ट्रकमा च्यापिएर चालकको मृत्यु
सप्तरी, २९ साउनः सप्तरीको शम्भुनाथ नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा ट्रक चालकको घटनास्थलमा नै मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ । शम्भुनाथ–५ स्थित मोहनपुर पुलबाट २० मिटर तल खसेको ट्रकभित्र चालक राईको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताउनुभयो । शवलाई क्रेन र स्काभेटरको सहयोगमा निकाल्ने कार्य भइरहेको प्रनाउ नेउपानेले बताउनुभयो ।
विदेशी रोजगारी छाडेर स्वदेमै कृषिकर्ममा रमाएका सन्तोष जिसी
स्वर्गद्वारी (प्युठान), २९ साउनः पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उहाँले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत लिइरहनुभएको छ ।
जिल्लामा किसान कृषिकर्ममा टिकेको पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो , “मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ । यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ । ”
विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाउनुभयो । उहाँले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किनुभएको हो । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बुन्नुभएको थियो ।
जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिएकामा टमाटरबाट एक याममा करिब रु तीन लाख बराबर बिक्री गर्नुभएको हो । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउनुभएको छ भने स्थानीय चार महिलालाई रोजगारी प्रदान गर्नुभएको छ ।
जिसी कृषि फार्मका रूपमा रु ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल रु आठ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उहाँ बताउनुहुन्छ ।
जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । “गत वर्ष सबै खर्च कटाएर वार्षिक रु छ लाख नाफा भएको छ”, जिसीले भन्नुभयो, “काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।” विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ । जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गर्नुभएको छ । उहाँले वार्षिक आगामी वर्ष रु सात लाख बचत हुनेगरी उत्पादनमा लाग्नुभएको छ ।
जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि रु दुई लाख ७० हजार अनुदान पाउनुभएको थियो । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले तरकारी व्यवसायीसँग प्रत्यक्ष कारोबार गर्ने हुँदा बजारको अभाव छैन । प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा तरकारी पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उहाँको भनाइ छ ।
ओखलढुङ्गामा ७९ करोड विकास बजेट ‘फ्रिज’
ओखलढुङ्गा, २९ साउनः गत आर्थिक वर्ष २०८०/८१ मा ओखलढुङ्गामा रु ७९ करोडभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । उक्त बजेट विकास निर्माणका लागि विनियोजन भए पनि समयमा काम सम्पन्न नहुँदा 'फ्रिज' भएको हो ।
कुल रु ७९ करोड ३९ लाख ६२ हजार तीन सय ५५ दशमलव १६ पैसा 'फ्रिज' भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका लागि प्रदेश तथा सङ्घीय सरकारले विनियोजन गरेको बजेटमध्ये खर्च हुन नसकेको उक्त बजेट 'फ्रिज' भएको हो ।
“समयमा काम सम्पन्न नहुँदा नियमानुसार भुक्तानी दिन सकिन्न । गत वर्ष जिल्लाको धेरै विकास बजेट फिर्ता भयो”, जोशीले भन्नुभयो, “प्रक्रिया पुगेर आएकालाई मात्रै भुक्तानी दिने गरेका छौँ । अन्य रकम नियमानुसार फिर्ता हुन्छ ।” बजेट फिर्ता हुँदा विकास निर्माण प्रभावित हुने भएकाले समयमै काम गरेर भुक्तानी लिनुपर्ने उहाँको सुझाव छ ।
सङ्घ र प्रदेश दुवैतर्फ गत आवमा जिल्लाका लागि कुल रु आठ अर्ब ५४ करोड ५१ लाख ७६ हजार एक सय १५ बजेट विनियोजन भएको थियो । उक्त बजेटमध्ये सङ्घतर्फ रु चार अर्ब ७८ करोड ७३ लाख ६६ हजार तीन सय १६ चालु र रु एक अर्ब १८ करोड १२ लाख ४७ हजार पाँच सय ८१ पुँजीगत रहेको थियो ।
गत आवमा प्रदेशतर्फ चालु बजेट रु ६२ करोड ७२ लाख ५५ हजार र पुँजीगत रु एक अर्ब ५५ करोड ४८ लाख ८४ हजार बजेट जिल्लाका लागि विनियोजन भएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका स्थानीय तहलाई निकासा भएको बजेटमा पनि खर्च बर्सेनि घटेको छ ।
तथ्याङ्कमा विकास बजेट खर्च नभएको देखिए पनि जिल्लाका दर्जनौँ आयोजना बजेट अभावका कारण रुग्ण बनेका छन् । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेका लिखु करिडोर, मोलुङ करिडोर, दर्जनौँ सडक पुलसहितका पूर्वाधारका काम वर्षौंदेखि बजेट अभावमा अधुरा छन् ।
‘मौलशोभा राई आमा सम्मान–२०८१’ विमला राईलाई
काठमाडौँ, २९ साउनः साहित्यकार दीपा राई पुनकी आमा विमला राईलाई ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने भएको छ । नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन संयोजक र डा सुकराज राई, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, कवयत्री विमला तुम्खेवा र कवि कमल ज्ञवाली सदस्य रहेको ‘मौलशोभा राई आमा सम्मान–२०८१’ निर्णायक समितिले उक्त सम्मान गर्ने निर्णय गरेको हो । साहित्यकार तथा लेखक डा पुरण राईले आफ्नी आमाको नाममा स्थापना गर्नुभएको उक्त पुरस्कार अनलाइन अभिलेख प्रालिमार्फत वितरण गरिने भएको छ ।
साहित्कार दीपा राई पुनको जन्मदिनको अवसर पारेर कात्तिक २९ गते उहाँकी आमा विमला राईलाई नगद रु ५० हजार र ताम्रपत्रसहित ‘मौलशोभा राई आमा सम्मान–२०८१’ ले सम्मान गरिने पुरस्कार संस्थापक डा पुरण राईले जानकारी दिनुभयो ।
भाषा, साहित्य, कला, संस्कृति, आर्थिक, राजनीतिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तिकी आमामध्ये एकजनालाई बर्सेनि मौलशोभा राई आमा सम्मान प्रदान गरिने डा राईले बताउनुभयो । नेपाली साहित्य र समाज सेवाका क्षेत्रमा दीपा राई पुनले पु¥याउनुभएको योगदानस्वरूप उहाँकी आमा विमला राईलाई सो सम्मान दिने निर्णय गरिएको हो ।
सम्मानित हुनुहुने विमला राई झापा घर भइ हाल काठमाडौ बस्दै आउनुभएको छ । उहाँलाई प्रदान गरिने पुरस्कार घोषणा कार्यक्रममा कानुन व्यवसायी एवं साहित्यकार किवाहाङ्ग राई, राजेश खनाल, योगेन्द्रकुमार राई, श्रीराम राईलगायतको उपस्थिति रहेको थियो ।
साहित्यकार डा पुरण राईको ‘वसन्त ऋतु’ उपन्यास, ‘लाशमाथिको मानव’ नाटक, ‘अस्तु’ कथासङ्ग्रह, ‘कोभिड डायरी डरका बिम्बहरू’, ‘सिद्धान्त र विश्लेषण आप्रवासी नेपाली कविता’ अलङ्कारविधा जस्ता कृति प्रकाशित छन् ।
सुनको मूल्य अकासियो, तोलाकै डेढ लाख बढी

काठमाडौँ, २९ साउन : अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एक लाख ५० हजार ८०० कायम भएको छ । सोमबार प्रतितोला छापावाल सुन रु एक लाख ४८ हजार ७०० मा कारोबार भएको थियो । चाँदीको मूल्यभने स्थिर छ । आज प्रतितोला चाँदी रु एक हजार सात सय ४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ ।
मोरङको बेलबारीमा हात्ती मृत फेला
बेलबारी (मोरङ), २९ साउनः मोरङको बेलबारी–३ करमडाँडास्थित अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको छ । स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा आज विहान मृत फेलापरेको बेलबारी नगरपालिका–३ का वडाध्यक्ष योगेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
सबडिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाउन सुरु गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख हेमन्त पराजुलीले जानकारी दिनुभयो । छावाको मृत्युको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोली पनि घटनास्थलमा आउने क्रममा रहेको जनाइएको छ ।
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
कास्की, २९ साउनः पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।
“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।
‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”
सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो । सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो । कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो ।
झापामा थप बाह्र सय हेक्टर जमिनमा सिँचाइ सुविधा
भद्रपुर (झापा), २९ साउन : झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो ।
आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत आवका लागि विनियोजित रु १० करोड ४५ लाखको वित्तीय प्रगति शतप्रतिशत हुनुका साथै भौतिक प्रगति एक सय ३४ दशमलव १७ प्रतिशत रहेको छ । गत आवमा विनियोजित बजेटमा आयोजनाले लिएको लक्ष्यभन्दा बढी काम भएकाले भौतिक प्रगति बढेको छ ।
गत आवमा कृषि उत्पादन बढाउन नदी तथा नहरबाट सिँचाइ सुविधा नपुगेका खेतबारीमा भूमिगत सिँचाइ प्रणलीका माध्यमबाट सिँचाइ पुर्याउन १५ डिपट्युबवेल निर्माण र १७ वटा संरचाना निर्माण सम्पन्न भएको सूचना अधिकारी थापाले बताउनुभयो । “आव २०७९/८० देखि २०८३/८४ सम्म पाँच वर्षमा सात हजार हेक्टर जमिनमा भूमिगत सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको आयोजनालाई बजेट अभाव हुँदा विगत दुई वर्षमा लक्ष्यअनुसार प्रगति हुनसकेको छैन”, उहाँले भन्नुभयो ।
आयोजनाका अनुसार भूमिगत सिँचाइका लागि पाँच वर्षमा रु दुई अर्ब ५१ करोड १२ लाख बजेट लाग्ने अनुमान छ । दुई आर्थिक वर्ष सकिँदा आयोजनाको वित्तीय १४ प्रगति र भौतिक प्रगति १८ दशमलव ८६ प्रतिशत छ ।
आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, २९ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी विभागले आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
एकै दिनमा सयौँ आप्रवासी बेलायत प्रवेश
लण्डन, २८ साउन (रासस/एएफपी) : प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका छन् । समना डुङ्गामा च्यानल पार गर्नुलाई अत्यधिक जोखिमपूर्ण यात्रा मानिन्छ ।
फ्रान्सेली अधिकारीहरूले यस वर्षको सुरुदेखि नै खतरनाक समुद्री यात्रामा ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् । गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार ११ वटा डुङ्गामा ७०३ जना आएका छन् । जुलाईमा भएको बेलायतको आम चुनावमा साना डुङ्गा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा थियो ।
सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गर्नुभएको थियो । यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको फ्ल्यागशिप नीति थियो । यसको साटो स्टार्मरले क्रसिङलाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौं युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने वाचा गर्नुभएको छ ।
जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानुनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासी विरोधी अशान्ति बढेको समय पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो ।
आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दङ्गाको विरोधमा शनिबार बेलायतभर हजारौं रङ्गभेद विरोधी प्रदर्शनकारीले ¥याली निकालेका छन् ।
स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गैरकानुनी आप्रवासीको सङ्ख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’ लाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सीमा पार गर्ने व्यक्तिको पछिल्लो सङ्ख्यासँगै सन् २०२४ को सुरुदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रबासीकोे सङ्ख्या १८ हजार ३४२ पुगेको छ । यो गत वर्षको सोही समयको तुलनामा १३ प्रतिशतले बढी हो ।




















