण्डपबाट सुरु भई भद्रकाली मन्दिर, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल र घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।
महाधिवेशनको मूल नारा ‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानका आधारमा प्रदेशहरूको पुनः नामाङ्कन गर’ तय गरिएको छ ।
महाधिवेशनको बन्द सत्र चैत ६ गते काठमाडौंको स्वयम्भू स्टार ब्याङ्केटमा हुने महासंघले जनाएको छ । बन्द सत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धन संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषद्बाट ५०० भन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने अपेक्षा गरिएको छ ।
महाधिवेशनलाई सफल बनाउन महासंघले विभिन्न उपसमिति गठन गरी तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, खाद्य तथा आवास, आर्थिक व्यवस्थापन, लजिस्टिक, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन, अतिथि सत्कार लगायतका उपसमितिहरूले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेका छन् ।
२०४७ सालमा स्थापना भएको नेपाल आदिवासी जनजाति महासंघ नेपालका आदिवासी जनजातिहरूको छाता संगठन हो ।
महासंघले आदिवासी जनजातिहरूको सामूहिक अधिकार, प्राकृतिक स्रोतमा अग्राधिकार, पहिचान, भूमिअधिकार तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरणका विषयमा निरन्तर आवाज उठाउँदै आएको जनाएको छ ।
११औँ राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक गेल्जे लामा शेर्पाले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सबै सरोकारवालालाई व्यापक सहभागिताका लागि आग्रह गरेका छन् ।
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन प्रतिशत पार गर्ने ६ दलले सिट संख्या प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ३२ जनाले मतदान गरेका थिए। त्यसमध्ये १ करोड ५५ लाख ५९ हजार १७ मत अर्थात् ९४.५५ प्रतिशत मत सदर भएको छ।
यस्तै समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत अर्थात् ९६.०५ प्रतिशत मत सदर भएको छ। साथै आयोगले दलहरुलाई तीन दिनभित्र नाम पेश गर्न म्याद पनि दिएको छ ।
एमाले अध्यक्ष ओलीका पिताको निधन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो ।
उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ भने साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ ।
निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई मध्यनजर गर्दै मिति २०८२ फागुन २९ गतेदेखि अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपी ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य ९५५ रुपैयाँमा बिक्री वितरण गरिने जनाएको छ ।
‘हालको परिस्थितिलाई दृष्टिगत गरी एल। पि। ग्यासको आपूर्ति तथा वितरण प्रणालीलाई व्यवस्थित बनाई आम उपभोक्ताको माग बमोजिम ग्यास उपलब्ध हुने अवस्थाको सहजीकरणका लागी निगमले मिति २०८२ र ११ र २९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ के.जि एल.पि. ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु ९५५ मा विक्री वितरण गर्ने निर्णय भएको हुँदा आम उपभोक्ता वर्गले सोही अनुसार एल। पि। ग्यास खरिद गर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
निगमका अनुसार नियमित रूपमा मागअनुसार ग्यास आयात तथा वितरण भइरहे पनि पछिल्ला दुई–तीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको छ । यसबीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण विश्वव्यापी रूपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको बताइएको छ ।
नेपाललाई एलपी ग्यास आपूर्ति गर्ने भारतमा समेत सर्वसाधारण उपभोक्तालाई ग्यास प्राप्त गर्न समस्या देखिएको समाचार सार्वजनिक भएपछि नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढेको निगमले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘निगमले नियमित रुपमा माग अनुरूप नै एल. पि.ग्यासको आयात तथा वितरण गरीरहेको भए तापनि विगत दुईरतीन महिनादेखि काठमाडौं उपत्यकामा ग्यासको माग उच्च देखिएको विषय सर्वविदित नै छ । यसै बीच मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एल।पि। ग्यासको आपूर्तिमा विश्वव्यापी रूपमा असर परिरहेको छ ।’
निगमका प्रवक्ता मनोज ठाकुरले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्रै एलपी ग्यास खरिद गर्न आग्रह गरेका छन् ।
होर्मुज मार्ग बन्द गर्ने इरानको धम्की, युरोपेली उर्जा बजारमा धक्का
एजेन्सी । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक, होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ ।
जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रति लिटर २.३० युरोभन्दा माथि पुगेको छ, भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री मार्ग हो ।
यसले विश्वव्यापी समुद्री तेल ढुवानीको लगभग एक चौथाई भाग, साथै ठूलो मात्रामा तरल प्राकृतिक ग्यास र मलहरू ह्यान्डल गर्दछ । थोक ऊर्जा झट्काले जर्मन उपभोक्ताहरूलाई पहिले नै असर गरिरहेको छ, इन्धन लागतले दैनिक बजेटमा ठूलो प्रभाव पारेको छ ।
‘गत हप्ता, जब मैले यसलाई सुरुबाट भरें, यसको मूल्य लगभग असी यूरो थियो। अब यो सतसठ्ठी यूरो भएको छ । तर यो केवल आधा ट्याङ्की हो,’ जर्मन चालक कादिर ओज्टर्कले भने ।
ऊर्जा विश्लेषकहरूले उपभोक्ता मूल्य वृद्धि समयपूर्व हुन सक्ने चेतावनी दिएका छन्। म्युनिखको प्राविधिक विश्वविद्यालयका प्राध्यापक स्वेतलाना इकोनिकोभाले आपूर्ति शृङ्खलाका धेरै तहहरूमा प्रशस्त इन्भेन्टरीहरू रहेको बताइन् ।
जर्मनीमा, ऊर्जा कर र कार्बन डाइअक्साइड लेवी जस्ता करहरूले ग्यास र डिजेलको मूल्यमा उल्लेखनीय प्रभाव पार्ने पनि देखिएको छ । उपभोक्ताहरूले इन्धनमा १९ प्रतिशत मूल्य अभिवृद्धि कर पनि तिर्छन् । बाँकीले तेल उद्योगको लागत र मार्जिन र कच्चा तेलको अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ।
यद्यपि, युरोपको तेल आपूर्ति अहिलेको लागि सुरक्षित छ । हर्मुजको जलडमरूबाट गुज्रने ऊर्जा स्रोतहरूमा अवरोधहरूले विश्वव्यापी बजारहरूमा तरंग ल्याउन सक्छ । जसले गर्दा द्वन्द्व बढ्यो भने मूल्यहरू अझ उच्च हुन सक्नेछ ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा संयुक्त हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव तीव्र गतिमा बढिरहेको छ । इरानी पक्षले इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै यस क्षेत्रभरि धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरिरहेका छन् । जसले खाडीका धेरै देशहरूलाई असर गरेको छ ।
सैन्य टकरावले ऊर्जा संकटको डर थप बढेर गएको छ । हर्मुज जलडमरू अवरोधको जोखिमले युरोपमा इन्धन र ग्यास आपूर्तिमा थप झट्का लाग्ने संकेत गरिएको छ ।(सीसीटीभीप्लस)
नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो ।
बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन् ।
यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ ।
यस दिन सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेश्नल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै एचआइडिसीएल कम्पनीको करिब ५७ करोड र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन् । यस दिन बैंकिङ उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।
अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।
यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ । एएनआई
नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने
काठमाडौँ । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।
श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो । तर प्राविधिक जटिलता देखिएपछि उक्त काम सोचेअनुसार समयमा सम्पन्न हुन नसकेकोे बताए ।
‘प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक समस्या आयो । त्यसका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन । त्यसैले मुख्य हल पूर्णरूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने देखिएको छ ।’
मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । श्रेष्ठका अनुसार नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।
उनले भने, ‘हामीले अहिले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्नेगरी तयार पारेका छौं। करिब करिब सबै तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ ।’
यो वैकल्पिक हलमा प्रतिनिधि सभालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहनेछन्। यहाँ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिनेछ।
राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।
श्रेष्ठका अनुसार चैत १ गते संसद सचिवालयलाई हस्तान्तरण गर्ने भनिएको संरचना सम्पूर्ण संसद भवन भने होइन। ‘हामीले सम्पूर्ण भवन हस्तान्तरण गर्ने भनेका होइनौ । त्यो मितिमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गर्ने योजना हो।’
उनका अनुसार संसद भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। साइटमा दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर कामको अनुगमन गरिरहेका छन्।
उनले अब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान रहेको जानकारी गराए ।
श्रेष्ठले भने, ‘पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। प्राविधिक टोली र कामदारहरू तीन शिफ्टमा निरन्तर काम गरिरहेका छन्। यस हिसाबले अब करिब एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ ।’
संसद भवन निर्माणमा समय केही लम्बिनुका विभिन्न कारण रहेको उनले बताए। निर्माण सुरु हुनु अघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण तथा अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था थियो। त्यसका लागि नयाँ स्थानमा आवश्यक संरचना निर्माण गरी सेनालाई व्यवस्थित रूपमा सार्न समय लागेको उनले बताए ।
त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण कार्य केही समय रोकिएको अवस्था रहेको श्रेष्ठले बताए ।
त्यसैगरी संसद भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको उनले उल्लेख गरे।‘विदेशबाट ल्याउनुपर्ने सामग्री समयमा नआउँदा कतिपय काम रोकिनुपर्ने अवस्था आयो र त्यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि थियो ।’
निर्माण अवधिभर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पु¥याएको उनले बताए ।
उनका अनुसार कुनै आन्दोलन एक–दुई दिन मात्र भए पनि त्यसको असर निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्न सक्ने अवस्था हुने गरेको छ । यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे ।
श्रेष्ठका अनुसार संसद भवनको सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत रहेको छ ।
उनले भने,‘थप आर्थिक भार यसमा केही पनि पर्दैन। समयको हिसाबले अलिकति बढी समय लाग्न गयो तर हामीले जुन सुरुमा सम्झौता गरेको रकम छ। सम्झौता लागतमा बढ्दैन। सम्झौता लागत भित्रै निर्माण कार्य सम्पन्न हुन्छ । समय बढी लाग्यो भन्दैमा राज्यलाई थप आर्थिक व्यहोर्न पर्दैन । ५ अर्ब ५० – ६० करोडको हाराहारी त्यसमा इन्टरियरको अर्को २ अर्ब ३४ करोड हो यति हो यही लागत भित्र नै भवन सबै सम्पन्न हुन्छ ।’
करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।
यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो । संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा त्यही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। अब उक्त भवनलाई सम्मेलन केन्द्र कै हिसाब ले अगाड़ी बढ़ाइने छ ।
अब नयाँ संसद भवन पूर्णरूपमा तयार भएपछि संसदका सबै गतिविधि सोही भवनबाट सञ्चालन हुने र संसदका लागि आवश्यक सम्पूर्ण पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुने बताइएको छ ।
कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा
विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन देखाएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूपमा स्थापित भएको छ भने परम्परागत दल पछि परेका छन् ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।
प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता पुराना दललाई मतसंख्यामा उछिनेको छ ।
समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रता कायम गर्दै पहिलो दल बनेको छ । रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पनि रास्वपाले कोसी प्रदेशका १७ सिट जित्दै सबैभन्दा ठुलो शक्ति बनेको छ ।
यसैबीच, प्रत्यक्षतर्फ चार सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ मतसहित तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी, प्रत्यक्षतर्फ चारै सिट जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १८६ मतसहित चौथो स्थानमा सीमित भएको छ ।
कोसी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी समानुपातिकतर्फ ९७ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहेको छ ।
राजसंस्था र हिन्द राज्यको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अपेक्षाकृत कमजोर देखिएको छ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा समानुपातिकतर्फ ६२ हजार ८९९ मतसहित छैटौँ स्थानमा सीमित भएको छ ।
त्यसैगरी, निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कोसी प्रदेशमा त्रिमूल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ ।